के तपाईँले पनि सामाजिक सञ्जालका चर्चित पात्र तथा हाल लालमोहर नामको टिभी कार्यक्रमका होस्ट रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर देख्नुभएको थियो?
हिजोदेखि यस्तो खबर फेसबुकमा भाइरल भएको छ।
भाइरल खबरमा नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया सफल पारेको, आँखा देखे लगत्तै खुशी हुँदै सबैभन्दा पहिला छोरी र पत्नीलाई हेरेको, शल्यक्रिया सफल भएपछि अस्पतालमा नै बधाई दिन रवि पुगेको जस्ता विषय लेखिएका छन्।
यो विषयमा हामीले नेपाल फ्याक्ट चेकबाट तथ्य जाँच गरेर यो खबर पूर्णतया भ्रामक रहेको लेखिसकेका छौँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। यो ब्लगमा भने यस्ता समाचार किन बनाइन्छन् र यसबाट बच्न के गर्ने भन्ने बारेमा बुझाउने प्रयास गर्नेछु।
@salokyaa #NepalFactCheck #RameshPrasai #MySansar #FakeNews #Misinformation #misinformationbusters ♬ original sound – Umesh Shrestha
सबैभन्दा पहिला आफ्नोबारे फैलिएको मिथ्या सूचनाबारे रमेश प्रसाइँ स्वयं के भन्छन्, माथि क्लिक गरी त्यो सुन्नु होला।
कहाँ कस्तो खबर ?
प्रसाइँ आफैले आफूबारे फैलिएको ‘हल्ला’ हल्लामात्रै रहेको बताइसकेपछि तपाईँलाई थप शंका त लागेन होला। त्यसो भए यस्तो ‘समाचार’ किन पत्रकारले लेखे, किन मिडियाले लेखे त भन्ने तपाईँलाई लाग्न सक्छ।
सबैभन्दा पहिला सबैले के बुझ्नु पर्यो भने न यो ‘समाचार’ हो, न यो लेख्ने ‘पत्रकार’ हुन्, न यो छाप्ने ‘मिडिया’ नै हो।
हो, असली पत्रकारहरुले लेखेका, मिडियामा छापिएका कुरा पनि कहिलेकाहीँ गलत हुनसक्छन्। तर त्यो उनीहरुको गलत बुझाइका कारणले वा तथ्यमा चुक्दा गल्तीले भएको हुनसक्छ। राम्रो मिडियाले त्यस्ता गल्तीलाई सुधार्ने पनि गर्छन्।
तर यो बिल्कुलै फरक संसार हो। खासमा यी यस्तै हावा कुरा, फेक न्युज उत्पादन गर्ने कारखानाका उत्पादन हुन्। केही त्यस्तै गर्नेहरुसित भएको कुराकानीका आधारमा यो सञ्जाल कसरी चल्छ भन्ने मैले थाहा पाएको हुँ।
यो गलत खबर कसरी फैलियो, एउटा उदाहरण हेर्नुस्-
२ लाख ३२ हजार सदस्य रहेको रमेश प्रसाइँ फ्यान क्लब नामको फेसबुक ग्रुपमा आइतबार पोस्ट गरिएको यो पोस्टमा गजबकोन्युज डट कमको पेज लिङ्क राखिएको छ। सोमबार दिउँसोसम्म यसमा १ हजारभन्दा बढीले लाइक सहितका रियाक्सन गरेका छन्, २१९ जनाको कमेन्ट छ भने २२ सेयर छ। यी सबलाई प्राविधिक भाषामा ‘इन्गेजमेन्ट’ भनिन्छ। यो जति बढी भयो, त्यति अझ धेरै मान्छेसम्म पुग्छ।
हेर्दा इकान्तिपुर, अनलाइनखबर जस्तो अनलाइन मिडिया जस्तो लागे पनि यो अनलाइन मिडिया भने होइन। किनभने न यसमा सञ्चालकको नाम छ न कार्यरत पत्रकारहरुको नाम छ। भिडियो हेर्नुस् लेखेर पेजमा असम्बन्धित भिडियो राखिएको छ भने रमेश प्रसाइँको शीर्षक भएको पेजमा त्यो सम्बन्धी खासै केही लेखिएको त छैन नै, स्कूटरबारे असम्बन्धित समाचार कपिपेस्ट गरेर राखेको देखिन्छ। खासमा यो हेडलाइन र फोटो हेरेर क्लिक गरोस् भनेर थापिएको पासो हो।
बुझ्नु पर्ने कुरा के हो भने कुनै डट कम वा इन्टरनेटमा कुनै पेजको लिङ्क हुँदैमा त्यो अनलाइन मिडिया हुँदैन। अनि त्यसमा लेख्ने पत्रकार हुँदैनन्। वर्षको थोरै रकम तिरेर जो कसैले इन्टरनेटमा यस्तो डोमेन किन्न सक्छन् र आफूलाई मन लागेको कुरा लेख्न सक्छन्। त्यस्तो अनलाइन इकान्तिपुर, अनलाइनखबर जसरी इन्टरनेट चलाउने सबैले सजिलै हेर्न सक्छन्।
किन गर्छन् त यस्तो ?
केही मिथ्या सूचना जनमत वा निर्णयमा प्रभाव पार्ने अभिप्रायले जानाजानी नै अर्थात् नियतवश फैलाउने गरिन्छ। त्यस्ता मिथ्या सूचनाको उद्देश्यमा कुनै व्यक्ति वा संस्थालाई हानी पुर्याउने नियत लुकेको हुन्छ।
तर माथिका जस्ता मिथ्या सूचना फैलाउनेको मुख्य उद्देश्य भने पैसा कमाउनु हुन्छ। फेसबुकले इन्स्ट्यान्ट आर्टिकलमार्फत् कुनै वेबपेजमा विज्ञापन राखिदिने गर्छ। त्यो विज्ञापन वापतको कमाई फेसबुकले केही प्रतिशत सम्बन्धित वेबपेजलाई दिने गर्छ। जति धेरैले त्यो विज्ञापन हेर्यो, त्यति बढी कमाई। त्यही कमाईको लोभमा मान्छेले हुँदै नभएका कुरा राखेर पढ्नेलाई उल्लु बनाउँछन्।किनभने त्यस्ता समाचारमा धेरैको रुचि हुन्छ, धेरैले क्लिक गरी पढ्छन्।
पैसा कमाउने मात्र उद्देश्य भए पनि धेरै कमाईको लोभमा उनीहरुले कसैले नियतवश फैलाउन खोजेका कुनै व्यक्ति वा संस्थालाई हानी पुर्याउने नियत भएका सूचना पनि फैलाउन सक्छन्। डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुनुमा यस्ता राजनीतिसँग मतलबै नभएकाहरुले फैलाएका फेक न्युजहरुको पनि हात भएको रिपोर्ट हफिङटन पोस्टले प्रकाशित गरेको थियो।
कहिलेकाहीँ यस्ता फेक न्युज फैलँदा ज्यानकै क्षति पनि हुनसक्छ। जस्तै सन् २००० मा भारतीय कलाकार ऋतिक रोशनले भन्दै नभनेको एउटा विषयबारे फेक न्युज फैलँदा त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा चार जना मारिएका थिए। यसले साम्प्रदायिक सदभावमा समेत असर परेको थियो। (यसअघि सन् २००५ लेखिएको थियो, त्यो गलत भएकोले सच्याइएको छ। सन् २००० को डिसेम्बर अन्तिममा सुरु भएको यो विवाद अर्को वर्षको जनवरीसम्म उग्र भएर चलेको थियो)
कसरी फैलाउँछन् फेक न्युज?
केही फेक न्युज उत्पादकहरुसँग मेरो कुरा भएको थियो। उनीहरुको नेटवर्क अहिलेका मूलधारका मिडियाको भन्दा खतरा देखियो।
बरु एउटा मिडियाले अर्को मिडियाका समाचार आफ्नो नेटवर्कमा सेयर गर्दैनन्, पत्रकारहरु अरु पत्रकारले लेखेका समाचार सेयर नगर्लान्, तर फेक न्युज उत्पादकहरु आफ्नो उद्देश्यमा स्पष्ट छन्- पैसा। त्यसैले उनीहरुबीचको एकता पनि गजब छ।
लाखौँ लाख लाइक, फलोअर र मेम्बर भएका फेसबुक पेजहरु र फेसबुक ग्रुपहरु हुन्छन्। त्यसमा उनीहरुले एकअर्काका फेक न्युजहरु पोस्ट गर्छन्।
लाइक र फलोअर बढाउनका लागि उनीहरु सामाजिक सञ्जालमा चर्चितहरुको नाम पनि उपयोग गर्छन्। जस्तै, रवि लामिछाने, ज्ञानेन्द्र शाही, रमेश प्रसाइँ, कृष्ण कँडेल, अपिल त्रिपाठी यस्तै यस्तै अनेक। माया, प्रेम, साहित्य आदिका नाममा खोलिएका फेक न्युज फैलाउने पेज र ग्रुपहरु पनि प्रशस्त छन्।
यिनीहरु पत्रकार नभएकाले न शुद्ध लेख्नुपर्छ भन्ने छ, न समाचारको नाममा जे पायो त्यही लेख्नु हुन्न भन्ने मतलब छ, आचार संहिता त अचार हो कि के हो, थाहा हुने कुरै भएन। जसले जसको फेक न्युज कपि गरेर हाले पनि मतलब छैन। मात्र आवश्यक छ- क्लिक गरौँ गरौँ लाग्ने हेडलाइन कसरी बनाउने, फोटो त्यस्तो कसरी राख्ने- सही होस् कि नहोस्, केही मतलब छैन।
केहीले आफ्नै नाममा खोलिएका फेसबुकबाट यस्ता पेज र ग्रुपमा पोस्ट गर्छन् भने अधिकांश बाठा छन्। उनीहरुले फेक फोटो र नाम राखेर फेसबुक खोल्छन् र त्यसैबाट यस्ता फेक न्युज पोस्ट गर्छन्।
सिन्धुअनलाइन नामको फेक न्युज हाल्ने पेज।
कारबाही हुन्न त ?
त्रिभुवन विमानस्थलमा फ्लाई दुबईको विमान दुर्घटना शीर्षकमा विदेशमा भएको विमान दुर्घटनाको फोटो राखिएको यो लिङ्क पठाउँदै चिकित्सक पेशाका एक फेसबुक मित्रले मलाई सोधे- यस्तो झुटो फोटो राखेर न्युज बनाउन पाइन्छ ?
मैले यो माथि जस्तै यो मिडिया होइन, पत्रकारले लेखेको होइन भनेर बुझाउन खोजेँ। उनका थप प्रश्नहरु थिए-
यो लिगल हो त ?
पत्रकार संगठनहरुले केही बोल्दैनन् ?
दर्ता गराउनु पर्दैन पोर्टल ?
कारबाही हुन्न ?
यसबाट बुझिन्छ, पत्रकारहरुलाई थाहा भए पनि अरु पेशाकालाई यो पत्रकारिता हैन, यी अनलाइन मिडिया हैनन् भन्ने कुरा खासै थाहा हुन्न। यी फेक न्युज उत्पादकहरुले समग्र पत्रकारिता पेशाकै बदनाम गरिरहेका हुन्छन्।
पत्रकार संगठनहरुको यसमा खासै ध्यान गएको छैन। यस्तो काम गर्न नहुने भए पनि ठूलै मान्छेको बदनामी गर्ने कुरा नभएसम्म प्रहरीले पनि खासै वास्ता गर्दैन। प्रहरीले चाह्यो भने विद्युतीय कारोबार ऐन लगाएर यस्ता झुटा समाचार राख्नेलाई तीन साता थुनेर मुद्दा लगाउन सक्छन्।
कहिलेकाहीँ प्रेस काउन्सिलले उजुरी परेमा वा स्वअनुगमनबाट दर्ता नभएको भन्दै दूरसञ्चार प्राधिकरणलाई ती डोमेनहरु नेपालमा नखुल्ने गरी ब्लक गरिदिन अनुरोध गर्ने गर्छ।
तर शायद् प्रेस काउन्सिललाई पनि थाहा छैन, यसको खासै तुक हुन्न। किनभने त्यसरी ब्लक गरिएका डोमेन ब्राउजरमा मात्र नखुल्ने हो, फेसबुकको इन्स्ट्यान्ट आर्टिकलमा राखिएको छ भने मज्जाले खुल्छ। अनि यस्ता भाइरल समाचारको उद्देश्य ब्राउजरमा पढियोस् भन्ने हैन, फेसबुकमै पढून् भन्ने हुन्छ ताकि त्यसबाट आम्दानी हुन सकोस्।
राज्यलाई पनि फाइदै छ, किनभने यस्ता फेक न्युजै राखेर किन नहोस् विदेशबाट भएको आम्दानी नेपालमा बैँकमार्फत् भुक्तानी हुँदा एक प्रतिशत कर काट्ने नियम वर्तमान अर्थमन्त्री जनार्दन शर्माले लगाएका छन्। यसरी फटाहा कामको कमाईमा सरकारले कर असुली गर्दैछ।
आजको न्युज पढ्नु भयो शीर्षकको अर्को १ लाख ७४ हजारभन्दा बढी सदस्य भएको फेसबुक ग्रुपमा उही शीर्षक र उही फोटोसहित दुःखकोखबर डट कम नामको वेबपेजको लिङ्क सेयर गरिएको छ। यसमा पनि प्रसाइँको शीर्षकमा स्कूटरको समाचार राखिएको छ। अर्काइभ लिङ्क।
यस्ता फेक न्युज राख्ने अलपत्रकारहरुलाई कारबाही नहुँदा वास्तविक पत्रकारहरुलाई पनि समाचार सनसनीपूर्ण बनाउन मन लाग्ने हुनसक्छ। ती त दर्ता नभएकाहरु भए, सरकारी निकायमा दर्ता भएकाहरुले नै पनि यस्ता फेक न्युज बनाउने जोखिम हुन्छ। एउटा उदाहरण हेर्नुस्- यो सूचना विभागमै दर्ता भएको न्युजपोर्टल हो- मोटिभेट न्युज। गएको भदौ ११ गते प्रकाशित समाचार हेर्नुस्-
भदौमै पत्ता लागिसकेको रहेछ समाचारका अनुसार निर्मलाको हत्यारा। अहिले माघ महिना छ। खै अहिलेसम्म पत्ता लागेको छैन त। निर्मला प्रकरण यो विधि गिजोलिनुमा यस्तै फेक न्युज र हल्लाहरुको पनि हात छ।
तपाईँले रोक्न सक्नुहुन्छ यस्ता फेक न्युजलाई
यस्ता फेक न्युजहरु फैलने सामाजिक सञ्जालबाटै हो र सामाजिक सञ्जाल तपाईँ हाम्रै सञ्जाल हो। हामीले चाहने हो भने यस्ता फेक न्युजलाई मज्जाले रोक्न सक्छौँ।
यसका लागि केही उपाय-
- कसैले झुक्याउने खालका हेडलाइन राखेर भित्र अर्कै समाचार राखेको देखेमा, हुँदै नभएको फेक न्युज लेखेको तपाईँ आफैलाई थाहा भएमा त्यस्तो समाचार राख्ने फेसबुक पेजलाई अनलाइक, ब्लक गर्नुस्। त्यस्ता फेसबुक ग्रुपलाई ‘लिभ’ गरी बाहिरिनुस्। त्यस्ता लिङ्कलाई फेसबुकमा रिपोर्ट पनि गर्न सक्नुहुन्छ।
- शंका लाग्ने खालका समाचार देखिएमा त्यसमा हत्त न पत्त कमेन्ट गर्ने, लाइक गर्ने वा सेयर गर्ने काम नगर्नुस्। यसले त्यस्ता फेक न्युजलाई झन् फैलाउन मद्दत गर्छ। (माथि विमान दुर्घटनाको फेक न्युजमा मैले चिनेकै पत्रकारहरुले समेत लाइक गरेको देखेँ। सामान्य मानिसलाई थाहा नहोला, तर पत्रकारले समेत यस्तोमा लाइक गर्नु भनेको उसले फैलाउन खोजेको फेक न्युजलाई झन् फैलाउन सघाएको हो)
- इन्टरनेटमा जे देखिए पनि पत्याइहाल्ने प्रवृत्ति त्यागौँ। सूचना र समाचारका लागि विश्वासिला स्रोतहरुको मात्र प्रयोग गरौँ। त्यस्ता विश्वासिला स्रोतका समाचारलाई मात्र सेयर गरौँ।
- कुनै समाचारमा शंका लागेमा त्यसमा रियाक्सन (लाइक, कमेन्ट, सेयर) नगरी फ्याक्ट चेक गर्ने संस्थाहरुलाई पठाउनुस्। नेपाल फ्याक्ट चेक र माइसंसारले पनि फ्याक्ट चेक गर्ने गर्छ। शंका लागेका लिङ्क, फोटो वा भिडियो तलको माध्यमबाट पठाउन सक्नुहुन्छ-