Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सतिपट्ठान : बुद्धको वाणी पछ्याउँदै ध्यानको अभ्यास गर्दाको अनुभव

Posted on September 14, 2021September 14, 2021 by Salokya

३ सेप्टेम्बरदेखि १२ सेप्टेम्बरसम्म म फेरि शहरबाट ‘गायब’ भएँ।  बूढानीलकण्ठमाथिको विपश्यना केन्द्रमा यसरी पुगेको यो वर्षमा तेस्रो पटक थियो। तर तीनै पटक फरक-फरक अभ्यासका लागि। मार्चमा पहिलो पटक १० दिने विपश्यना ध्यानका लागि पुगेको थिएँ भने अप्रिलमा दोस्रो पटक ‘धम्मसेवक’का रुपमा स्वयंसेवाका लागि। यो पटक एउटा फरक अभ्यासका लागि जसको नाम हो- सतिपट्ठान। गुरुका रुपमा हामीलाई मार्गनिर्देशन गर्ने कुर्सीमा थिए वरिष्ठ सहायक आचार्य दुर्गाप्रसाद अर्याल, जो कार्यवाहक प्रधान सेनापति भइसकेका व्यक्ति हुन्। सतिपट्ठान अरु जस्तो जो कोहीले सहजै गर्न पाउने ध्यान शिविर नभएर विशेष गम्भीर शिविर हो। कस्तो भयो यो शिविरमा बस्दाको अनुभव, आज त्यही बाँड्न लागेको छु।

के हो सतिपट्ठान ?

नेपालीहरुले धेरै सुन्ने उखान ‘सतिले सरापेको देश’ वा सतिप्रथामा भएको ‘सति’ शब्दसित यसको कुनै सम्बन्ध छैन। ‘सतिपट्ठान’ पाली भाषाका दुई शब्द मिलेर बनेको हो। ‘सति’को अर्थ हो- ‘स्मृति’। तर यसमा पनि हामीले अहिले बुझ्ने ‘मेमोरी’को अर्थमा ‘स्मृति’ होइन कि ‘सजगता’ अथवा वर्तमान सत्यप्रति सजग, सावधान हुने अर्थमा यो शब्दको प्रयोग भएको हो। त्यस्तै ‘पट्ठान’को अर्थ हुन आउँछ- ‘प्रतिस्थापन’।

कडा शर्तसहितको शिविर

सतिपट्ठान भनेको विपश्यना ध्यान नै हो। अथवा विपश्यना भनेकै सतिपट्ठान हो। तर १० दिने विपश्यना ध्यानमा भन्दा यसमा अझ बढी सैद्धान्तिक रुपमा कुरा बुझेर अभ्यास गरिन्छ, गराइन्छ।

यो सतिपट्ठान साधनाको शिविरमा जो कोही बस्न पाउँदैनन्। यसमा बस्न पूरा गर्नुपर्ने शर्तहरुमा अहिले कम्तिमा तीन वटा १० दिने विपश्यना शिविर पूरा गरेको हुनुपर्ने र अर्को कुनै ध्यानको अभ्यास गर्न नहुने र कम्तिमा एक वर्षदेखि यसैको अभ्यास गर्दै दैनिक जीवनमा पञ्चशील पालना गरेको हुनुपर्ने रहेको छ।

तीन वटा १० दिने शिविर पूरा गर्नुपर्ने क्राइटेरिया त मैले उहिले पूरा गरिसकेको थिएँ। तर, त्यतिबेला एउटा १० दिने धम्मसेवा (स्वयंसेवा)को पनि शर्त थियो जस्तो लाग्छ। अहिले पनि त्यही शर्त छ भन्ठानेर म सेवाको शर्त पूरा नहुन्जेल कुर्दै बसेको थिएँ। यस पटक लकडाउनको बेला त्यो शर्त पनि पूरा गरियो (त्यसको पनि गजब अनुभव छ, पछि बाँडौँला)।

यो शिविर वर्षमा दुई पटक मात्र थियो। र पहिलो शिविर अहिले हामीले बसेको नै थियो। यसका लागि मैले अप्रिलतिरै फर्म भरिसकेको थिएँ। भाग्यवश कुनै व्यवधान आइपरेन र सहभागी हुन पाएँ।

पहिलो – जे पनि नयाँ !

पहिलो अनुभवमा जे पनि नयाँ हुन्छ। यसमा खास के सिकाइन्छ भन्ने पनि मलाई थाहा थिएन। कति दिनको हुन्छ समेत थाहा थिएन मलाई त अझ। १० दिने शिविर हुने ठाउँभन्दा बेग्लै गम्भीर शिविर हुने ठाउँमा हुने रहेछ, ध्यान गर्ने धम्म हल पनि बेग्लै, सुत्ने-बस्ने ठाउँ पनि बेग्लै। हलमा पहिले एक दिवसीय शिविर गरिसकेको भए पनि यहीँ बस्ने गरी कहिल्यै आएको थिइनँ।

अघिल्लो दुई पटक लकडाउनका कारण विपश्यना केन्द्रसम्म पुग्ने सडक खाली थियो। यस पटक त ट्राफिक जामले हुरुक्कै पार्‍यो। तर जति ढिला गरी पुगे पनि शिविर सुरु हुने समय पनि बेलुका नै रहेछ। दिउँसो २ बजेतिर पुग्ने बित्तिकै मोबाइल र पर्स बुझाइयो।

एम-६ नम्बरको कोठा दिइएको थियो मलाई। हरेक साधक एक्लै बस्ने व्यवस्था रहेछ यहाँ। म बसेको रुममा अट्याच बाथरुम-ट्वाइलेटसहित ध्यान गर्ने छुट्टै ठाउँ पनि रहेछ। यो मलाई नौलो लाग्यो। १० दिने शिविरमा त कम्तिमा दुई जना नत्र ६ जनासम्म पनि एकै हलमा सुत्नु पर्ने हुन्थ्यो।

त्यसैगरी अर्को फरक- १० दिने शिविरमा सेल (शून्यागार) सुरुको दिनदेखि दिइन्न। निश्चित दिनका लागि मात्र दिइन्छ। यसमा भने कोठा नम्बर दिएसँगै सेल नम्बर पनि दिइने रहेछ।

साँझ ६ बजे किचेन मै ओरियन्टेसन सुरु भयो ढकाल गुरुबाको। यो कस्तो खालको कोर्स हो भनेर सामान्य रुपमा बुझाए उनले। नियमहरु त अर्को शिविर जस्तै नै हो, सबै पुराना साधकसाधिकाहरु- धेरै बुझाउनै परेन।

राति ८ बजे धम्म हलमा पसेपछि आर्य मौन सुरु भयो। आर्मी ब्याकग्राउन्डको भएकोले चर्को आवाज र सानो हल भएका कारणले पनि होला- दुर्गाप्रसाद अर्यालको आवाजै काफी थियो, माइक चाहिन्न थियो। ‘गम्भीर शिविर’ सुरु भयो त्यही रात आनापानाका साथ।

पढ्न र लेख्‍न पाइने

१० दिने विपश्यना शिविरभन्दा एउटा महत्त्वपूर्ण फरक यसमा के रहेछ भने पहिलो दिन साँझको प्रवचनका बेला एउटा किताब र नोट गर्नका लागि कलम र कपी दिइयो। यो बिल्कुल नौलो अनुभव भयो मेरो लागि। किनभने १० दिने शिविरमा लेखपढ गर्न निषेध छ।

पढ्न पाइने भन्नाले जे पनि पढ्न पाइने होइन, बुद्धले भिक्षुहरुलाई २५ सय वर्षअघि दिएको शिक्षा ‘महासतिपट्ठान सुत्त’ को किताब। बुद्धको पालामा पाली भाषा चलनमा थियो। त्यो भाषा बुझ्ने कुरो भएन। अनि अनुवाद र व्याख्या- विपश्यनालाई विश्वमा फेरि फैलाएका गुरुजी सत्यनारायण गोयन्काको भिडियो प्रवचनबाट।

सात दिनका प्रवचन आठ दिन लगाएर हामीलाई सुनाइयो। केही ‘नोट’ गरियो, धेरै भने अभ्यास नै गर्नुपर्ने। बिहान ४ बजेदेखि सुरु हुने दिनचर्या राति ९ बजेसम्म व्यस्त नै भइन्थ्यो।

र, यो शिविरमा १० दिनेमा जस्तो आज यतिऔँ दिन भनेर बोर्ड पनि राखिन्न रहेछ।

मैले शिविरमा रहँदा गरेको नोट

‘अनुपश्यना’

१० दिने शिविरमा विपश्यना शब्दमात्र सुनिन्छ र अभ्यास गरिन्छ। यसमा भने एउटा नयाँ शब्द सुन्न पाइयो- अनुपश्यना। अर्थात् सत्यको अनुसरण गर्ने।

मूलतः सतिपट्ठान चार किसिमको हुने रहेछ- शरीरमा गरिने कायानुपश्यना, वेदनामा गरिने वेदनानुपश्यना, चित्तमा गरिने चित्तानुपश्यना र धर्ममा गरिने धम्मानुपश्यना। हरेकको व्याख्या गौतम बुद्धले २५ सय वर्षअघि निकै सरल रुपमा गरेका रहेछन्। बस, त्यसलाई अभ्यास गर्न गाह्रो रहेछ। यी चार कस्ता किसिमका अभ्यास हुन् भन्ने कुरा मैले लेखेर बुझाउन सकिन्न, त्यसका लागि अभ्यास नै आवश्यक हुन्छ।

पढ्न रुचि लाग्ने मैले त्यो अनुवादसहितको किताब दुई दिनमै पढिभ्याएको थिएँ। तर अभ्यास गर्दै र गोयन्का गुरुजीको प्रवचन सुन्दै मात्र बुझियो। अभ्यास त जीवन भर गर्नु नै छ।

आतापी, सम्पजानो, सतिमा

सतिपट्ठान साधनामा यो महत्त्वपूर्ण हुने रहेछ। आतापी अर्थात् एकदम धेरै तप गर्ने अथवा परिश्रम गर्ने। सम्पजानो अर्थात् सम्प्रज्ञानसहितको जान्नु। सम्प्रज्ञान अर्थात् सजग भएर मात्र पुग्दैन, सजग त सर्कसको केटी र नर्तकी पनि आफ्नो नाचमा हुन्छ- प्रज्ञा सहितको वा अनित्यको ज्ञान, म र मेरो भन्ने भाव बिनाको ज्ञान हुनुपर्छ। तेस्रो शब्द सतिमाको अर्थ हो स्मृतिवान हुनु। स्मृति अर्थात् सजगता।

सात दिन यसैको अभ्यास गरियो। पक्कै पनि सहज थिएन। सहज भए त सबै बुद्ध भइहाल्थे नि। तर पनि गरियो। जीवन भर अभ्यास त गर्नु नै छ।

बुद्धकै वचन हो र ?

१० दिने शिविरका क्रममा कन्फ्युजन हुनसक्छ कहिलेकाहीँ- म जे गरिरहेको छु, के गौतम बुद्धले यस्तै सिकाएका थिए र ? यो शिविरमा चाहिँ यस्तो नहुने रहेछ। किनभने बुद्धकै वचन पढ्दै अभ्यास गर्ने गरिन्छ।

यो माथिको पाली भाषाको वाक्य बुद्धका वचन हुन् र त्यसलाई मैले बुझ्नका लागि नेपालीमा अर्थ लेखेको हुँ। यो महासतिपट्ठान सुत्त किताब हामीलाई त्यहाँ हुँदा पढ्नका लागि दिइएको थियो। पछि फर्काउनु पर्ने रहेछ, थाहा भएन- यसरी कोरियो। पछि अर्कै किताब किनेर फिर्ता दिइयो।

यो सुत्तमा भएका वचन चाहिँ बुद्धकै हुन् भनेर कसरी विश्वास गर्न सकिन्छ त?

भएछ के भने २५ सय वर्षअघि गौतम बुद्धले देह त्याग गर्दा एक जना वृद्ध भिक्षु खुब खुशी भएछन्। नाच्दै उफ्रिएछन्। किनभने बुद्धले भिक्षुहरुलाई यो गर्नु हुन्न त्यो गर्नुहुन्न भनेर हैरान पारेका रहेछन्। वृद्ध ‘अब मुक्त भइयो’ भन्दै खुशी भएका रहेछन्।

यो देखेपछि बुद्धका गम्भीर साधकहरुको दिमाग घुम्यो। अहिले त यस्तो, भविष्यमा त धर्मको अपव्याख्या हुन्छ भनेर उनीहरुले बुद्धका सबै वचन, उपदेशहरुलाई जस्ताको तस्तै संकलन गर्ने काम गर्ने निधो गरे। बुद्धको महापरिनिर्वाणको चार महिनापछि पाँच सय जना अरहन्तहरुको सभाले ८४ हजार उपदेशहरुको संगायन गरेर त्यसलाई सुरक्षित राखे। यी उपदेशहरुको सुरुवात ‘एवं मे सुतं’ बाट हुन्छ। त्यसको अर्थ हुन्छ- यस्तो मैले सुनेँ।

त्यसको १०० वर्षपछि र त्यसको लगभग डेढ सय वर्षपछि भारतमा दोस्रो र तेस्रो संगायन भयो। तेस्रो चाहिँ सम्राट अशोकको पालामा भएको थियो। सम्राट अशोकले बुद्धको शिक्षा प्रचार गर्न विभिन्न देशमा अरहन्तहरुलाई पनि पठाएका थिए। अशोककै स्तम्भ बुद्ध जन्मभूमि लुम्बिनीमा पनि रहेको छ।

त्यसको ४/५ सय वर्षपछि श्रीलंकामा चौथो संगायन र पाँचौ र छैटौ संगायन बर्मा (म्यान्मार) मा भयो। छैटौँ संगायन सकिएको सन् १९५६ मा हो। अर्थात् ६५ वर्षअघि। यो संगायनमा लाओस, कम्बोडिया, थाइल्यान्ड, श्रीलंकाबाट बुद्धवाणीहरु एकत्रित गरिएको थियो।

बौद्धहरुले विपश्यना अभ्यास गरे पनि नगरे पनि बुद्धवाणीहरु भने कण्ठ गर्ने गर्थे। सबै देशको बुद्धवाणीलाई मिलान गरी हेर्दा आश्चर्यजनक रुपमा के भेटियो भने लिपि र उच्चारण फरक भए पनि मूल बुद्धको शिक्षा भने एकै थियो। त्यसैले २५ सय वर्षदेखि बुद्धको वाणीलाई एक पुस्ताबाट अर्को पुस्ता गर्दै आजसम्म उही रुपमा कायम गरिएको रहेछ। जबकि त्यतिबेला आधुनिक सञ्चारका केही साधन उपलब्ध थिएनन्। यसैले पनि बुद्ध वचनको प्रामाणिकता पुष्टि गर्ने दावी गरिन्छ।

गम्भीर साधना

यो गम्भीर साधना भएकोले सबै पुराना साधक साधिकाहरु मात्र थिए। त्यसैले १० दिने शिविरमा जस्तो नयाँ साधकहरुले प्वाक्क बोल्ने, हल्ला गर्ने खालको व्यवधान नहुने रहेछ। अनि बिहानको वन्दना र रातिको प्रवचनबाहेक दिनमा तीन पटक एक घण्टाको साधनामात्र हलमा बसेर गर्नुपर्ने रहेछ। बाँकी अवधि कि सेलमा कि चाहिँ निवासमै बसेर गर्नुपर्ने।

मैले अधिकांश समय निवासमै बसेर ध्यान गरेँ। दिनमा कम्तिमा एक पटक भने सेलमा पनि जान्थेँ। सेल भनेको ध्यान गर्नका लागि बनाइएको विशेष सानो कोठा हो।

गुरुबाले चेकिङ भने दुई पटक मात्रै गर्नुभयो। १० दिने शिविरमा जस्तो धेरै साधकहरुलाई एकै पटक बोलाएर सोध्ने नभई यसमा हरेकलाई छुट्टाछुट्टै चिट दिएर बोलाउने गरिन्थ्यो। छुट्टाछुट्टै सबैलाई डिल गर्ने काम हुन्थ्यो। मैले अर्याल गुरुबासित आफ्ना कन्फ्युजनहरु राखेँ। उहाँले सहज रुपमा निवारण गर्नुभयो। मेरो बस्ने आसन (सी १) ठ्याक्कै उहाँको आसन अगाडि थियो। डर पनि लागेको थियो- मेरो सबै शारीरिक हर्कत उहाँको नजरमा पर्ने भयो। तर उहाँले ‘तपाईँको पोस्चर राम्रो छ, श्याबाश’ भन्नुभएपछि हौसला बढ्यो।

आठौँ दिन मैत्री पछि बोल्न पाइयो। सँगै ध्यान गर्नेहरु कोही डाक्टर भइसकेका, कोही पढिरहेका, कोही एमबिए गरिरहेकाहरु थिए। पत्रकारितामा आवद्ध चाहिँ म एक्लो थिएँ।

सतिपट्ठान शिविरका सहसाधकहरु।

स्मरणीय चार शिविर

विपश्यना शिविरका चार वटा शिविर मलाई सधैँ याद रहनेछ। एउटा, पहिलो शिविर जसमा गुरुबा भीमवरसिंह थापा हुनुहुन्थ्यो। पहिलो शिविर भएकोले बेकारमा आएँ जस्तो लागेदेखि गजबको अनुभूतिसम्म त्यही १० दिनमा भयो। हरेक दिन नयाँ नयाँ कुरा सिकाइन्थ्यो, उत्सुकता कायम हुन्थ्यो। दोस्रो शिविरदेखि त्यसो भएन।

एकै पटक लुम्बिनीमा विपश्यना गर्दाको अनुभव फरक थियो। त्यहाँ ध्यान गर्दा मैले धेरै सैद्धान्तिक कुरालाई नजिकबाट बुझ्ने मौका पाएको थिएँ। उही प्रवचन, उही अभ्यास। तर त्यहाँको बुझाइ खै कुन्नि मेरो लागि विशेष रह्यो। यी दुवै शिविरमा मलाई विपश्यनाका लागि प्रेरित गर्ने साथी कृष्ण ढुंगाना मसँगै थिए।

तेस्रो स्मरणीय शिविर यही अप्रिलमा गरेको धम्मसेवा रह्यो जसको विषयमा म छुट्टै नै लेख्नेछु। नौ वटा १० दिने शिविर गरीसक्दा पनि मैले धम्मसेवा भने गरेको थिइनँ। एउटा फरक खालको शिक्षा सिक्न र अनुभव गर्न म ढिला भएको रहेछु।

चौथो चाहिँ यही सतिपट्ठानको शिविर जुन विपश्यनाकै एडभान्स कोर्स थियो। यसले विपश्यनालाई सैद्धान्तिक रुपमा अझ गहन रुपमा बुझ्न सघायो। र, अब  भविष्यमा कहिले पनि विपश्यना साधनालाई नछाड्ने दृढ अठोट मनमा पलायो।

तपाईँलाई पनि १० दिने विपश्यना शिविर गर्न मन छ भने अनलाइन फाराम भर्न सक्नुहुन्छ। त्यसका लागि आफ्नो अनुकूल समय यहाँ क्लिक गरी रोज्नुस्। (यो काठमाडौँको धम्मशृङ्गको लिङ्क हो, नेपालमा अरु ठाउँमा पनि ध्यान केन्द्रहरु छन्, यहाँ क्लिक गरी जानकारी लिनुस्) तपाईँलाई केही थप जानकारी आवश्यक भए १० दिने शिविर गरिसकेका कोही साधकलाई सोध्नुस् अथवा कार्यालयमा फोन गरेर सोध्नुस् वा मलाई फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ)

विपश्यनाबारे थप ब्लगहरु

१० दिने मौन ध्यान विपश्यना : कस्तो हुँदो रहेछ त? सुन्नुस् भिडियो अनुभव

अनि वीरेन्द्रको विपश्यना जाने सपना यो जुनीमा अधुरै

शिलाकी जवानीले सन्यासीलाई मार

म पनि तटस्थताको पक्षमा

गणेशमान सिंह, अक्सफोर्ड लर्नर र विपश्यना

विपश्यना अनुभव : आत्तिएर झण्डै भागेँ, पछि आफूलाई चिन्न प्रयास गरेँ

घरमै विपश्यनाको एक दिने शिविरको एउटा नौलो अनुभव

यस्तो रह्यो मेरो विपश्यना अनुभव

१० दिन मौन रहेर गरेको ध्यान जसले मलाई जन्म र मृत्युको रहस्य सिकायो

मेरो मनको अपरेसनको एक दशक

मनको अपरेसनका लागि टाढिँदैछु म सबैबाट

 

1 thought on “सतिपट्ठान : बुद्धको वाणी पछ्याउँदै ध्यानको अभ्यास गर्दाको अनुभव”

  1. Nirmal Shrestha says:
    September 24, 2021 at 12:19 am

    Thank you Salokya Ji for sharing a great experience about the Sattipathan. I had done 10 days Vipassana once. It was great experience. I want to join again but its so difficult to manage time due to busy schedule. Definitely, I will try to join in coming days. Thank you.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme