Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२० मिनेटको कार्यक्रम देखाउन नमानेको आस्था टिभीलाई रामदेवले यसरी आफ्नो कब्जामा लिएका थिए

Posted on November 21, 2021November 21, 2021 by Salokya

नेपालमा अनुमति नै नलिई प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु र नेताहरुको लर्को लगाएर भारतीय योगगुरु रामदेवले दुई वटा टेलिभिजनको उद्घाटन गरेको बारे चर्चा चलेको छ। प्रधानमन्त्रीले नै गैरकानुनी टेलिभिजनको उद्घाटन गर्ने हो त भनेर प्रश्न पनि हाम्रा मिडियामा उठाइएका छन्।

तर यहाँ मैले चाहिँ उद्घाटन भएको आस्था नेपाल टिभी र पतन्जली नेपाल टिभीको नभई रामदेवको हातमा भारतको आस्था टिभी कसरी आयो भन्ने बारे लेख्न लागेको हुँ। सुन्दा अनौठो लाग्न सक्छ, अहिले नेपालमा टिभी खोलेका रामदेवलाई त्यतिबेला आस्था टिभीमा एउटा कार्यक्रम चलाउन समेत धौ धौ परेको थियो। पछि उनले कसरी पूरै च्यानल नै कब्जामा लिन सफल भए त?

रामदेवको बारेमा थाहा नभएका धेरै कुराहरुको बारेमा खोज गरेर भारतीय पत्रकार प्रियंका पाठक नरेनले सन् २०१७ मा एउटा किताब लेखेका थिए- Godman to Tycoon: The Untold Story of Baba Ramdev रामदेवले यो किताबविरुद्ध दिल्ली हाइकोर्टमा मुद्दा दायर गरेर किताबमाथि प्रतिबन्ध लगाउने अन्तरिम आदेश लिन सफल भएका थिए। तर पछि अदालतले प्रतिबन्ध हटाइदिएको थियो।

त्यही पुस्तकमा भएका लामो विवरणको संक्षिप्त रुप हो यो।

कसरी सुरु भएको थियो आस्था च्यानल?

जतिबेला टिभीमा फेमिली ड्रामाहरुको एकछत्र राज थियो, त्यतिबेला इलाहावादका एक पत्रकार माधवकान्त मिश्रको दिमागमा भने बेग्लै आइडिया चलिरहेको थियो। सानैदेखि नै उनी अध्यात्मतर्फ आकर्षित थिए, त्यसैले त्यो कमी पूरा गर्न चाहन्थे। आस्था टिभीको आइडिया धेरै पहिलेदेखि नै उनको दिमागमा थियो।

उनले यो आइडिया सिएमएम ब्रोडकास्टिङ नेटवर्क लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक किरित मेहतासामु राखे। यो एउटा सानो प्रोडक्सन स्टुडियो थियो, ऋणमा डुबेको। त्यतिबेला उनी एउटा म्युजिक च्यानल लञ्च गर्ने तयारीमा थिए। सुरुमा त मिश्रको आइडिया सुनेर उनी हाँसे। यस्तो धर्मकर्मको च्यानल कसले हेर्छ र भनेर उडाए पनि।

तर पछि बिस्तारै यसमा केही सम्भावना देख्न थाले र आस्था ब्रोडकास्टिङ नेटवर्क लिमिटेडमा लगानी गर्ने निर्णय गरे। यद्यपि उनले सीधै आस्थामा लगानी गर्नुभन्दा पत्नी, छोरा र छोरीको नाममा रहेको कम्पनीबाट आस्थामा ५० प्रतिशत लगानी गरे। बाँकी आधाचाहिँ कोलकाताका चार्टर्ड एकान्टेन्ट र इन्भेस्टर सन्तोषकुमार जैनले गरे।

अर्थात् आस्था टिभीका सुरुका मालिक थिए मेहता र जैन। उनीहरुले कम्पनी खोल्न सहयोग गर्ने ब्रोकर हिरेन हर्षद दोषीलाई एक प्रतिशत सेयर दिए। मिश्र भने संस्थापक सम्पादक भए आस्थामा।

१८ जुन २००० मा आस्था पहिलो पटक लाइभ गयो। यसले भारतीय टेलिभिजनको इतिहासमा एउटा नयाँ अध्याय लेख्यो। आस्था लञ्च भएको एक महिनामै अर्को धार्मिक च्यानल संस्कार पनि प्रसारण हुन थाल्यो।

किरित मेहताले आस्था इन्टरन्यासनल पनि स्थापना गरे जोसित आस्था युके र आस्था युएसएको स्वामित्व थियो। आस्था इन्टरन्यासनलमा भने मेहताको एक्लो लगानी थियो। यसले आस्था इन्डियाको कन्टेन्ट अमेरिका र बेलायतमा प्रसारण गर्थ्यो।

शेयरले आस्थामा समस्या

बढ्दो लोकप्रियतासँगै आस्थाको सेयर नोभेम्बर २००० मा ९ रुपैयाँ ७० पैसा प्रति कित्ताबाट तीन महिनामा अर्थात् फेब्रुअरी २००१ मा ३९ रुपैयाँ १० पैसा पुग्यो। सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाले यसको छानबिन गर्‍यो र प्रमोटरहरुहरुले अवैध रुपमा नियमावलीको उल्लङ्घन गरेको ठहर गर्‍यो। फलस्वरुप सन् २००७ सम्म ९३ प्रतिशत आस्थाको सेयर किनबेच गर्न नमिल्ने गरी यो नियामक निकायले फ्रोजन गरिदियो।

रामदेवलाई अस्वीकार गर्ने आस्था

सन् २००० मा निःशुल्क योग शिविरहरु चल्न थाले। तर त्यसको टेप हेरेका आस्थाका प्रमोटर किरिट मेहता र सिइओ अजय गुप्ताले त्यसलाई प्रसारण गर्न अस्वीकार गरे। उनीहरु रामदेवले पेट हल्लाएकोबाट त्यति प्रभावित भएनन्।

तर त्यसबाट हताश नभई रामदेव आस्थाको प्रतिस्पर्धी च्यानल संस्कारमा पुगे। बिहानको पौने ७ बजेको २० मिनेट समय शुल्क तिरेर आफ्नो लागि किने।

अरु टेलिभिजन च्यानलहरु विज्ञापनबाट चले पनि धार्मिक च्यानलहरु त्यतिबेला यस्तै गुरुहरुको पैसाबाट चल्थ्यो। डोनेसनबाट आएका पैसा यी गुरुहरुले आफ्नो प्रभावका लागि टिभीमा खर्च गर्थे।

आस्था र संस्कारका एअर टाइमहरु धेरै पैसा तिर्न तयार गुरुका लागि बुक हुन्थे।

संस्कार टिभीका मुख्य प्रमोटर काब्राका अनुसार २० मिनेटको समयका लागि रामदेवले एक लाख ५० हजार तिर्नुपर्थ्यो। तर पहिलो भेटमा रामदेवले सबै पैसा तुरुन्तै तिर्न नसक्ने, बिस्तारै दर्शक बढेपछि तिर्ने बताएका रहेछन्।

टिभीमा प्रसारण भएको पहिलो योग शिविरमै दुई सहभागीले रामदेवलाई ५-५ लाख रुपैयाँको चेक दिए जुन संस्कारलाई तिर्नुपर्ने शुल्क भन्दा बढी थियो। त्यो शिविरमा रामदेवले क्यान्सर, समलैङ्गिकता र एचआईभी योगाबाट ठीक हुनसक्ने र सेतो कपाल कालो हुनसक्ने दावी गरेका थिए। पहिलो शिविरमै उनले दानका लागि अपील पनि गरेका थिए।

संस्कारको बढ्यो टिआरपी


रामदेवको कारण संस्कार टिभीको टिआरपी बढ्न थाल्यो। सन् २००३ सम्ममा संस्कार पहिलो र आस्था दोस्रो हुन पुग्यो दर्शकका हिसाबले। अब मिश्र रामदेवलाई संस्कार छाडेर आस्थामा आउन मनाउन थाले।

सन् २००३ को अन्तसम्ममा रामदेवले एक जना प्रमोटरसँगको निजी कारणले संस्कार छाडे र आस्थामा मात्र देखिन थाले। संस्कारले रामदेवलाई आफ्नो च्यानलमा कहिल्यै नदेखाउने निर्णय गर्‍यो।

 

अन्तर्राष्ट्रिय सेलिब्रिटी

आस्थामा रामदेवको शो लोकप्रिय हुन थाल्यो। योगप्रति मान्छे आकर्षित हुन थाले। रामदेव सामान्य योग गुरुबाट सेलिब्रिटी बन्न पुगे। अनि यसैको बलबाट विशाल साम्राज्य बनाउने क्रम सुरु भयो।

रामदेव देशमा मात्र हैन विदेशमा समेत लोकप्रिय बने। आस्था इन्टरन्यासनलले रामदेवलाई ग्लोबल टुरमा लग्यो। बेलायतमा रामदेवको शिविरका लागि ५०० पाउन्डसम्मको टिकट बिक्यो। १७ करोड भारु बेलायतबाट फर्कँदा रामदेव र उनको टिमले पाए।

मिडिया चलाउने महत्त्वाकांक्षा

रामदेवले आफू कति पावरफूल रहेछु भन्ने महसूस गरे। उनलाई आफ्नो स्टार पावरमा आस्था च्यानलको कति हात छ भन्ने पनि थाहा थियो। अब उनी यो माध्यमलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्थे, न कि यसका मालिकहरुको नियन्त्रणमा आफूलाई राख्न।

त्यसैले लन्डनबाट फर्किएको तीन महिनामै अक्टोबर २००६ मा स्वामी हेल्थकेयर प्रालिको नाम परिवर्तन गरेर वेदिक आरोग्य प्रालि राखेर त्यसको उद्देश्यमा सूचना प्रविधिसमेत थपियो।

टेलिभिजन चलाउने समेत उद्देश्य थपेर कम्पनी रजिस्ट्रारमा सूचना बुझाएर २२ मे २००७ मा कम्पनीले वेदिक आरोग्य प्रालिबाट कम्पनीको नाम वेदिक ब्रोडकास्टिङ प्रालि बनाइयो। यो कम्पनीको ९९ प्रतिशत सेयर बालकृष्ण आचार्यको नाममा छ। पछि यो प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनी बनाइयो।

यसरी कब्जा गरियो आस्था

आस्था टिभीका संस्थापक अध्यक्ष मेहता

९३ प्रतिशत आस्थाको सेयर खरिदबिक्री गर्न नपाउने गरी रोक्का राखिएको र पूँजी बजारबाट थप रकम संकलन गर्न नपाउने कारण यसका सञ्चालकहरु मारमा थिए।

यसैको मौका छोपे रामदेवले। उनले आस्थाको खरिदबिक्री गर्न सकिने बाँकी सात प्रतिशत सेयर आफ्नो वेदिक ब्रोडकास्टिङले खरिद गर्ने प्रस्ताव राखे। प्रमुख सेयरहोल्डरका रुपमा बोर्डमा आए सरकारी अधिकारीहरु र न्यायाधीशहरुसित लबिङ गरी आस्थालाई समस्याबाट मुक्त गर्न सकिने प्रस्ताव पनि रामदेवले मेहतासामु राखे।

मेहता राजी भए र १० करोड रुपैयाँमा ननफ्रोजन सेयर रामदेवले खरिद गर्ने सहमति भयो।

रामदेवले आस्था इन्डियाका माइनर सेयरहोल्डर हिरेन दोशीसित पनि सम्बन्ध बढाए। अर्का प्रमुख सेयर होल्डर एसके जैनसित पनि सम्बन्ध बनाए।

मेहताका अनुसार कतिपय कागजातमा आफ्नो फर्जी हस्ताक्षर बनाएर आफ्ना सेयर वेदिक ब्रोडकास्टिङका नाममा सारियो। उनले सहमति भए अनुसारको बजार मूल्य पनि सेयरका लागि नतिरिएको पनि दावी गरे।

यो कुरा थाहा पाए पछि मेहता रिसाए र आफ्नो सेयरको रकम भुकतानका लागि माग गरे। यति नै बेला मेहताले आस्था इन्डियाका कन्टेन्ट अमेरिका र बेलायतमा बढी रकम तिर्नेका लागि दिने निर्णय गरे। किनभने मेहताको कम्पनी आस्था इन्टरन्यासनलले यो काम त्यतिबेलासम्म गर्थ्यो। तर आफ्नै कम्पनी भएकोले आस्था इन्डिया र आस्था इन्टरन्यासनलबीच यो विषयको कुनै कागजी सहमति गर्न उनले जरुरी ठानेका थिएनन्।

यसले विवाद निम्त्यायो। पतन्जली योगपीठमा रामदेवको कोठामा मिटिङ सुरु भयो। रामदेव रिसाए। उनले मेहताको पेनमा हिडन क्यामेरा छ कि भनेर चेक समेत गरे। अनि रौद्र रुपमा आएर चिच्याउँदै इन्टरन्यासनल राइट किन बेचेको भनेर हप्काए।

रामदेवले आस्था इन्डियाको अध्यक्ष र प्रबन्ध निर्देशकको पदबाट राजीनामा दिन मेहतालाई दबाब दिए। १३ नोभेम्बर २००९ को मितिमा लेखिएको राजीनामा पत्र उनका सामु राखियो।

खासमा मेहता हरिद्वारमा आफ्नो बाँकी रकम लिन आएका थिए। तर यहाँ उनी आस्था इन्डियामा भएको आफ्नो थोरै नियन्त्रण पनि गुमाउन पुगे। उनका छोरा चेतनले उनलाई राजीनामामा साइन नगर्न भनेका थिए। तर उनी लाचार र असहाय थिए। जुन टिभीले रामदेवलाई बनायो, उसैले टिभीबाट उनको बहिर्गमन बाध्य बनायो।

मेहताकी छोरी भक्तिका अनुसार त्यसको केही दिनमा नै रामदेवका मान्छेहरुले आस्थाको वेबसाइट, इमेल एड्रेसमा कब्जा गरे र मेहताको कम्पनी र त्यहाँका कमर्चारीहरुसितको पहुँच रोके।

यो मिटिङको दुई दिनपछि १७ नोभेम्बर २००९ मा ज्यानको खतरा महसूस गर्दै मेहता परिवार दुबई भागे। आस्था युएस र युके च्यानलमा आस्था इन्डियाको कन्टेन्ट प्रसारण हुँदै थियो। तर प्राविधिक रुपमा त्यसको अधिकार आस्था इन्डियासित भएकोले युके र युएसमा रामदेवले पाइरेसीको मुद्दा हाल्न लगाए।

मेहताले भनेका छन्, रामदेवलाई थाहा थियो कि आस्था च्यानलकै कारण दुई करोड दर्शकसँग प्रत्यक्ष कुरा गर्ने शक्ति उनीसित थियो। त्यसैले उनी च्यानल मबाट हस्तान्तरण होस् भन्ने चाहन्थे। तुरुन्तै। भुक्तान भने पछि गरौँला शैलीको।

मेहताको भनाईको पुष्टि गर्ने वा रामदेवले केही नराम्रो काम गरेका हुन् कि हैनन् भन्ने हेर्नका लागि सार्वजनिक रेकर्डका रुपमा कुनै प्रमाण भने छैनन्। तर मेहताले रामदेवविरुद्ध मुम्बईको अदालतमा मुद्दा चाहिँ हालेका थिए। यो उनी दुबई भागेको केही समयपछि थियो। तर पत्नी बिरामी भएर क्यान्सर पहिचान भएपछि उनले त्यो मुद्दा फिर्ता लिए। आउट अफ कोर्ट सेटलमेन्ट हुने आश थियो। तर त्यसो भएन।

संस्कार पनि रामदेव कै नियन्त्रणमा

आस्था मात्र होइन, रामदेवलाई कहिल्यै नदेखाउने निर्णय गरेको संस्कार टिभी पनि अहिले रामदेवकै नियन्त्रणमा छ। दिलिप, दिनेश काब्रा र किशोर मोहोत्ताले स्थापना गरेको यो टिभी पछि पिट्टी ग्रुपले खरिद गरेको थियो। यसका हर्ताकर्ता केके पिट्टीले रामदेवले भनेर आफूले च्यानल किनेको बताएका थिए। उनी रामदेवका भक्त हुन्। च्यानल किनेपछि उनले यसलाई रामदेवकै सल्लाह अनुसार केही समय चलाए।

पछि स्वामित्वको विषयमा दुईको सम्बन्धमा खटपट हुन थालेपछि उनले संस्कार च्यानल रामदेवलाई नै बेचिदिए।

एक दर्जन टिभीको स्वामित्व

अहिले रामदेवसित आस्था र संस्कारमात्र होइन, एक दर्जन टिभीको स्वामित्व छ। वेदिक ब्रोडकास्टिङबाट सञ्चालित आस्था टिभी, आस्था भजन टिभी, आस्था टिभी कन्नड, आस्था टिभी तमिल, आस्था टिभी तेलगु, वेदिक टिभी त्यसैगरी संस्कार इन्फो टिभी प्रालिबाट संस्कार टिभी, सत्संग टिभी, शुभ टिभी र आस्था ब्रोडकास्टिङ लिमिटेडबाट अरिहन्त जैन टिभी सबैको नियन्त्रण रामदेवसितै छ। स्वामित्व भने कागजी रुपमा बालकृष्णको रहेको छ। त्यसैमा थपिन पुगेको हो आस्था  नेपाल र पतन्जली नेपाल टिभी।

तर नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार आमसञ्चारमाध्यमहरू (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) मा विदेशी लगानी गर्न पाइँदैन। तर प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई नै उभ्याएर रामदेवले उद्घाटन गर्न लगाइसके। अब कसरी अनुमतिको कुरा मिलाइन्छ, त्यो हेर्न बाँकी छ। नेपाली च्यानल होइन भने पनि भारतबाट प्रसारण हुने टिभीमात्र भए पनि नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिन पर्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme