‘ऋषि धमला र रवि लामिछाने त माओवादीमा प्रवेश गरे रे नि !’
एक परिचितले फेसबुक मेसेन्जरमा मलाई सोधे।
‘कसरी थाहा पाउनु भो?’ मैले सोधेँ।
‘फेसबुकबाट,’ उनको जवाफ !
‘फेसबुकमा जे लेखियो त्यही पत्याउँदै हिँड्ने हो त’ 🙂 इमोजीसहित मैले जवाफ फर्काएँ।
‘हैन, हैन- रवि लामिछानेको ग्यालेक्सी टिभीकै फेसबुक पेजमा पढेको मैले’, उसले भन्यो, ‘अनि बीबीसीमा पनि पढेको!’
मलाई अचम्म लाग्यो। भनेँ, ‘खै हेरौँ त कहाँ देख्नुभो, लिङ्क पठाउनुस्।’
एउटा स्क्रिनसट उनले यसको पठाए। मान्छे झुक्किने नै रहेछ नि। ग्यालेक्सी फोरके टिभी नामको फेसबुक पब्लिक ग्रुप रहेछ, १ लाख २१ हजार मेम्बर भएको। त्यसमा कुनै एक जनाले मिडियाटुडेन्युज डट कम नामको वेबसाइटको लिङ्क सेयर गरिएको रहेछ।
त्यसैगरी अर्को लिङ्क थियो बीबीसी नेपाली सेवाको लोगोसहितको अर्को फेसबुक पेज र ग्रुपको-
यो बीबीसी नेपाली नामको ग्रुपको।
म ट्वाँ परेँ। न त्यो रवि लामिछाने एमडी भएको ग्यालेक्सी टिभीको आधिकारिक फेसबुक पेज थियो, न यो बीबीसी नेपाली सेवाको फेसबुक पेज र ग्रुप थियो। तर सामान्य मान्छे भने मज्जैले झुक्किने।
तपाईँ हामीले के बुझ्नुपर्यो र अरु नबुझेकालाई पनि के बुझाउन सक्नु पर्यो भने कसैले कुनै चलेका मिडियाको नाममा फेसबुक ग्रुप र पेज बनाउँदैमा त्यसमा लेखिएका हरेक कुरा, त्यसमा सेयर गरिएका सबै समाचारहरु सही हुँदैनन्। ती समाचारहरु त्यो नाम चलेको मिडियाले लेखेको हुँदैन।
कसैले कान्तिपुर नामको फेसबुक पेज वा ग्रुप खोल्ला, कसैले अनलाइनखबर नामको। त्यसो गर्दैमा त्यो ती मिडियाले लेखेको हुँदैन, त्यो त तपाईँलाई झुक्याउन गरिएको हो। यस्ता मान्छे झुक्याउने फेसबुक पेज वा ग्रुप छ भने अनलाइन वा अनफलो गरिरहाल्नुपर्छ।
समाचारको तथ्य
यी समाचारहरुको बारेमा तथ्य जाँच नेपालफ्याक्टचेकले गरिसकेको छ। यहाँ क्लिक गरी हेर्नसक्नुहुन्छ।
यी समाचारहरु ‘क्लिकबेट’ अर्थात् इन्टरनेट चलाउनेहरुलाई झुक्याएर क्लिक गराएर आफ्नो फाइदा उठाउनका लागि खप्पिस समूहहरुले राखेका हुन्। किनभने रवि लामिछाने र ऋषि धमला उनीहरुको भाषामा बिक्ने विषय हुन्। बिक्ने विषयको समाचार बनायो भने उनीहरुले पैसा कमाउन सक्छन्।
कुनै पनि समाचारमा कहिले कहाँ भएको कार्यक्रममा धमला र लामिछाने माओवादीमा प्रवेश गरेका हुन् र प्रचण्डले स्वागत गरेका हुन् भनेर खुलाइएको छैन। न उनीहरुलाई प्रचण्डले स्वागत गरेको फोटो अथवा भिडियो नै राखिएको छ।
अर्थात् यो वाहियात कुरा नै हो। तर यसलाई समाचारको रुप दिएर पाठकलाई झुक्याउन खोजियो।
इन्टरनेटमा राख्ने बित्तिकै ‘अनलाइन न्युज’ हुँदैन
हामीले बुझ्नुपर्ने अर्को कुरा के हो भने डट कम वा डट जेसुकै राखेका सबै वेबसाइट ‘अनलाइन मिडिया’ हुँदैनन्। अनि त्यस्ता मिडियाले इन्टरनेटमा राखेका सबै कुरा ‘अनलाइन न्युज’ होइनन्।
अचेल केहीले ‘अनलाइन मिडिया’ भन्ने बित्तिकै नाक खुम्च्याएर ‘जे पनि लेख्ने, भएको नभएको’ भन्ने गरेको पनि पाइएको छ। तर सत्य यो होइन। जेपिटी क्लिकबेटे साइटहरुले लेखेको कुरा समाचार होइनन्, ती त समाचारको रुप देखाएर झुक्याउनेहरु हुन्। ती पत्रकारले लेखेका पनि हुँदैनन्। अहिले केही हजारमा डट कम वेबसाइट बनाएर प्रकाशन गर्न सकिन्छ। हेर्दा त्यो अनलाइनखबर डट कम वा इकान्तिपुर डट कम जस्तै नै हुन्छन्। तर त्यसमा प्रोफेसनल पत्रकारहरुले काम गरेका हुँदैनन्। तर हेर्दा उस्तै देखिने भएकोले जेपिटी डट कमले लेखेको वाहियात समाचारको गाली अनलाइनखबर लगायतका अनलाइन मिडियाका पत्रकारहरुले पनि पाइरहेका हुन्छन्।
यी क्लिकबेटे अनलाइनहरुको एउटै ध्याउन्ना हुन्छ- कसरी बढीले हेर्ने बनाउने। त्यसैले हुँदै नभएको विमान दुर्घटना गराइदिन्छन्, नेताहरुले बोल्दै नबोलेको कुरा बोलेको भनेर समाचार लेखिदिन्छन्, पार्टी प्रवेश गराइदिन्छन्। किनकि त्यसो गर्दा विज्ञापनमार्फत् उनीहरुले पैसा पाउँछन्।
ऋषि धमलाले २०७५ सालमा गरेको एउटा भाषणको टुक्रा र रवि लामिछानेले अघिल्लो वर्ष सीधा कुरा जनतासँग कार्यक्रममा गरेको प्रचण्डसम्बन्धी एउटा टिप्पणीमात्र तानेर माओवादी पार्टीमा नै प्रवेश गर्यो, प्रचण्डले स्वागत गरे भन्ने सम्मको झुट्टा खबर राख्न पनि उनीहरु हिच्किचाउँदैनन्।
झुटो समाचार राख्ने वेबसाइटहरु
एउटा, दुइटा हैन, बग्रेल्ती अनलाइनहरुले यो शीर्षकसहितको खबर हुबहु राखेका छन्। अक्सर यस्तै हुन्छ। केही भाइरल हुने विषय पायो कि उनीहरुले यसै गरी हुलै लागेर झुट्टा खबर बेच्छन्। उनीहरुको एक किसिमको गिरोह नै छ। यो खबर चाहिँ यसो खोजिहेर्दा यी वेबसाइटहरुमा भेटिए-
यी कुनै पनि अनलाइन प्रोफेसनल पत्रकारहरुले चलाएका हैनन्। कसले चलाएको हो भन्ने नाम पनि राखिएको छैन। तर कसैले यसलाई नियन्त्रण गर्न लागिपर्ने हो भने थाहा पाउन नसकिने भने होइन। डोमेन दर्ता गरिएको ठाउँ, होस्ट गरिएको ठाउँ, वेबसाइट बनाउनेको परिचय, सामाजिक सञ्जालमा सेयर गर्नेहरुको परिचय आदिबाट यो कुरा सहजै थाहा लाग्छ। कारबाही हुने डर नभएकैले होला, यस्ता झुट बेच्ने कतिपय साइटहरुले साइट बनाउनेको नाम र परिचय वेबसाइटमै राखेका हुन्छन्।
यस्ता अनलाइनहरुलाई न दर्ता हुनुपर्छ, न पत्रकार आचार संहिताको कुनै मतलब हुन्छ। त्यस्तै न प्रेस काउन्सिलले गर्ने कारबाहीको यिनीहरुलाई मतलब हुन्छ। प्रेस काउन्सिलले हद गरे नेपालमा नचल्ने बनाउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने हो। तर यस्ता वेबसाइटहरु फेसबुकको इन्स्ट्यान्ट आर्टिकलको मनिटाइजेसनमा भर पर्ने हुनाले वेबसाइट नचल्ने बनाएर केही हुन्न, फेसबुकको इन्स्ट्यान्ट आर्टिकलमा खुलिहाल्छ। त्यसो भएपछि मान्छे झुक्याएर झर्नुपर्ने पैसा झरिहाल्छ।
कतिसम्म यस्ता वेबसाइटहरुले गर्छन् भन्ने एउटा सामान्य उदाहरण- यो हावा खबर कहाँ कहाँ रहेछ खोज्दै जाँदा एउटा यो वेबसाइट पनि भेटियो-
अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्।
समाचारमा यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु लेखिएको छ। तर तल कुनै भिडियो भए पो !
अझ मुन्तिर हेर्ने हो भने यस्तो हावा समाचार राख्नेको नाम ठेगाना सब खुलाइएको छ। अझ सूचना विभागको दर्ता नम्बर समेत राखिएको छ।
प्रेस काउन्सिलमा समेत सूचीकृत रहेछ यो वेबसाइट। सूचना विभागको काम त खाली दर्ता गर्ने बाहेक केही रहेन। प्रेस काउन्सिलले आफूले सूचीकृत गरेका सबै वेबसाइटहरुको कन्टेन्ट हेर्न भ्याउला त ? यो खबर राख्ने माथिका थुप्रै वेबसाइटहरुको त न दर्ता छ, न सूचीकृत छन्। तर यो त राज्यले पत्रकारिता गर्ने लाइसेन्स दिएको अनलाइन पो हो त ! यसमा समेत यस्तै हावा कुराहरु लेख्न पाइने, फैलाउन पाइने भएपछि दर्ता हुनु र नहुनुको पनि के नै अर्थ रह्यो र ! दर्ता गर्दैमा समस्या समाधान हुने रहेछ त?
त्यस्तै यो भ्रामक समाचार राख्ने पाँच वटा वेबसाइटहरु दैनिकसंगालो ताजाखवर मिडियाटुडेन्युज ताजापोस्टएनपी र पार्टीकाखबर को समाचार मात्र हैन डिजाइनसमेत हुबहु छ। अर्थात् पैसा कमाउनका लागि एकै ठाउँबाट यी धेरै वेबसाइट सञ्चालन भएको देखिन्छ। ती वेबसाइटहरुको मुनि साइट बनाउनेको नाम पनि लिङ्कब्याकसहित राखिएको छ- बासुदेव कुँवर।
उनले चलाख भएर त्यहाँ फोन नम्बर र फेसबुक पेजमा कुनै फोटो राखेका छैनन्। तर .com.np मा दर्ता भएको हुनाले उनी अर्घाखाँचीका हुन् र उनको मोबाइल नम्बर कति हो भन्ने मज्जैले खुल्छ।
हामीले गर्न नहुने अर्को काम
फेसबुक चलाउने अधिकांशले गर्ने एउटा गल्ती यो पनि हो। यस्ता गलत, भ्रम बेच्नेहरुको पोस्ट देखिएमा त्यसलाई लाइक गर्ने, झुटो हो है भनेर कमेन्ट गर्ने वा सेयर गर्ने गर्नुहुन्न। त्यसो गरेमा त्यस्तो पोस्ट झन् फैलिन्छ। अर्थात् झुट फैलाउन तपाईँले अझ योगदान गर्नुहुन्छ।
माथिको उदाहरण हेर्नुस्। नेपालखबर नामको यो फेसबुक पेजमा (नेपालखबर डट कमको फेसबुक पेज होइन यो) झण्डै ३ हजारले रियाक्ट गरेका छन्, ३१४ को कमेन्ट छ र १२२ सेयर छन्। यति धेरै इन्गेजमेन्ट भएपछि यो पेजले प्रशस्त पैसा कमायो- झुट र भ्रम बेचेर। र यसलाई रियाक्ट गरेर तपाईँले पनि सघाउनु भयो।
भ्रमको खेती गरेर डलर कमाउने यी गिरोहले नागरिकको सुसूचित हुने अधिकारमाथि खेलवाड मात्र गरेका छैनन्, इमान्दार पत्रकारहरुको बदनामी पनि गरेका छन्। जसको बारेमा झुटो लेखेर भ्रम फैलाइयो, उनीहरुलाई पर्ने नकारात्मक असर त छँदैछ।
यसरी पनि के पैसा कमाउनु, एक दिन त पोल्छ होला नि त्यो पैसाले !