पल शाह प्रकरणमा भ्रम फैलाएको भन्दै साइबर ब्युरोले युट्युबरहरुलाई तारो बनायो। हुन पनि अति नै गरेका थिए केही युट्युबरहरुले। नाबालिग किशोरीको नामै किटेर जथाभावी बोलेर अनुसन्धान भइरहेको विषय गिजोल्नु गिजोलेका थिए। तर भ्रामक हेडलाइन र समाचार दिनमा युट्युबर मात्र हैन, अनलाइन मिडियाहरु पनि अगाडि नै देखिए। भारेभुरे कपिपेस्ट अनलाइनको त के कुरा गराइ भो र, नाम चलेकै मुख्य अनलाइन मिडियाले पनि यस्तै गरेको भेटियो।
फागुन २२, २०७८ मा चलेको अनलाइनमध्ये एक रातोपाटीमा एउटा समाचार आयो, जसको शीर्षक थियो- पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’।
यो हेडलाइन पढ्ने बित्तिकै के बुझिन्छ?
बलात्कार भयो भनिएको घरमा पल र पीडित बालिका सँगै कोठामा बसेका रहेछन्, घरधनीले नै त्यस्तो बयान दिएको रहेछ। यो त बलियो प्रमाणै भो। अब पल शाह फँसे।
तर हिजो दर्ता गरिएको मुद्दाको अभियोग पत्र हेर्दा घरधनी दम्पतीले त्यस्तो अर्थमा बयान गरेको देखिएन। अर्थात् हेडलाइनले भ्रम छरेको रहेछ।
रातोपाटीको समाचारमा लेखिएको थियो-
फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए ।
यो पढ्दा घटना भएको (बलात्कार भएको) दिन कमल खत्री भन्ने व्यक्ति घरको छुट्टै कोठामा अनि पल र पीडित बालिका सँगै बसेको भन्ने बुझिन्छ।
त्यसैगरी ऋषि धमला सञ्चालक रहेको रिपोर्टसनेपाल डट कममा घरधनी प्रदीप थापाले पल र बालिका राति एउटै कोठामा बसेको बयान दिएपछि… शीर्षकको समाचार छ। त्यसमा लेखिएको छ-
बलात्कार भएको भनिएको तनहुँको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदीप थापाको घर अनुसन्धानको दायरामा परेको छ । थापा र उनकी पत्नीसँग प्रहरीले बयान लिइसकेको छ । प्रहरीका अनुसार थापा दम्पत्तिले पल शाह र पीडित भनिएकी बालिका राति एउटै कोठामा बसेको बयान दिएका छन् । १४ वैशाख २०७८ को राति पल र बालिका एउटै कोठामा बसेको र अर्का व्यक्ति कमल खत्री छुट्टै कोठामा बसेको बयान दिएको बुझिएको छ । पढ्नुस् पूरा समाचारको अर्काइभ लिङ्क
के साँच्चै घरधनी दम्पतीले त्यस्तै भनेका हुन् त ?
हेर्नुस् अभियोग पत्रमा राखिएको बयानको अंश-
भनेपछि घरधनी दम्पतीले गरेको बयान कागजमा त पीडित किशोरी अलग्गै कोठामा, प्रतिवादी पल शाह र कमल खत्री सँगै अर्कै कोठामा र अर्का जुरी ठाकुर नामका व्यक्ति हलकोठामा सुतेको भनिएको रहेछ।
तर समाचारको हेडलाइन र समाचार यसरी ट्विस्ट भयो कि पल र किशोरी एउटै कोठामा सँगै बसेको जस्तो बुझियो।
तर समाचारमा लेखिएको कुरा होइन भन्न पनि मिल्दैन। किनभने ‘पल र बालिका सँगै बसेका हुन्’ को अर्थ सँगै कोठामा बसेका भन्ने मात्र हुन्न, ‘एउटै घरमा सँगै बसेको’ भन्ने पनि हुन आउँछ। दुई जना एउटै घरमा त बसेकै रहेछन् नि। एउटै घरमा बसेकोलाई सँगै बसेको भन्ने अर्थ पनि लगाउन सकिन्छ नि।
स्पष्ट विवरण नखोली समाचार नलेखेकोले भ्रम पर्ने देखियो।
अब रातोपाटीले यस्तो लेखेपछि अरु कपिपेस्ट गर्ने अनलाइनहरुलाई के चाहियो र? गुगलमा रातोपाटीको समाचारको अंश ‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ खोज्दा ४८४ वटा रिजल्ट भेटियो।
त्यसमध्ये सूचना विभागमा दर्ता भएका केही अनलाइनहरुको हेडलाइन र अर्काइभ लिङ्क यस्तो छ-
केटिएमदैनिक : घरबेटीले दिए नाबालिकलाई बलियो बनाउने प्रमाण …
पल शाह प्रकरणमा घरधनी दम्पतीले पनि खोले मुख, प्रहरीसँग दिए यस्तो बयान
सञ्चारकेन्द्र : पल र बालिका सँगै बसेको घरधनी दम्पतीको बयान, अरु के-के खुल्यो रहस्य
ओएसनेपाल : घरधनी दम्पतीले पनि दिए पल शाह र गायिका बालिका सँगै बसेको बयान
नेपालमत : पल शाह प्रकरण : प्रहरीले लियो घरधनीको बयान
यी सब अनलाइनले अलि अलि भाषा यताउता गरे पनि रातोपाटीमा उल्लेख भएको मुख्य विषय ‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ लाई हुबहु सारेका छन्। तुलना गर्नुभयो भने अरु पनि हुबहु देखिन्छ। रातोपाटीले फैलाएकै समाचारलाई थप फैलाउन उनीहरुले योगदान गरे। तर वास्तवमा अभियोग पत्र हेर्दा बयान त्यस्तो देखिएन। बयानमा त अलग्गै कोठा र अर्कै कोठा भनिएको छ।
सँगै त सँगै, सँगै घर भनेको हो कि, सँगै कोठा भनेका हुन् कि, सँगै बेड भनेका हुन् कि, सँगै टोलमा भनेका हुन् कि, प्रष्ट छ त समाचारमा ? अहँ। अनि भ्रम फैलाएको भएन र यो पनि?
अभियोग पत्रको बयान सार्दै, हाल्दै
यो प्रकरणमा के के अभियोग लगाइयो, के के आधारमा लगाइयो भनेर चार्जसिट (अभियोग पत्र) हेरेर त्यसको विश्लेषण राख्नु एउटा कुरा। अहिले त अनलाइनहरुले अभियोग पत्र हेर्दै फलानोले फलानो बयान दियो भन्दै टुक्राटुक्रा सार्दै, हाल्दै गरेको पनि देखियो। बुझ्नु पर्ने कुरा के हो भने अभियोग पत्रमा त अभियोग पुष्टि गर्न सहयोग हुने खालका बयानको अंश मात्र राखिने हो। खास कुरा हेर्न त मिसिलमा राखिएको बयानको पूरा अंश नै पढ्नु पर्ने हुन्छ। त्यो कसैले गरेको देखिएन।
कतिपय अवस्थामा त प्रहरीले करकापमा बयान कागज गराएको भनेर अदालतमा अर्कै बकपत्र गर्ने पनि हुन्छन्। त्यसैले अचेल भिडियो बयान गराउने चलन पनि छ।
अनुसन्धानका क्रममा अधिकारप्राप्त अधिकारीका सामु जस्तो बयान कागज गरिए पनि अदालतमा उपस्थित भएर पनि बकपत्र दिनुपर्ने हुन्छ। अनुसन्धानका क्रममा एउटा कुरा र अदालतमा बकपत्र गर्दा अर्को कुरा भन्ने उदाहरण पनि प्रशस्त छन्। यसले मुद्दामा पनि असर पार्न सक्छ। जबर्जस्ती करणीकै विषयमा पनि मैले आवेगमा आएर त्यतिबेला त्यसो भनेको थिएँ भनेर अदालतमा होस्टाइल भइदिँदा अभियुक्तले सफाई पाएका उदाहरण पनि छन्।
अभियोग पत्र मात्र हेर्ने हो त अभियोग पुष्टि भएको नै देखिन्छ। तर अभियोग पत्रमा लिइएका दावी प्रमाणबाट पुष्टि हुन्छन् कि हुँदैनन् भनेर अदालतमा पक्ष र विपक्षको बहसपछि बल्ल न्यायाधीशले त्यसको निर्णय गर्ने हुन्।