सबैभन्दा पहिला त यो होस्टाइल हुने भनेको के हो थाहा नहुनेहरुका लागि- ‘कुनै पनि व्यक्तिले सुरुमा प्रहरीसँग अनुसन्धानका क्रममा एउटा बयान दिएको हुन्छ। तर अदालतमा साक्षीका लागि बोलाइँदा आफ्नै बयानको विपरीत बयान दिनुलाई होस्टाइल हुनु भनिन्छ।’
यसका विभिन्न कारण हुनसक्छन्। साक्षीलाई दबाब, प्रभाव वा त्रासमा पारेर वा फकाएर अदालतमा विपरीत बयान दिन लगाएको हुनसक्छ। अथवा सुरुमै बदनियत राखेर अनुसन्धान गरेकोले भन्दै नभनेको कुरा बयानमा लेखिदिएको पनि हुनसक्छ। जे होस्, पहिले एउटा कुरा अनि पछि त्यसको विपरीत बयान दिनुलाई कानुनी सन्दर्भमा होस्टाइल हुनु भनिन्छ। बलात्कारको केसमा त पीडित भनिएकीहरु होस्टाइल हुँदा आफूविरुद्ध आफैले बयान दिइरहेका हुन्छन्। यस्तो अवस्थामा न्यायाधीशहरुले होस्टाइल भए पनि अन्य प्रमाणले पुष्टि भएको भनेर अभियुक्तलाई दोषी ठहर गरी सजाय तोक्ने अथवा सफाई दिने अथवा होस्टाइल हुनेलाई नै सजाय दिने पनि गर्न सक्छन्।
अछाम केसमा ‘होस्टाइल’
आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न आएकी किशोरीलाई अछामको जिल्ला अदालतले उल्टै साढे ३ वर्ष जेल सजाय सुनाएको एउटा फैसला अहिले चर्चित छ। यो बारे जिल्ला अदालतको फैसलाको पूर्ण पाठ पढेर यसअघि ब्लग लेखेको थिएँ (यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ) । फैसला पढ्दा धेरै कुरा प्रष्ट थिएनन्। जस्तै केटीकी आमाले त्यसरी पाहुनालाई छोरीको कोठामा सुत्न पठाउँछ र? अनि केटो बिहे गर्छु भनेर आएको रहेछ। पछि बिहे गर्दिनँ अहिले भनेको रहेछ। भनेपछि केटाले झुक्यानमा पारी सम्बन्ध राखे जस्तै फेरि झुक्यानमा पारेर बिहे गर्ने हो भनेर फकाएर अदालतमा बयान फेर्न दबाब, प्रलोभन दिएको पनि हुनसक्छ। तर फैसलामात्र पढेर यो सबै कुरा थाहा पाउन गाह्रै हुन्छ। यो केसको न अभियोग पत्र पढ्न पाइयो, न मिसिल नै हेर्न पाइयो।
तर, गएको शुक्रबार कान्तिपुरमा न्याय माग्न आएकी ‘बलात्कृत’लाई नै जेल ? शीर्षकमा मेनुका ढुङ्गानाको रिपोर्टरको डायरी छापियो, जसले यो केसको बहस नै अर्को ढङ्गले मोडिदियो।
त्यसमा दिइएको जानकारी अनुसार गरीब परिवारकी निरक्षर किशोरी रहिछिन् पीडित। फैसलामा उल्लेख भएको मुद्दाको संक्षिप्त तथ्य र कान्तिपुरमा आएका तथ्य यसरी फरक छन्-
केटा एक्लै आएको कि तीन जना आएको ?
प्रहरीले लेखिदिएको जाहेरी दरखास्तमा केटा नन्दराम खनाल २०७८ माघ १५ गते साँझतिर उनको घरमा उनलाई माग्न आउँछन्। केटा, उनी र उनकी बहिनी एउटै कोठामा सुत्छन्। दिदीबहिनी खाटमा, केटा भूइँमा। राति साढे ११ बजे केटाले खाटबाट तानेर इच्छाविपरीत जबर्जस्ती करणी गर्छन्। केटा नन्दराम खनालले पनि प्रहरीमा लगभग उस्तै बयान दिन्छन्- एक्लै घरमा गएको, एउटै कोठामा उसैगरी सुतेको। मात्र फरक- सहमतिमै गरेको हो। आऊ भनेपछि आफै खाटबाट ओर्लिएर आएको। बहिनीले पनि उस्तै बयान दिन्छन्।
तर कान्तिपुरमा पीडितको बयान फरक छ। घरमा आमाछोरीमात्रै बस्ने रहिछिन्। बुबाको सानैमा मृत्यु भएको, दाजु इन्डिया, भाउजु माइत। पल्लो घरकी बहिनीलाई सुत्न भनेर बोलाएकी रहिछिन् त्यो दिन। तीन जना केटा त्यो दिन घरमा आएका रहेछन्। घरमा दुई वटा कोठामात्र थियो- आमा सुत्ने र छोरी सुत्ने। केटा पक्षकाहरुलाई छोरी सुत्ने कोठामा सुताइएको थियो भने केटी, आमा र बहिनी आमा सुत्ने कोठामा। कान्तिपुरमा पीडितले भनेकी छिन्, ‘तर म सुत्ने कोठामा औषधि छुटेपछि ल्याउन गएको बेला माग्न आएको केटाले मलाई आफू भएतिर तानेर जबर्जस्ती गर्न थाल्यो। भुइँमा भएका दुई जनाले यस्तो किन गर्छस् भनेर सोध्या पनि हुन् । यो अब मेरी श्रीमती हो भन्दै उनीहरूकै अगाडि शारीरिक सम्बन्ध राख्यो। यसो नगर भन्दै म कराएँ, अब तु मेरी श्रीमती होई। धेरै नबोल भनेर थर्कायो, फकायो।’
एक पटक शारीरिक सम्बन्ध राखेपछि केटाले राति नै भागौं भनेर प्रस्ताव राखेको र राति नै निस्केर जाने क्रममा जंगलमा फेरि यौन सम्पर्क राखेको र त्यसपछि नराम्रो व्यवहार गरेर उतै अलपत्र छाडेर गएको बयान कान्तिपुरमा छ।
यो केसको अभियोगपत्र महान्यायाधिवक्ताको कार्यालयको वेबसाइटमा समेत नराखिएकोले त्यसमा के छ पढ्न पाइएको छैन। तर अदालतको फैसलामा उल्लेखित संक्षिप्त तथ्यमा जंगलमा पनि यौन सम्बन्ध राखेको र तीन जना केटा घरमा आएको कुरा खुलेको छैन। तीन जना केटाको बयान पनि प्रहरीले अनुसन्धानको क्रममा लिएको छ कि छैन खुल्दैन। यदि यस्तै हो भने त भएको कुरा नलेखी सुरुदेखि नै मुद्दा कमजोर बनाउन खोजेको देखिन्छ।
अदालतमा भने तीन जना गएको खुल्छ
तर अदालतमा भने केटा पक्षबाट तीन जना केटीको घरमा गएको खुल्छ। प्रहरीसित एक्लै गएको भनेर बयान गर्ने केटा नन्दराम खनालले अदालतमा आफू, इन्द्रप्रसाद पण्डित र भोजराज खनाल तीन जना गएको बताउँछ। अहिले कान्तिपुरमा आएको बयान जस्तै केटाले तीन जना केटा एउटा कोठामा, केटी अर्को कोठामा सुत्न गएको बताउँछ।
केटीले पछि केटालाई बोलाएर आफू सुत्ने कोठाको भूइँमा ओछ्यान लगाएर यहीँ सुत्नुस् भनेको अनि बहिनी सुतिसकेपछि एक्कासी खाटबाट ओर्लेर आफूलाई अङ्गालो हालेर सुत्न आएको दावी पनि उनले अदालतमा गरेका छन्। कान्तिपुरमा भने जस्तै घरमा दुई वटा कोठा मात्र भएको भए घटना कहाँ भएको हो, थाहा भइहाल्छ। किनभने एउटा कोठामा केटाका दुई साथी सुतेका छन् भने अर्को कोठामा त बहिनी मात्र होइन, आमा पनि सुतेकी हुन्छिन्। आमा सुतेकै कोठामा त सम्भव नहोला त्यसो। केटोले झुट बोलेको हो कि होइन त्यसैबाट थाहा भइहाल्छ।
कान्तिपुरको बयानमा दुई कोठामात्र भएको लेखिएको छ भने अदालतको फैसलामा प्रहरीले गरेको घटनास्थल मुचुल्कामा चार कोठे, दुई तले घर लेखेको देखिएको छ।
फैसलाको अंश।
कोठा चार भए पनि प्रयोगमा आउने अथवा मान्छे सुत्ने कोठा दुई मात्र हो कि के हो- त्यो कसैले गएर हेरेको देखिएन।
प्रहरीको अनुसन्धानमा नदेखिएका केटोसँगै जाने इन्द्रप्रसाद पण्डित भने अदालतमा उनको साक्षी बक्न आइपुग्छन्। उनले पनि उस्तै बयान दिन्छन्- सुरुमा तीन जना केटा एउटा कोठामा र अर्को कोठामा केटी र बहिनी सुतेको। यिनको बयानमा पनि आमा कहाँ सुतेको चाहिँ खुल्दैन। पछि केटी र बहिनी सुतेको ठाउँमा केटीले बोलाएर केटा पनि गएको बयान उनको छ।
सँगै जाने अर्का व्यक्ति भोजराज खनाललाई भने न प्रहरीले सोधेको देखियो, न अदालतमा बयान दिन नै आएको देखियो फैसलाको विवरण पढ्दा।
आफै विरुद्ध पीडितको अदालतमा बयान
अनि अदालतमा पीडित पनि ‘होस्टाइल’ भइन्। जाहेरी दिँदा भन्दा बिल्कुल फरक उनले सहमतिमै यौन सम्बन्ध कायम गरेको बयान अदालतमा दिइन्। अर्थात् आफूविरुद्ध आफैले बयान दिइन्।
फैसलामा उल्लेख भए अनुसार यस्तो थियो उनको भनाई- ‘मिति २०७८।१०।१५ गते मैले प्रतिवादीलाई फोन गरी मेरो घरमा विवाहको कुरा गर्न आउ भनी बोलाएकी हुँ। उक्त दिन प्रतिवादी लगायत ३ जनासमेत मेरो घरमा आएका हुन्। साँझको खाना खाई सो बेला प्रतिवादीलाई तपाईसँग केही कुरा गर्नु छ भनी मैले प्रतिवादीलाई बोलाएकी हुँ र मैले प्रतिवादीलाई तपाईँ मेरै कोठामा सुत्नु भनी मेरो कोठाको भूइँमा ओछयान लगाइ दिएकी हुँ। हामी दुवै बीच विवाह र माया प्रेमका कुराकानी भइरहेको बेला अन्दाजी ११:३० बजेको समयमा म उत्तेजित भई निज सुतिरहेको ओछयानमा गई निजसँग अंगालो हालेकी हुँ। त्यसपछि निज र मेरो सहमतिमा १ पटक करणी लिनु दिनु भएको हो। मेरी बहिनी परिवर्तित नाम (२) उक्त समयमा सुतिसकेकी हुँदा उक्त घटनाको बारेमा थाहा पाएकी होइनन्। मैले प्रतिवादीसँग वारदातको भोलिपल्ट बिहान अ.१० बजेको समयमा फोन गरी तपाई कहाँ हुनुहन्छ, हामीहरु कहिले विवाह गर्ने भनी सोध्दा निजले मेरो घरमा अहिले जुठो (असुद्द) छ, उमेर पुगेपछि विवाह गरौँला भनेपछि निज मसँग विवाह गर्दैन होला भन्ने सोची रिसको आवेगमा आई निज उपर किटानी जाहेरी दिएकी हुँ।’
एक निरक्षर किशोरीलाई प्रतिवादीलाई सघाउने गरी बयान दिन लगाइएको यो बयान हेर्दा प्रष्ट हुन्छ। फैसलाका संक्षिप्त तथ्य हेर्दा प्रहरीको अनुसन्धान पनि बलियो नभएको जस्तो देखिन्छ, यद्यपि मिसिल नहेरी त्यस्तो निश्कर्षमा पुग्न भने मिल्दैन। प्रहरीले केटोसँगै गएका र घटना भएको दिन घरमा भएका सबैको बयान लिएको देखिन्न। प्रहरीको अनुसन्धानमा जंगलमा यौन सम्पर्क भएको कुरा किन आएन ? अहिले मिडियामा मात्र कसरी आयो?
पीडितहरु दबाब, प्रभाव, त्रास वा प्रलोभनमा परेर होस्टाइल हुँदा मुद्दा हारेको उदाहरण धेरै छ। जबर्जस्ती करणीसम्बन्धी मुद्दामा पनि यस्तो धेरै हुन्छ। त्यस्तै एउटा चर्चित मुद्दा हो पूर्व सभामुख कृष्णबहादुर महराको।
महराले यसरी सफाई पाएका थिए
अछाम केसमा होस्टाइल हुने पीडित भनिएकी युवतीलाई नै जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे ३ वर्ष जेल सजाय सुनायो। यसअघि पनि यस्तो केसमा होस्टाइल हुनेलाई देशका विभिन्न अदालतले सजाय नसुनाएको होइन। तर न्यूनतम हुन्थ्यो त्यस्ता सजाय जस्तै एक महिना। यो पटक भने साढे ३ वर्षको सजाय थियो।
न्यायाधीशले जुन दफामा टेकेर यो फैसला सुनाए, त्यो दफा नै ऐनमा नभएको, अध्यादेशमा मात्र भएको र अध्यादेश अहिले निस्क्रिय भइसकेको कुरा पनि सार्वजनिक भयो। घटना भएको बेला भने यो अध्यादेश सक्रिय थियो, फैसला सुनाउँदा निस्क्रिय। फैसला हुँदा निस्क्रिय भइसकेको अध्यादेशलाई टेकेर सजाय सुनाउन पाइन्छ कि पाइँदैन भन्ने विषय अब उच्च अदालतले टुङ्गो लगाउला।
महराको केसमा भने तपाईँहरु सबैलाई थाहै छ, हामीले मिडियामा पीडितको भिडियो नै हेरेका थियौँ। महराको केसमा उनीविरुद्ध जबर्जस्ती करणीको नभई जबर्जस्ती करणी उद्योगको मुद्दा थियो अर्थात् रेप हैन रेप एटेम्प्टको।
उनले जाहेरी पनि यस्तो दिएकी थिइन्-
तर अदालतमा होस्टाइल हुँदै उनले यस्तो बयान दिएकी थिइन्-
प्रहरीले अनुसन्धानबाट महराले प्रयोग गर्ने मोबाइलबाट पीडितले प्रयोग गर्ने मोबाइलमा वारदातको अगाडि र पछाडि समेत पटक पटक फोन सम्पर्क भएको CDR, Callwise location अनि फर्गेट यस्टर्डे, आइ एम सरी भनेर भोलिपल्ट पठाएको SMS Details प्रमाण मिसिलमा राखेको थियो। सभामुख निवास बालुवाटारबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तिनकुने हुँदै घटनास्थलसम्म छोरा निर्मल महराले प्रयोग गर्ने बा.२०च. ५७११ नं को गाडीमा चढी आफ्नो निवासबाट काठमाडौं तिनकुने स्थित वारदात स्थलमा पुगेको देखिन आएको सिसिटिभी फुटेज पनि प्रस्तुत गरेको थियो।
त्यसो भए पनि अन्ततः पीडितको यही बकपत्र सबभन्दा ठूलो ‘निर्णायक’ प्रमाण बन्यो। अदालतले फैसलामा यसैलाई ठूलो आधार बनाउँदै भन्यो-
अदालत बाहिर जसले जे भने पनि अदालतमा उनी विरुद्धको कसुर पुष्टि हुन सकेन। उनले सफाई पाए।
यो मुद्दामा होस्टाइल हुनेलाई भने अदालतले कुनै सजाय गरेको थिएन। तर अछामकी एउटी निरक्षर, गरीब किशोरीलाई भने साढे तीन वर्षको जेल सजाय सुनाइयो।