Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के छापियो गोरखापत्रमा त्यस्तो अनलाइनबाट डिलिटै गर्नुपर्ने गरी?

Posted on December 9, 2021December 9, 2021 by Salokya

गोरखापत्रको यो लिङ्कमा (क्लिक गर्नुस्) हेर्नुभयो भने तपाईँले देख्नुहुनेछ Sorry No Data Available !!! लेखिएको।

यसको अर्थ हो, त्यहाँ पहिले केही थियो, पछि डिलिट गरियो।

झट्ट हेर्दा त्यसो मात्र देखिने हो। तर खासमा यसको पछाडि रमाइलो कहानी रहेछ। देशसञ्चारमा यसबारे समाचारै आएको छ- बालुवाटारको खप्कीपछि गोरखापत्रमा छापियो देउवाको ‘स्तुति’मा ‘क्षतिपूर्ति आर्टिकल’ शीर्षकमा।

त्यसमा लेखिए अनुसार भएछ के रे भने मंगलबारको गोरखापत्रको विचार पेजमा घनश्याम भट्टको ‘कांग्रेस महाधिवेशनबाट अपेक्षा’ शीर्षकको लेख छापिएछ। त्यो लेखमा भट्टले कांग्रेस र देशको भविष्य सुधारका लागि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पार्टी राजनीतिबाट बिदाइ लिनुपर्ने लेखेका रहेछन्।

हैट, सरकारी मुखपत्र भएर प्रधानमन्त्रीको विरोधमा आर्टिकल छाप्ने ? बबाल भएछ। बालुवाटारमा बोलाएर केरकार गरिएछ।

त्यसपछि देउवाको गुणगानमा भोलिपल्ट अर्को आर्टिकलमात्र छापिएन, त्यो आर्टिकल पनि अनलाइनबाट डिलिट गरिएछ।

तर थाहा पाउनु पर्ने कुरा के हो भने यसरी एक पटक प्रकाशित भएको सामग्री कारण नराखी यत्तिकै हटाउनु आचार संहिताको उल्लङ्घन हो। सरकारी मुखपत्रले नै आचार संहिता उल्लङ्घन गर्ने भनेपछि त कुरो गम्भीर पर्‍यो।

हेर्नुस् आचार संहिता-

यहाँ डिलिट गर्ने र गर्न लाउनेले नबुझेको कुरा के हो भने एक पटक अनलाइनमा प्रकाशित भइसकेको सामग्री त्यसरी आफूले हटाउँदैमा हट्ने होइन। कहीँ न कहीँ त्यो बसेकै हुन्छ। खोज्ने जान्नेले त्यसलाई खोजेर निकाल्न सक्छ।

गोरखापत्रले नै डिलिट गरेको आर्टिकल भनेपछि पढ्न त परो नि कस्तो रहेछ भनेर। खोजेर कपिपेस्ट गरेको छु-

कांँग्रेस महाधिवेशनबाट अपेक्षा
कार्यकर्तामा नेतालाई पदमुक्त गर्न सक्ने साहस र क्षमता चाहिन्छ

विचार/दृष्टिकोण

घनश्याम भट्ट

नेपाली कांँग्रेस महाधिवेशनको पूर्व तयारीमा जुटेको छ । कुनै पनि दलको महाधिवेशनले दलको नेतृत्वको चयन मात्रै गर्दैन, यसले देशमा भएका अनेक राजनीतिक, कूटनीतिक, आर्थिकलगायत सम्पूर्ण समस्या समाधानका लागि चाहिने बृहत् दृष्टिकोणको अपेक्षा पनि गर्छ । काँग्रेसमा अहिले सङ्घीयस्वरूप अन्तर्गतका थुप्रै मुद्दालगायतका अनेक विधामा स्पष्टता हुन अझै बाँकी छ । नेतृत्वका लागि वैचारिक र रणनीतिक दृष्टिकोणको बहस काँग्रेसले सुरु गरेको छैन । तर पनि यथार्थ के हो भने नेपालमा भएका जनगणतन्त्रवादी, मधेसवादी, राजावादी, हिन्दुवादी र जनवादी आदि सबैले रुचाएर वा नरुचाएर लोकतन्त्र मानेका छन्, लोकतन्त्रको सम्मान पनि सबैले गरेकै छन् तर स्थापना कालदेखि केवल लोकतन्त्रको मुद्दामा राजनीति गर्ने दल काँग्रेस मात्रै हो । त्यसैले काँग्रेसको नेतृत्व चयन प्रक्रिया मात्रैले पनि लोकतन्त्रको विकासमा प्रत्यक्ष योगदान गर्छ ।

के काँग्रेसले लोकतान्त्रिक पद्धतिको अनुसरण गरिरहेको छ ? यसको स्पष्ट जवाफ हो, छैन । नियमित समयमा महाधिवेशन गरेको भए काँग्रेस अहिले पन्ध्रौँ महाधिवेशनको तयारीमा हुने थियो । अन्य दललाई पनि त्यसले प्रभावित गर्न सक्थ्यो । नीतिगत र वैचारिक प्रश्नमा बहस गर्ने र नयाँ नेतृत्व खोज्ने अवसरलाई आलटाल गर्ने कार्यले लोकतन्त्र मजबुत हुँदैन । काँंग्रेसले यस्तो आलटाल गर्नुको प्रमुख कारण हो काँंग्रेसमा हाबी भइरहेको व्यक्तिवाद । कांँग्रेसमा देशको आर्थिक विकासका लागि चाहिने दृष्टिकोण र भविष्यको कार्य दिशा वा कुनै विश्वव्यापी समस्यामा बहस शून्यप्रायः छ । केहीलाई शेरबहादुर देउवा र केहीलाई रामचन्द्र पौडेल चाहिएको छ । के देउवावाद र पौडेलवादको भिन्नतामा कतै राष्ट्रिय बहस भएको छ ? लेख छापिएका छन् ?

सञ्चार माध्यममा बहस भएको छ ? तीस वर्षदेखि यी दुई नेताहरू नेपालको सत्ताका वरिपरि छन् । त्यसैले यी दुई वटै नेता यथास्थितिवादका द्योतक हुन् । कांँग्रेसका कार्यकर्ताहरू सामाजिक सञ्जालमा देउवा वा पौडेलको तस्बिर पोष्ट गरेर वैचारिक खडेरीको परिचय दिँदै छन् । व्यक्तिभन्दा दल र विधि ठूलो मान्ने विधि प्रधानताका हिमायतीको सङ्ख्या अल्पमतमा रहेकोले काँग्रेस महाधिवेशन नगर्न सफल भएको हो । अहिलेको प्रतिनिधि छनोटको प्रक्रियाले पनि व्यक्तिवाद हाबी भएको देखाएको छ । काँग्रेसका भावी पुस्ताका नेताका लागि यो राम्रो सङ्केत होइन ।

काँग्रेसले कम्युनिस्टबाट नसिक्नु पर्ने कुरा थुप्रै छन् तर सिक्नुपर्ने विषय पनि छन् । नेपालको वाम आन्दोलन व्यक्तिवादका कारण ओझेलमा परेको सबैका सामु छरपस्ट छ । पुष्पकमल दाहाल कहिले केपी ओलीसँग मित लगाउने र कहिले उछिट्टिने किन हुन् ? सत्ताका लागि नेकपा बन्यो र व्यक्तिवादका कारण नेकपा फुट्यो र बहुमतको सरकार दुर्घटनामा प¥यो । अध्यक्षको रूपमा ओलीलाई स्वीकार्न नसकेर माधवकुमार नेपाल आफूलाई रुचाउने केही कार्यकर्तासहित अलगिए । यदि नेकपामा यो सैद्धान्तिक लडाइँ थियो भने आज दाहाल र नेपाल किन एउटै राजनीतिक दलमा छैनन् ? उनीहरूलाई एक हुन कसले रोकेको छ ? काँग्रेस अहिले देउवा राम्रो कि पौडेल राम्रो भन्ने व्यक्तिवादी नारामा महाधिवेशनमा गयो भने त्यसले निम्त्याउने यस्तै दुर्घटना हो ।

कुनै पनि पक्षलाई क्षमता, विचार र दृष्टिकोणका आधारमा नभएर शक्ति केन्द्रित स्वार्थी समूहको आधारमा नेतृत्व चयन गरियो भने त्यो जनाधार खस्काउने अभियानको सुरुवात हो । प्रशस्त लोकतान्त्रिक अभ्यास गरिसकेको एमालेले हालै सम्पन्न गरेको महाधिवेशनको एउटा खल्लो पक्ष व्यक्तिवाद हाबी हुनु हो । त्यहाँका प्रतिनिधिले आफ्नै क्षमताको प्रदर्शन गरेर नेताको चयन गरेको भए त्यो बढी प्रशंसनीय, लोकतान्त्रिक र तर्क पूर्ण हुने थियो । महाधिवेशन प्रतिनिधिले नै हामीले नेता रोज्नुभन्दा तपाईंबाटै रोजियोस् र हामी केवल अनुमोदन गर्छौं भनेपछि व्यक्तिवाद हाबी हुने नै भयो । तर एमाले एउटा कम्युनिस्ट दल पनि भएकोले त्यहाँ व्यक्ति प्रधानतालाई आश्चर्य मानिनु हुँदैन । काँग्रेसका लागि व्यक्तिवाद आश्चर्यको कुरो हो । कांँग्रेस जतिसुकै अलोकप्रिय हुँदा पनि करिब तीस प्रतिशत मत यसले सधैँ प्राप्त गर्ने गरेको छ । यो गैर–कम्युनिस्ट वैचारिक मत हो । त्यसैले यो एक किसिमले सैद्धान्तिक मत हो । तर अब गैर–कम्युनिस्ट मत सधैँ काँग्रेसले पाउँछ भन्ने जरुरी छैन । महाधिवेशन गर्न नरुचाउने दललाई जनताले कति पत्याउलान् ? काँग्रेसको आगामी महाधिवेशन प्रतिनिधिले सङ्गठनमा तार्किक, सैद्धान्तिक र वैचारिक बहस गर्न सक्ने, असल पृष्ठभूमि भएको तथा दल र राष्ट्रको भविष्य निर्माण गर्ने दृष्टिकोण भएका नेताको खोजी गर्नुपर्नेछ । काँंग्रेसले दाहालसँगको सहकार्य र कम्युनिस्टसँगको आफ्नो सैद्धान्तिक भिन्नता पनि जनतासँग स्पष्ट पार्नु पर्नेछ । कम्तीमा कांँग्रेस व्यक्तिवादी दल नभएको स्पष्ट सन्देश दिनुपर्नेछ ।

एमाले महाधिवेशनमा केही प्रशंसनीय काम पनि भएका छन् । एकतर्फी भए पनि त्यहाँ निर्वाचन गरिएको छ । दल विभाजनमा व्यक्तिवाद त्यागेका केही कार्यकर्तालाई त्यहाँ सम्मानजनक मत मिलेको छ । यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धि हो महासचिवमा भएको एउटा युवा पुस्ताको उपस्थिति । एमालेमा अनुभवी र वृद्धको बाहुल्य हुँदाहुँदै र अनेक दबाबका बीच ओलीले एमालेको आगामी नेतृत्वका लागि तुलनात्मक रूपमा युवा शङ्कर पोखरेललाई लाइनमा लगाई दिए । उनी सक्षम छन् वा छैनन् समयले बताउला तर ओलीको यो एमालेको भविष्यप्रतिको दृष्टिकोण हो, दूरदर्शिता हो । एमालेमा यो ओलीद्वारा गरियो, काँग्रेसमा यो महाधिवेशन प्रतिनिधिद्वारा गरिनुपर्छ । नेतृत्व परिवर्तनमा क्रान्तिकारी छलाङ राप्रपाका विवेकशील कार्यकर्ताले देखाएको जति विवेक देखाउन काँग्रेसले कुनै विश्वविद्यालयको डिग्री लिनु पर्दैन ।

अब हेरौँ काँग्रेसका सम्भावना । काँग्रेसका कतिपय कार्यकर्ता देउवालाई कसरी जिताउने वा हराउने बहसमा केन्द्रित छन् । कसैले महेन्द्रनारायण निधि सुपुत्र र मधेसी भएकोले विमलेन्द्र निधिलाई कांँग्रेसको नेतृत्व दिनुपर्ने भन्दैछन् भने कसैले काठमाडौँका रैथाने गणेशमान सिंहका सुपुत्र भएकोले प्रकाशमान सिंहलाई त्यो जिम्मेवारी दिनुपर्ने भन्दैछन् । यो सिंह र निधिको अवमूल्यन हो । यस्ता वंशवादी र माओवादीबाट सिकेका क्षेत्रीयतावादी र वर्गीयतावादी नारा काँंग्रेसका आदर्श होइनन् । सुजाता र डा. शशाङ्क कोइरालालाई स्वाभाविक नेता मान्नेको जमात पनि काँंग्रेसमा विशाल छ । के गगन थापालाई किनारा गरेर कोइरालालाई महामन्त्री बनाउने कांँग्रेसको मत सही साबित भयो ? सूर्यबहादुर थापाका पुत्रले आफ्नो दललाई कहाँ पु¥याए ? काँग्रेसको एउटा जमात गगन थापालाई रोक्नमा केन्द्रित छ । ऊ यसमा आफ्नो उदय देख्छ । यो व्यक्तिवाद भन्दा पनि खतरनाक सोच हो ।

अहिलेको कांँग्रेस महाधिवेशन प्रतिनिधिमा युवा पुस्ताका नेताहरू उल्लेख्य रूपमा देखिएका छन् । तिनको राजनीतिक यात्रा लामो छ । स्वार्थकेन्द्रित गुटबन्दी तिनका लागि आत्महत्या सरह हो । त्यसैले दललाई विधि र पद्धतिले चलाउने क्षमता र दृष्टिकोण भएका, ऊर्जाशील, अनुभवी र नेतासामु आफ्नो विवेक प्रयोग गर्न सक्ने पदाधिकारी चुनिनु तिनका लागि हितकारी हुन्छ ।

कांँग्रेसमा यथास्थितिको क्रमभङ्गता भई ठूलो परिवर्तनसहित चमत्कारिक नेताको उदय हुने सम्भावना शून्य छ । धेरै ठूलो आशा गर्ने ठाउँ काँग्रेसमा छँदै छैन । तर यो काँंग्रेसको नेता चुन्ने मात्रै नभई देशको नेता चुन्ने पनि अवसर हो, त्यसैले यो एक जिम्मेवारी पनि हो ।
महाधिवेशन प्रतिनिधिका सामु विकल्प छन् । देउवा र पौडेलको सम्मानजनक बहिर्गमन पहिलो विकल्प हो । राजनीतिमा कसैले नयाँ पुस्ताका लागि भनेर पद त्याग गर्दैन । कार्यकर्तामा नेतालाई पदमुक्त गर्न सक्ने साहस र क्षमता चाहिन्छ । देउवा र पौडेल समूहकै सिंह र निधि नेतृत्वका लागि स्वाभाविक दाबेदार र हकदार छँदैछन् ।

यिनलाई कुनै भूगोल वा वंशसँग जोडेर परिचय दिन आवश्यक छैन । यथास्थितिवादको क्रमभङ्ग गर्न सक्ने सामथ्र्य छ भने शेखर कोइराला पनि छन् लाइनमा । आफूलाई नेताको भाषणको अनुमोदन गर्ने मात्रको हैसियतमा सीमित नराखी आफ्नो क्षमताको प्रदर्शन गर्ने उपयुक्त स्थल महाधिवेशन हो । दोस्रो पुस्ताका टिके नेताको सट्टामा तेस्रो वा चौथो पुस्ताको नेता खोज्नु अझ वेश हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा मामिलामा तार्किक बहस गर्न सक्ने, विज्ञान र विश्व जाने बुझेका र चमत्कारिक वाक प्रतिभाका धनी गगन थापाको उचित मूल्याङ्कन गर्न सकिएन भने कांँग्रेसका परम्परागत मतदाताको आस्थामा ठेस लाग्नेछ । महामन्त्रीमा थापा जतिको सक्षम, इमानदार र जुझारू नेता अहिले काँग्रेससँग छैन । आम जनताको काँग्रेसप्रतिको आस्था कायम राख्न काँग्रेसले थापालाई यो जिम्मेवारी दिनैपर्छ ।

गोरखापत्रले अहिले डिलिट गरे पनि अर्काइभ डट ओआरजीले त्यसलाई सुरक्षित राखेको छ। यहाँ क्लिक गरी पढ्नुस्। 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme