Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुलिसकै सूचना ‘फेक’ हान्दिएछन्, मिडियासमेत यसरी झुक्कियो

Posted on March 12, 2022 by Salokya

नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि १ लाख १८ हजार जना म्यादी प्रहरीको भर्ना खोलेको दावी गरिएको एउटा सूचना बुधबार (९ मार्च २०२२) देखि नै सामाजिक सञ्जालमा देखिएको थियो। बिहीबार त्यो अझ फैलियो र अनलाइन मिडियामा समेत योबारे समाचार आयो। बिहीबार अपराह्न प्रहरी प्रधान कार्यालयले यसको खण्डन गर्दै ‘हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको’ जानकारी दियो। हाम्रो तथ्य जाँचमा २०७४ साल असोज २४ गते नेपाल प्रहरीले प्रकाशन गरेको म्यादी प्रहरी भर्नासम्बन्धी सूचनालाई तोडमरोडसहित सम्पादन गरी मिथ्या सूचना फैलाएको देखियो।

कसरी फैलियो सूचना ?

फेसबुकमा म्यादी प्रहरी भर्ना 2078 लेखी खोज्दा यी मिथ्या सूचना धेरैले अपलोड गरेको देखिन्छ। केही पोस्टहरु ९ मार्च (बुधबार)देखि कै देखिन्छन्। उदाहरणका लागि यो अर्काइभ लिङ्क र यो अर्काइभ लिङ्क।

जनआस्था साप्ताहिकको अनलाइन जनआस्था डट कमले बिहीबार बिहान ‘चुनाव स्थानीय तहको,म्यादी प्रहरी प्रतिनिधिसभा र प्रदेशसभाको ?’ शीर्षकको समाचार प्रकाशन गरेको छ जसमा ‘प्रहरी प्रधान कार्यालयले घोषणा नै नभएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचननिम्ति म्यादी प्रहरी भर्नाको सूचना प्रकाशित गरेको छ’ लेखिएको छ।

समाचारमा लेखिएको छ- ‘आगामी चुनावको मिति उल्लेख नभएको,२०७८ सालको चुनावको निम्ति भनिएको, निवेदन पेश गर्ने अन्तिम मिति नतोकिएको गैरजिम्मेवार सूचना प्रहरीले सार्वजनिक गरेपछि सर्वसाधारण अन्यौलमा परेका छन् । स्वयम् सुरक्षा निकाय सरकारी निर्णयहरुबारे कति बेखबर छ भन्ने प्रमाण पनि यो सूचनाले पुष्टि गरेको छ।’ हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

के छ भाइरल भएको सूचनामा ?

भाइरल भएको भर्ना सम्बन्धी नेपाल प्रहरीको मिथ्या सूचना

भाइरल भएको सूचना अलि नियालेर हेर्ने बित्तिकै सही नभएको थाहा पाउन सकिने केही आधार छन्। उदाहरणका लागि माथि लगाइएको रातो घेराहरु हेर्नुस्-

  • सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको हो। सूचनामा स्थानीय तहको नभई घोषणा नै नभएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७८ का लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने भनिएको छ। २०७८ मा चुनाव हुने घोषणा भएकै छैन।
  • सूचनामा अङ्ग्रेजीमा अङ्क र नेपाली अङ्क दुवैको प्रयोग गरिएको छ। सूचनामा 2078 र माग प्रहरी संख्या 1,18,000 अङ्ग्रेजीमा र बाँकी सब अङ्क नेपालीमा छ।
  • सूचनामा दरखास्त दिने मिति नै खुलाइएको छैन। यस्तो किसिमको सूचनामा दरखास्त दिने मिति फलानोदेखि फलानोसम्म भनेर खुलाइएको हुन्छ।

नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले बिहीबार अपराह्न प्रेस विज्ञप्ति प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको बतायो।

कहिलेको थियो सूचना ?

नेपाल प्रहरीले पछिल्लो पटक प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव भएको वर्ष २०७४ सालको असोज २४ गते ९८ हजार २६८ जना म्यादी प्रहरी भर्ना गर्न सूचना निकालेको थियो। हेर्नुस् नेपाल प्रहरीको वेबसाइटमा अर्काइभ सूचना

केही पत्रिकामा यो बारे छापिएको विज्ञापनको स्क्रिनसट त्यतिबेला पनि फेसबुकमा पोस्ट भएको पाइन्छ।

अहिले भाइरल भएको सूचनामा पुरानो सूचनाको पहेँलो लगाइएको स्थान २०७४ लाई अङ्ग्रेजीमा २०७८ र माग पद संख्या ९८२६८ लाई अङ्ग्रेजीमा 1,18,000 सम्पादन गरिएको देखिन्छ।

त्यसैगरी दरखास्त दिने मिति र रातो लगाइएका बूँदा नम्बर ४ देखि ७ र सूचना प्रकाशन मितिलाई काटेर फालेको देखिन्छ। त्यसबाहेक अरु सबै हुबहु देखिएको छ।

तथ्य जाँच

दावी : आसन्न निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख १८ हजार जना म्यादी प्रहरीको भर्ना खोलेको छ।

तथ्य : मिथ्या सूचना। नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि १ लाख १८ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति मागेको तर अर्थ मन्त्रालयले १ लाखका लागि मात्रै स्वीकृति दिएको समाचार मिडियामा आएका हुन्। हेर्नुस् लिङ्क। तर नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना हालसम्म जारी नगरिएको बताएको छ। हाम्रो तथ्य जाँचमा २०७४ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि जारी गरिएको सूचना नै तोडमरोड गरी अहिले फैलाइएको पाइयो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme