Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइन पेमेन्ट रोज्दा झन् बढी पो झण्झट

Posted on September 4, 2021September 3, 2021 by Salokya

आफू अनलाइनमा धेरै बस्ने र काम पनि अनलाइनको धेरै गर्ने हुनाले अनलाइनलाई प्राथमिकता दिउँ भन्ने सोच हुन्छ। तर कहिलेकाहीँ अनलाइन रोज्दा झन् झण्झट आइलाग्ने हुन्छ।

आज मलाई त्यस्तै भएको एउटा अनुभव सुनाउँछु।

पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने बाध्यता आइलाग्यो। एक चोटी कोरोना लागेर दुई डोज खोप लगाइसक्दा पनि नाकमा सुइरो घोच्नुपर्ने बाध्यता अझै आइलाग्छ क्यार्नु। सरकारले तोकेको रकम (दुई हजार रुपैयाँ) मै गरिदिने ठाउँ मेडिसिटी अस्पतालमा गर्ने सोचेँ। किनभने त्यहाँ अनलाइनबाट अप्वाइन्टमेन्ट र अनलाइन पेमेन्टको अप्सन थियो। गयो, स्वाब दियो, फर्कियो, रिपोर्ट इमेलमा।

त्यही भनेर  मेडिसिटी अस्पतालको आधिकारिक वेबसाइटमा राखिएको पीसीआर अप्वाइन्टमेन्टमा क्लिक गरेँ। सरर नाम, उमेर, ठेगाना र कति बजे स्वाब दिन जाने भन्ने समय भर्नुपर्ने रहेछ। भरियो।

त्यहीँ गएर कागजमा फर्म भर्नुको साटो अनलाइनबाटै भरेर समयमा गए सजिलो पनि। तर त्यसमा भरेर अप्वाइन्टमेन्ट लिने मात्र सुविधा रहेनछ। पेमेन्ट पनि गर्नुपर्ने रहेछ।

अब सुरु भयो दुःख।

इसेवाबाट तिर्नुपर्ला भनेर सुरुमा इसेवामा रकम लोड गरियो। अनि इसेवाबाट तिर्न खोज्छु त मरे हुँदैन। इसेवाको आइडी र पासवर्ड हान्छु, पासवर्ड मिलेन भन्छ। पासवर्ड बिर्सेछु कि क्या हो भनेर अर्को ट्याबमा खोलेर हेर्छु त उही हो पासवर्ड। तर त्यसमा मान्दै मान्दैन त।

ल भएन अब भनेर तेस्रो विकल्प क्युआर कोडमा लागेँ। तर त्यो गर्दा त पेजै खुल्दैन रहेछ।

हैट भएन अब भनेर दोस्रो विकल्प ट्राइ मारेँ- भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेसको लोगो थियो। नेपाली ब्याङ्कको डेबिट कार्ड त छ नि, त्यसले अनलाइन सपिङहरुमा काम गर्छ भने यसमा पनि गर्ला भन्ने लाग्यो।

गरेँ। पैसो काटिएको मेसेज आयो मोबाइलमा। तर स्क्रिनमा भने के के कोड बाहेक केही देखाएन।

हरे बुद्धि ! यति पैसा रिसिभ भयो भनेर एउटा अनलाइन बिल आउने सिस्टम बनाए हुन्थ्यो नि। पीसीआर गर्ने ठाउँमा त्यही बिल देखाउन हुन्थ्यो। पैसो काटेको छ, रिसिप्ट केही छैन।

भोलिपल्ट आफूले अनलाइन फाराम भर्दा रोजेको समयमा गइयो। तर त्यहाँ अर्को झण्झट।

रकम भुक्तान भएको हो कि होइन भनेर बिलिङमा बसेकी कर्मचारीले खै कहाँ हो फोन गरेर भेरिफाइ गर्न खोजिन्। पीसीआरको अनलाइन पेमेन्ट लिइरा’को छ र भनेर सोधिन्। उनलाई समेत थाहा रहेनछ। डेबिट कार्डको नम्बर भन्नु पर्‍यो मैले। त्यो भन्दा त त्यो डेबिट कार्ड यहीँ आएर स्वाइप गरेको भए सजिलो हुने रहेछ नि। भेरिफाइ गर्दासम्म म १० मिनेट जति कुर्नुपर्‍यो त्यहाँ। म भन्दा पछि आएकाहरु भने त्यहीँ फाराम भरेर, रकम बुझाएर, स्वाब दिएर पनि फर्किसके, म चाहिँ खुब अनलाइन पेमेन्ट गर्ने भइखाको, कुरेको कुर्‍यै।

खै भेरिफाइ गरे कि गरेनन्, थाहा भएन। १० मिनेट जति पछि मलाई बिल दिइयो। त्यही बिल देखाएर स्वाब संकलन गर्ने किट अर्को झ्यालमा दिइयो। अनि त्यो लिएर अर्को झ्यालमा गएर नाकमा घोचियो र घाँटीबाट पनि स्वाब लिइयो।

साढे १० बजे दिएको स्वाबको रिपोर्ट साढे २ नहुँदै आइपुग्यो – नेगेटिभ।

तर अनलाइन पेमेन्ट गर्न खोज्दाको झण्झटले पनि नेगेटिभै बनाउन खोज्यो मलाई।

अनलाइन पेमेन्टलाई सहज बनाउन किन ध्यान नदिएको होला? अनलाइन पेमेन्ट गर्दा कोडसहितको एउटा रिसिप्ट आउने र त्यही हेरेर भेरिफाइ गर्ने सजिलो सिस्टम पनि किन बनाउन नसकेका होलान्, अचम्म लाग्यो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme