शनिबारदेखि फेसबुकमा एउटा फोटोसहितको पोस्ट भाइरल भएको छ जसमा दावी गरिएको छ- पोखरामा विमान दुर्घटना भएछ अनि त्यसमा ११७ जनाको मृत्यु पनि भयो। मनगढन्ते कहानी कतिसम्म रचिएको छ भने काठमाडौँबाट जनकपुरतर्फ उडेको विमान पोखरा पुगेर दुर्घटना भयो रे। अनि बढीमा १६ जना यात्रु अट्ने टर्बोलेट विमानको फोटो राखेर ११७ जनाको मृत्यु रे। पख्नुस्, पत्रुकार भनेर पत्रकारलाई गाली गर्न हतार गरिनहाल्नुस्, किनभने आजकालको जमानामा पत्रकारले मात्र अनलाइन मिडिया चलाउँदैनन्, एउटा डोमेन दर्ता गरेर जसले पनि समाचारका नाममा कुसमाचार राख्न सक्छन्। यो केसमा भएको त्यस्तै हो। यस्ता वेबसाइटहरुलाई मैले ‘आइए वेबसाइट’ भनेको छु। त्यो भनेको के हो त ?
आइए वेबसाइट
हैन, यो शब्द पढाइसँग सम्बन्धित छैन। आइएको अर्थ हो इन्स्ट्यान्ट आर्टिकल। फेसबुकले सन् २०१५ मा सुरु गरेको र २०१६ देखि विश्वभर उपलब्ध भएको इन्स्ट्यान्ट आर्टिकलले आफ्नो प्लेटफर्ममा समाचार प्रकाशित गर्न त्यसलाई ‘मनिटाइज’ गरी केही आम्दानी गर्ने सुविधा प्रकाशकहरुलाई दिन्छ।
अहिले यही आइएका कारण फेसबुकमा धेरैलाई क्लिकबेट (पाठकलाई हेर्ने बित्तिकै क्लिक गरौँ गरौँ लाग्ने) सनसनीपूर्ण शीर्षकसहितका समाचार राख्न प्रेरित गरिरहेको छ। यतिसम्म भए त सहन सकिन्थ्यो। तर डलरको लोभमा हुँदै नभएको समाचार राखेर समेत पाठकलाई मूर्ख बनाउने र सँगसँगै पत्रकार र पत्रकारितालाई बदनाम गराउने काम यसबाट भइरहेको छ।
अनलाइनबाट जथाभावी समाचारहरु आउन थाले भनेर यसलाई नियन्त्रण गर्ने उद्देश्य सहित सरोकारै नभएको सुशासन ऐन लगाएर अनलाइनलाई दर्ता गर्नुपर्ने नियम लागू गराइयो। तर यस्ता वेबसाइटहरुलाई त्यस्ता नियमहरुको कुनै मतलब हुन्न। आइएबाट पैसा कमाउन एउटा डोमेन दर्ता गरे पुग्छ, जसका लागि सरकारी संयन्त्र आवश्यक पर्दैन। एउटा डोमेन दर्ता गर्यो, त्यसलाई अनलाइन न्युज मिडिया जस्तो बनायो, अनि मन लागी समाचार पोस्ट गर्यो।
नामै नसुनेका यस्ता अनलाइनहरुका समाचार कसरी पाठक समक्ष पुग्छन् त?
यस्ता समाचार उत्पादन, प्रसारण र वितरणका लागि फेसबुककै नेटवर्क प्रयोग हुन्छन्। धेरै प्रयोगकर्ता भएका कुनै फेसबुक ग्रुप र पेज मार्फत् यस्ता समाचार फैलन्छन्। जति धेरैले हेर्यो, उति बढी डलरमा आम्दानी। फेसबुकलाई पनि फाइदै छ, किनभने विज्ञापन वापत् अन्दाजी ३० प्रतिशत रकम फेसबुकले कटाउँछ।
नभएको विमान दुर्घटना
यस्तै प्रयोजनका लागि शनिबारदेखि नभएको विमान दुर्घटना यी आइए वेबसाइटहरुले गराएका हुन्। नियन्त्रण गर्ने हो भने कसले यस्ता वेबसाइटहरुको लिङ्क फैलाइरहेका छन्, फेसबुकमा सामान्य सर्च गर्दा पत्ता लाग्ने चिज हो।
उदाहरणका लागि यो एउटा पोस्ट हेर्नुस्। शनिबार रातिदेखि भाइरल भएको यो पोस्ट ‘मन छुने लाइनहरु’ शीर्षकको एउटा लाखौँ सदस्य भएको फेसबुक ग्रुपमा राखिएको थियो। यसमा काठमाडौँबाट जनकपुरतर्फ उडेको विमान पोखरा पुगेर दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको दावीसहितको फोटो मात्र राखिएको छैन, इमोसनल ब्ल्याकमेलिङ पनि गरिएको छ- मनमा अलिकति पनि दया भए रिप लेख्नुस् भनेर।
नक्कली पोस्टहरुमा यस्तै खालका इमोसनल ब्ल्याकमेलिङ गरिन्छ। कुनै पनि प्रोफेसनल अनलाइनले यसरी रिप लेख्नुस् भनेर पाठकलाई इमोसन ब्ल्याकमेलिङ गर्ने निर्देशन दिँदैनन्। त्यसैले हेर्ने बित्तिकै यो पत्रकार र पत्रकारितालाई बदनाम गराउन खोलिएको साइट हो भन्ने प्रष्टै हुन्छ। अर्काइभ लिङ्कमा गएर हेर्नुस्, यो साइट कसले, कहाँबाट चलाएको भन्ने जानकारी समेत राखिएको छैन। तर नियन्त्रण गर्न चाहने हो भने यो वेबसाइट कसले चलाएको हो, यसलाई कसले फैलाएको हो भन्ने पत्ता लगाउन नसकिने विषय होइन। तर यस्तो विषयमा कसलाई वास्ता र !
अर्को उदाहरण यो हेर्नुस्- रवि लामिछानेको नाम बेचेर बनाइएको एउटा फेसबुक ग्रुपमा पोस्ट भएको यो मेट्रोनेपालटिभी डट कममा उस्तै फोटो र व्यहोरा छ। यो तथाकथित अनलाइन मिडियाको पेज झन् रमाइलो छ।
यसमा चलाउनेको विवरण यसरी राखिएको छ-
हेर्नुस् अर्काइभ लिङ्क। फेक समाचार फैलाउनेहरु कतिसम्म निश्चिन्त छन् कुनै कारबाही हुन्न भन्नेमा भने उनीहरुले आफ्नो इमेल, मोबाइल नम्बर र नाम समेत सार्वजनिक गर्ने गरेका छन्।
अर्को दुई वटा यस्तै पोस्ट हेर्नुस्-
अनि यो पनि-
यी सबै पत्रकारिताको ज्ञान नभएकाहरुले पत्रकार र पत्रकारिताको बदनाम हुने गरी चलाएका आइए वेबसाइटहरु हुन्।
यो फोटो कहिले र कहाँको हो भन्ने बारे नेपालफ्याक्टचेकमा प्रविण भट्टले फ्याक्टचेक लेखेका छन्- फेसबुकमा भाइरल भएको पोखरामा विमान दुर्घटनाको ‘समाचार’ र फोटोको तथ्य यस्तो छ
भाइरल पोस्टमा दावी गरिएको जस्तो यो विमान काठमाडौंबाट जनकपुरतर्फ उडेर पोखरामा दुर्घटना भएको होइन। दुई वर्षअघि २०१९ अप्रिल १४ का दिन समिट एयरको 9N-AMH कल साइन भएको उक्त विमान लुक्लाबाट रामेछाप उड्ने क्रममा पार्क गरेर राखिएको मनाङ एयरको AS 350B3e (9N-ALC) हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना भएको थियो। उतिबेलै प्रकाशित यो समाचार हेर्नुस्-
हामीले के गर्न सक्छौँ ?
मैले सर्सर्ती यस्ता पोस्टहरुको कमेन्ट हेरेँ। कतिले भावुक भएर रिप लेखेका छन् भने कतिले चाहिँ गाली गरेर कमेन्ट लेखेका छन्। तर तपाईँले बुझ्नु पर्ने कुरा के हो भने तपाईँले यस्ता फेक पोस्टहरुमा कमेन्ट गर्नुभयो वा रियाक्ट गर्नुभो वा सेयर गर्नुभयो भने उनीहरुलाई नै फाइदा हुने मात्र हो। किनभने तपाईँको कमेन्टले त्यो पोस्टलाई अझ फैलाउन मद्दत गर्छ।
बरु यस्ता पोस्टलाई फेक भनेर रिपोर्ट गर्नुभयो भने वा त्यसलाई छुँदै छुनु भएन (कमेन्ट, रियाक्ट, सेयर गर्नुभएन) र त्यस्ता फेक समाचार फैलाउने फेसबुक पेज वा ग्रुपलाई ब्लक गर्नुभयो भने तपाईँ सुरक्षित हुनुहुनेछ।