Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अछाम : सहमतिमा ‘गरेर’ बलात्कार भन्ने किशोरीलाई अदालतले साढे ३ वर्ष जेल सजाय सुनाउनुको कारण यस्तो रहेछ

Posted on March 30, 2022April 4, 2022 by Salokya

आज अछामको एउटा अनौठो केस मिडियामा आएको छ। धेरैले यसलाई हालैको चर्चित पल शाह प्रकरणसित पनि जोडेर हेरेका छन्। इकान्तिपुरमा प्रकाशित समाचार अनुसार घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेर पछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई अछामको जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो। यसमा खास के भएको हो भनेर बुझ्नका लागि मैले जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले आइतबार गरेको फैसला पूरै पढी हेरेँ। खासमा यो मुद्दामा भएको यस्तो रहेछ।

 

आरोप के थियो?

फैसलामा उल्लेख भएको विवरण अनुसार, केटा २० वर्षका रहेछन्। केटा र केटीको फोनमा कुरा भएको रहेछ। फोनबाटै बिहेको कुरा भएछ। अनि बिहे गर्ने भए घरमा माग्न आऊ भन्ने कुरो भएछ। घरमा आएर आमासँग कुरा पनि भएछ बिहेको। आमाले भोलि बिहान कुरा गरौँला भनेछन्। अनि पाहुना र ती किशोरी अनि उनकी बहिनी एकै कोठामा सुतेछन्- दिदीबहिनी खाटमा, पाहुना तल भूइँमा। राति साढे ११ बजेतिर केटाले बहिनीसँग सुतेकी किशोरीलाई खाटबाट तल तानेर जबर्जस्ती गरेको भनेर प्रहरीमा जाहेरी परेको रहेछ।

केटोले बयानमा मैले मसँगै सुत्न आऊ भनी बोलाएपछि उनी आएकी, उनैले अंगालो मारेपछि सहमतिमै यौन सम्बन्ध राखेको दावी गरे।

उमेर

किशोरीको स्कूलको अभिलेख हेर्दा उनको जन्म मिति २०५९ माघ ५ गते रहेछ। अर्थात् उनको उमेर १९ वर्ष रहेछ। १९ वर्ष भए पनि टिनएज भएका कारण किशोरी नै भनिन्छ। तर यो उमेर कानुनले संरक्षित गरेको १८ वर्षभन्दा माथि चाहिँ हो। १८ वर्षभन्दा मुनि भएको भए चाहिँ सहमतिमै पनि यौन सम्बन्ध राखे त्यो बलात्कार ठहर्छ। पल शाहको केसमा उमेर १८ भन्दा मुनि थियो।

अदालतमा केटी ‘होस्टाइल’ हुनु मुख्य कारण

केटीको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गर्‍यो, सरकारी वकिलले अभियोग दर्ता गर्‍यो। थुनछेकको बहसपछि केटालाई थुनामा राखियो। अदालतको बकपत्रमा केटाले उही कुरा बतायो। साथै थप्यो, भोलिपल्ट बिहान घरबाट अहिले बिहे नगर, मान्छे बितेका छन् भनेपछि अनुकूल समय मिलाएर बिहे गरौँला भनी हिँडेको हुँ। पीडितले बिहे नगरी बहाना बनाउन लागेको ठानेर त्यसो भनेको हुनुपर्ने कारण पनि बतायो।

यता, केटी भने अदालतमा ‘होस्टाइल’ भइदिइन्। जाहेरी दिँदा भन्दा बिल्कुल फरक उनले सहमतिमै यौन सम्बन्ध कायम गरेको बयान अदालतमा दिइन्। फैसलामा उल्लेख भए अनुसार यस्तो थियो उनको भनाई- ‘मिति २०७८।१०।१५ गते मैले प्रतिवादीलाई फोन गरी मेरो घरमा विवाहको कुरा गर्न आउ भनी बोलाएकी हुँ। उक्त दिन प्रतिवादी लगाएत ३ जनासमेत मेरो घरमा आएका हुन्। साँझको खाना खाई सो बेला प्रतिवादीलाई तपाईसँग केहि कुरा गर्नु छ भनी मैले प्रतिवादीलाई बोलाएकी हुँ र मैले प्रतिवादीलाई तपाईँ मेरै कोठामा सुत्नु भनी मेरो कोठाको भूइँमा ओछयान लगाइ दिएकी हुँ। हामी दुवै बीच विवाह र माया प्रेमका कुराकानी भइरहेको बेला अन्दाजी ११:३० बजेको समयमा म उत्तेजित भई निज सुतिरहेको ओछयानमा गई निजसँग अंगालो हालेकी हुँ। त्यसपछि निज र मेरो सहमतिमा १ पटक करणी लिनु दिनु भएको हो। मेरी बहिनी परिवर्तित नाम (२) उक्त समयमा सुतिसकेकी हुँदा उक्त घटनाको बारेमा थाहा पाएकी होइनन्। मैले प्रतिवादीसँग वारदातको भोलिपल्ट बिहान अ.१० बजेको समयमा फोन गरी तपाई कहाँ हुनुहन्छ, हामीहरु कहिले विवाह गर्ने भनी सोध्दा निजले मेरो घरमा अहिले जुठो (असुद्द) छ, उमेर पुगेपछि विवाह गरौँला भनेपछि निज मसँग विवाह गर्दैन होला भन्ने सोची रिसको आवेगमा आई निज उपर किटानी जाहेरी दिएकी हुँ।’

मुख्य कारण यही रह्यो। साथमा उनकी बहिनीले प्रहरीसमक्ष गरेको बयानभन्दा फरक आफूलाई थाहा नभएको कुरा अदालतमा भनिन्। चिकित्सकले पनि शरीर र यौनाङ्गमा कुनै घाउचोट नरहेको, भर्जिनिटी पनि हालसाल नच्यातिएर पहिले नै च्यातिएको बकपत्र गरे।

बलात्कारका धेरै केसहरुमा अभियुक्तलाई बचाउने गरी यसरी पीडित भनिएकीहरु होस्टाइल हुने गर्छन्। तत्कालीन सभामुख कृष्णबहादुर महराको केसमा पनि महिला अदालतमा यसैगरी होस्टाइल भएकी थिइन् र महराले सफाई पाएका थिए। त्यतिबेला महिलालाई कुनै सजाय भने भएको थिएन।

अदालतले लिएका आधारहरु

अदालतले यी आधारमा केटालाई सफाई दियो-

– प्रतिवादीलाई घटना हुँदाको दिन पीडितले नै बोलाएर कोठामा लगेको तथ्य पुष्टि भएको

-पीडित आफैले रिसले जाहेरी दिएको भनेर अदालतमा बकपत्र गरेको

केटीलाई सजाय दिन अदालतले लिएका आधार-

झुटो व्यहोराले जाहेरी लगायतको कागज गरी झुट्टा मुद्दामा फसाउन खोजेको तथ्य स्थापित भएको।

केटीलाई कस्तो सजाय?

झुटो जाहेरी दिएर झुट्टा मुद्दामा फसाउने प्रयत्न गरेवापत् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ को देहाय क १ बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर अदालतले गरेको छ।

योसँगै केटाले सफाई पाएर अछाम जेलबाट निस्कियो भने केटी जेल जानु पर्ने भयो।

यो मुद्दामा फैसला पनि निकै छिटो भयो। गएको फागुन १० गते मुद्दा दर्ता भएको थियो भने चैतको १३ गते फैसला भइसकेको छ।

(कभर फोटो अछाम जिल्ला अदालतको फाइल फोटो र एक पुरुषको स्टक फोटोको कोलाज मात्र हो, घटनासँग यसको कुनै सम्बन्ध छैन)

यो पनि पढ्नुस्-
त्यो महराको मुद्दामा ‘होस्टाइल’ अनि यो अछाम मुद्दाको ‘होस्टाइल’

2 thoughts on “अछाम : सहमतिमा ‘गरेर’ बलात्कार भन्ने किशोरीलाई अदालतले साढे ३ वर्ष जेल सजाय सुनाउनुको कारण यस्तो रहेछ”

  1. Rajan says:
    April 3, 2022 at 5:00 pm

    This blog is biased. Read story from the other side: https://ekantipur.com/news/2022/04/01/164877468790672706.html

    Reply
    1. SP says:
      April 6, 2022 at 3:22 pm

      Please read his all blogs before you call him biased. he just describe what court said.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme