Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

श्रद्धाञ्जलि लेख्दै समाचारमा पोस्ट भएको आफ्नो फोटो हटाउन एक युवतीले भोगेको हैरानी

Posted on February 5, 2022February 1, 2022 by Salokya

आफ्नो फोटो कुनै वेबसाइटमा ‘हार्दिक श्रद्धाञ्जलि’ लेख्दै पोस्ट भएको देख्नुभयो भने तपाईँलाई कस्तो लाग्ला ?

अझ एउटा होइन, दुइटा होइन, अनेक वेबसाइटमा अनि टिकटकमा पनि आफ्नो फोटो मृत्यु भएको समाचारसँग जोडेर राखेको देख्नुभयो भने झन् कस्तो होला ?

तपाईँले त्यस्तो अहिलेसम्म भोग्नुभएको छैन, त्यसैले त्यस्तो बेला कस्तो होला अनुमान गर्न सक्नुहुन्न। तर सृष्टि खड्काले केही दिनअघि यस्तो नसोचेको तनाव भोग्नुपर्‍यो।

एक जना साथीको माध्यमबाट यो खबर मैले त्यही बेला थाहा पाएको थिएँ। र, तनावमा रहेकी सृष्टिसँग कुरा पनि गरेको थिएँ। तर कोभिडका कारण आइसोलेसनमा रहेको थिएँ त्यतिबेला। त्यसैको असरले लेख्ने कोशिश गर्दा पनि लेख्न सकेको थिइनँ।

आफूले नगरेको गल्तीका कारण तनाव भोग्ने उनी एक्ली थिएनन्, पूरै परिवार नै तनावमा थियो।

जिउँदो मान्छेलाई मरेको भन्दै समाचारमा फोटो राखेपछि कसलाई तनाव नहोला।

सुरुमा उनले टिकटकमा अस्ट्रेलियामा मृत्यु भएकी २२ वर्षीया सुस्मिता कपालीको खबरमा आफ्नो फोटो राखेको देखेकी थिइन्। एक जनाले ‘हेर त, यो तेरो फोटो होइन?’ भनेर लिङ्क पठाएकी थिइन्। उनी झसङ्ग भइन्।

हेर्दाहेर्दै टिकटकबाट त्यो फोटो वेबसाइटहरुमा पनि आउन थाल्यो। केही दर्ता गरिएकै न्युजपोर्टलहरुमा पनि उनको फोटोसहित समाचार आयो।

तनावमा परेकी उनी साइबर ब्युरोको शरणमा पुगिन्। तर साइबर ब्युरोले ‘हामीले हेर्न मिल्दैन’ भन्दै फर्काएको उनी बताउँछिन्।

त्यसपछि उनी प्रेस काउन्सिल पुगिन्।

प्रेस काउन्सिलले उनलाई अलि राहत दियो। काउन्सिलमा सूचीकृत अनलाइनहरुलाई पत्र काटियो। त्यसपछि जनबोली र बुटवल दैनिक अनलाइनले यसरी क्षमा माग्दै फोटो हटायो-

जनबोली डट कमको स्क्रिनसट

बुटवल दैनिकको स्क्रिनसट

तर अरु थुप्रै अनलाइनहरुले पनि उनको फोटो हालेका थिए, दर्ता नभएका कारण काउन्सिलले ती अनलाइनहरुलाई सम्पर्क गर्न सकेन। काउन्सिलले केही अनलाइनलाई नेपालमा नखुल्ने गरी ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको पत्रको बोधार्थ उनलाई दिइयो।

तर दर्ता भएकै केही अनलाइनहरुले पनि अहिलेसम्म असान्दर्भिक उनको फोटो हटाएका छैनन्। उदाहरणका लागि इताजाखबर डट कम (यसमा अनुहार नचिनिने फोटो मैले बनाइदिएको)

त्यस्तै अर्को अनलाइन जसमा अझै पनि उनको फोटो राखिएको छ-

त्यस्तै अर्को दर्ता नभएको अनलाइन

फेसबुकका विभिन्न ग्रुपहरुमा पनि यो भाइरल भयो।

यी त केही उदाहरणमात्रै भए। अरु थुप्रै अझै खोज्दा भेटिन्छन्।

भएको के थियो ?

माघ महिनाको सुरुमा अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परिन्। दुई वर्षअघि पढ्नलाई अस्ट्रेलिया आएर हाल सिड्नीमा बस्दै आएकी २२ वर्षीया सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी थिइन्।उनको घर काठमाडौँको कीर्तिपुरमा थियो।

यति समाचार सही थियो। तर कुन चाहिँले यो समाचारमा सुस्मिताको फोटो नराखेर काठमाडौँमा बस्दै आएकी विद्यार्थी स‌ृष्टिको फोटो राखिदिएछ। फोटो भने सेतोपाटीमा उनले लेखेको लेखमा राखिएको उनको फोटो थियो। त्यहीँबाट कपि गरेर असम्बन्धित समाचार त्यो पनि मृत्युकोमा राख्ने काम भयो। एउटाले त्यस्तो के गरेका थिए, अरुले कपिपेस्ट गर्न थालिहाले। अनलाइनमा धेरैको चासो हुने विषयको समाचार भएकोले भाइरल कन्टेन्ट खोजिरहेका फेक न्युज फैलाउने फेसबुक पेज र ग्रुपहरुले पनि यसलाई टिपे।

मृतक सुस्मिता र सृष्टिको चिनजान थिएन। सृष्टि त अस्ट्रेलिया पनि गएकी छैनन्। किन र कसरी उनको फोटोको दुरुपयोग भयो, उनी आफैलाई थाहा छैन।

र यसरी एक युवती आफ्नै मृत्युको समाचार टुलुटुलु हेरेर बस्न बाध्य भइन्। असम्बन्धित फोटो राख्नेहरुले अझै पनि यो गल्ती सच्याएर एक निर्दोषलाई दिएको तनाववापतको ‘पाप’ पखालेका छैनन्।

अनि यसले इन्टरनेटमा आफ्नो फोटोको दुरुपयोग कसैले कुनै पनि बेला गर्न सक्छ भन्ने पाठ पनि सिकाएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme