आज अप्रिल ६। १७ वर्षअघि आजैको दिनदेखि माइसंसार ब्लगको रोमाञ्चक यात्रा सुरु भएको थियो। राजा ज्ञानेन्द्रले लागू गरेको संकटकाल जारी रहेको, सामाजिक सञ्जाल नै नभएको, महँगो र दोहोरो खर्च लाग्ने डायल अप इन्टरनेटको बेला अडियो र भिडियो ब्लगिङ कसरी गरियो, पछाडि फर्की हेर्दा कथा झैँ लाग्छ। निरन्तर यात्राका लागि प्रेरित गर्ने, हौस्याउने र साथ दिनेहरु तपाईँ पाठकहरु नै हुनुहुन्छ। यसका लागि तपाईँहरु सबैलाई धन्यवाद। यसपालि अलि अप्ठेरो परिस्थितिमा यो दिन आइपुग्यो। माइसंसारको सर्भरमा भएको मालवेयर आक्रमणले गम्भीर रुप लिएपछि अहिले त्यसको उपचार साथीहरुले गरिरहनुभएको छ। अहिले अस्थायी उपाय स्वरुप यसरी साइट कम्तिमा हेर्न मिल्ने बनाइएको छ। पुराना ब्लग खुलेका छैनन्। तर पनि यात्रा रोकिएको छैन। यात्रा जारी छ।
यो वर्ष धेरै केही लेखिनँ। लेख्नलाई सिङ्गो वर्ष बाँकी छ। पोहोरकै केही कुरा कपिपेस्ट गरी आजलाई विदा चाहेँ-
पाठकको माया
सुरुदेखि नै पाठकहरुको माया माइसंसारले पायो। सोसल मिडिया नभएको त्यो बेला इन्टरनेटमा राखिएका कुनै कुरा प्रचार गर्न सजिलो थिएन। यो वेबसाइट पनि छ है भनेर जानकारी दिने माध्यम नै इमेलबाहेक अरु केही छँदै थिएन। तर पनि लोकतान्त्रिक आन्दोलनको त्यो समयमा त्यतिबेला विदेशमा भएका पाठकहरुले माइसंसारको प्रचारका लागि ठूलो योगदान गरे। साइटको लोकप्रियतासँगै होस्टिङ लगायतका प्राविधिक समस्या समाधान गर्न पाठकहरुले स्वेच्छाले आर्थिक सहयोग पनि गरे। त्यतिबेला त्यस्तो सहयोग नभएको भए माइसंसारको अवसान भइसक्थ्यो।
बीचमा गुगल एडसेन्सले आर्थिक रुपमा सघायो। तर केही वर्षअघि नै नेपाली भाषाका साइटहरुमा गुगल एडसेन्स बन्द भइसकेको छ। अहिले फेसबुकको मनिटाइजेसन र टाबुलाको फिडले केही रकम सहयोग हुन्छ तर त्यो एकदमै न्यून छ। विज्ञापन माग्ने, छाप्ने कलाको अभावै रह्यो। त्यसैले त्यतिबेला साइटमा एकदमै धेरै भिजिटर हुँदा पनि र अहिले पनि आर्थिक समस्या उस्तै नै छ।
त्यसबाहेक विज्ञापन राख्दा हुने बन्धनको कुरा पनि छ। बन्धनमुक्त भएर लेख्नुको आनन्द नै बेग्लै छ। एनसेलको इस्यु त तपाईँले थाहा पाउनु भएकै छ, एनसेल जस्तै कर छलीको इस्यु भएको कोकाकोलाको बारेमा मूलधारका मात्र होइन, कुनै पनि मिडियामा समाचार नआउनु र आएको केहीमा पनि रोकिनुमा विज्ञापनकै कुरा जोडिन्छ। कर कार्यालयले बहुराष्ट्रिय कम्पनीको कार्यालयमा छापा मार्ने, अनि कतै समाचार नआउने ! यस्तो पनि हुने रहेछ।
अहिले नेपालमा न्युजपोर्टल धेरै भइसके। सूचना विभागमा दर्ता भएकै न्युजपोर्टलहरुको संख्या झण्डै दुई हजार पुग्न लागिसकेको छ। तर पनि विश्वासिला र नाम चलेका अनलाइनहरुको संख्या औँलामा गन्न मिल्छ। ती मध्ये सबैको शैली लगभग उस्तै छ। औपचारिक र सतही समाचारहरुमा नै यी अनलाइनहरु अल्झिएका छन् जसलाई नपढे पनि हामीलाई खासै केही घाटा हुँदैन। अर्कोतर्फ सोसल मिडियामा फैलने फेक न्युजहरुले अनलाइनको विश्वसनीयतामाथि प्रहार गरिरहेको छ। अनलाइनको संख्या बढ्यो तर गुणस्तर बढेन।
माइसंसारलाई पनि न्युजपोर्टलमा परिवर्तन गर्नुपर्यो भन्ने सुझाव नआएका हैनन्। पहिले पनि भनेको थिएँ, अहिले पनि भन्छु- माइसंसारले ब्लगको अनौपचारिक शैलीलाई परिवर्तन गरी न्युजपोर्टलमा आफूलाई ढालेको भए यो पनि त्यही सयौँ अनलाइनहरुको भिडमा एक हुनपुग्थ्यो भन्ने लाग्छ। अनि के हुन्थ्यो? विज्ञापनहरु हुन्थे। आर्थिक रुपमा त सबलै भइन्थ्यो। तर विज्ञापन भएपछि के हुन्थ्यो? विज्ञापनदाताको स्वार्थसँग बाझिने गरी केही लेख्न नपाउने गरी हात बाँधिन्थ्यो। सम्पर्कहरुको घेरा बढ्दै जाँदा यसको स्वार्थ र उसको स्वार्थ थपिँदै जान्थ्यो र बिस्तारै इन्डिपेन्डेन्ट हुन गाह्रो हुँदै जान्थ्यो।
चाहे ती मूलधारका राष्ट्रिय दैनिकहरु हुन् वा धेरै लगानीका अनलाइन, अथवा साप्ताहिक पत्रिका र साना अनलाइनहरु- सबैका आफ्ना स्वार्थ हुन्छन् नै। अलिकति मिडिया साक्षर व्यक्तिले फ्याट्टै थाहा पाइहाल्छ, कुन मिडियाको स्वार्थ के, के कारणले यो समाचार आयो, यो समाचारले कसलाई ठोक्न खोज्यो, कसलाई बोक्न खोज्यो?
अहिले भएभरका सबै मिडियाको मुख्य लक्ष्य व्यापार अर्थात् नाफा कमाउने नै छ। तर मिडिया नाफा मात्र कमाउने व्यवसाय भने होइन। तर ठूलो खर्च व्यहोर्नु पर्ने व्यवसायिक पाटोका कारण मिडियाका हात त्यसै पनि बाँधिन्छन्। पाठकको सहयोगमा चलेको मिडियाको उदाहरण विदेशमा छ, तर नेपालमा छैन। अहिले झन् इन्डिपेन्डेन्ट मिडियाको खाँचो बढेको छ। अहिले संख्यामा त हामीसँग धेरै अनलाइनहरु छन्। तर हेर्नुस् त, हरेक अनलाइनमा उस्तै समाचार, उस्तै शैली। सोसल मिडियाबाट जानकारी पाइसकेको खबरका लागि हरेक अनलाइनमा छुट्टाछुट्टै गएर क्लिक गर्नुपर्ने आवश्यकतै हुन्न। तर पनि यत्रा अनलाइनहरु चलेकै छन्। त्यसमा विज्ञापनहरु देखिएकै छन्।
अहिले हेर्नुस् त सबै चलेका अनलाइनहरुमा विज्ञापन यति धेरै छ कि आँखा तिरिमिरीझ्याँइ हुन्छ। तर त्यसमा तपाईँले आफूलाई चाहिने र समाजलाई चाहिने समाचारहरु कतिको देख्नुहुन्छ? क्रिटिकल एनालाइसिसहरु र डेप्थ रिपोर्टिङ पढ्नै पाइन्न। समाचारको फरक पाटो कसैले खोज्दै खोज्दैनन्, सतही जानकारीमै अल्झिएका छन् सबै।
तर इन्डिपेन्डेन्ट भएर आर्थिक रुपमा थेगिने मात्र हुनसक्नु पनि कम्ता चुनौतिपूर्ण हुन्न। फरक पाटो खोज्न श्रम, समय र आर्थिक खर्च पनि उत्तिकै लाग्छ।
अरु देशहरुतिर भए पनि नेपालमा पैसा तिरेर अनलाइनमा सामग्री पढ्ने संस्कृति अझै सुरु भइसकेको छैन। कसैले गरेका पनि छैनन्।
तपाईँको स्वेच्छिक सहयोग आवश्यक
माइसंसार सुरु भएदेखि नै पाठकहरुले गरिरहनुभएको माया मलाई याद छ। सुरुमा माइसंसारका लागि क्यामेरामा लाग्ने एउटा एसडी कार्ड पाठकले नै सहयोग स्वरुप पठाउनुभएको थियो। त्यसपछि जनआन्दोलनताका बढ्दो पाठकका कारण उतिबेला महँगो पर्ने होस्टिङ खर्च धान्न पनि पाठकहरुले नै स्वेच्छिक सहयोग गर्नुभएको थियो। त्यसले माइसंसारलाई निरन्तर अघि बढाउन निकै सहयोग गरेको थियो।
त्यतिबेला त समाचारका स्रोतहरु पनि धेरै थिएनन्। अहिले त प्रशस्तै अनलाइनहरु पनि छन्। तर पनि माइसंसारले यदि तपाईँको सूचनाको भोकलाई शान्त पार्न केही सघाएको भए र यसलाई अझै सशक्त पार्न उत्प्रेरित गर्न चाहनु हुन्छ भने फेरि पनि स्वेच्छिक सहयोगको आह्वान गरेको छु।
यो स्वेच्छिक निःशर्त सहयोग हुनेछ र यसमा कुनै शर्त न तपाईँको हुनेछ, न मेरो हुनेछ। जति पनि सहयोग तपाईँले गर्न सक्नुहुनेछ- न्यूनतम एक रुपैयाँदेखि।
स्वेच्छिक सहयोगका लागि इसेवाले सघाएको छ। तपाईँ यो इसेवामा लग इन गरी अथवा डेस्कटप/ल्यापटप वा मोबाइल एपबाट इसेवा लग इन गरिसकेपछि MYSANSAR टाइप गरेर खोज्न सक्नुहुन्छ।
त्यसपछि खुल्ने विन्डोमा नाम, फोन नम्बर र सहयोग गर्न चाहेको रकम भरेर पठाउन सक्नुहुन्छ। तपाईँको नाम/नम्बर प्रकाशित हुनेछैन।
अथवा सीधै तलको QR Code मार्फत् स्क्यान गरेर पनि माइसंसारलाई सहयोग गर्न सक्नुहुन्छ।
तपाईँहरु सबैलाई १७ वर्षसम्म माइसंसारलाई साथ दिनुभएकोमा धन्यवाद। कृष्ण ढुंगाना, दीपक भट्टराई, उत्तमबाबु श्रेष्ठ, प्रमेय भण्डारी, सुदर्शन काफ्ले, स्याटेलाइट, सूर्य खड्का आदिले विभिन्न समयमा नसघाएको भए यो यात्रा कठिन हुन्थ्यो। फेसबुकमा अन्तर्क्रिया सुरु हुनुअघि माइसंसारमा पाठकहरुको कमेन्टको लर्को लाग्थ्यो जसलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्थ्यो। पुष्प, लुना, मदन, गगने, द्रोण, शिशिर आदि सेलिब्रिटी कमेन्ट लेखकहरु थिए। आजको दिन उनीहरुमात्र हैन ती सबै पाठकलाई सम्झेर तपाईँहरुको योगदानका लागि धन्यवाद दिन चाहन्छु।
यात्रा जारी छ…
e-sewa bahek donation garne arko medium chaina Umeshji?
QR code छ नि
अझै अगाडि बढ्नको लागि शुभकामना दिन्छु । समसामयिक विषय वस्तु मात्र होइन पत्रकारिता भित्र हुने अनियमितता, विशंगतिमाथि हुने तपाईंको प्रहारले अझै mysanasar माथि विश्वास बढेको छ । मिडियामा आउने कुरा fact check झन राम्रो पक्ष हो ।
Keep going Salokya Ji, we hope to see more content but we understand it’s been tough last 2 years for everyone.
krib 11 barsa aghi dekhi chineko yop blog aja pani harek din ek patak herne garchhu tara aja bholi mysansar ali khallo lagne garchha. bigyan baa ko lekh, aprilfool post, surya
ji ko lekh harayo. pahila comment haruko laskar hune garthiyo. comment ma like ra dislike ko udda jhai hunthiyo. khub ramailo lagthiyo. comment ma anabsek filter hune huda dukha lagchha. approve huna pani ghantau lagchha, dherai ta approve nai hunna. kahile kahi comment khojda khojda bigyapan kollaskar lagchha ajha pragatiko subhakamana
BEST WISHES 🙂