Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०२१ मा सबैभन्दा बढी पढिएका १० ब्लग, तपाईँले कुनै छुटाउनु त भएन?

Posted on January 1, 2022 by Salokya

आजदेखि इस्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ हामीबाट विदा भइसक्यो। २०२२ सुरु भएको छ। २०२१ ले पनि हामीलाई कोरोना भाइरसको त्रासमै बस्न बाध्य बनायो। तर हामीमध्ये धेरैले खोप पनि लगाए। वर्षान्तमा फेरि ओमिक्रोन भेरियन्टले त्रास फैलाएको छ। यद्यपि अहिलेसम्म नेपालमा त्यसको खासै प्रभाव देखिएको छैन। तर पनि सतर्क हुन पर्नेछ। गएको वर्ष माइसंसारमा कुन ब्लग सबैभन्दा बढी पढिए त ? कतै तपाईँले कुनै छुटाउनुभएको त थिएन? आउनुस् हेरौँ।

१) निर्मला प्रकरण

र, गएको वर्ष सबैभन्दा बढी पढिएको ब्लग रह्यो- निर्मला प्रकरणसम्बन्धी यो ब्लग। यो विषयमा पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala शृङ्खलामा मा ३० वटा र पहिलोपोस्ट छाडेपछि माइसंसारमा अनेक ब्लगहरु लेखियो। #WhoKilledNirmala का शृङ्खलाहरु पढ्नुभएको छ भने तपाईँहरुलाई थाहा हुनुपर्ने हो यो केस रेको भरमा चलेका हल्ला र आशंकाले कति बिगार्‍यो। त्यस्तै एउटा हल्ला थियो- तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोराबारे। यो ब्लग चाहिँ २०७७ माघ ३ गते धनगढीमा आयोजित कार्यक्रमको भिडियोबारे थियो। यसमा बोल्ने व्यक्ति नेपाली कांग्रेसका नेता हुन्। कैलालीका जिल्ला उपसभापति प्रकाश बम। उनले बादल र बादलका छोराले गरेको फोन सुने जसरी भाषण गरेका छन्। त्यस्तै गरी ब्लगमा फलानो होटलको फलानो रुम नम्बरमा नै बलात्कार भयो भन्ने एक नेतृको कुरा पनि छ। अब कांग्रेसकै सरकार हुँदा यति प्रमाणै आफूसित छ जसरी बोल्ने कांग्रेसकै नेताहरु छन्, दोषी पक्रन किन ढिलाइ भनेर प्रश्न सोध्दै यो ब्लग लेखिएको थियो।

निर्मला प्रकरण : अब दोषी पक्रन किन ढिलाइ? ‘ड्याडी, मारेँ’ भन्दै फोन गरेको सुन्ने, रुम नम्बर नै थाहा पाउने प्रत्यक्षदर्शीहरु रहेछन्

२) फेसबुकमा अपलोड गरिएको केपी ओलीको ट्रोल भिडियो बनाउने पत्ता लागेन, नाबालकलाई मुद्दा

फेसबुक वा टिकटक चलाउनु हुन्छ भने तपाईँले एउटा भिडियो पक्कै हेर्नुभएको होला। संसदको त्यो भिडियोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन प्रतिपक्षी नेता शेरबहादुर देउवासँग केही कुरा गर्दै गरेको र बिस्तारै हलबाट निस्कँदै गरेको देखिन्छ। त्यो भिडियोमा नक्कली आवाजहरु राखेर डबिङ गरिएको छ। ओलीको जस्तो आवाज बनाएर भनिन्छ- विद्या जिस्काउँदै हिँड्छस् रे, तेरो हड्डी भाँचौँ। देउवाको जस्तो आवाजमा पनि जवाफ आउँछ। यो भिडियो खासमा कसले बनाएको प्रहरीले पत्ता लगाउन सकेन। तर अपलोड गर्नेलाई भने मुद्दा चलाइयो। मुद्दा चलाइएका व्यक्ति नाबालक थिए। अदालती प्रक्रिया र मुद्दाको फैसला बारे यो ब्लग गएको वर्ष दोस्रो सबैभन्दा बढी पढियो।

‘विद्या जिस्काउँछस्’ ओलीको नक्कली आवाजको ट्रोल भिडियो : बनाउने पत्ता लागेन, नाबालकलाई मुद्दा

३) हुँदै नभएको नगरपालिका : पहिला प्रहरी त्यसपछि मिडियाले गरेको गल्ती

कति अर्बको पो हो, युरेनियम फेला पर्‍यो रे भनेर एआइजी हरिबहादुर पालले पत्रकार सम्मेलन गरेका थिए। आइजी मुनिका एआइजीले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी भनेर हो कि के हो, आँखा चिम्म गरेर पत्याइहाले हाम्रा पत्रकारहरुले। लास्टमा प्रहरी पनि गलत,मिडिया पनि गलत। रामेछापमा बागजोर नामको नगरपालिका नै थिएन। यो ब्लग गएको वर्ष तेस्रो सबैभन्दा बढी पढियो।

हुँदै नभएको नगरपालिकामा बस्‍ने मान्छेले ‘युरेनियम’ बेच्‍न हिँडेका? कति हाँस्‍नु!

४) पारस र प्रहरी काण्ड

पूर्व युवराज पारस शाहलाई हेल्मेट नलगाएको भनी ट्राफिक प्रहरीले पक्रन खोज्दा पारसले जान्नँ जान्नँ भन्दै गरेको अनि प्रहरीले तान्दै गरेको दृश्यसहितको भिडियो भाइरल भएको थियो। यो ब्लग त्यही विषयमा थियो।

जान्नँ-जान्नँ.. भन्दै गरेका पूर्व युवराज पारस र तान्दै प्रहरी : के देख्‍न पर्‍यो यस्तो !

५) अनिल शाहले क्षतिपूर्ति पाउने मुद्दा

अनिल शाहलाई त तपाईँले चिन्नु हुन्छ नि हैन? हजुर, उनै सेलिब्रिटी ब्याङ्कर। अहिले नबिल बैँकका सिइओ। उनले मेगा बैँकको प्रमोटर सेयरको विषयमा करोड करोडको रकम क्षतिपूर्ति पाउने अदालतको फैसला गएको वर्ष प्रमाणिकरण भएको थियो। यो ब्लग त्यही विषयमा थियो।

भिरकोटे राजाका नाति अनिल शाहले जितेको करोड- करोडको क्षतिपूर्ति मुद्दा

६) डाक्टर विज्ञहरुले नै खोप बारे भ्रम फैलाएपछि…

गएको वर्ष धेरै पढिएका ब्लगहरु मध्ये छैटौँ नम्बरमा बल्ल कोरोना भाइरससँग सम्बन्धित ब्लग आएको छ। यो ब्लगमा तीन जना डाक्टर विज्ञहरुले खोपको बारेमा भ्रम फैलाएको बारे उल्लेख छ। ती तीन जना थिए त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका प्रोफेसर द्विजराज भट्ट, भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा र डा. समीरमणि दीक्षित।

तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएको भ्रम

७) प्रधानमन्त्रीलाई समेत झुक्याउने तरकारीको खास रहस्य

प्रतिनिधि सभा भंगविरुद्ध आन्दोलन चलिरहँदा प्रचण्ड-माधव नेपाल पक्षले नेपाल बन्द गरेका थिए। त्यतिबेला आन्दोलनकारीले तरकारी फालेको भन्दै प्रचार भएको एउटा फोटो खासमा त्यतिबेलाको नभएर पुरानो रहेछ। त्यही बारेको यो ब्लग गएको वर्ष धेरै पढिएकोमा सातौँ नम्बरमा थियो।

तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएको भ्रम

८) सबै पखालिदिने जी न्युजको अन्तर्वार्ता

नेपालमा आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका जी न्युज र सुधीर चौधरीको त्यतिबेला निकै चर्चा थियो। यो ब्लग त्यही विषयमा थियो। गएको वर्ष धेरै पढिएकोमा यो आठौँ नम्बरमा पर्न सफल भयो।

सबै पखालिदिने जी न्युजको अन्तर्वार्ता

९) कान्तिपुरले केपी ओलीको स्केच बनाउँदा माफी माग्नुपर्ने स्थिति कसरी आयो ?

त्यसो त नेपालमा अर्काको फोटो र समाचार, लेख ड्याम्मै कपि गरेर आफ्नोमा पेस्ट गर्नु सामान्य जस्तै हो। अर्थात् कपिराइटलाई धेरैले राइट टु कपि (कपि गर्न पाउने अधिकार) का रुपमा पनि बुझेका छन्। तर पछिल्लो समय जिम्मेवार नेपाली मिडियामा यसो गर्न हुन्न है भन्ने पनि चेतना बढ्दै गएको छ जुन निकै सकारात्मक हो। यो वर्ष एउटा मिडियामा प्रकाशित फोटोबाट स्केच बनाएको दावी भएपछि अर्को मिडियाले माफी मागेर हटाएको उदाहरण देख्न पाइयो। त्यही बारेको ब्लग थियो यो। गएको वर्ष सबैभन्दा बढी पढिएकोमा यो ब्लग नवौँ नम्बरमा थियो।

किन ‘कान्तिपुर’ले यो ‘स्केच’ छाप्दा माफी माग्नुपर्ने स्थिति आयो?

१०) भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’ होइनन्

मिडियामा एकदमै भाइरल हुने एक डाक्टरको बारेमा लेखिएको ब्लग थियो यो। धेरैले उनलाई मेडिकल डाक्टरका रुपमा लिए पनि खासमा उनी मेडिकल डाक्टर थिएनन्। उनलाई भाइरल बनाउने मिडियालाई लक्षित गरी यो ब्लगमा केही प्रश्नहरु लेखिएका थिए

भाइरल ‘डाक्टर’ले आफै स्वीकारे उनी ‘मेडिकल डाक्टर’ होइनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme