Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले बोलायो शनिबार सर्वदलीय बैठक? स्रोतले ! मिडिया चिप्लेका कि चिप्ल्याइएका?

Posted on January 22, 2022 by Salokya

शुक्रबार मिडियामा खबर आयो- प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

शनिबार बिहान एमालेले आफ्नो पार्टीलाई सर्वदलीय बैठक बारे कुनै जानकारी प्राप्त नभएको बतायो।

त्यस लगत्तै समाचार आयो- शनिबार प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएकै थिएनन्।

बोलाउँदै नबोलाएको भए कसरी समाचार आयो त ? मिडिया आफै चिप्लेका हुन् कि कसैले चिप्ल्याइदिएका हुन्? यसो खोज्न मन लाग्यो।

स्रोतले बोलाएको बैठक?

सर्वदलीय बैठक बोलाएको बारे समाचारहरु कसरी आएका रहेछन्, त्यो पहिला हेरौँ।

सबैभन्दा पहिला सेतोपाटीको समाचार हेरौँ। यसमा प्रधानमन्त्रीले शनिबार सर्वदलीय बैठक बोलाएको विषयमा कसैको कोट राखेको देखिन्न।  लेखिएको छ- प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको उनको सचिवालय स्रोतले जनाएको छ।

नेपाली पत्रकारहरुको स्रोत मोहको विषयमा अस्ति भर्खर एउटा ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए पढ्नुस्- हरे, आफ्नै सम्पादकको स्वास्थ्य अवस्था समेत स्रोतले जनाउनु पर्ने यो कस्तो पत्रकारिता ! 

त्यसमा एउटा समाचारको कुरा उठाइएको थियो जसमा आफ्नै प्रधान सम्पादकको स्वास्थ्य अवस्था बारे पनि पारिवारिक स्रोतले जनाएको भनेर लेखिएको थियो।

कुनै जानकारी सार्वजनिक रुपमा नदिई नहुने र त्यस्तो जानकारी दिनेको परिचय खुलाउँदा उसलाई अप्ठेरो पर्ने भएमा बेनामे स्रोतको प्रयोग गर्ने चलन छ। तर अब यहाँ हेर्नुस् न, प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेको विषय बारे मिडियालाई जानकारी दिँदा, जानकारी दिनेको परिचय खुलाउँदा कसलाई के अप्ठेरो पर्ने थियो र, स्रोतको प्रयोग गर्नुपर्ने बाध्यता आयो?

प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको जानकारी कसैले दिन सक्दैन थियो र, बेनामे सचिवालय स्रोतलाई उल्लेख गर्नुपर्ने !

भनेपछि यो प्रधानमन्त्रीले होइन स्रोतले बोलाएको बैठक रहेछ।

शनिबार बैठक बसेन। अब के गर्ने त? सेतोपाटीमा फेरि त्यही सचिवालय स्रोत प्रकट भयो। अनि यसो लेखियो समाचारमा–

‘हिजो राजनीतिक समन्वय समिति बैठकले सर्वदलीय बैठक गर्ने निर्णय गरेको थियो, भोलिसम्म बैठक बस्ला,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो, ‘आज बैठक बस्दैन।’ 

कान्तिपुरको समाचारमा पनि सर्वदलीय बैठक बोलाएको जानकारी कुनै व्यक्तिले दिएको देखिन्न। कान्तिपुरले स्रोत त लेखेको छैन तर सचिवालय उल्लेख गर्दै यस्तो लेखेको छ-

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयमा कोही त होला नि, मान्छे नभई सचिवालयले आफै त जनाउँदैन होला। जसले जनाएको हो उसको नाम लेखिदिए के फरक पर्ने रहेछ? नबुझेको कुरा !

अनलाइनखबरको समाचारमा भने न सचिवालयले जनाएको छ न सचिवालय स्रोतले जनाएको छ, सीधै प्रधानमन्त्री शेरबहादुर देउवा आफैले बोलाएको देखे, सुने जसरी  समाचार लेखिएको छ-

देशसञ्चारमा भने फेरि स्रोत आएको छ बोल्न। त्यहाँ स्रोतले यसो भन्छ-

बाह्रखरीले सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको कोट हालेको छ। त्यसमा उनले भनेका छन्, ‘सर्वदलीय बैठक बोलाइएको छैन।  बोलाउने विषयमा कुरा पनि भएको हैन। सर्वदलीय बैठकको कुरै आएको छैन । कसरी त्यो समाचार आयो म अचम्ममा छु । हिजो प्रेस व्रिफिङमा मैले जति भनेँ त्यति मात्रै हो।’

तर त्यही समाचारमा स्रोत पनि देखिएको छ। लेखिएको छ- ‘यद्यपि, शुक्रबार साँझ प्रधानमन्त्री सचिवालय स्रोतले भने आज बिहान ९ः३० बजेलाई बैठक बोलाइएको जानकारी दिएको थियो।’

सबै स्रोत स्रोतमा डुबिरहेको बेला उकेराले प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाको कोट लिएको छ। उनले त्यसमा भनेका छन्, ‘प्रधानमन्त्रीले सर्वदलीय बैठकको कुरा नै गर्नु भएको छैन। बैठक बोलाउनेबारे सचिवालयमा जानकारी आएकै छैन। सचिवालयले सर्वदलीय बैठक बस्ने जानकारी नै दिएको छैन। कसैले लेख्यो होला, त्यही सबैतिर आयो होला,यहाँबाट सर्वदलीय बैठक बस्ने जानकारी दिइएको छैन।’

लौ अब सचिवालयका आधिकारिक व्यक्तिले नै यस्तो भनेपछि कुन चाहिँ स्रोत रहेछ त त्यो गलत खबर दिने ?

मिडिया चिप्लेका कि चिप्ल्याइएका?

सर्सर्ती हेर्दा त मिडियाले लेखेको समाचार गलत नै देखियो। प्रधानमन्त्री सचिवालयकै आधिकारिक व्यक्तिले हामीले सर्वदलीय बैठक बस्ने जानकारी दिएका छैनौँ भनेपछि कुरा सिद्धियो।

तर मलाई चाहिँ गलत स्रोतले मिडियालाई चिप्लाइदिएको जस्तो लागेको छ।

कपिपेस्ट गर्नेको कुरा छाडिदिउँ, जसले त्यो समाचार कसैले (उनीहरुको भाषामा स्रोतले) भनेको विश्वासमा लेखेका थिए, उनीहरुले अब गम्भीर भएर सोच्नु पर्‍यो- तपाईँको मिडियालाई फटाहा देखाउने गरी फँसाउने काम कसले गर्‍यो?

हावाको भरमा स्रोत लेखेको भए त सोच्नै परेन। गलतै काम भएको हो। तर कसैको विश्वासमा लेखेको भए मनन् गर्नुपर्‍यो-

तपाईँलाई झुट समाचार दिने त्यो स्रोतको उद्देश्य के हो?

के त्यो स्रोत विश्वास गर्न लायक छ? सचिवालयले जानकारी दिएको छ भनी लेख्ने अनि सचिवालयका आधिकारिक व्यक्तिले होइन भनेपछि तपाईँको समाचार यसै गलत साबित भयो।

किन यस्तो सामान्य विषयमा पनि ऊ आफ्नो नाम राख्न चाहँदैन? (प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको भन्ने विषय कुनै गम्भीर विषय होइन जसको जानकारी दिने मान्छेले आफ्नो परिचय नै गोप्य राख्नु परोस्)

अब आइन्दा स्रोतले नडुबाओस् भन्ने हो भने यस्ता सामान्य भन्दा सामान्य कुरामा पनि स्रोत भनेर समाचार लेख्न छाडेर कोट गर्ने बानी बसाले ठीक हुने देख्छु है म त।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme