निर्मला प्रकरणमा एक भारतीय नागरिक पक्रेर प्रहरीले फण्डा मच्चाएको तपाईँहरुले पनि थाहा पाउनु भएको होला। विभिन्न अनलाइन मिडियाहरुमा अपराधी नै पक्राउ परे जसरी समाचारहरु पढ्नुभयो होला। अझ युट्युबरहरुको त के कुरा गर्नु र, निर्मलाका अपराधी बल्ल पत्ता लागेदेखि प्रहरीलाई सलाम अनि कोहीकोहीले अपराधीलाई फाँसीसम्म दिन भ्याएका थिए। तर मैले यो फण्डा सुरु हुँदा नै लेखिसकेको थिएँ- यो खासमा केही होइन। पुलिसले यसो काम देखाउनका लागि काम गरेका हुन्। छुटाउनु भएको भए पढ्नुस्- नझुक्किनुस्, निर्मला प्रकरणमा प्रहरीले केही नयाँ गरेको छैन नभन्दै हिजो त्यो साबित भइहाल्यो। प्रहरीले केही नपाएपछि अभद्र व्यवहारको मुद्दा बुझायो र कन्चनपुरका सिडिओले हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो।
यो प्रकरणमा पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala सिरिजमा ३० अङ्कको विस्तृत रिपोर्टिङ गरेको थिएँ। त्यसपछि माइसंसारमा पनि धेरै पटक लेखियो। अहिले ग्यालेक्सी टिभीमा ‘सीधा कुरा’मा यही विषयमा रिपोर्ट बनेको छ।
आज प्रसारण भएको ‘सीधा कुरा’मा प्रहरीले ती भारतीय नागरिकलाई कसरी पक्रेको भन्ने विवरण पनि छ।
खासमा कुरा के रहेछ भने निर्मलाको शव भेटिएको ठाउँ नजिकै काम गर्ने केही भारतीय नागरिक घटनापछि त्यहाँ नदेखिएको सूचनाका आधारमा शंकाको दायरामा केही परेका रहेछन्। त्यसमा नजिकै बन्दै गरेको घरका कामदार पनि थिए। यही क्रममा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने भारतीयका छोरा अलि हुसेन पनि निगरानीमा परेका रहेछन्।
तर भारतको पिलभित घर भएका उनलाई नेपाल ल्याउन सजिलो भने थिएन। गर्ने के त ?
अनि प्रहरीले Honey Trap को रणनीति अपनाएछ। एक महिला प्रहरीलाई फेसबुकमा अलिसित च्याट गर्न लगाई लोभ्याइयो र नेपालको सीमा नजिक भेट्न आउन उनले बोलाइन्। महिला साथी भेट्न आएका अलिलाई त्यहीँबाट छोपी कन्चनपुर जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो।
त्यहीँबाट प्रहरी टोलीले हेडक्वार्टरमा रिपोर्टिङ गरेपछि आइजी शैलेश थापा क्षेत्रीले अपराध अनुसन्धान विभागका एआइजी प्रद्युम्न कार्कीले बुझ्नका लागि कन्चनपुर पठाएका थिए। तर एआइजी कार्कीले बुझ्दा खासै उल्लेखनीय केही नदेखेपछि प्रहरीको यो फन्डा हात्ती आयो फुस्सा साबित भएको थियो।
निर्मला प्रकरणमा अनुसन्धान गरिए पनि औपचारिक कागजातमा भने उनलाई अभद्र व्यवहारको कसुर गरेको भनिएको थियो र डिएनएसमेत परीक्षण गर्न पठाइएको थियो। तर डिएनए मिल्ने कुरै भएन।
प्रहरीले यो प्रकरणमा यस्तो फट्याइँ गरेको यो पहिलो पटक होइन।
राष्ट्रिय मानवअधिकार आयोगको विज्ञ सम्मिलित टोलीले दिएको प्रतिवेदनमा पनि एउटा मुद्दाका नाममा पक्राउ गरी अर्को मुद्दामा अनुसन्धान गर्न नहुने, स्वच्छ सुनुवाई सिद्धान्तको पालना नभएको भन्दै सचेत २०७५ माघमा सचेत गराएको थियो।
त्यतिबेला सिआइबीले प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी निर्मला प्रकरणमै अनुसन्धान गरेको थियो। प्रदीपलाई काठमाडौँमा पक्राउ गरिएको थियो भने विशाललाई कञ्चनपुरबाट पक्राउ गरी विमानबाट काठमाडौँ ल्याइएको थियो। प्रदीपलाई महाराजगन्ज चौकीबाट र विशाललाई सिंहदरबारबाट प्रहरीलाई हातपात गरेको भन्दै अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर निर्मला केसमा छानबिन गरी डिएनए समेत परीक्षण गरिएको थियो।
सुरुमा उनीहरुले निर्मलाको बलात्कार र हत्या गरेको साबिती बयान दिएको प्रचार प्रोपोगान्डाका रुपमा मिडियामा फैलाइयो। तर पछि दुवैले आफूहरु बलात्कार र हत्यामा संलग्न नभएको बताए। आइजी सर्वेन्द्र खनालसमेत बयान लिन सिआइबीको हिरासतमा पुगेका थिए। पछि कुखुरा चोरेको आरोपमा निर्मला हराएकै दिन हिरासतमा रहेको खबर बाहिरियो।
तर डिएनए नमिलेपछि र पोलिग्राफ परीक्षणमा झुटो नबोलेको देखिएपछि उनीहरुलाई रिहा गरिएको थियो।
आयोगले सरकारलाई दिएको निर्देशनमा ‘एउटा मुद्दाको अनुसन्धानको लागि अर्को मुद्दाको अनुसन्धान कार्य भनी म्याद थप गर्ने कार्यलाई कानूनी भन्न मिल्दैन’ भनिएको थियो।
सरकार बदलिए, आइजी फेरिए तर प्रहरीको यो प्रवृत्ति फेरिएन।
ग्यालेक्सी रिपोर्टरले पक्राउ परेका अलि हुसेनसँग गरेको कुरा अनुसार उनलाई निर्मला हत्याकाण्डमै अनुसन्धान गरिएको थियो। हत्या स्वीकार्न दबाब र प्रलोभन दिइएको थियो। तर उनले स्वीकारेनन्। उनको रगत निकालेर डिएनए पनि गरियो।
अचम्म त के भने किन यसरी प्रहरीले फट्याइँ गर्नुपरेको ! निर्मलाको केसमा शंका भए निर्मलाकै केसमा भनेर अनुसन्धान गरे भइहाल्यो नि। किन अभद्र व्यवहारको मुद्दा चलाएर डिएनए परीक्षण गर्नुपर्यो।
फेरि यो डिएनएको भरमा कति परेका ! कम्तिमा दुई वटा विज्ञ समितिले डिएनए भरपर्दो छैन है भनेर भनिसक्यो। तर यहाँ त शंका लागेकालाई समात्दै अभद्र व्यवहारको मुद्दा चलाउँदै डिएनए गराउँदै छाड्दै।
एउटा अर्को फण्डा सकियो। अब फेरि कति वटा बाँकी छन्। न्याय चाहिँ कहिले पाउने होला ?
🙁