अपडेट : बिहीबार राति बल्ल पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ।
यो ब्लग लेख्दासम्म अर्थात् बिहीबार (अप्रिल ७) साँझ साढे ६ बजेसम्म पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन सदर वा बदर गर्ने फैसला गरिसकेको थिएन। तर नाम चलेकै नेपाली मिडियाहरुले मंगलबारै विघटन बदर भएको फैसला गरिसकेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले मंगलबारै संसद विघटन बदर गरेको फैसला गरिसकेको समाचार बारे नेपालफ्याक्टचेकमा तथ्य जाँच छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। यो ब्लगमा चाहिँ किन त्यसो भयो र यस्तो गल्तीबाट कसरी बच्ने भन्ने बारे लेख्ने कोशिश गर्छु।
अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स, जनआस्था साप्ताहिक, दृष्टि साप्ताहिक, इमेज च्यानल
यस्ता नाम चलेका मिडियाहरुले लेखेको खबर गलत होला भनेर कसले पो ठान्ला र? (ती मिडियाले के के लेखे, नाममा क्लिक गरी हेरे सम्बन्धित समाचार पढ्न सकिन्छ)
अरु थुप्रै अनलाइन मिडियामा पनि यो समाचार आएका छन्। केही उदाहरण-
नेपालीपत्र : इमरान खानलाई नमिठो झट्काः पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद् विघटन गर्ने निर्णय बदर
नेपालखोज : अदालतले पाकिस्तानमा राजनीतिक र संवैधानिक संकट निम्त्यायो, संसद् विघटन बदर
नेपालटच : पाकिस्तानमा संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतद्वारा बदर
हिमालयटाइम्स : पाकिस्तानमा संसद् विघटनको निर्णय सर्वोच्चद्वारा बदर, थप राजनीतिक र संवैधानिक संकट
दृष्टिन्युज : ‘अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन’
उकेरा : पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर, बेइमानीपूर्वक अविश्वास प्रस्ताव खारेज गरेको आरोप
मकालुखबर : अविश्वासको प्रस्ताव अस्वीकार गर्न नमिल्ने पाकिस्तानी प्रधानन्यायाधीशकाे भनाइ
तर यी सब मिडियाका समाचार हाम्रो तथ्य जाँचमा मिथ्या ठहरियो।
कसरी भयो यस्तो ? सरकारी पत्रकारले अङ्ग्रेजी नबुझ्दा !
यी मध्ये केहीले इमान्दार भएर स्रोत खुलाएका थिए- रासस-एएनआई। रासस भनेको सरकारी स्वामित्वको समाचार एजेन्सी हो। मिडियाले निश्चित शुल्क तिरेर त्यसबाट समाचार किन्छन् र आफ्नोमा राख्न पाउँछन्। राससले राष्ट्रिय समाचार आफ्ना रिपोर्टरहरुबाट उत्पादन गरेको हुन्छ भने विदेशी समाचारका लागि विदेशी समाचार एजेन्सीसँग सहमति गरिएको हुन्छ। विदेशी समाचार एजेन्सीका समाचार नेपाली अनुवाद गरेर राससले मिडियालाई पठाउँछ।
चैत २२ गते यस्तै एउटा समाचार राससले पठाएको रहेछ-
कतिले हेडलाइनसमेत नफेरी समाचार जस्ताको तस्तै हाले। कोही अलि बढी जान्नेले भने हेडलाइनै आकर्षक बनाए। उदाहरणका लागि जनआस्थाको यो हेडलाइन-
यो समाचारमा हेडलाइनमा नेपालसँग जोडेर संसद् ब्युँताइसकेको लेखिएको थियो। रमाइलो के भने माथिका समाचारहरु हेर्दा राससको ग्राहकै नभएकाहरुले पनि राससकै समाचार चोरेर हेडलाइनमै पाकिस्तानको संसद विघटन बदर भएको भनेर लेखेछन्। कसैले एजेन्सी लेखेर कसैले केही नलेखीकनै। राससकै समाचार चोरेको कसरी थाहा भयो त ? किनभने यो समाचार अरु कुनै एजेन्सीमा आएकै थिएन। सही समाचार भए पो अरुमा पनि आउनु, मिथ्या समाचार त कसरी आउनु !
समाचारको मूल स्रोत राससले एएनआईलाई क्रेडिट दिएकोले खासमा एएनआईले चाहिँ के लेख्या रैछ भनेर खोज्दा यस्तो भेटियो।
राससमा समाचार अनुवाद गर्ने जागिर कसले खाएको रहेछ कुन्नि, यति स्पष्ट लेखेको कुरालाई पनि बुझेनछन्। अनि हुँदै नभएको अनुवाद गरेर समाचार लेखेछन्।
लेख्नेले त ल लेख्यो होला, सम्पादन गर्ने जागिर खाने पनि हुन्छन् त्यहाँ। उसले के हेरेर सम्पादन गर्यो होला, हैट !
अप्रिल ५ को त्यो समाचारमा The Supreme Court of Pakistan adjourned Monday without ruling on the dissolution of parliament लेखिएको छ जसको अर्थ सोमबार संसद् भङ्गबारे फैसला नगरी सुनुवाई स्थगित गरेको हुन्छ। तर राससको समाचारमा संसद विघटन गर्ने निर्णय नै बदर गरिएको लेखिएको छ। without ruling लेखेको पनि नबुझ्ने भनेपछि त समस्या अलि कडै रहेछ। किनभने गुगल ट्रान्सलेटको मेसिनले बरु राससको मान्छे पत्रकारले भन्दा राम्रो अनुवाद गर्छ।
हेर्नुस् गुगल ट्रान्सलेटले गरेको अनुवाद-
यस्तो गल्तीबाट कसरी बच्ने ? केही सुझाव
१) मेसिन हैन मान्छे बन्नुस् : डेस्कमा बस्ने मान्छे मेसिन हैन मान्छे बन्नुपर्छ भनेर मैले यसअघि नै ब्लगमा लेखिसकेको छु। राससको वा कुनै न्युज एजेन्सीको समाचार जस्ताको तस्तै राख्न त मान्छे नै चाहिँदैन नि, एउटा प्रोग्रामिङ गरेर राससको समाचार राख्ने बित्तिकै आफ्नो वेबसाइटमा आउने बनाइदिए भइगो। राससको वा एजेन्सीको समाचारमा पनि गल्ती हुनसक्छन् भनेरै मान्छे चाहिने हो। कि यो समाचार फलानो न्युज एजेन्सीबाट जस्ताको तस्तै राखिएको हो, सम्पादन गरिएको छैन भनेर सूचना राख्दिनुस्। यस्तो लेख्ने चलन भारतीय वेबसाइटहरुमा छ।
२) मूल स्रोतमा समाचार खोज्नुस् : पाकिस्तानको समाचारका लागि पाकिस्तानका मिडियाहरुमा समाचार खोज्दा भरपर्दो हुन्छ। पाकिस्तानको सरकारी मिडियाले के लेख्छ, निजीले के लेख्छ, त्यसमा ध्यान दिनुस्। अथवा नाम चलेका केही अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरु खोज्नुस्। पाकिस्तानको समाचार भारतीय न्युज एजेन्सीमा भर परेर पनि हुन्छ र। (एएनआई भारतीय न्युज एजेन्सी हो)
३) अङ्ग्रेजी नजानेर कन्फ्युज हुनुहुन्छ भने गुगल चलाउनुस् : गुगलले दिएका धेरै सुविधा मध्ये एउटा अनुवाद अर्थात् ट्रान्सलेटको सुविधा पनि हो। तर ध्यान दिनुस्, यो मेसिन हो। मेसिनले सबै काम राम्रो गर्ने भए मान्छे किन चाहिन्थ्यो र। यसका सीमा छन्। तर भन्न खोजेको अर्थ लगभग मिलाउँछ। कहिलेकाहीँ भने बिगार्छ पनि। यो केसमा भने गुगल ट्रान्सलेटले बरु सही अनुवाद गर्यो, राससको पत्रकारले गरेन। फलस्वरुप रासस आफू मात्रै डुबेन, नाम चलेका सब मिडियालाई आफूसँग लिएरै डुबायो।
मेसिन र मान्छे पत्रकारको बारेमा मैले डेढ वर्षजति अघि लेखेको कथा प्रधान सम्पादक यमाप २.० पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।
अनि राससलाई चाहिँ किन सुझाव नदिएको भन्नुहोला। हैट, नेताको सोर्सफोर्समा भर्ती हुने ठाउँका पत्रकारहरुलाई हामीले कसरी सुझाव दिन सक्नु? राम राम राम ! भैगो, त्यस्तो दुस्साहस नगरौँ।