२०७६ मंसिर २८ गते शनिबार।
३८ वर्षकी लीला देवकोटा त्यो दिन काठमाडौँको न्युरोड नजिकै रहेको संकट हटाउने देवीको रुपमा पुजिने संकटा मन्दिरको दर्शन गरेर घर फर्किरहेकी थिइन्।
बूढानिलकण्ठ स्कूल नजिकैको दुई लेनको सीधा सडकमा बटुवाहरुका लागि छुट्याएको सडक पेटीमा पैदल हिँड्दै गर्दा बिहानको १० बजेर २० मिनेट गएको थियो।
अचानक विष्णुमति पुलतिरबाट तीव्र गतिमा हुइँकिँदै आएको कार अनियन्त्रित भयो। आफ्नो लेन छाडेर दायाँ मोडियो र विपरीत लेनको सडक पेटीमा चढ्दै लीलालाई ठक्कर दियो। अझै अनियन्त्रित कारले त्यसपछि बिजुलीको खम्बामा पनि हान्यो। नजिकै रहेको वर्कसपबाहिर रहेको मोटरसाइकलमा पनि ठक्कर दियो।
प्रहरी र स्थानीयले अचेत अवस्थाकी लीलालाई बाँसबारीस्थित न्युरो अस्पताल पुर्याए। तर अस्पतालले भन्यो- यहाँ ल्याउँदै मृत्यु भइसकेको थियो।
कारमा कूल चार जना थिए- पछाडिको सिटमा बसेकी थिइन्- परमिता राणा, मोडल। मनीषा महर्जन, परमिताकी साथी।
अगाडिको सिटमा थिए- करिश मास्के र चालक थिए- पृथ्वी मल्ल, वर्ष २१।
उनले लापरवाहीपूर्वक तीव्र गतिमा हाँकेको गाडीले सडक पेटीमा हिँड्दै गरेकी महिलाको ज्यान लिएको घटनास्थल प्रकृति हेर्दा नै प्रष्ट हुन्थ्यो। त्यसमाथि कार चालकसँग लाइसेन्स थिएन। उनले मदिरा पिएका थिए।
नेपालको कानुन अनुसार यस्तो अपराधमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ।
तर प्रभावशाली परिवारका सदस्य मुछिएको र भूइँमान्छे पीडित भएको घटनामा कानुनको व्याख्या न्यायको तरिका पनि फरक हुने देखियो।
गएको चैत ७ गते सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले सजाय तोक्यो- ६ महिना कैद र मात्र १ हजार रुपैयाँ जरिवाना।
पुर्पक्षका लागि डिल्लीबजार कारागारमा चलान गरिए पनि पृथ्वी मल्ल त्यहाँ धेरै बस्नु परेन। बिरामीको बहाना बनाएर चिरायु अस्पतालको क्याबिनमै समय बिताउने छुट उनलाई मिल्यो।
जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्नु पर्ने आदेश दिए पनि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो।
न्यायाधीश सूर्यप्रसाद अधिकारीले गरेको फैसलाको पूर्ण पाठ आइसकेको छैन। तर उनले आंशिक अभियोग दावी पुग्ने फैसला गरेको टिप्पणी सर्वोच्चको वेबसाइटमा देख्न सकिन्छ।
तीव्र गतिमा लापरवाहीपूर्वक गाडी चलाएर सडक पेटीमा हिँडिरहेकी पैदल यात्रु महिलाको ज्यान लिएको यो गम्भीर घटनालाई सामान्य दुर्घटना जस्तो देखिने गरी कम सजाय तोक्न गरिएका विभिन्न चलखेल हाम्रो खोजमा देखिएको छ।
लाइसेन्समा चलखेल
पृथ्वी मल्ल दुर्घटनास्थलबाटै पक्राउ परेका थिए। घटनाको ४ दिनपछि सहायक जिल्ला न्यायाधिवक्ता निरन्जन स्थापित समक्ष प्रहरीले लिएको बयान कागजमा सवारी चालक लाइसेन्स लिनुभएको छ कि छैन भनेर सोधिएको प्रश्नमा मल्लले भनेका थिए-
मैले विगत दुई वर्षअगाडि यातायात व्यवस्था कार्यालय वागमतीबाट क र ख वर्गको सवारी साधन चलाउन पाउने अनुमति लिएको थिएँ। त्यतिबेला नै मैले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकोले ट्राफिक प्रहरीले चिट दिएकोले सो चिट समेत हराएकोले हाल मसँग सवारी चालक अनुमति पत्र छैन।
तर उनको यो दावी झुटो ठहरियो। प्रहरीले अनुसन्धानका क्रममा यातायात व्यवस्था कार्यालयबाट उनको नाम र नागरिकताको आधारमा खोज्दा मल्लले २०७२ जेठ २१ गते लाइसेन्स जारी भएको त भेट्यो तर त्यसमा ‘ख’ वर्ग अर्थात् कार चलाउने लाइसेन्स थिएन, क वर्ग अर्थात् मोटरसाइकल, स्कूटर र मोपेड चलाउने अनुमति मात्र थियो।
रामचन्द्र घिमिरेको जाहेरीले नेपाल सरकार वादी र कलेश्वर राउत प्रतिवादी रहेको सवारी ज्यान मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले २०७३ सालमा एउटा नजिर बनाएको छ। त्यसमा सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने भनिएको छ। त्यसमा सवारी तथा यातायात व्यवस्था ऐनको उपदफा (३) आकर्षित नभई ऐनको दफा १६१(२) आकर्षित हुने भई उक्त कसुरका लागि दफा १६१(२) बमोजिमको सजाय हुने भनिएको छ। यसमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्न हुन्छ।
यसलाई छल्न परिवारले चलाखी गरेका थिए। पृथ्वीकी आमा जुना मल्लले २०७६ पुस १६ गते अमेरिकाको फ्लोरिडा राज्यबाट प्राप्त अन्तर्राष्ट्रिय मान्यतासमेत भएको दावी गर्दै लाइसेन्स पेश गरेकी थिइन्।
हामीले खोजका क्रममा उक्त लाइसेन्सको प्रतिलिपि पनि हेर्न पायौँ।
आमाले दावी गरेकी जस्तो यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त लाइसेन्स नभएर सिकारु लाइसेन्स भएको देखियो। उक्त लाइसेन्समै टेम्पोररी लर्नर्स लाइसेन्स अर्थात् अस्थायी सिकारु अनुमति पत्र लेखिएको छ।
फ्लोरिडा राज्यको सरकारी वेबसाइटमा लाइसेन्स बारे राखिएको आधिकारिक जानकारी हेर्दा यस्तो देखियो-
फ्लोरिडाको नियम अनुसार, यो पूर्ण लाइसेन्स होइन। सिकारु लाइसेन्सधारी चालकले लाइसेन्स भएका २१ वर्ष वा सोभन्दा माथिका चालकलाई नजिकैको सिटमा राखेर मात्र सवारी साधन चलाउन पाउँछन्।
प्रहरीले अनुसन्धानका क्रममा यो लाइसेन्स सक्कली हो कि होइन भनी फ्लोरिडा राज्यको सरकारी निकायलाई पत्र लेखी खोज्ने कुनै प्रयास नगरेको मिसिल अध्ययनबाट देखिन्छ।
त्यसैगरी मल्लकी आमाले इन्टरन्यासनल ड्राइभिङ परमिट लेखिएको विभिन्न भाषामा अनुवाद गरिएको एउटा अर्को कागजात पनि पेश गरेको देखिन्छ।
हामीले त्यसबारे खोज्दा यो https://e-ita.org/ वेबसाइटबाट जारी गरेको भेट्यौँ।
यो वेबसाइटको प्रकृति र यसमा वेबसाइट सञ्चालक संस्था बारे जानकारी नराखिएको देख्दा यसको विश्वसनीयतामा शंका देखिन्छ।
इन्टरन्यासनल ड्राइभिङ परमिट (आइडीपी) जारी त हुने गरेको छ तर विभिन्न नक्कली वेबसाइटहरुले फेक परमिट जारी गर्ने गरेकोमा सतर्क गराइएका विभिन्न डकुमेन्ट पनि हामीले भेट्यौँ।
अमेरिकी विदेश मन्त्रालयले अमेरिकन अटोमोबाइल एसोसिएसन र अमेरिकन अटोमोबाइल टुरिङ अलायन्स यी दुई वेबसाइटबाट मात्र सक्कली आइडीपी बनाउन सकिने उल्लेख गरेको छ।
त्यसैगरी फ्लोरिडा राज्यको लाइसेन्ससम्बन्धी सरकारी निकायले पनि अमेरिकन अटोमोबाइल एसोसिएसनबाट मात्र आइडीपी लिन सुझाएको छ।
आइडीपी छुट्टै मान्यता प्राप्त लाइसेन्स नभएर भएको कुनै देशको लाइसेन्सको विभिन्न भाषामा गरिएको अनुवाद मात्रै हो।
मल्ल परिवारले पेश गरेको यो डकुमेन्ट सरकारी निकायबाट जारी गरेको देखिन्न।
पृथ्वी मल्लले अमेरिकामा लिएको लाइसेन्स अन्तर्राष्ट्रिय मान्यता प्राप्त हो कि होइन भनेर प्रहरीले एकान्तकुनास्थित सवारी चालक अनुमति पत्र शाखालाई सोधेको पनि थियो। तर पत्रको जवाफ मिसिलमा देखिन्न।
प्रहरीले यो लाइसेन्स ऐनको दफा ५३ अनुसार मान्य हुने हो कि होइन भनेर सोधेको प्रश्नको जवाफ पनि मिसिलमा देखिन्न।
ऐनको दफा ५३ मा अन्तर्राष्ट्रिय चालक अनुमति पत्र स्वतः मान्य हुने भनिएको छ तर कस्तोलाई अन्तर्राष्ट्रिय मान्ने त्यसको परिभाषा गरिएको छैन।
त्यस्तै दफा ५२ ले विदेशी राष्ट्रको लाइसेन्स पाएकोले नेपालमा सवारी चलाउन त सक्ने तर निवेदन दिएर नेपाली लाइसेन्स लिनु पर्ने व्यवस्था गरेको छ।
मल्लको हकमा उनले पाएको लर्नर्स लाइसेन्सलाई नेपालमा सवारी साधन चलाउन अनुमति पाएको व्याख्या गर्न मिल्ने देखिन्न।
मदिरा सेवनको ढाकछोप
मदिरा सेवन गरी सवारी साधन चलाउनु गैरकानुनी हुँदै हो, त्यसबाट कसैको ज्यान गएमा त्यो लापरवाही हो। कानुनको यो प्रावधानबाट जोगिन मल्लले मदिरा सेवन नगरेको देखाउन खोजिएको छ।
दुर्घटना घटनालगत्तै गरिएको परीक्षणमा मल्लले मादक पदार्थ सेवन गरेको देखिएको अस्पतालको रिपोर्टमा देखिन्छ।
मल्ल आफैले पनि सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयान कागजमा ब्रान्डसमेत उल्लेख गरी रक्सी खाएको खुलाएका थिए।
अघिल्लो रातभर रेस्टुरेन्ट र क्लबहरुमा गएकोले अनिदो भई निदाउँदा गाडी अनियन्त्रित भएको उनको बयानमा उल्लेख थियो।
दुर्घटना हुँदा सँगै रहेका साथी करिश मास्केले पनि मादक पदार्थ सेवन गरेको बयानमा स्वीकारेका छन्।
अचम्मको कुरा त के छ भने मल्लले चलाएको कारमा दुई जना महिला पनि थिइन्, मोडल परमिता राणा र मनीषा महर्जन। तर उनीहरुको बयान मिसिलमा संलग्न देखिन्न।
जबकि उनीहरु घटनाको अघिल्लो रात एलओडी क्लबमा रहेको फोटो उतिबेलै सार्वजनिक भइसकेको छ भने करिश र पृथ्वीको बयानबाट पनि त्यो खुल्छ।
प्रहरीले बयान नलिए पनि सार्वजनिक रुपमा भने परमिताले यो घटनाबारे बोलिसकेकी छिन्।
सञ्जय सिलवाल गुप्तासँगको पडकास्टमा उनले आफूहरु पहिले पनि क्लबिङ गर्दा मापसे गरेकै व्यक्तिले ड्राइभिङ गर्ने तर सुरक्षित घर पुग्ने गरेको बताएकी थिइन्। सामाजिक सञ्जालमा आलोचना भएपछि गुप्ताले त्यो भिडियो युट्युबबाट हटाइसकेका छन् तर सामाजिक सञ्जालमा त्यसको टुक्रा अझै देख्न सकिन्छ। यहाँ क्लिक गरी हेर्नुस्।
परमिताले त्यसमा मापसेको बारेमा कुरा गरेपछि एकैछिनमा कुरा फेर्दै हाँस्दै भन्छिन्, कार चालक एकदमै मातेर गाडी चलाइरहेको थिएन। त्यो बेला कारमा भएका सबै जना सुते अनि त्यो घटना भयो।
एक जनाको ज्यान जाने गरी भएको त्यो दुर्घटनालाई उनले घटना भन्दै हाँसेर बयान गरेकी थिइन्।
मदिराको मातमा र रातभर अनिदो रहेको कुरालाई छोप्न मल्लको बयान अदालतमा फेर्न लगाइयो। उनले अदालतमा स्वास्थ्य परीक्षण प्रतिवेदन पनि झुटो भएको दावी गरे र अस्पतालमा ब्लड टेस्ट, अल्कोहल टेस्ट केही नभएको भने।
रातभर विभिन्न रेस्टुरेन्ट र क्लबमा गएको बयान साथी करिश र आफैले प्रहरीमा दिए पनि अदालतमा उनले बिहान साढे ८ बजे बल्ल साथीलाई भेटेर शिवपुरी तर्फ लागेको दावी गरे।
मल्ले आफूले मदिरा हैन रेडबुल खाएको दावी पनि अदालतमा गरे।
उनीहरु राति नै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेको समयसहितको इन्ट्री, राति क्लबहरुमा गएको सिसिटिभी फुटेज र फोटोहरुको प्रमाणले उनको दावी काट्न सकिन्थ्यो। तर त्यस्तो प्रमाण पेश गरिएको मिसिल अध्ययन गर्दा देखिएन।
उनीहरु निकुञ्जभित्रको रिसोर्टमा जाँदा त्यहाँका सुरक्षा गार्डले मदिरा अत्यधिक सेवन गरेको बयान दिएका छन्।
गाडीको यान्त्रिक खराबीलाई दोष
लापरवाहीपूर्वक गाडी चलाएर पैदल यात्रुको ज्यान जाने गरी दुर्घटना भएको घटनालाई सामान्य घटना देखाउन गाडीको यान्त्रिक खराबीलाई दोष देखाउने प्रयत्न भएको देखिन्छ।
प्रहरीसँगको बयानमा झ्याप्पै निदाएका कारण गाडी अनियन्त्रित भएको बताएका मल्लले अदालतमा भने अचानक स्टेरिङ जाम भएको र ब्रेक समेत नलागेको दावी गरे।
तर उनको दावीलाई यान्त्रिक जाँच प्रतिवेदनले भने सही देखाउँदैन। प्रतिवेदनमा हर्न, स्टेयरिङ, ह्यान्ड ब्रेक र ब्रेक ठीक रहेको देखाउँछ।
यो हेर्नुस्-
यो मुद्दाको फैसलाको पूर्ण पाठ आएको छैन। त्यसैले कुन कुन आधारलाई टेकेर सामान्य दुर्घटना व्याख्या गरियो भन्ने खुलेको छैन। तर मागदावी गरिएको र सुनाइएको सजायमा ऐनको व्यवस्था हेर्दा अदालतले ऐनको दफा १६१ को उपदफा ३ अनुसार सजाय गरेको देखिन्छ।
यो उपदफामा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा मृत्यु भएको रहेछ भने सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।
न्यायाधीश अधिकारीले अधिकतम सजायको आधा ६ महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको देखिन्छ।
जबकि यस्ता मुद्दामा सर्वोच्चको नजिरले यसो भन्छ
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगाधर पौडेलले पनि लापरवाहीका पर्याप्त प्रमाणहरु पेश भएकोले यो फैसलामा चित्त नबुझाई उच्च अदालतमा पुनरावेदन गर्ने बताए।
पृथ्वी मल्लले नेपालमा गाडी चलाउने लाइसेन्स बिना चलाएको गाडीले कसैको ज्यान गएकोले उपदफा ५ बमोजिम लाइसेन्स नभएको व्यक्तिलाई गाडी चलाउन दिने सवारी धनी उनका पिता मदनकुमार मल्ललाई समेत दुई वर्षसम्म कैद सजायको मागदावी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने देखिन्छ। तर शक्तिको प्रभाव र रवाफका कारण दुःख पाउने भूइँमान्छेले मात्रै हो।
सामान्य मजदूरी गरी जीविका चलाइरहेका लीलाको मृत्युपछि सानो छोरासहितको परिवारलाई पाल्ने जिम्मा पति रामकुमार देवकोटाको काँधमा आइपरेको छ।
(यो रिपोर्ट मैले ग्यालेक्सी फोरके टिभीमा प्रसारण हुने सीधा कुराका लागि बनाएको थिएँ। कार्यक्रमको ७४ औँ भागमा यो रिपोर्ट प्रसारण भएको थियो। तलको लिङ्कमा क्लिक गरी हेर्न सक्नुहुन्छ। कार्यक्रममा मृतकका देवर यादव देवकोटाले पनि लाइभ प्रतिक्रिया दिएका थिए)
पैदल हिँड्दा पनि असुरक्षित, अब के हेल्मेट लगाएर हिँड्ने? अझ दुर्घटना गराएपछि ‘पावर शो’ !
सालोक्य जी , खोज पत्रकारीताका लागी हजुरलाई सलाम !! तर के गर्नु , सानालाई ऐन ठुलालाई चैन, हाम्रो नेपालमा। संसारकै अनुपम न्यायालय हाम्रै देश मा छ, जुवा-तास को म्यारिज गेम लाई त स्पोर्ट्स भनेर घोषणा गर्दिए, अरु त के कुरा गराई भो र !!