Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इतर तितरबितर हुँदा कांग्रेसको नेतृत्व फेरि देउवाकै हातमा

Posted on December 14, 2021December 14, 2021 by Salokya

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले फेरि शेरबहादुर देउवालाई नै सभापति चुन्ने लगभग निश्चित भइसकेको छ। यो ब्लग तयार पार्दासम्म मतगणना भइसकेको छैन। तर दोस्रो चरणको निर्वाचन हुनुअघि नै देउवाले माहौल आफ्नो पक्षमा पारिसकेका छन्।

नेकपा नटुक्रिएको भए शायद् यस्तो अवस्था नआउन पनि सक्थ्यो। पार्टीको लज्जास्पद पराजयको कुरा उठ्थ्यो र नयाँ नेतृत्वका लागि आवाज झन् चर्को हुनसक्थ्यो। तर भाग्यमानीको भूतै कमारो ! आन्तरिक विवादका कारण नेकपा तीन टुक्रा भइदियो। अनि सत्ताको नेतृत्व फेरि एक पटक देउवाकै हातमा आइलाग्यो जुन पछिल्लो निर्वाचन परिणामपछि शायदै कसैले सोचेका थिए।

देउवालाई यस पटक गाह्रो हुने छाँट देखिन्थ्यो। तर संस्थापन इतर तितरबितर भइदिए। फेरि पनि यसको फाइदा देउवाले नै पाए। इतरबाट साझा उम्मेदवारी दिने प्रयास पनि सफल हुन सकेन। बिचरा रामचन्द्र पौडेल राजनीति नै छाड्छु भन्ने अवस्थामा पुगे। तर शेखर कोइराला र प्रकाशमान सिंहले माने पो।

अन्ततः पाँच जना उम्मेदवारमा कांग्रेसको विधान अनुसार कसैले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन्। नतिजा दोस्रो चरणको निर्वाचन हुने भयो जसमा बढी मत ल्याउने दुई जना मात्र प्रतिस्पर्धी हुन्छन्।

यहाँबाट ट्विस्ट भयो। यदि नेतृत्वमा देउवाको विकल्प साँच्चिकै खोजेको भए दोस्रो चरणमा इतर उम्मेदवारहरु एक ठाउँमा आउन सक्थे। त्यसो हुँदा कोइरालाको ३७ प्रतिशत, सिंहको ८ प्रतिशत र निधिको ५ प्रतिशत मत दोस्रो चरणमा फेरि आउने अवस्थामा ५० प्रतिशत पुग्न सक्थ्यो।

उता, पहिलो चरणमै ४९ प्रतिशत मत पाएका देउवालाई भने सिंह वा निधि जसको साथ भए पनि जित सुनिश्चित हुनसक्थ्यो।

देउवाले सिंहलाई सुरुमा आफ्नो पक्षमा ल्याए। त्यसपछि पहिले आफ्नै समूहमा रहेका निधिको पनि समर्थन पाए। हुँदाहुँदा सबैभन्दा कम भोट पाउने गुरुङको समर्थन पनि उनले पाउन सफल भए। लास्टमा कोइराला एक्लो हुन पुगे। देउवाको जस्तो रणनीति बनाउन कोइराला समूह असफल देखियो।

१३ औँ महाधिवेशनमा पनि दुई चरणमा चुनाव गर्नुपरेको थियो। त्यतिबेला सिटौला पक्षले देउवालाई सहयोग गरेपछि उनी रामचन्द्र पौडेललाई हराएर सभापति निर्वाचित हुन पुगेका थिए। यस पटक सिटौला आफू नउठेर देउवालाई सहयोग गरेका थिए। तर पनि निर्वाचन दुई चरणमा गयो।

समीकरण यस्तो भएका कारण देउवा पुनः सभापतिमा दोहोरिने लगभग निश्चित भएको छ। तर कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले कस्तो खालको मतादेश दिने हुन्, हेर्न बाँकी छ।

सभापतिको परिणाम भोलि बुधबार बिहानसम्म आइसके पनि अरु पदका लागि भने अझै कुर्नु पर्ने हुन्छ। किनभने भोलि आराम गरेर पर्सिबाट बल्ल पदाधिकारीहरुको मतगणना हुने भनिएको छ। ट्याङ्कीमा खसाइएका मतहरु निकालेर हातैले गन्नुपर्ने हुनाले धेरै समय लाग्ने निश्चित छ।

उपसभापति,महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरुमा कुन प्यानलका विजयी हुने हुन्, मतपरिणाम रोचक हुनेवाला छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme