Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के किताब पढेर र भिडियो हेरेर पनि विपश्यना ध्यान साधना गर्न सकिन्छ?

Posted on November 10, 2021November 10, 2021 by Salokya

विपश्यना ध्यान बारे ब्लगहरु लेखिरहने भएर होला, कहिलेकाहीँ व्यक्तिगत प्रश्नहरु मलाई आइरहेको हुन्छ। त्यसो त एक दशकदेखि यसको अभ्यास गर्दै आए पनि म यो विद्याको एक सामान्य साधक मात्रै हुँ, कसैलाई सिकाउने वा सल्लाह दिन म सक्षम छैन। तर पनि आफूले जानेका सामान्य विषय सुझाव दिई थप बुझ्नका लागि सम्पर्क गर्न सकिने स्थान बताउने गरेको छु। केही दिनअघि मेरो मेसेन्जरमा एउटा प्रश्न आयो। यसको जवाफ ब्लगमै लेखेर दिँदा अरुलाई पनि फाइदा हुनसक्ने देखेकोले यो ब्लग तयार पारेको हुँ।

हाल विदेशमा रहेका एक जनाले लेख्नुभएको सन्देशको सार यस्तो थियो- ‘म तपाईँले विपश्यनाका बारेमा लेख्ने ब्लगहरु पढिरहन्छु। भर्खरै तपाईँले सतिपट्ठानको बारेमा लेख्नुभएको पनि पढेँ। म करिब दुई महिनादेखि सिल पालना गरिरहेको छु र आनापाना ध्यान नियमित गरिरहेको छु। मैले ‘द आर्ट अफ लिभिङ, विपश्यना मेडिटेसन एज तट बाई एसएन गोयन्का’ पुस्तक दुई चोटी पढिसकेँ र त्यसलाई पालना गर्ने पूरा प्रयास गरिरहेको छु। मैले डिस्कोर्स समरिज पनि पढेँ। अहिले म सतिपट्ठान सुत्त डिस्कोर्स पढिरहेको छु। पछिल्लो समय मेरो सचेतना बढिरहेको र प्रगति भइरहेको महसूस गरिरहेको छु। मैले थप प्रगति गर्न के गर्नुपर्ला?’

कसैले विपश्यनाको बारेमा भनेको सुनेर वा लेखेको पढेर कोही प्रेरित हुनुलाई ‘श्रुतमयी प्रज्ञा’ जागेको भनिन्छ। यसो हुनु राम्रै हो। नराम्रो केही छैन।

तर विपश्यना मूलतः व्यवहारिक प्रयोगमा आधारित ध्यानको प्रकार (भावनामयी प्रज्ञा जगाउने विषय) भएकोले गहिराईसम्म पुग्नका लागि यति पर्याप्त हुँदैन।

केही समय अघि नेपाल विपश्यना केन्द्रले एउटा सूचना जारी गरेको थियो-

त्यसमा सावधान गराइएको थियो। भएछ के भने पछिल्लो समय विपश्यना ध्यान सिक्न चाहनेहरुले युट्युब भिडियो हेरेरै वा किताब पढेरै अभ्यास गर्न थालेका रहेछन्। त्यसो गर्दा समस्या पनि आउन थालेछ।

केन्द्रले स्पष्ट शब्दमा सचेत गराएको छ- ‘यस विपश्यना साधना एक गम्भीर साधना भएकोले कुनै व्यक्तिले पहिलो पटक सिक्दा, शिविर गरिने स्थानमै गएर सिक्नु पर्ने, र गुरु तथा गुरुआमाबाट नै सिक्नु पर्ने हुन्छ। यसो नगरी आफै कुनै भिडियो हेरी अथवा किताब पढेर अभ्यास गर्न थालेमा, आवश्यक ज्ञानको कमी हुने हुनाले आफैलाई हानी समेत हुन सक्छ। त्यसैले विपश्यना साधना पहिलो पटक सिक्दा ध्यान केन्द्र मै गएर सिक्न अनुरोध गरिन्छ।’

अचेल फेसबुकमा देखिरहेको थिएँ- अनलाइनबाटै पनि विपश्यना सिकाउने सूचना रहेछ। यो अनलाइनबाट सिक्न सकिने विषय नै हैन।

केन्द्रले सूचनामा भने जस्तै यो एउटा गम्भीर किसिमको अन्तर्मुखी भएर गरिने साधना हो। त्यसैले पहिलो पटक यो सिक्नका लागि १० दिन शिविर केन्द्रमै बसेर सिक्न जरुरी छ। किनभने त्यहाँ बाहिरी वातावरणले डिस्टर्ब गर्ने डर हुँदैन।

१० दिनसम्म तपाईँले पूर्ण मौन पालना गर्नुपर्छ। अर्थात् मुखले नबोल्ने मात्र हैन, इशाराले पनि बोल्न पाइँदैन। पञ्चशील पूरै पालना गर्नुपर्छ। पञ्चशील भन्नाले प्राणी हिंसाबाट टाढा रहने, झूठो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, नशा नगर्ने।

पहिलो पटक सिक्दा हरेक दिन एउटा एउटा चरणमा यो सिकाइन्छ। पहिलो दिन एउटा, दोस्रो दिन अर्को, तेस्रो दिन अर्को गर्दै गर्दै १० दिनमा एउटा आकार आउँछ। सिकाएपछि सिकाए अनुसार अभ्यास भइरहेको छ कि छैन, त्यसलाई गुरुले जाँच्ने गर्छन्। हरेक चरण किन आवश्यक छ भनेर सैद्धान्तिक रुपमा पनि बुझाइन्छ।

विपश्यना साधनाका लागि न्यूनतम योग्यता भनेकै १० दिने शिविर पूरा गर्नु हो। यहाँसम्म कि विपश्यनाका विश्वभर रहेका कुनै पनि केन्द्रहरुले १० दिने शिविर पूरा नगरेकाहरुबाट दान रकमसमेत स्वीकार गर्दैनन्। कारण, त्यसरी दान दिनेहरुले किन दिएको भन्ने कुरा नै बुझेका हुँदैनन्।

सतिपट्ठान चाहिँ अझ गम्भीर शिविर हो। सतिपट्ठान शिविरमा बस्नका लागि कम्तिमा तीन पटक १० दिने शिविर पूरा गरिसकेको हुनुपर्छ र अरु कुनै पनि ध्यानको अभ्यास गरेको हुन नहुने शर्त पनि छ।

तसर्थ विपश्यना ध्यान बारे जिज्ञासा जागेर यसको अभ्यास गर्न प्रेरित हुनुभयो भने सबैभन्दा पहिलो काम तपाईँले १० दिने शिविरमा बस्ने समय निकाल्नुपर्छ। यो बिना विपश्यना सिक्न सम्भव छैन।

नेपालका विभिन्न शहरमा र विदेशमा पनि विपश्यना केन्द्रहरु सञ्चालित छन्। यो शिविरमा सहभागी हुन कुनै शुल्क लाग्दैन। खान, बस्न र विद्या सिकाउनलाई पनि शुल्क तोकिएको छैन। शिविर सकिएपछि तपाईँले जति पनि दान दिन सक्नुहुन्छ।

काठमाडौँमा हुनुहुन्छ भने ज्योति भवन, कान्तिपथमा रहेको सम्पर्क कार्यालयको नम्बर 01-4250581, 01-4215656 मा थप जानकारी लिन सक्नुहुन्छ। अथवा बूढानिलकण्ठ, मुहानपोखरीमा रहेको शिविरको सम्पर्क नम्बर 01-4371655, 01-4371077 मा सम्पर्क गर्न सक्नुहुन्छ। शिविरमा सहभागी हुन अनलाइन आवेदन दिन यहाँ क्लिक गर्न सक्नुहुन्छ। नेपालका अन्य शिविर केन्द्रको बारेमा जानकारी यहाँ छ। विश्वका विभिन्न देशका शिविर केन्द्रबारे जानकारी यहाँ छ।

सम्बन्धित ब्लगहरु

सतिपट्ठान : बुद्धको वाणी पछ्याउँदै ध्यानको अभ्यास गर्दाको अनुभव

१० दिने मौन ध्यान विपश्यना : कस्तो हुँदो रहेछ त? सुन्नुस् भिडियो अनुभव

१० दिन मौन रहेर गरेको ध्यान जसले मलाई जन्म र मृत्युको रहस्य सिकायो

मेरो ‘मनको अपरेसन’ को एक दशक

अनि वीरेन्द्रको विपश्यना जाने सपना यो जुनीमा अधुरै

शिलाकी जवानीले सन्यासीलाई मार

म पनि तटस्थताको पक्षमा

गणेशमान सिंह, अक्सफोर्ड लर्नर र विपश्यना

विपश्यना अनुभव : आत्तिएर झण्डै भागेँ, पछि आफूलाई चिन्न प्रयास गरेँ

घरमै विपश्यनाको एक दिने शिविरको एउटा नौलो अनुभव

यस्तो रह्यो मेरो विपश्यना अनुभव

मनको अपरेसनका लागि टाढिँदैछु म सबैबाट

3 thoughts on “के किताब पढेर र भिडियो हेरेर पनि विपश्यना ध्यान साधना गर्न सकिन्छ?”

  1. Gaurav says:
    November 13, 2021 at 10:39 pm

    आर्ट अफ लिभिङ भनेको त्यो रवि संकरले सिकाउने हैन ? यस्ताले के सिकाउँछ जो हर समय पाकिस्तानी जनताको कुरा काटि रहेको हुन्छ । अष्ट्रेलियालाई महाभारतको अस्त्रालय भन्नी ज्ञान बाँडूदे गरेको भिडियो भाइरल भको थियो । त्यसलाओ त जाकिर नायकले धोबी चुटेको थियो । डिबेटमा चुँ बोल्न सकेन ।

    Reply
    1. Salokya says:
      November 17, 2021 at 8:30 pm

      आर्ट अफ लिभिङ भनेको रविशंकरले सिकाउने पनि हो। तर यहाँ कुरा भएको चाहिँ रवि शंकरको आर्ट अफ लिभिङको होइन।

      Reply
  2. Devendra Bataju says:
    November 13, 2021 at 2:13 am

    Thank you, this is exactly what I needed.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme