Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेप्सेको समाचारले हँसायो : गल्ती गर्दा पनि लेख्‍नेलाई थाहै छैन जस्तो पो छ त

Posted on September 3, 2021September 3, 2021 by Salokya

बुधबार नेपालका अनलाइन मिडियाहरुमा एउटा गजबको समाचार आयो। लगभग एकै व्यहोराको त्यो समाचारमा कुनै न्युज एजेन्सीलाई कोट गरिएको थिएन। यसको अर्थ त्यो समाचार न्युज एजेन्सीले लेखेको होइन भनेर नै बुझ्नु पर्‍यो। न्युज एजेन्सीको समाचार धेरै वटा मिडियामा आउनु सामान्य हो। तर यो असामान्य खालको थियो किनभने सबै समाचारको बाइलाइनमा त्यही मिडियाको नाम थियो।

समाचार थियो नेप्सेको। त्यो दिन ठूला लगानीका मिडियाहरु- कान्तिपुर, नागरिकदेखि नयाँ पत्रिकासम्मको समाचार थियो- नेप्से परिसुचक दोहोरो अङ्कले बढ्यो, सेयर बजारमा हरियाली। जबकि वास्तविकता त्यस्तो थिएन। दोहोरो होइन एक अङ्कले मात्रै बढेको थियो बजार।


यो हो नागरिक दैनिकको अनलाइनमा राखिएको समाचारको स्क्रिनसट। शुक्रबार स्क्रिनसट लिँदासम्म पनि यो समाचार यही रुपमा छ। गल्ती भएको छ भन्ने थाहा पनि रहेनछ जस्तो यो समाचारका लेखक, सम्पादकहरुलाई। यहाँ क्लिक गरी हेर्नुस्।


अनि यो हो नयाँ पत्रिकाको अनलाइनमा आएको समाचार। यसमा पनि नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको दावी गरिएको थियो।

अहिले भने त्यसलाई सुधार गरेर शीर्षकमा ‘सेयर बजारमा सामान्य सुधार’ बनाइएको छ। पहिले गलत समाचार राखेर त्यसमा भूल सुधार गरिएको बारे इमान्दारीपूर्वक जानकारी दिनबाट नयाँ पत्रिका चुकेको छ। पहिला गलत समाचार राख्ने अनि गुपचुप त्यसलाई सच्याउने काम झन् गलत हो।

अहिले नयाँ पत्रिकामा यस्तो छ समाचार-

इकान्तिपुरले भने इमान्दारीपूर्वक गल्ती भएको हो भनेर जानकारी दिएरै सच्याएको छ।

अब देशका यी तीन वटा प्रमुख अनलाइनहरुको यो काम हेर्दा सबैभन्दा इमान्दार को लाग्यो त? छनौट तपाईँहरुले नै गर्नुपर्ने हुन्छ- गल्ती गर्ने अनि गल्ती भएको पत्तै नहुने नागरिक कि गल्ती गरेको थाहा पाइसकेपछि गल्ती भएको हो भन्ने स्वीकार्न लाज मानेर सुटुक्क गल्ती सच्याएर त्यसको जानकारी समेत नदिने नयाँ पत्रिका कि गल्ती भएको इमान्दारीपूर्वक स्वीकारेर भूल सुधारेको जानकारी दिएर सच्याउने इकान्तिपुर?

यही व्यहोराको समाचार अरु थुप्रै अनलाइनहरुमा पनि आएको छ, जसलाई गल्ती भएको पनि थाहा छैन होला। ती अनलाइनहरुलाई यहाँ उदाहरणमा राख्न जरुरी ठानिनँ मैले।

सुधारिएको समाचारमा पनि गल्ती

पख्नुस् है- ब्लग सकिसकेको छैन। यो सुधारिएको समाचारमा पनि गल्ती रहेछ, म देखाउँछु के हो भनेर।

कान्तिपुर र नयाँ पत्रिकामा एउटै व्यहोरा छ- ‘नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक साताको चौथो दिन बुधबार २९७६.९८ बाट बढेर २९७७.२९ विन्दुमा सेयर कारोबार बन्द भएको हो । साताको चौथो दिन नेप्से ०.०४ प्रतिशतले बढेको हो।’

नागरिकको त झन् के कुरा गर्नु र, एक अङ्कले बढेको बजारलाई दोहोरो अङ्कले भनेर पनि लेखेको छ। समाचारमा ‘२९७७.२९ बिन्दुबाट बढेर २९७६.९८ मा शेयर कारोबार बन्द भएको हो’ पनि लेखेको छ। म हिसाबमा कमजोर छु भनेको त समाचार लेख्ने झन् कमजोर रहेछ। २९७७ बाट २९७६ हुनु भनेको बढ्नु हो कि घट्नु ?

खैर, नागरिकलाई त गल्ती भएको पनि थाहा रहेनछ र सच्याएको पनि छैन। सच्याउने कान्तिपुर र नयाँ पत्रिकाले पनि गल्ती गरेको छ।

उनीहरुले लेखेका छन्- साताको चौथो दिन नेप्से ०.०४ प्रतिशतले बढेको हो, नेप्सेको डेटाले भन्छ बुधबार अर्थात् सेप्टेम्बर १ तारिखमा नेप्से इन्डेक्स १.१७ अङ्कले बढेको हो। नपत्याए यहाँ क्लिक गरी हेर्नुस्। अर्काइभ लिङ्क।

अघिल्लो दिन अर्थात् मंगलबार ३१ अगस्तमा २९७५.८४ थियो इन्डेक्स, भोलिपल्ट सेप्टेम्बरमा २९७७.०२ भयो भने पछि कान्तिपुर र नयाँ पत्रिकाले लेखे जस्तो ०.०४ प्रतिशतले बढेको कसरी मिल्यो त ?

अपडेट : प्रतिशतको झिनो अन्तरलाई ल माफ गर्दिम्, अङ्क त मिलेन नि। २९७६.९८ बाट बढेर २९७७.२९ बिन्दुमा सेयर कारोबार बन्द भएको होइन त। अघिल्लो दिन २९७५.८४ मा रहेछ बन्द भएको, त्यो दिन २९७७.०२ मा रहेछ बन्द भएको।

यत्रा ठूला मिडियाहरुलाई एकै दिन कसले यसरी झुक्याएको होला त?

अब यी मिडियाहरुले भूल सुधार गरिसकेको समाचारमा पनि फेरि भूल सुधार गर्छन् कि गर्दैनन् होला त? हेर्न रमाइलै हुनेछ 🙂

1 thought on “नेप्सेको समाचारले हँसायो : गल्ती गर्दा पनि लेख्‍नेलाई थाहै छैन जस्तो पो छ त”

  1. ramesh says:
    September 3, 2021 at 9:42 pm

    जथाभावी लेख्ने मिडियाकाे बचाउ त गर्न चाहन्नं । तर २९७६.९८ कि २९७७.०२ मा बन्द भन्ने दाेधार चाहिं नेप्सेकाे गैरजिम्मेवारीपनले सिर्जना भएकाे हाे ।नेप्सेकाे २ वटा वेभसाइट भएपनि एउटै गतिलाे छैन । समयमै अपडेट हुन्न। ३ बजे बजार बन्द हुने भएपनि ३:०५ सम्म ब्राेकरले काराेबार गर्न पाउंछन् क्यार । त्यसैले कहिलेकाहीं परिसूचक र काराेबार रकम परिवर्तन हुन्छ , बुधबार पनि त्यही भएकाे हाे ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme