Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेका हुन्?

Posted on December 7, 2021December 7, 2021 by Salokya

आइतबारदेखि सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै महँगो साबुन प्रयोग गरेको दावीसहितका केही पोस्टहरु एकदमै भाइरल भए। त्यसमा गरिएका दावी अनुसार सुन र हीराको धूलो अनि मह प्रयोग गरी बनाइएको यो साबुन एउटाकै १२ सय डलर पर्छ रे।

यो कुरा फैलाउनमा पूर्व सचिव भीम उपाध्यायसमेत लागे। अनि  केही अनलाइनले यस विषयमा लेखेका छन्। यसबारे नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच–   

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा आइतबार (१९ मंसिर २०७८) मा लेखेका छन्- विश्वकै सबैभन्दा महंगो साबुन प्रयोग गर्ने नेता प्रधानमन्त्री ओली पनि रहेछन्। अब गिनिजबुकमा नाम आउँछ होला। उनले प्रम हुँदा विश्वकै महंगो ६५० ग्राम एक पिस साबुनको मूल्य १२०० युएस डलरमा किनेका रहेछन्। यो साबुनमा सुन र हिराको धुलो अनि मह प्रयोग गरी बनाइएको हुँदो रहेछ। साबुनको नाम राजा महाराजाले प्रयोग गर्ने Qatar Royal Soap हो। ओली प्रधानमन्त्री हुँदा यो साबुन ३ दर्जन बालुवाटारमा प्रयोग गरिएको खुल्न आएको छ।

आइतबार रातिसम्म यो पोस्टमा ५८२ कमेन्ट, साढे ३ हजार रियाक्सन र ३७८ सेयर भइसकेको छ। उपाध्यायले पोस्टसँगै ‘सुदर्शनखबर’ पनि लेखेका छन्।

सुदर्शनखबर डट कमले अशुद्ध व्याकरणका साथ ‘बिश्वकै महन्ङो साबुन प्रधानमन्त्री हुदा ओलीले प्रयोग गरेको खुलासा’ शीर्षकमा आइतबार नै एउटा समाचार पोस्ट गरेको छ।

हेर्नुस् समाचारको अर्काइभ लिङ्क

अरु केही अनलाइन र फेसबुक पोस्टमा पनि यो विषय देखिएको छ-

हेर्नुस् अर्काइभ लिङ्क

उपाध्यायले सुदर्शनखबरलाई स्रोत बनाएका छन् भने अन्य अनलाइनले उपाध्यायलाई स्रोत बनाएका छन्। तसर्थ समाचारको मूल स्रोत सुदर्शनखबरमा प्रकाशित सामग्री देखिन्छ।

के हो तथ्य ?

यति महँगो साबुन हुन्छ?

समाचारमा कुनै फोटो प्रयोग गरिएको छैन। तर उपाध्याय र सुदर्शनखबरले फेसबुकमा राखेको साबुनको फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा हामी भारतको नवभारत टाइम्सको यो समाचारमा पुग्यौँ-

बीबीसीले पनि यो साबुनको बारेमा समाचार बनाएको छ, जुन युट्युबमा हेर्न सकिन्छ-

तर नेपालमा भाइरल भएको समाचार जस्तै यसको मूल्य ६५० ग्रामको १२ सय अमेरिकी डलर नभएर १६० ग्रामकै २८ सय अमेरिकी डलर भएको बीबीसीको समाचारमा उल्लेख छ।

गल्फ टाइम्समा सन् २०१३ मा प्रकाशित समाचार अनुसार १०० ग्रामको यो साबुनको मूल्य ३८ सय डलर हो।

ओलीले प्रयोग गरेका हुन्?

सुदर्शनखबरको वेबसाइटमा उल्लेख भए अनुसार मादी गाउँपालिका, कास्कीमा कार्यालय भएको यो अनलाइन सूचना विभागमा दर्ता र प्रेस काउन्सिलमा सूचीकृत छ। तर समाचारको भाषाशैली, व्याकरण भने सिकारुको जस्तो छ।

समाचारको शीर्षकमा मात्रै तीन वटा गल्ती छन् भने हरेक वाक्यमा अनगिन्ती गल्तीहरु छन्। समाचारका कतिपय ठाउँमा सही पूर्णविरामको समेत प्रयोग गरिएको छैन भने साबुनको स्पेलिङ Soap हुनुपर्नेमा Shoap लेखिएको छ।

सुदर्शनखबरमा प्रकाशित समाचारमा व्याकरणका गल्ती (रातो घेरामा)

व्याकरणका गल्ती बाहेक यसमा समाचारका गुणहरु समेत देखिन्न। ‘समाचार’मा यो साबुन तीन दर्जन बालुवाटारमा प्रयोग गरिएको खुल्न आएको छ लेखिए पनि कहाँबाट कसरी खुलेको हो, केही उल्लेख छैन। ओलीले उक्त साबुन प्रयोग गरेको पुष्टि हुने कुनै पनि कोट (कसैको भनाई) वा प्रमाण त्यसमा उल्लेख छैन।

भाषणका ‘आरोप’मा पनि साबुनको कुरा छैन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिकमा चितवनमा भाषण गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास बनाउने क्रममा थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएको भन्दै ओलीको आलोचना गरे पनि त्यसमा साबुनको प्रसङ्ग भने उल्लेख छैन। प्रचण्डको सो भाषणबारे सेतोपाटीमा समाचार प्रकाशित छ अनलाइनखबरले यो विषयमा समाचारमा लेखेको छ- ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे’ प्रचण्डले थपे, ‘नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ ।’

रातोपाटीले पनि ओलीले थाइल्यान्ड र इटलीका महँगा सामान थुपारेको देखेर देउवा र म छक्क पर्‍यौँ : प्रचण्ड शीर्षकमा समाचार राखेको छ।

प्रचण्डको आरोपको ओलीले त्यतिबेलै खण्डन पनि गरेका थिए। अनलाइनखबरमा प्रकाशित समाचारमा ओलीलाई उद्‍धृत गर्दै लेखिएको छ- ‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खातमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्,’ ओलीले भने, ‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु?’

तथ्य जाँच

दावी : प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले विश्वकै महँगो रोयल कतार सोप नामको साबुन प्रयोग गरे।

तथ्य : अपुष्ट खबर। यो बारे समाचार लेख्ने सुदर्शनखबरले ओलीले महँगो साबुन प्रयोग गरेको पुष्टि हुने कुनै भनाई वा प्रमाण राखेको देखिएन। प्रचण्डले गएको कात्तिकमा ओलीमाथि बालुवाटारमा प्रधानमन्त्री हुँदा विदेशबाट महँगो सामान थुपारेको आरोप लगाए पनि कुनै प्रमाण देखाएका थिएनन् र त्यसमा साबुनको प्रसङ्ग पनि थिएन। प्रचण्डको आरोपलाई ओलीले खण्डन गरिसकेका छन्। तसर्थ ओलीले प्रधानमन्त्री हुँदा विश्वकै महँगो साबुन प्रयोग गरेको खबर पुष्टि हुँदैन।

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज :  माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme