“सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथीहरु,” अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्षले बिहीबार यसो भनेको समाचार पढ्दा अचम्म लाग्यो।
आजभोलिको त समाचार पनि विश्वास गर्न लायक हुन्नन्। साँच्चै यसो भनेका हुन् कि भनाई बङ्ग्याएर समाचार आएको हो भन्ने पनि शंका लाग्यो।
भिडियोमा प्रचण्डकै आवाज सुनेको त यसै भनेका रहेछन्। अझ थपेका रहेछन्, ‘मार्क्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा शायद् तपाईहरुले पढ्नुभएको होला। सबै सुसाइड गलतै हुन्छ भन्रे हुँदैन।’ के बोल्या होला यस्तो भन्ने लाग्यो।
हुनत जनयुद्धका क्रममा अरुको हत्यालाई पनि विभिन्न कारण, तर्क, वितर्क गरेर ‘सबै हत्या नराम्रा हुँदैनन्’ भनेको भएर अहिले आफ्नै हत्या गर्नुलाई पनि ‘ठीकै हो’ भन्न खोजेको हो कि, थाहा भएन। तर आत्महत्या त सबै गलतै हुन्छ है साथी हो। कुनै नेताले उक्साएको भरमा आत्महत्या चैँ गर्न हुँदैन। खराबै नेताले आत्महत्या गरे पनि त्यो नराम्रै हो। एउटा खराब नेताले आत्महत्या गरे अर्को खराब नेता जन्मिएलान्। त्यसैले खराब प्रवृत्ति हट्नु पर्यो, आत्महत्या होइन।
सबै सुसाइड गलत हुँदैनन् है भनेर प्रचण्डले उदाहरण दिएका मार्क्सकी छोरी Eleanor Marx ले गरेको आत्महत्या त्यस्तो गौरव गर्नुपर्ने विषय पनि होइन। आफ्ना पतिले अर्कै केटीसित सुटुक्क बिहे गरेको थाहा पाएपछि विष खाएर आत्महत्या गरेकी थिइन् उनले। त्यसैगरी उनकी अर्की छोरी Laura Marx र ज्वाइँ Paul Lafargue दुवैले पनि आत्महत्या गरेका थिए। ६६ र ६९ वर्षको उमेरमा उनीहरुले आत्महत्या गरेका थिए।
आत्महत्या कै सोचसम्म आएर आत्महत्यालाई ग्लोरिफाइ गर्ने काम चाहिँ प्रचण्ड जस्तो नेताले नगरेको भए हुने। त्यसै पनि यो देश तुलनात्मक रुपमा धेरै आत्महत्या हुने देशमध्येमा पर्छ।
यो पुलिसको तथ्याङ्क हेर्नुस्।
कसरी हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यलाई खासै महत्व नदिने हाम्रो जस्तो देशमा २०७७/७८ को एक वर्षमा ७ हजार भन्दा बढी मान्छेले आत्महत्या गरेका रहेछन्। अर्थात् हरेक दिन औसत १९ जनाले !
समाजका अगुवा नेता भनाउँदा नै आत्महत्यालाई सहज रुपमा लिने, आत्महत्यालाई नराम्रो हुँदैन है भन्नेहरु भए पछि अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ।
प्रचण्डमात्र हैन कांग्रेस नेता रामचन्द्र पौडेलले पनि १३ औँ महाधिवेशनको उद्घाटन गर्ने क्रममा आफूलाई आत्महत्या गर्न मन लागेको बताएका थिए। पढ्नुस् त्यतिबेलाको ब्लग।
त्यतिबेला क्लिनिकल मनोबिज्ञ र मानसिक रोग तथा आत्महत्या रोकथाम अभियानका अभियन्ता डा. विजय ज्ञवालीले माइसंसारमा यस्तो लेखेका थिए-
समस्याको समाधान होइन आत्महत्या
पछिल्लो सममा नेपाली समाजमा आत्महत्या महामारी (Epidemic ) भएर फैलिदै छ। ससानो घटनामा आत्महत्या गर्ने जस्ता घटना बढिरहेको छ। परिवार र समाज भित्र नै घुर्काउन ,आफ़्नो माग पूरा गराउन आत्महत्या गर्छु भन्ने परिघटना देखिन थालेको छ। हरेक समस्यामा अन्तिम समाधान आत्महत्या हो भन्ने परिपाटीको डरलाग्दो स्वरूप समाजमा देखिन थालेको छ। आफ़्नो असफलता र निराशाको समाधान आत्महत्या हो भन्ने गलत मानसिकताको दरिलो उदाहरणको रुपमा नेताको भनाइलाइ लिन सकिन्छ। जिम्मेबार व्यक्तिले जुनसुकै प्रसङ्गमा यो भनेता पनि यो निन्दनीय छ।
आत्महत्या विचार भनेको के हो ?
कुनै पनि व्यक्तिले बारम्बार मर्ने कुरा गर्छ ,त्यस्तो विचार बारम्बार मनमा ल्याउछ , आफ्नो जीवन अन्त्य गर्ने विभिन्न प्रयोगात्मक शैलीको अभ्यास गर्छ भने त्यसलाई हामी Suicidal Thought अथवा Suicidal Ideation भन्न सक्छौ। यस्तो विचार राख्ने सबैले आत्महत्या गर्छन भन्ने छैन। चरम निराशा , निराश जीवनशैली ,निश्चित परिघटनाका कारण पनि व्यक्तिहरुले यस्तो विचार राख्न सक्छन। तसर्थ यस्ता व्यक्तिले आत्महत्या गर्छन् नै त भन्ने हुदैन तर यसलाई आत्महत्याको एउटा संवेदनशिल पक्षको रुपमा लिन सकिन्छ। अन्य विभिन्न मानसिक रोगमा पनि यो लक्षणको रुपमा देखा पर्न सक्छ।
के गर्न सकिन्छ ?
यदि परिवार ,साथीभाई अथवा समाजमा कसैले आफुलाइ मर्न मन लागेको आसयको अभिव्यक्ति दिन्छ भने पक्कै पनि उसलाई कुनै प्रकारको सहयोग चाहिएको हुनसक्छ।अधिकांस आत्महत्याका घटनामा आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रुपले सहयोगको निम्ति अपिल गरेको हुन्छ। उक्त अपिललाइ बुझ्न सकियो भने आत्महत्या रोक्न सकिन्छ। आत्महत्या देख्दा आवेगमा आएर गरेको जस्तो देखिए पनि यसका अधिकांस घटना योजनाबद्द रुपमा भएको हुन्छ। नेपालमा पनि हाल विभिन्न सस्थाहरुले यो बिसयमा काम गर्दै आएका छन्। ति अस्पताल ,परामर्स केन्द्रमा गइ यो बिसयमा थप जानकारी लिन सकिन्छ।
बिसयको गम्भीरतालाइ बुझौ
आत्महत्या हाम्रो ठुलो जनस्वास्थ्यको समस्या भै सकेको छ। तसर्थ हामी सबैले यसको गम्भीरतालाइ बुझ्नु जरुरि छ। हाम्रा बालबालिकालाइ हामीले आत्महत्या कुनै पनि समस्याको समाधान कदापी होइन भनेर बुझाउन जरुरि छ। एउटा जिम्मेबार व्यक्तिले ब्यक्त गरेको विचारको गलत अर्थ नलागोस। यदि उनि त्यस्तो भावना साच्चिकै राखछन् भने त्यो हाम्रो लागि पनि दुखद कुरा हो।उनि मनोविज्ञको सहयोग लिन जानु पर्छ। तर यदि उनले कार्यकर्ता को सहानुभुती बटुल्न मात्र त्यस्तो भनेका हुन भने त्यो अन्त्यन्त निन्दनीय छ। समाजका पथ प्रदर्शकहरुले समाजलाई त्यस्ता कुरा सुनाउन जरुरि छ जसले समाजलाई राम्रो अभिप्रेरणा मिलोस। बिदेशी भुमिमा रहेका नेपाली माझ पनि यो समस्या उत्तिकै गम्भीर बन्दै छ तसर्थ यो संबेदनशिल बिसयमा हामी जबाफदेही हुनु जरुरी छ।