Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भएभरका अनलाइनहरुले एमाले अध्यक्षको नाम ‘पुष्पकमल दाहाल’ लेख्नुको रहस्य

Posted on March 26, 2022 by Salokya

हो, एकताका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएर बनेको पार्टी नेकपाका अध्यक्ष दुई जना थिए, जसमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। तर सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरिदिएकै एक वर्ष पूरा भइसक्यो। त्यसमाथि एमाले अध्यक्ष त दाहाल कहिल्यै हुँदै भएनन्। हुने कुरा पनि भएन- पार्टी नै अलग।

तर नेपालमा रमाइलो हुन्छ हेर्नुस्। नाम चलेका अनलाइनहरुले शुक्रबार मनाइदिए र लेखिदिए- नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल। हेर्नुस्, क-कसले लेखे यस्तो?

समाचार हो- चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा आएको बारे। पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका उनको शनिबार र आइतबारका कार्यक्रमहरु के के हुने भन्ने बारे समाचार थियो।

यो हेर्नुस् नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको अनलाइन न्युजअफनेपालले लेखेको समाचारको टुक्रा-

अर्काइभ लिङ्क यहाँ क्लिक गरी हेर्नुस्।

अनि यो हेर्नुस् अर्को राष्ट्रिय दैनिक हिमालय टाइम्सको अनलाइनको समाचार-

अर्काइभ लिङ्क हेर्न क्लिक गर्नुस्

अब फेरि अर्को राष्ट्रिय दैनिक राजधानीको अनलाइनको समाचार हेर्नुस्। यसमा पनि उही-

अर्काइभ लिङ्क हेर्नुस्।

हुँदाहुँदा ऋषि धमलाको रिपोर्टर्सनेपालले पनि एमाले अध्यक्ष पुष्पकमल दाहाल नै भएको घोषणा गर्‍यो-

अर्काइभ लिङ्क हेर्न क्लिक गर्नुस्।

यी भए केही नाम चलेका न्युजपोर्टलहरु। एमाले अध्यक्ष पुष्पकमल दाहाल भएको लेख्ने अरु केही उदाहरण पनि हेर्ने भए न्युजपोर्टलको नाम र अर्काइभ लिङ्क तल हेर्नुस्-

फरकधार (नाम फरक भए पनि काम चाहिँ फरक रहेनछ)
डीसीनेपाल
खरीबोट
लोकपथ
नेपालबहस
खरीबोट
सूत्रन्युज

र, इकागज (यसले भने पछि सच्याएको कारण क्यासमा मात्र देखियो)

कसरी सबै एकैसाथ चिप्लिएका?

एक जना पो झुक्किएला लेख्ने बेलामा। दुई जना पो चिप्लिएला लेख्दै गर्दा। एक साथ यति धेरै वटा अनलाइन न्युजपोर्टलहरु जाबो एउटा सामान्य कुरामा कसरी चिप्लिएका ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् भनेर उनीहरुलाई थाहा नभएको हो र ? पक्कै पनि होइन होला। के यो एमालेलाई बदनाम गर्ने प्रपञ्च त हैन ? नत्र देशका मुख्य मुख्य अनलाइनहरु किन अकस्मात् चिप्लिएका? किन सबैले एमाले अध्यक्ष ओलीलाई बिर्सेर दाहाल लेख्न थालेका ?

भएको यस्तो रहेछ

एमालेमाथि षड्यन्त्र भएको हुनसक्ने अनुमान बिक्ला। शंका बलियो बन्ला। तर खासमा भएको कुरा चाहिँ यस्तो रहेछ- यी सब अनलाइनहरुले एक अर्काका समाचार कपि गरेर पेस्ट गरेका हैनन्। तर कपिपेस्ट मात्र गरेका चैँ पक्कै हो। कपिपेस्ट गर्दा मानिस नभएर मेसिन मात्र बन्दा, मान्छेको दिमाग नचलाउँदा यस्तो गम्भीर गल्ती हुन गएको हो।

यी सबै अनलाइनमा आएका समाचारहरुको स्रोत रहेछ- न्युजकारखाना नामको नयाँ न्युज एजेन्सी। न्युज एजेन्सीको काम समाचार तयार पारेर बेच्ने हो। शुल्क तिरेका ग्राहकहरुले त्यसको समाचार आफ्नोमा प्रयोग गर्न पाउँछन्।

हेर्नुस् सबैको समाचार स्रोत न्युज कारखानाको समाचार –

हेर्नुस् अर्काइभ लिङ्क।  

यस्तो गल्तीबाट बच्न के गर्ने? मेरो दुई सुझाव

१) डेस्कमा बस्ने पत्रकार साथीहरु, खासमा अनलाइनको सम्पादकमा जसको नाम भए पनि रियल सम्पादक तपाईँ हो। तपाईँले राम्रो गरे ताली सम्पादकले पाए जस्तो नराम्रो गरे गाली उनैले खाने हो। आफ्ना सम्पादकलाई गाली खानबाट बचाउने हो भने मेरो सुझाव- मेसिन हैन, मान्छे बन्नुस्। कपिपेस्ट गर्दा पनि दिमाग चलाउनु पर्छ। कम्तिमा एक पटक आफैले समाचार त पढ्नुस्। तपाईँले नै नपढेको समाचारमा पाठकलाई के वास्ता होला र?

२) सम्पादकहरुले एउटा गतिलो नीति बनाउनु पर्‍यो। न्युज एजेन्सीको समाचार प्रयोग गर्दा स्रोत फलानो न्युज एजेन्सी भनेर लेखिदिने हो भने दोष पनि उसको बढी देखिन्छ। यद्यपि, उसले गलत लेख्दैमा तपाईँले जस्तातस्तै हाल्ने हो र भन्ने प्रश्न नउठ्ने हैन। तर पनि न्युज एजेन्सीको समाचार प्रयोग गर्दा क्रेडिट दिने चलन विश्वभर छ। हाम्रोमा मात्र ‘पैसा पनि तिर्नुपर्ने, क्रेडिट पनि दिने?’ भन्ने सोच देखिन्छ। यसलाई सकेसम्म हटाएर क्रेडिट दिने बानी बसाल्नु उचित होला। त्यसैगरी डेस्क बलियो राख्नुहोला। टेबल, कुर्सी बलियो भन्या हैन, दिमागी काम गर्ने श्रमजीवी पत्रकार भनेको।

जाँदाजाँदै,

शुक्रबार गुड फ्राइडे नाम र दाम प्रशस्त कमाएको नेपालका दुई अनलाइनहरुले पनि मनाए। उनीहरुले शेखर कोइरालाको समाचारमा शशांक कोइरालाको फोटो हाले-

1 thought on “भएभरका अनलाइनहरुले एमाले अध्यक्षको नाम ‘पुष्पकमल दाहाल’ लेख्नुको रहस्य”

  1. Ale says:
    March 27, 2022 at 2:53 pm

    Salokya ji, are there two ‘kharibot’ portals ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme