Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञापन छापेको पेज गायब बनाउन नपाइने : बोर्डले मिडियाका लागि बनाएको आचार संहिता

Posted on October 26, 2021October 26, 2021 by Salokya

कुनै एउटा कार्यालयले ठेक्काको विज्ञापन छापेको रहेछ। तर त्यो विज्ञापन छापिएको पत्रिका बजारमै पुगेनछ। पत्रिका बीचैमा गायब !

यस्तो कुरा तपाईँले पनि सुन्नुभएको होला। यस्तै खाले समस्या भएर नै होला, विज्ञापन बोर्डले हालै तयार पारेको विज्ञापन आचार संहिता, २०७८ को मस्यौदामा सञ्चार माध्यमले पालना गर्नुपर्न आचार संहितामा त्यसो गर्न नपाइने भनिएको रहेछ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले विज्ञापनको नियमन सम्बन्धी काम गर्नका लागि विज्ञापन बोर्ड गठन गर्ने व्यवस्था गरेको थियो। सोही अनुसार लक्ष्मण हुमागाइँको अध्यक्षतामा भर्खरै यो बोर्ड गठन भएको छ। बोर्डले कात्तिक ८ गते यो आचार संहिताको मस्यौदा सार्वजनिक गरेको हो। त्यसमा सञ्चार माध्यमले पालना गर्नुपर्ने आचार संहिता यस्तो छ।

६. सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिताः

विज्ञापन प्रकाशक वा प्रसारकले देहायका आचारसंहिता अनिवार्यरूपले पालना गर्नु पर्नेछः

६.१ प्रकाशन तथा प्रसारणसम्वन्धी आचारः

(क) तोकिएको स्थान वा समयमा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ ।

(ख) विज्ञापन छापेको पृष्ठ वा अंक वजारमा नपठाउने वा गायव गर्ने वा निश्चित स्थानमा मात्र पठाई अन्यत्र जानबाट वा प्रसारण हुनबाट रोक लगाउने, अघिल्लो मिति राखि सूचना प्रकाशन गर्ने जस्ता कार्य गर्नु गराउन हुँदैन ।

(ग) सञ्चारमाध्यमले विज्ञापनलाई समाचार तथा कार्यक्रमको रुपमा प्रस्तुत गर्नु हुँदैन। पाठक,श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न हुने गरी विज्ञापन सामग्रीलाई समाचार, कार्यक्रम,लेखरचना, विचार वा प्रायोजित सामग्रीको रुपमा सम्प्रेषण गर्नु, गराउनु हुँदैन ।

(घ) विज्ञापनदातालाई विज्ञापन दिन वाध्य पार्ने, कुनै एक सञ्चारमाध्यममा विज्ञापन दिएको आधारमा आफ्नोमा पनि दिन दवाव दिने तथा विज्ञापन नदिएको कारण नकारात्मक समाचार तथा सूचना सम्प्रेषण गर्नु गराउनु हुदैन ।

(ङ) विज्ञापन बोर्डवाट परीक्षण अनुमति प्राप्त नगरी विज्ञापन प्रसारण गर्नु हुदैन ।

(च) विज्ञापनदाताले पठाएको विज्ञापनमा हेरफेर, थपघट वा कुनै प्रकारको संशोधन गरी प्रकाशन तथा प्रसारण गर्न हुदैन तर प्रकाशन तथा प्रसारणको वेला प्राविधिक कारणले कुनै त्रुटी वा गल्ती भएको वा अन्यथा हुन गएको भए थाहा पाउने वित्तिकै त्यस्तो ‍विज्ञापन पुनः सच्याएर निःशुल्क प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ।

(छ) जनहित वा सार्वजनिक हितसम्बन्धी विज्ञापन आफैले उत्पादन गरी प्रकाशन वा प्रसारण गर्दा आधिकारीक सूचना सम्प्रेषणको सुनिश्चितता गर्नुपर्नेछ । ।

(ज) सूचना वा विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा विज्ञापनदाताको नाम तथा ठेगाना एकीन गरी आधिकारिकता पुष्टि हुने पर्याप्त आधार र कारण प्राप्त गरेर मात्र प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ । विज्ञापनदाता खुल्न नसकी अनाधिकृत विज्ञापन प्रकाशन तथा प्रसारणवाट कुनै क्षति हुन पुगे सञ्चारमाध्यम नै जिम्मेवार हुनेछ ।

(झ) स्वदेशी वा विदेशी च्यानलको पुनः प्रसारकले विज्ञापन प्रसारण गर्न हुँदैन ।

(ञ) बोर्डले समय निर्धारण गरी प्रसारणका लागि अनुमति दिएको समय वाहेक अन्य समयमा विज्ञापन प्रसारण गर्न हुदैन ।

६.२ भुक्तानी तथा कारोबारसम्बन्धी आचारः

(क) सञ्चारमाध्यमले विज्ञापन दररेट सार्वजनिक गर्नु पर्नेछ।

(ख) निर्धारित न्यूनतम दररेट भन्दा कममा कारोवार गर्न पाईने छैन । यदि कुनै विशेष परिस्थितिमा सार्वजनिक भएको दररेटमा थप छुट दिनुपर्ने वा बार्षिक कारोवारको आधारमा बोनस प्रदान गर्ने भए सो समेत स्पष्ट देखिने र बुझिने गरी वेवसाइट वा सार्वजनिक रुपमा प्रकाशन गरिएको हुनु पर्दछ ।

(ग) प्रकाशित वा प्रसारित नै नभएको सूचना वा विज्ञापन प्रकाशित वा प्रसारित भएको भनी प्रमाणपत्र जारी गरी भुक्तानी प्राप्त गर्न हुदैन ।

(घ) प्रकाशन तथा प्रसारण गृहले आफ्ना प्रकाशन तथा प्रसारणको रेकर्ड सम्वन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी वा बोर्डले मागेको वेला उपलव्ध गराउने गरी अभिलेख वनाई सुरक्षित राख्नु पर्दछ र बोर्ड वा अन्य सम्बन्धित निकायले प्रयोजन खोली माग गरेमा पेश गर्नु पर्दछ ।

(ङ) विज्ञापन वा सूचना प्रकाशन वा प्रसारण पूर्व भुक्तानी गरेको अवस्थामा मात्र नगद छुट दिन सकिने र नगद छुटको जानकारी दररेटमा उल्लेख गरी सार्वजनिक गर्नु पर्दछ।

(च) विज्ञापन बापतको रकम तोकिएको समयमा भुक्तानी प्राप्त नभए तत्काल बोर्डमा जानकारी गराउने तथा भुक्तानी नगर्ने विज्ञापनदाता, विज्ञापन एजेन्सीलाई सचेत गराउदै अन्य सञ्चारमाध्यमलाई समेत जानकारी गराउने कार्यमा सहयोग गर्नु पर्दछ ।

(छ) विज्ञापन प्रकाशन वा प्रसारण नै नभएको वा तोकेभन्दा कम पटक प्रकाशन वा प्रसारण गरेको पाइए दामासाहिले हुन आउने रकम मात्र भुक्तानी लिनु र दिनुपर्नेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme