Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थाई आर्टिस्टको नौ वर्ष पुरानो कला चोरेर नेपालमा ललितकलाको अवार्ड

Posted on April 16, 2022 by Salokya

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ हिजो (वैशाख २ गते) उद्‍घाटन भयो। यो प्रदर्शनी मात्र होइन, प्रतियोगिता पनि थियो। त्यसैले विभिन्न पुरस्कारको पनि घोषणा गरियो। त्यसमध्ये एउटा थियो- प्रत्येक प्रदेशबाट १/१ जना पर्ने गरी ७ प्रदेशका कलाकारलाई दिइएको प्रादेशिक पुरस्कार अर्थात् प्रोभिन्सियल अवार्ड। प्रादेशिक अवार्ड पाउने एउटा कला हेरेर दङ्ग परियो। हाकाहाकी प्रतियोगियताको नियमविपरीत अरुको कला चोरेर बुझाउने कलाकारको आँट कस्तो आम्मामा ! अनि जज गर्नेहरु फेरि कस्ता ? यसो इन्टरनेटमा खोजे भेटिने यस्तो चर्चित कलाको बारेमा पत्तै रहेनछ ?


ललितकला प्रादेशिक पुरस्कारबाट प्रदेश नं १ बाट आधुनिक चित्रकलातर्फ सन्तोष राईलाई पुरस्कृत गरिएको थियो। पुरस्कृतहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुस्।

पुरस्कृत कलाकृतिहरु भने राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ को अलग्गै वेबसाइटमा हेर्न सकिन्छ। यहाँ क्लिक गरी हेर्नुस्।

प्रदेश १ बाट पुरस्कृत गरिएका थिए खोटाङका सन्तोष राईको गणेश शीर्षकको आधुनिक चित्रकलालाई। गणेशले भ्वाइलिन बजाइरहेको यो पेन्टिङलाई यान्डेक्समा रिभर्स इमेज सर्चमात्रै गरेर हेर्दा पनि प्रशस्त रिजल्ट आउँछ। भन्नुको अर्थ यो मौलिक चित्रकला होइन भन्ने यसबाट पनि प्रष्ट हुन्छ।

इन्डियनमार्ट नामको वेबसाइटमा उस्तै खालको आयल पेन्टिङ बिक्रीमा राखिएको छ जसमा कलाकारको नाम भारतको मुम्बईका संकेत लेखिएको छ। तर यो उनको पनि मौलिक कला भने होइन।

थाई कलाकारको रहेछ मौलिक कला

त्यसो भए यो कसको मौलिक कला रहेछ भनेर खोज्न मन लाग्यो। खोज्दै जाँदा ट्रिपएडभाइजरको थाइल्यान्डको हुआहिनस्थित गणेश आर्ट ग्यालरीको रिभ्युहरुमा पुगियो। यसको नाम Khanesha Gallery रहेछ। हेर्नुस् ट्रिपएडभाइजरको वेबसाइटमा यही पेन्टिङ रङ्गिन देखिन्छ।

यसैबाट खोज्ने क्रममा भेटियो यो ग्यालरीको वेबसाइट भेटियो। हेर्नुस् यहाँ क्लिक गरेर। यो ग्यालरीमा गणेश भगवानका विभिन्न भावभङ्गिमाका चित्रहरु रहेछन्।

यहीँ खोज्ने क्रममा भेटियो gracefully शीर्षकको यो आर्ट। ९० सेमी X १२० सेमीको आयल अन क्यानभासमा बनाइएको रहेछ यो आर्ट। बनाउने कलाकार हुन् ราชัน แสงทอง (Rachan Saengthong) 

 

यो ग्यालरीको फेसबुक पेजमा पनि यो आर्ट हेर्न पाइन्छ।

प्रतियोगिताको नियममा के छ ?

“राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९” (NATIONAL FINE ARTS EXHIBITION-2022) मा सहभागी हुन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०७८ साल मंसिर २९ गते भित्र आ–आफ्ना कलाकृतिहरु प्रतिष्ठानको कार्यलय नक्सालमा बुझाउन नेपालभरिका ललितकलाकर्मीहरुलाई आह्वान गरिएको थियो। उक्त सूचनामा प्रदर्शनी यी नियम रहेको जानकारी गराइएको थियो-

प्रदर्शनीसम्बन्धी नियमहरु :
१) प्रदर्शनीमा प्रतियोगिताका लागि समावेश गरिने कलाकृतिहरु एक वर्षभित्र रचना गरिएको, मौलिक हुनुका साथै कुनै पनि प्रदर्शनीमा समावेश नभएको हुनुपर्नेछ । तर प्रतियोगितामा समावेश नहुने कलाकृतिको लागि यो नियम लागु हुनेछैन ।
२) कलाकृतिहरुको माध्यम जुनसुकै पनि हुन सक्नेछन् ।
३) सहभागी हुने कलाकार १८ वर्ष उमेर पुरा गरेको नेपाली नागरिक हुनुपर्नेछ ।
४) कलाकारले कलाकृति बुझाउँदा यस प्रतिष्ठानबाट प्राप्त हुने आवेदन फारममा उल्लेख भएका विवरणहरु भरी फारम साथ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, पोष्टकार्ड साइजको रंगीन फोटो २ प्रति र व्यक्तिगत विवरण फारम (Biodata) अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
५) सहभागी कलाकारहरुले प्रतियोगितामा भाग लिने वा नलिने खुलाउनु पर्नेछ ।
६) कलाकारले बढीमा दुई विधाका कलाकृतिहरु बुझाउन सक्नेछन् तर पुरस्कार भने कुनै एक विधामा मात्र पाउन सक्नेछन् ।
७) प्राप्त कलाकृतिलाई प्रदर्शनी वा प्रतियोगितामा सहभागी गराउने/ नगराउने सम्पूर्ण अधिकार यस प्रतिष्ठानद्घारा गठित छनौट समितिमा निहित रहनेछ ।
८) पुरस्कार सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार निर्णयाक समितिको सिफारिसमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्मा निहित रहनेछ ।
९) पुरस्कारका लागि प्रतियोगितामा समावेश हुन प्रत्येक विधामा कम्तिमा ५ जना कलाकारहरुको सहभागिता हुनु पर्नेछ ।
१०) प्रतियोगितामा सहभागी हुन चाहने कलाकारले फाराम शुल्क वापत रू. १००/– (एक सय) बुझाउनु पर्नेछ ।
११) प्रदर्शनीमा सहभागी भएका कलाकृतिहरु प्रदर्शनी सकिएको एक हप्ताभित्र फिर्ता लानुपर्नेछ । तोकिएको समयभित्र फिर्ता नलगी कलाकृति हराएमा, बिग्रिएमा वा कुनै हानी–नोक्सानी भएमा प्रतिष्ठान जिम्मेवार हुनेछैन ।
१२) भवितव्य परी कुनै पनि कलाकृतिहरुको हानि–नोक्सानी हुन गएमा प्रतिष्ठान जवाफदेही हुनेछैन ।
१३) प्रदर्शनी सम्बन्धमा थप आवश्यक जानकारी लिनु परेमा कार्यालय समयभित्र प्रतिष्ठानमा वा टेलिफोन नं ०१–४४११७२९ मा सम्पर्क राख्न सकिनेछ ।

हेर्नुस् यससम्बन्धी आधिकारिक सूचनाको लिङ्क।

भनेपछि पुरस्कृत भएको कलाले नियम १ नै उल्लङ्घन भएको देखियो। किनभने त्यहाँ स्पष्ट रुपमा  कलाकृति मौलिक हुनुपर्ने उल्लेख छ। यो सन्तोष राईको मौलिक नभएर थाई कलाकार Rachan Saengthong को मौलिक कलाको नक्कल हो। त्यस्तै एक वर्षभित्र रचना गरिएको नभई ९ वर्ष पुरानो हो र थाइल्यान्डको ग्यालरीमा यो प्रदर्शनमा छ।

यो एक किसिमले चर्चित आर्टवर्क नै रहेछ। गुगलमा खोज्दैमा भेटिने यस्तो आर्टलाई मौलिक भनेर प्रतियोगितामा पठाउने पनि उस्तै, अनि त्यसलाई छानेर अवार्ड दिने जुरी पनि उस्तै पो देखियो त यो मामिलामा।

कला जगतमा appropriation art बारे ठूलै बहस हुन्छ र कानुनी कारबाही पनि भएको देख्न पाइन्छ।  तर यो त appropriation art पनि होइन, यो त सीधै नक्कल हो। सृजनात्मक कलाको विकास गर्ने उद्देश्य बोकेको ललित कला प्रज्ञा प्रतिष्ठानले यस्तो चोरी कलालाई प्रोत्साहन दिनु दुर्भाग्य हो।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme