Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ वर्षमा नेपाली मिडियामा भएका चार परिवर्तन : लेआउटदेखि सम्पादक फेरिनेसम्म

Posted on April 15, 2022April 15, 2022 by Salokya

विक्रम संवतको २०७८ सकिएर २०७९ लागेर वर्ष परिवर्तन भए सँगै नेपाली मिडियामा केही परिवर्तनका घोषणाहरु भएको देख्न पाइयो। सरकारी स्वामित्वको गोरखापत्रदेखि निजी अनलाइन मिडियाहरुसम्ममा परिवर्तन हेर्न पाइयो। केही मिडियाका परिवर्तनहरु भने अकस्मात् घोषणा भएका हुन् कि जस्तो देखियो। सम्पादकले सामाजिक सञ्जालमा छाड्ने घोषणा गरिसक्दा पनि ती मिडियामा त्यसबारे न समाचार छ, न क्रेडिट लाइनमा परिवर्तन गरेको देखिएको छ।

१) गोरखापत्र संस्थानका पत्रिका र अनलाइनमा परिवर्तन

सरकारको स्वामित्वमा रहेको गोरखापत्र संस्थानले प्रकाशन गर्ने नेपाली भाषाको गोरखापत्र दैनिक र यसको अनलाइन अनि अङ्ग्रेजी भाषाको दि राइजिङ नेपाल र यसको अनलाइनको लेआउट र डिजाइन फेरिएको छ।

गोरखापत्रको लेआउट पुरानो र अहिले। गोरखापत्रका सबै पेजको लेआउट वैशाख १ गतेदेखि परिवर्तन गरिएको हो।

दि राइजिङ नेपालको पुरानो र अहिलेको लेआउट। तर हलुवामा बालुवा भने झैँ सबैभन्दा माथि टाउकोमा इङ्गलिसको स्पेलिङ भने EGNLISH भएछ 🙂

गोरखापत्रको अनलाइनको पुरानो भद्दा देखिने लेआउटलाई पनि फालेर नयाँ बनाइएको छ। तर  स्क्रिनको बायाँ भागदेखि दायाँ भागसम्म वारपार हुने हेडलाइन टन्न हाल्ने मोहबाट अझै गोरखापत्र उम्कन सकेको देखिन्न। यस्तो लेआउटलाई लोकप्रिय बनाएको सेतोपाटीले हो। यसले आफ्नो स्थापना कालदेखि यस्तो हेडलाइन हाल्न सुरु गरेको थियो, जसलाई पछि अनलाइनखबरदेखि सबले पछ्याए। मोबाइलमा हेर्दा खासै फरक नदेखिए पनि ठूलो स्क्रिनमा भने यस्तो लेआउट त्यति राम्रो देखिन्न।

वैशाख २ गते ठूलो स्क्रिनमा हेर्दा चार वटा यस्ता ब्यानर हेडलाइन समाचार राखेको देखिएको छ जसले लेआउटलाई भद्दा पारेको देखिन्छ।

२) रातोपाटीमा नेतृत्व परिवर्तनको ‘एकपक्षीय घोषणा’

मूलधारको प्रमुख अनलाइन मिडियामध्ये एक रातोपाटीमा नेतृत्व परिवर्तनको एकपक्षीय घोषणा पनि वैशाख १ गते नै भयो। प्रधान सम्पादक अरुण बरालले वैशाख १ गते राति १० बजेर ९ मिनेटमा फेसबुकमा स्टायटस लेख्दै यस्तो घोषणा गरेका हुन्।  ‘नयाँ वर्षमा क्रान्तिकारी निर्णय गरियो’ भन्दै उनले रातोपाटीमा ‘२०७७ चैतदेखि शुरु भएको सहयात्रा आजैका मितिबाट टुंगिएको’ जानकारी दिए।

रातोपाटीले भने यो ब्लग लेख्दासम्म यसबारे कुनै जानकारी दिएको छैन। अनलाइनको फुटरमा पनि क्रेडिट लाइनमा प्रधान सम्पादकमा अरुण बरालको नाम यथावत छ।

८ वर्ष अनलाइनखबरका सम्पादक अरुण बराल २०७७ फागुन १६ मा त्यहाँबाट विदा भए लगत्तै २०७७ चैत ९ मा रातोपाटीका प्रधान सम्पादक नियुक्त भएका थिए।

रातोपाटी किन छाडे भन्ने विषय प्रष्ट छैन। तर उनकै सो फेसबुक स्टायटसमा केही कमेन्ट आएका छन्।  त्यसमध्ये रातोपाटीकै पूर्व कार्यकारी सम्पादकको कमेन्ट यस्तो छ-

३) ‘नेपाललाइभ’मा नेतृत्व परिवर्तन

नेपाली अनलाइन मिडियाहरुमा एउटा गजबको ‘चलन’ छ- सम्पादक नियुक्त हुँदा ठूलै समाचार बनाउँछन्, अनि छाडेर जाँदा भने विदाइ गरियो भनेर सानो औपचारिक समाचार समेत राख्दैनन्। कुन मिडियाको नेतृत्वमा को छ भन्ने विषय पाठकले थाहा पाउनु पर्ने र पाठकलाई थाहा दिनु पर्ने विषय हो।

यसअघि नेपालखबर अनलाइनमा २०७८ असार १७ गते नेपालखबरको सम्पादकमा बिनु सुवेदी  शीर्षकको समाचार प्रकाशित भएको थियो। तर कहिले वेबसाइटको फुटरबाट सम्पादकको नाम सुटुक्क हटाइयो, धेरैले पत्तै पाएनन्। अहिले उनको बाइलाइन अनलाइनखबरमा आउँछ।

नेपाललाइभमा पनि त्यस्तै भयो। २०७७ माघ १ गते नेपाल लाइभको सम्पादकमा बोहरा शीर्षकको समाचार पढ्न पाइएको थियो। तर उनलाई विदाइ गरिएको समाचार पढ्न पाइएन। वैशाख १ गते उनको नाम वेबसाइटको फुटरबाट हटाइयो र भगीरथ योगी नेपाल लाइभको समूह सम्पादक शीर्षकको समाचार पढ्न पाइयो। समाचारमा पुराना सम्पादकको विदाइबारे केही उल्लेख छैन।

नेपाललाइभमा भगिरथ योगीलाई समूह सम्पादक लेखिए पनि नेपाललाइभकै अर्को प्रकाशन नेपाललाइभटुडेको समाचारमा भने कन्सल्टिङ एडिटर अर्थात् सल्लाहकार सम्पादक लेखिएको छ।

योगी आफैले पनि ट्विटमा आफू कन्सल्टिङ एडिटर भएको नै लेखेका छन्

Some personal news: I have joined the @NepalLive1 Group as a Consulting Editor. I hope to divide my time between Nepal and the UK. Look fwd to support and advice from all friends and seniors. #HappyNewYear2079BShttps://t.co/TKqye9cvzB

— Bhagirath Yogi (@BhagirathYogi) April 15, 2022

पाँच वर्षअघि सन् २०१७ मा सुरु भएको नेपाललाइभमा अहिलेसम्म ५ जना सम्पादक परिवर्तन भइसकेका छन्। सुरुमा सम्पादक सरोजराज अधिकारी थिए। त्यसपछि विजय पौडेल, नारायण अमृत, केपी ढुंगाना र रामेश्वर बोहरा सम्पादक भए।

४) फेसबुकमै अर्का अनलाइन सम्पादकको घोषणा

मकालुखबर डट कमका सम्पादक लक्ष्मण कार्कीले पनि वैशाख १ को बिहान ७ बजे नै आफू सम्पादकको जिम्मेवारीबाट अलग भएको घोषणा गरे। यो पनि एकपक्षीय घोषणा जस्तो नै रह्यो। किनभने वैशाख २ गते यो ब्लग लेख्दासम्म पनि मकालुखबरको सम्पादकमा उनकै नाम छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme