आज कलाकार प्रियङ्का कार्की समाचारमा छाइन्। क्रिप्टोकरेन्सीको कारोबारको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लियो रे भन्ने खबरहरु सामाजिक सञ्जालमा देखियो।
कुरो के रहेछ भनेर मिडियामा आएका कुराहरु हेर्दा झन् कन्फ्युजनमा पार्ने कुराहरु रहेछन्। हुँदै नभएको भिडियोको कुरा पनि लेखिएछन्।
उदाहरणका लागि रातोपाटीमा यो शीर्षकमा समाचार आयो- ‘नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा, क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप’। अर्काइभ लिङ्क हेर्न क्लिक गर्नुस्।
यसमा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई बोलाएर बयान लिएको कुरा रहेछ। तर अनलाइनखबरमा भने ‘क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्वीर आएपछि सीआईबी पुगिन् प्रियंका’ शीर्षकमा समाचार थियो, जसमा प्रियङ्कालाई सिआइबीले बोलाएको हैन कि प्रियङ्का आफैले चाहिँ उजुरी दिएको भन्ने बुझिन्थ्यो। हेर्नुस् अनलाइनखबरको समाचार अर्काइभ लिङ्क।
अझ अचम्म चाहिँ रातोपाटीले लेखेको यो एउटा लाइन हुबहु धेरै अनलाइनहरुमा कपिपेस्ट भएछ- ‘केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले (प्रियङ्काले) भनेकी थिइन्–‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’
उदाहरणका लागि
नेपालखबर : अभिनेत्री प्रियंका कार्की सीआईबीको अनुसन्धानमा
अर्थसंसार : ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान
हाम्राखबर : सीआईबीको फन्दामा अभिनेत्री प्रियंका कार्की
इताजाखबरले त हेडलाइनै यस्तो बनायो : आफैले पोष्ट गरेको भिडियोका कारण फसीन् नायीका प्रियंका कार्की, केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिँदै
अरु पनि थुप्रै अनलाइनहरुले रातोपाटीको समाचारको यो लाइन कपिपेस्ट गरे-
समाचार लेख्नेले खै त देखाएको भिडियो?
यति धेरै अनलाइनहरुले एउटै व्यहोराको समाचार लेखेपछि जसलाई पनि लाग्न सक्छ- प्रियङ्काले साँच्चै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर ‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्’ भनेकी हुन् कि के हो ?
तर अचम्म के भने सुरुमा न यो समाचार सुरुमा लेख्ने रातोपाटीले, न कपिपेस्ट गर्ने अरु कसैले यो भिडियो राख्न सके। भिडियो नभए भिडियो पोस्ट गरेको स्क्रिनसट मात्रै भए पनि राख्न सकिन्थ्यो होला नि। त्यो पनि छैन। अनि के आधारमा चाहिँ प्रियङ्काले भिडियो पोस्ट गरे भनेर समाचार लेखेका होलान् त?
खास कुरा यस्तो पो रैछ
अनि के रहेछ त खास कुरा भनेर खोज्दै जाँदा भिडियो होइन, फेसबुकमा एउटा विज्ञापन बनाइएको पत्ता लाग्यो। यो विज्ञापन मैले पनि हिजो अस्तितिर फेसबुक फिड स्क्रोल गर्दै जाँदा भेटेको थिएँ। स्क्रिनसट चाहिँ रेड्डिटमा भेटियो।
फेसबुकको स्पोन्सर्ड पोस्टमा प्रियङ्का कार्कीको फोटोसहित ‘इन्भिजिबल फ्रेन्ड्स डट को’ वेबसाइटको लिङ्क राखिएको विज्ञापन देखिएको थियो।
फेसबुकमा कसैले निश्चित रकम तिरेर धेरै जनाको फेसबुक फिडमा देखिने गरी विज्ञापन गर्न मिल्छ। त्यसैलाई स्पोन्सर्ड पोस्ट भनिन्छ।
यस्ता स्पोन्सर्ड पोस्टमा कहिलेकाहीँ फिसिङ लिङ्क अर्थात् कसैको युजर नेम र पासवर्ड चोर्नका लागि बनाइएको वेबसाइट पनि हुने गर्छ। नेपाल टेलिकम, एनसेलको नाममा निःशुल्क डेटा दिने, आइफोन दिने आदि वाचा गरिएका फेक पेजहरुका यस्ता विज्ञापन प्रशस्त आउने गर्छन्। यस्ता विज्ञापनमा क्लिक गरेपछि फेसबुकको जस्तै देखिने डिजाइन भएको फिसिङ साइटमा पुर्याइन्छ र त्यहाँ प्रयोगकर्ताले झुक्किएर युजरनेम र पासवर्ड राखे भने त्यो त्यसरी पासो थाप्ने कहाँ पुग्ने गर्छ।
उदाहरणका लागि नेपाल टेलिकमको नाममा बनाइएको फिसिङ लिङ्कसहितको फेसबुकमा गरिएको यो स्पोन्सर्ड पोस्ट हेर्नुस्-
प्रियङ्का कार्कीले विज्ञापन गरेको हो त?
फेसबुकमा डलर तिरेर बुस्ट गरिएको अर्थात् स्पोन्सर्ड पोस्टमा उनकै फोटोसहित ‘प्रियङ्का कार्कीले लगानी गरेको छ’ लेखिएको छ।
यो विज्ञापन प्रियङ्का कार्कीलाई पैसा दिएर उनलाई मोडलका रुपमा प्रयोग गरेको सम्भावना पनि नहुने होइन। सिआइबीले त्यही अनुसन्धान गर्न खोजेको होला।
तर, बुझ्नु पर्ने कुरा के हो भने यस्तो खाले विज्ञापन कसैको अनुमति नलिई यत्तिकै बनाएर प्रयोग गर्न पनि नसकिने होइन। जोकसैले जसको सुकै फोटो प्रयोग गरेर पनि फेसबुकमा डलर तिरेर बुस्ट गरी यस्तो विज्ञापन गर्न सक्छन्।
अर्थात् कसैले प्रचण्डको वा केपी ओलीको वा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो र नाम राखेर यस्तै विज्ञापन बनाएर फेसबुकमा बुस्ट गर्न सक्छन्।
अस्ट्रेलियामा फेसबुकलाई नै मुद्दा
ठ्याक्कै यस्तै घटना अस्ट्रेलियामा भएको छ। सेलिब्रिटीहरुको प्रयोग गरेर झुट्टा, फर्जी विज्ञापन बनाएर हालिएको र त्यसलाई रोक्न नसकेको भन्दै अस्ट्रेलियाको एउटा सरकारी निकायले फेसबुक सञ्चालक कम्पनी मेटालाई मुद्दा हालेको थियो।
मेटालाई यस्ता फर्जी विज्ञापन आफ्नो प्लेटफर्ममा प्रयोग भइरहेको छ भनेर थाहा हुँदाहुँदै पनि रोक्न कदम नचालेको भन्दै मुद्दा हालिएको थियो। यो बारे रोयटर्सले अस्ति भर्खर समाचार लेखेको छ। यहाँ क्लिक गरेर हेर्न सकिन्छ।
अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसनको वेबसाइटमा यो बारे जानकारी हेर्न यहाँ क्लिक गर्नुस्।
हाम्रोमा चाहिँ के भयो त?
हामीले पाएको जानकारी अनुसार फेसबुकमा कसैले डलर तिरेर बुस्ट गरेको यही विज्ञापन नेपाल राष्ट्र बैंकका कसैले देख्यो होला। राष्ट्र बैँकले गएको माघ महिनामा नै भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो।
फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिइसकेको छ।
राष्ट्र बैँकले कलाकार कार्कीले क्रिप्टो प्रमोट गर्ने गरेको देखिएकाले के हो छानबिन गर्न भनेपछि सिआइबीले उनलाई बोलाएर सोधपूछ गरेको रहेछ।
अनुसन्धान सकिएको रहेनछ। अनलाइनखबरका अनुसार उनको मोबाइल सिआइबीले नियन्त्रणमा लिएर उनलाई चाहिँ परिवारको जिम्मा लगाएर पठाइएको रे।
क्रिप्टोको कारोबार गरेको भए मोबाइलबाट मात्र गर्ने भन्ने हुन्न क्यार। ल्यापटप, डेस्कटप, ट्याबलेटबाट मात्र गरेर मोबाइलबाट नगर्ने पनि हुनसक्ला नि।
जे होस्, अनुसन्धान भइराछ। यही मात्र कुरा हो कि अरु पनि छ भन्ने कुरा अनुसन्धान सकिएपछि भएको के रहेछ थाहा पाइएला नै। तर अस्ट्रेलियामा जस्तो अरु कसैले फेक विज्ञापन बनाएर फेसबुकमा हालेको भए बित्थामा उनले दुःख पाएको देखियो। यही मात्र होला र, त्यस्तो विज्ञापन अरु पनि आउन सक्ला। को कसको दिन बिग्रने हो फेरि !
पाँच दिन अघि दर्ता गरिएको वेबसाइटको विज्ञापन
विज्ञापनमा राखिएको ‘इन्भिजिबल फ्रेन्ड्स डट को’ वेबसाइटको लिङ्कका बारेमा मैले यसो खोजी हेरेँ। invisiblefriends.co नामको अर्कै वेबसाइट रहेछ। यो विज्ञापन गरिएको चाहिँ friends को स्पेलिङ frends भएकोवाला रहेछ।
हुइजमा खोज्दा यो वेबसाइट पाँच दिनअघि अर्थात् मार्च १५ मा मात्र दर्ता गरिएको भेट्यौँ। यो हेर्नुस्–
भर्खर नयाँ वेबसाइट खोलेर कसैले यस्तो विज्ञापन बनाएर फेसबुकमा हालेको हुनसक्छ।
उनले क्रिप्टोमा लगानी गरेको नगरेको, यो विज्ञापन बनाउन उनको संलग्नता रहेको नरहेको कुरा नेपाल प्रहरीकै खतरा अनुसन्धान गर्ने भनेर नाम कमाएको सिआइबीको अनुसन्धान पछि थाहा होला नै।
तर, प्रियङ्काले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्’ भनेकी थिइन् भनेर समाचार लेख्ने र त्यसैलाई कपिपेस्ट गरेर फैलाउनेहरुको बारेमा चाहिँ कसले अनुसन्धान गरिदिने हो कुन्नि। भिडियो छ भनेर प्रमाण दिन सके साँचो भयो समाचार, नभए त यो पनि झुटो भयो नि, हैन र ?