Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाइरल भएको बाजुरा अस्पतालको अपरेसन थियटर : खास कुरो यस्तो पो रहेछ

Posted on December 27, 2021December 27, 2021 by Salokya

केही दिनदेखि फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेको देखेको छु। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया कक्ष। मुनि अङ्ग्रेजीमा अपरेसन थियटर पनि लेखिएको छ। एउटा कुखुरा पनि नजिकै देखिन्छ।

दुर्गम क्षेत्रको अस्पतालको अवस्था दर्शाएको भन्दै धेरैले सामाजिक सञ्जालमा यसलाई राखेर भाइरल बनाएका छन्।

के यो अस्पतालको शल्यक्रिया कक्ष वास्तवमै त्यस्तै छ त? यसबारे फ्याक्ट चेक गर्न हिजोदेखि लागिरहेको थिएँ। विभिन्न स्रोतहरुबाट खोजिरहेको थिएँ। संयोगले केही अघि आफैले फ्याक्ट चेकिङको ट्रेनिङ दिएका एक सहभागी साथी बाजुरामा हुनुहुँदो रहेछ। उहाँकै जानकारीसहित आज नेपालफ्याक्टचेकमा फ्याक्ट चेक प्रकाशन गरियो। खास कुरो के रहेछ त? आउनुस् बुझौँ

भाइरल गराउनेहरु

एक पटक फेरि पूर्व सचिव भीम उपाध्यायकै नाम। उनले आफ्नो फेसबुकमा २५ डिसेम्बर २०२१ मा ‘बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष’ क्याप्सन लेख्दै यो फोटो पोस्ट गरेका थिए। यो पोस्टमा २७ डिसेम्बर दिउँसोसम्म २५५ कमेन्ट, १ हजार ८ सय रियाक्सन छन् भने १४१ पटक सेयर गरिएको छ।

उनको फेसबुक पोस्टसँगै अरु धेरैले पनि यसलाई सेयर  गर्न थाले। ट्रोल र मिमहरु पनि बन्न थाले।

त्यसपछि समाचार पनि बन्न थाल्यो। समाचारमा त भाइरल भएको विषयको बारेमा थप केही जानकारी हुनुपर्ने। तर जे छ त्यति मात्रै जानकारी भएको एउटा समाचार भेटियो यो स्वास्थ्यलाइभ अनलाइनमा। यसमा यही फोटोसहित २५ डिसेम्बरमा समाचार राखिएको छ, जसमा लेखिएको छ- ‘फोटोमा देखिएको बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष झट्ट हेर्दा पत्याउनै मुस्किल पर्छ। तर यो फोटोले नेपालको सुदूरपश्चिम तथा आसपासको क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थालाई यथार्थ चित्रण गरेको छ।’

अझ रमाइलो त समाचारको अन्तिममा गरएको टिप्पणी रहेछ। त्यसमा लेखिएको छ, ‘सामाजिक सञ्जालमा भाइरल त्यो ठाउँमा बिरामी मान्छेको होइन कुखुराको शल्यक्रिया गर्न उपयुक्त देखिन्छ!’

हैट। मिडियाले खास कुरो पत्ता लाएर पो के हो लेख्नुपर्ने, कुखुराको शल्यक्रिया गर्न उपयुक्त हुन्छ भनेर व्यङ्ग्य हान्दिने ! 🙂

यो फोटोबारे सामाजिक सञ्जालमा बहस हुँदा अर्को एउटा फोटो पनि सार्वजनिक भयो जसमा बाजुरा जिल्ला अस्पताल र शल्यक्रिया कक्ष नै लेखिएको छ-

खास कुरो यस्तो रहेछ

यो बारे बुझ्न हामीले बाजुराको मार्तडीबाट प्रकाशन हुने बडीमालिकाखबरका सम्पादक प्रकाशबहादुर सिंहसित सम्पर्क गर्‍यौँ। उनी काठमाडौँबाट प्रकाशन हुने अङ्ग्रेजी राष्ट्रिय दैनिक दि हिमालयन टाइम्स र नेपाल टेलिभिजनका लागि पनि रिपोर्टिङ गर्छन्। केही अघि एउटा फ्याक्ट चेकिङ ट्रेनिङमा उनी सहभागी थिए।

उनका अनुसार अहिले जिल्ला अस्पतालको भवन बनिरहेको छ। भाइरल नभएको राम्रो भवन देखिने पछिल्लो फोटो पुरानो भवनको हो। त्यसलाई अहिले भत्काइसकिएको छ।

हामीले फेसबुकमा खोज्‍ने क्रममा सन् २०१८ को नोभेम्बरमा पोस्ट गरिएको बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भवनको उस्तै पुरानो फोटो पनि भेट्यौँ।

सिंहका अनुसार भाइरल भएको फोटोमा जस्तै जस्तापाताको टहरामा शल्यक्रिया कक्षको साइनबोर्ड राखिएको सही हो। तर शल्यक्रिया कक्ष भने टहरामा नभएर पक्की भवनमा रहेको छ।

‘पहिलेको भन्दा राम्रो भवन अहिले छ,’ उनी भन्छन्,’पहिले रेडक्रस रहेको भवनमा अहिले अपरेसन थियटर सारिएको छ। टिनको त बाहिर खाली सामान-सामान राख्या छ।’

उनले दिएको जानकारी अनुसार साइनबोर्ड राखिएको जस्तापाताको टहराबाट भित्र पसेपछि पक्की भवनमा पुगिन्छ। सोही भवनमा शल्यक्रिया कक्ष रहेको छ। भाइरल भएको फोटोले टहराभित्र नै शल्यक्रिया कक्ष रहेको जस्तो भ्रम पारेको छ।

सिंहका अनुसार ५० शैय्याको जिल्ला अस्पतालको भवन अहिले नयाँ बनिरहेको छ।

यस्तो छ अहिलेको शल्यक्रिया कक्ष

हामीले पत्रकार प्रकाशबहादुर सिंहलाई बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भवनको हालको फोटो पठाउन अनुरोध गर्‍यौँ। उनले पठाएका फोटोहरु यस्ता छन्-

अपरेसन थियटर बाहिरको फोटो।

अपरेसन थियटर भित्रको फोटो

अपरेसन थियटर भित्रको फोटो

खासमा यो फोटो शिवराज न्यौपानेले डिसेम्बर २५ मा ‘सीमित श्रोत साधनका बावजुद स्तरीय सेवा कसरी दिन सकिन्छ! कोही जिज्ञासु हुनुहुन्छ भने यता आउनुस्’ क्याप्सन लेख्दै पोस्ट गरेका रहेछन्। तर फोटो मात्र भाइरल भयो, क्याप्सन भएन।

तथ्य जाँच

दावी : बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष जस्तापाताले बेरिएको टहरामा रहेको छ।

तथ्य : भ्रामक सूचना । बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्षको बोर्ड जस्तापाताको टहरा बाहिर राखिए पनि शल्यक्रिया कक्ष भवन भने टहरासँगै जोडिएको पक्की भवनमा रहेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme