Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समाचार आयो- सगरमाथाको फेदीमा इटालीका राजकुमार, इटालीमा राजा नै छैन कसरी राजकुमार?

Posted on September 30, 2021 by Salokya

तपाईँले पनि केही दिनअघि नेपाली अनलाइन मिडियाहरुले माउन्ट एभरेस्ट फेसन रनवेका समाचारहरुमा इटालीका राजकुमार पनि सहभागी भएको पढ्नुभएको होला। अझ कुनै समाचारमा त नेदरल्यान्डसकी राजकुमारी पनि सहभागी भएको लेखिएको छ। एउटा मात्र हैन धेरै वटा मिडियामा अनि ससाना कपिपेस्ट मिडियामा होइन, नाम चलेकै मिडियाहरुमा त्यस्ता समाचार पढ्दा हो कि भन्ने पनि लाग्न सक्छ। तर नेपालफ्याक्टचेकको फ्याक्ट चेकले त्यो भ्रामक समाचार भएको देखाएको छ। कसरी? आउनुस् हेरौँ।

कहाँ कस्तो समाचार?

रातोपाटीले ‘माउन्ट एभरेस्ट फेसन सोले तोड्यो आफ्नै कीर्तिमान’ शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ-  ‘यो प्रतियोगितामा सहभागिता जनाउन विभिन्न १० देशका मोडल नेपाल उपस्थित भएका थिए । जसमा इटालीका राजकुमार कोसिमो दे मेडिसी समेत उपस्थित थिए । उनले प्रतियोगितामा नेपाली कपडा शो गरे।’

त्यसैगरी नेपालप्रेसले ‘संसारकै अग्लो ठाउँमा फेसन सो : सुपरमोडलदेखि इटालीका राजकुमारसम्म हिँडे हिउँले ढाकिएको र्‍याम्पमा (तस्बिरहरु)’ शीर्षकमा समाचार राखेको छ।

समाचारमा लेखिएको छ- ‘विभिन्न १० मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै र्‍याम्प नापे । कासा डिजाइन र बुद्धिस्ट लाइनका डिजाइन लगाएर इटालेली प्रिन्सले नेपाली डिजाइनलाई प्रवर्द्धन गर्ने प्रयास गरे।’

त्यस्तै शिलापत्रले राखेको ‘विश्वकै अग्लो स्थानमा दोस्रोपटक फेसन शो, र्‍याम्पमा हिँडे चर्चित अनुहार’ शीर्षकको समाचारमा ‘विभिन्न १० मुलुकबाट आएका मोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै र्‍याम्पमा हिँडेका छन्’  लेखिएको छ।

‘माउन्ट एभरेष्ट फेशन–शो’ले तोड्यो आफ्नै रेकर्ड शीर्षकको समाचारमा देशसञ्चार अनलाइनले पनि ‘उक्त प्रतियोगितामा सहभागी हुन विभिन्न १० देशका मोडल नेपाल आएका थिए। जसमा इटालीका राजकुमार कोसिमो दे मेडिसी समेत उपस्थित थिए । प्रतियोगितामा उनले नेपाली कपडा लगाएर हिउँले ढाकिएको रनवेमा ‘र्‍याम्प वाक’ गरेका थिए’ लेखेको छ।

त्यस्तै डीसीनेपालले आफ्नो शीर्षकमै इटालीका राजकुमारलाई जोडेर ‘शेर्पा फेसनमा सगरमाथाको फेदीमा इटालीका राजकुमार’ बनाएको देखिन्छ।

इकागजले भने राजकुमार मात्र हैन, राजकुमारीलाई पनि शीर्षकमा समेटेको छ। ‘सगरमाथा बेसक्याम्पको हिउँमाथि राजकुमार र राजकुमारीसहितको ‘फेशन शो’ (फोटोफिचर)’ शीर्षकको समाचारमा लेखिएको छ- ‘शो मा इटालीबाट…नेदरल्याण्डकी राजकुमारी एलीसा क्याटरिना इगर, इटालीका राजकुमार कोसिमो मारिया डे मेडिसी डी टोसकाना डी ओटाजानो…उपस्थित थिए।’ 

के हो तथ्य ?

समाचारमा इटालीका राजकुमार लेखिए पनि इटाली राजतन्त्रात्मक नभएर गणतन्त्रात्मक मुलुक हो। इटालीको संविधानमा ‘प्रजातान्त्रिक गणतन्त्र’ लेखिएको छ। २ जुन १९४६ मा भएको राजतन्त्र कि गणतन्त्र रोज्ने जनमत संग्रहमा ५४.२७ प्रतिशत मतका साथ इटालीले राजतन्त्रबाट गणतन्त्रात्मक व्यवस्था अंगालेको थियो। त्यसैले अहिले इटालीमा राजा वा राजकुमार छैनन्, राष्ट्रपति छन्। सर्जियो माटारेला अहिले त्यहाँका राष्ट्रपति हुन्।

समाचारमा उल्लेख भएको नाम कोसिमो दे मेडिसी इटालीको सहर फ्लोरेन्स एक समय शासन गरेका व्यक्ति त हुन्, तर उनको मृत्यु सन् १४६४ मै भएको विकिपेडियामा उल्लेख छ। 

कोसिमो दे मेडिसी, प्रिन्स र टस्कानी कीवर्ड राखेर गुगलमा सर्च गर्दा समाचारमा उल्लेख भएका व्यक्तिका बारेमा कतै कुनै आधिकारिक जानकारी भेटिएन। गेट्टी इमेजेजको एउटा फोटोको क्याप्सनमा भने Prince Cosimo de Medici र Princess Elisa नाम राखेको भेटियो। तर यसको पुष्टि हुने अरु सामग्री हामीले भेटेनौँ।

एफएसएचएन नामको एउटा वेबसाइटमा उनै एलिसाको बारेमा फिचर बनाइएको छ। त्यसमा उनले कोसिमो दे मेडिसीको बारेमा दावी गरेकी छिन्, ‘Cosimo de’ Medici, born and raised in Milan, is a descendant from the old Florentine family, de’ Medici. Cosimo left Milano at the age of 16 to finish high school in the UK and never left since.’

इकागजले नेदरल्यान्डकी राजकुमारी भनेर लेखेको एलिसा क्याटरिना इगर उनै कोसिमो दे मेडिसीकी प्रेमिका रहेको यसमा उल्लेख छ। यसमा उनी नेदरल्यान्डसकी राजकुमारी भएको कतै उल्लेख छैन। नेदरल्यान्डसको राजपरिवारको आधिकारिक वेबसाइटमा पनि एलिसाको नाम देखिँदैन।

 

तथ्य जाँच

दावी : इटालीका राजकुमार कोसिमो दे मेडिसी र नेदरल्यान्डसकी राजकुमारी एलिसा क्याटरिना इगर नेपालको सगरमाथा क्षेत्रमा आयोजित फेसन सोमा सहभागी भइन्।

तथ्य : भ्रामक सूचना। इटाली गणतन्त्रात्मक देश भएकोले त्यहाँ कुनै राजकुमार छैनन्। पूर्व राजपरिवारको सदस्य भएको पुष्टि हुने पनि आधिकारिक जानकारी कतै छैन। त्यसैगरी एलिसा नेदरल्यान्डसकी राजकुमारी नभएको त्यहाँको राजपरिवारको आधिकारिक वेबसाइटले देखाउँछ।

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज :  माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme