Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पल शाहविरुद्ध किन मुद्दा चलाइयो ? अभियोग पत्रमा लिइएका सात आधार

Posted on March 17, 2022March 18, 2022 by Salokya

कलाकार पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा चैत ३ गते बिहीबार नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दा दर्ता भएको छ। मुद्दा चलाउनका लागि जिल्ला सरकारी वकिलको कार्यालयले १६ पेजको अभियोग पत्र तयार पारेको छ। अभियोग पत्रमा लिइएका सात प्रमुख आधार यस्ता छन्-

आधार नम्बर १ : पीडितका बुबाको जाहेरी दरखास्त

कुनै पनि मुद्दाको उठान जाहेरी दरखास्तबाट हुने गर्छ। यो मुद्दामा पीडित नाबालिग किशोरी भएकोले पीडितका बुबाको जाहेरी दरखास्त परेको छ।

आफ्नी छोरीले विगत ३ महिनादेखि गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखि सोधपुछ गर्दा नेपाली सिने जगतका प्रख्यात कलाकार पल शाह भन्ने पूर्णविक्रम शाहले छोरीलाई विभिन्न ठाँउहरुमा भिडियो सुटिङमा जाने क्रममा तिमीलाई विवाह गर्छु भन्ने आश्वासन दिई पटकपटक जवरजस्ती करणी गरेको र मिति २०७७/१२/७ गते समेत गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित गैडाकोट रिसोर्टमा एकदिन सुटिङ्गको लागी लगेकोमा सुटीङ्ग क्यान्सील गरी प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाहले छोरीलाई पाँच दिनसम्म रिसोर्टको कोठामा राखी पटक-पटक जबरजस्ती करणी गरेको भनि नाबालिग छोरीले बताएको हुँदा छोरीलाई विवाहको आश्वासन दिई पटकपटक जबरजस्ती करणी गर्ने निज प्रतिवादीलाई कानुन बमोजिम कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त परेको थियो।

म्युजिक भिडियोको स्क्रिनसट

आधार नम्बर २ : घटना भएको ठाउँमा पल शाह र पीडित बसेको देखियो

मिति २०७७ चैत ७ र ८ गते गैँडाकोट रिसोर्टको कोठा नम्बर १०१ र १०२ समेतमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह तथा पीडित समेतको सुटिङ्ग युनिट बसेको भन्ने उक्त रिसोर्टको इन्ट्रीबुकको प्रतिलिपि तथा घटनास्थल मुचुल्का समेतबाट देखिएकोलाई अभियोग पत्रमा अर्को आधार मानिएको छ।

आधार नम्बर ३ : पीडितको बयान कागज

प्रहरीले अधिकारप्राप्त अधिकारीसमक्ष गराएको बयान कागजमा ‘पीडितले प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जाहेरी व्यहोरा अनुसार गैडाकोट रिसोर्टको १०२ नं.को कोठामा राति म सुतिरहेको अवस्थामा म्यासेज गरी ढोका खोल्न लगाई विवाह गर्छु भनी मेरो इच्छा विपरीत पटक-पटक जबरजस्ती करणी गरेका हुन् भन्दै प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले गरेको कसूरलाई पुष्टि हुने गरी कागज गरिदिएको देखिएको’ भनी अभियोग पत्रमा अर्को आधार लिइएको छ।

आधार नम्बर ४ : रिसोर्ट सञ्चालिका,वेटर, सँगै आएकाको बयान

गैडाकोट रिसोर्ट सञ्चालिका तथा उक्त रिसोर्टका वेटरले मिति २०७७।१२।६ गतेदेखि प्रतिवादी तथा पीडितसहितको सुटिङ्ग युनिटले रिसोर्ट बुकिङ्ग गरी ३ दिनसम्म बसिगएका हुन्। उक्त अवधिमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरा जाहेरी परेपछि थाहा पाएको हो भन्ने व्यहोरा लेखाएका छन्।

त्यतिमात्र होइन सुटिङ्ग युनिटमा सँगै आएका अर्जुनप्रसाद तिवारी र छत्रबहादुर श्रेष्ठले पनि मिति २०७७।१२।०७ गते सुटिङ्गको क्रममा गैडाकोट रिसोर्टमा आई ९ गतेसम्म बसेकोमा उक्त रिसोर्टको १०१ नं.को कोठामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र सोही कोठासँग जोडिएको १०२ नं.को कोठामा पीडित बसेका थिए र उक्त समयमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने हामीहरुले थाहा पाएको हो भन्ने व्यहोरा लेखाएको देखिएबाट प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाह र पीडित परिवर्तित नाम गैडाकोट ५ (क) रिसोर्टमा बसेकोमा विवाद नदेखिएको भन्ने आधार अभियोग पत्रमा लिइएको छ।

आधार नम्बर ५ : पीडितको किटानी कागज र शारीरिक परीक्षण प्रतिवेदन

अभियोग पत्रमा अर्को आधार पीडितले मलाई प्रतिवादीले गैडाकोट रिसोर्टमा जबरजस्ती करणी गरेका हुन भनी किटानी कागज गरिदिएकोलाई लिइएको छ। त्यसलाई पुष्टि हुने गरी ‘पीडित बालिकाको Hymen: 7, 5 0’clock position मा च्यातिएको भन्ने शारीरिक परीक्षणबाट देखिएकोले’, अभियोगपत्रमा लेखिएको छ, ‘प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडित परिवर्तित नाम गैडाकोट ५ (क) लाई उक्त गैडाकोट रिसोर्टको कोठा नम्बर १०२ मा पटकपटक जवरजस्ती करणी गरेको भन्ने पुष्टि भइरहेको देखिन्छ।’

आधार नम्बर ६ : पल शाहकै बयान

पल शाहले मैले जबरजस्ती करणी गरेको होइन भन्ने इन्कारी बयान दिएको भए पनि मिसिल संलग्न अडियो रेकर्डमा भएको आवाज आफ्नो भएको, वारदात मिति समयमा पीडितसँग सँगै बसेको तथ्यलाई स्वीकार गर्नुलाई अभियोग पत्रमा अर्को आधारका रुपमा लिइएको छ। त्यसैगरी अभियोग पत्रमा लेखिएको छ, ‘जाहेरी व्यहोरा, पीडितको कागज समेतलाई अन्यथा हुन् भनी खण्डन गर्न सकेको नदेखिएबाट प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जाहेरवालाको नाबालिका छोरी पीडितलाई जबरजस्ती करणी गरेको भन्ने पुष्टि भएको देखिन्छ।’

अभियोग पत्रमा उद्‍धृत भएको पल शाहको बयानमा लेखिएको छ- “मिति २०७७ चैत्र ७ गते राती रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो। मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झूठा हो। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन। म र पीडित बीच प्रेम सम्बन्ध थिएन। बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामी बीच भएको छलफलको अडियो क्लिप हो। उक्त अडियोमा भएको आवाज मेरो हो। सोमा भएको कुनै आवाज मेरो नभएको जस्तो लाग्छ। उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो। मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी-प्रेमीकाको उदाहरणसहित स्पष्ट पारेको हो। निजलाई मैले जबरजस्ती करणी गरेको होइन। सुटिङ सकिए पछि सबै आ-आफ्नो कोठामा जाने क्रममा मेरो र पीडित सुत्ने कोठा सँगै भएको कारणले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नि, ल राम्रोसँग सुत भनी आफ्नो कोठामा गई सुतेको हो।”

आधार नम्बर ७ : दुर्गेश, सम्राट, सरोज लगायतको बयान

अभियोग पत्रमा थप पुष्टिका आधारका रुपमा बुझिएका दुर्गेश भन्ने दुर्गाबहादुर थापा, सम्राट चौलागाई र सरोज भन्ने पुण्यप्रसाद ओली समेतको बयान कागजलाई लिइएको छ।

पीडितलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले भिडियो सुटिङ्ग गर्न विभिन्न ठाउँमा लगि जवरजस्ती करणी गर्दै आइरहेको र मिति २०७७।१२।७ गते समेत गीत सुटिङ्ग गर्न गैँडाकोटमा आएको अवस्थामा गैडाकोट रिसोर्टमा जवर्जस्ती करणी गरी यौन शोषण गरेको भनी पीडितले रुँदै बताएकी हुँदा हामीहरुले पीडितलाई उजुरी गर्न सल्लाह दिएको हो भन्ने व्यहोरा उनीहरुले लेखाएका छन्।

अन्य प्रमाण

अभियोग पत्रमा उल्लेख भए अनुसार अडियो रेकर्डको सीडी परीक्षणको लागि पठाइएकोमा त्यसको प्रतिवेदन प्राप्त हुन बाँकी छ। त्यसैगरी  पीडित र प्रतिवादीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय, तनहुँबाट परीक्षणको लागि पठाइएकोमा प्राप्त भएपछि सो-को परीक्षण प्रतिवेदनको प्रतिलिपि पेश गरिने भनिएको छ। यो घटनामा अन्य कोही कसैको मिलेमतो तथा अन्य संलग्नता रहेको खुली आएमा सोही बखत कानून बमोजिम गरिने व्यहोरा समेत अभियोग पत्रमा उल्लेख छ।

अब के हुन्छ ?

यो माथिका अभियोग पत्रमा सरकारी वकिलको कार्यालयले लिएका आधार मात्र हुन्। यो नै अभियोग पुष्टि भएको होइन। यसमा पक्ष विपक्षका वकिलहरुको बहसपछि न्यायाधीशले अभियोग पुष्टि हुने हो वा हैन निर्णय गर्छन्।  अभियोग पुष्टि भए सजाय तोक्छन्, पुष्टि नभए सफाई दिन्छन्।

यो मुद्दामा तनहुँ जिल्ला अदालतको आदेशले म्याद थप गरी त्यहाँको प्रहरीले न्यायिक हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। त्यसैले त्यहाँबाट अनुसन्धान तथा सरकारी वकिल कार्यालय तनहुँबाट अभियोजन भई तनहुँ जिल्ला अदालतबाट थुनछेक आदेश भए पश्चात् मात्र त्यता झिकाई कारबाही गरी पाउन अनुरोध गरिएको छ।

तनहुँ जिल्ला अदालतमा कथंकदाचित यो मुद्दामा अदालतको आदेश अनुसार छुट्ने भएमा पनि त्यहाँको जिल्ला प्रहरी कार्यालयमार्फत् नवलपुर जिल्ला अदालतमा उपस्थित गराउन पनि भनिएको छ।

तनहुँ जिल्ला अदालतले सुरुमा ७ र पछि १२ दिनको म्याद थप गरेको थियो। त्यो म्याद बाँकी नै छ। म्याद सकिएपछि अनुसन्धान नसकिएको भए अझै म्याद थप हुनसक्छ वा अनुसन्धान सकिएको भए त्यहाँको सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्न सक्छ। मुद्दा दायरपछि उतै थुनछेकको बहस हुनेछ। अर्थात् थुनेर मुद्दाको काम अघि बढाउने कि धरौटीमा छाडेर भन्ने विषयमा अदालतले आदेश गर्नेछ। सामान्यतया यस्तो गम्भीर मुद्दामा पुर्पक्षका लागि थुनामा नै पठाइन्छ। पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएमा उनी अहिले जस्तो प्रहरी चौकीमा हैन, जेलमा नै बस्नु पर्नेछ।

(कभर फोटो पल शाहको फोटो र नवलपुर जिल्ला अदालतको फोटोको कोलाज हो)

पल शाहविरुद्ध नवलपुरमा अभियोग दर्ता, अब ‘अभियुक्त’, प्रहरीले जुटायो यस्ता प्रमाण

3 thoughts on “पल शाहविरुद्ध किन मुद्दा चलाइयो ? अभियोग पत्रमा लिइएका सात आधार”

  1. Nawa Raj says:
    March 18, 2022 at 7:40 pm

    Evidence ekdumai kam dekhincha 12 barsha jail haalnalai. Pidit ko bayaan ra audio clip matra le kasailai 12 barsha jail haalna sakinna. Paul shah doshi hun tara evidence nabhyaka kaaranle jail nahune dekhincha

    Reply
    1. Suhreet says:
      March 22, 2022 at 2:16 pm

      Completely agree with Nawa Raj. But he has a relationship with child, which is quite clear and he also accepted. So, he should get the punishment for that only.
      12 year is too long… It seems they did sex on consensus and charging him for rape, which is not fair.

      Reply
  2. Pingback: पल शाहविरुद्ध नवलपुरमा अभियोग दर्ता, अब ‘अभियुक्त’, प्रहरीले जुटायो यस्ता प्रमाण – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि saloky[email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme