Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइएसपीहरुको संगठनले निकालेको हाँसउठ्दो विज्ञप्ति !

Posted on September 2, 2021September 2, 2021 by Salokya

विराटनगरको एउटा अनलाइन ‘आवरविराटनर’ लाई आइएसपी क्लासिक टेकले आफ्नो नेटवर्कमा नचल्ने गरी ‘ब्लक’ गरेको विरोधमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रले विज्ञप्ति निकालेर विरोध गरेको बारे माइसंसारमा यसअघि नै ब्लग आइसकेको छ। छुटाउनु भएको भए पढ्नुस्- क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस।

अब पालो इन्टरनेट सेवा प्रदायक अर्थात् आइएसपीहरुको छाता संगठन आइस्पानको। आइस्पानले आज एउटा विज्ञप्ति जारी गरेको छ।

‘क्लासिक टेकले अनलाइन पोर्टल बन्द गरेको समाचार गलत’ शीर्षकमा सबैभन्दा पहिला मैले यो समाचार टेकपानामा देखेँ। के रहेछ विज्ञप्ति नै हेर्न मन लाग्यो भनेर संस्थाको आधिकारिक वेबसाइटमा खोजेको, दुई वर्षदेखि नयाँ प्रेस रिलिज हालेको रहेनछ। सबभन्दा नयाँ नै अगस्त ४, २०१९ को रहेछ।

टेकपानाको समाचारमा लेखिएको छ-

उक्त सञ्चारमाध्यमकाे वेबसाइट होस्ट क्लासिक टेकमा नभएकाले त्यसको स्वामित्वमा अन्तै हुने र त्यसमा क्लासिक टेकको पहुँच र नियन्त्रण नहुने आईस्पानले स्पस्ट पारेको छ ।

‘प्राविधिक रुपमा भन्नुपर्दा त्यस सञ्चारमाध्यमको वेबसाइट क्लासिक टेकमा हाेस्ट नभएकाले त्यसको स्वामित्व क्लासिक टेकमा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव छ,’ विज्ञप्तिमा उल्लेख छ ।

के लेख्या होला यस्तो, साँच्चिकै विज्ञप्तिमा यस्तै लेखिएको छ त भन्ने भयो मलाई। किनभने त्यसमा लेखिएका कुरा मिल्दैन।

आफ्नोमा होस्ट भएको कुरालाई मात्र आइएसपीले ब्लक गर्न सक्ने होइन। अझ त्यसमा त ‘त्यस सञ्चारमाध्यमको वेबसाइटमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव छ’ लेखिएको रहेछ।

जहाँसम्म असम्भव छ भनिएको छ, नेपोलियन बोनापार्टले उहिल्यै भनिसकेका थिए, असम्भव भन्ने कुरा केही पनि हुन्न।

प्रविधिबारे थोरैमात्र जानकारले पनि विज्ञप्तिमा लेखिएको कुरा पत्याउँदैन। एउटा सानो बुझिने खालको उदाहरण : अहिले नेपालमा पोर्न कन्टेन्टहरुमाथि प्रतिबन्ध लगाइएको छ। नेपालका आइएसपीहरुबाट पोर्न वेबसाइटहरु (जस्तै : पोर्नहब) खुल्दैन।

अब यो विज्ञप्तिलाई पत्याउने हो भने त पोर्नहब वेबसाइट क्लासिक टेकमा होस्ट नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव छ। होइन त ?

तर होइन, अन्यत्रै होस्ट भएको भए पनि त्यसलाई नियन्त्रण क्लासिक टेकले गरेको हो- कारण हो, सरकारको निर्णय अनुसार राज्यको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ब्लक गर्न दिएको निर्देशन।

आइएसपीहरुले निश्चित वेबसाइट आफ्नो नेटवर्कमा ब्लक गर्न सक्छन्। माओवादी द्वन्द्वकालमै माओवादीका वेबसाइटहरु सरकारको निर्देशनमा आइएसपीहरुले ब्लक गर्थे। यो अहिले होइन, उहिलेदेखि आइएसपीहरुले गर्दै आएको कुरा हो। यति सफेद झुट लेख्दिने विज्ञप्तिमा ? अनि त्यो विज्ञप्तिलाई जस्ताको तस्तै छाप्दिने टेक वेबसाइटले? टेक साइटले त प्राविधिक कुरासमेत बुझाएर नियामक निकायको प्रतिक्रियासहितको समाचार पो बनाउनु पर्ने हो त।

मलाई त अर्को एउटा आइएसपीले एउटा प्रभावशाली मान्छेले भनेको भरमा एउटा वेबसाइट त्यो आइएसपीको नेटवर्कमा ब्लक गरेको घटनासमेत थाहा छ। (घटना अलि पुरानो हो, अहिले सार्वजनिक नगरौँ होला)

आवरविराटनगरलाई क्लासिक टेकको नेटवर्कमा ब्लक गरिएको प्रमाण त्यहाँका साथीहरुले के-कसरी राख्नुभएको छ कुन्नि। तर आफूलाई मन नपरेको वेबसाइटलाई ब्लक गरेर गैरसंवैधानिक काम गर्ने आइएसपीविरुद्ध कानुनी कदम चाली नेपाल दूरसञ्चार प्राधिकरणबाट कारबाही समेत गराउनु पर्ने हो।

यस्तो रहेछ आइस्पानको विज्ञप्ति (तल हेर्नुस्)। विज्ञप्तिमा एउटा सकारात्मक कुरा के छ भने, आइएसपीहरुलाई सञ्चार माध्यमहरुलाई प्रतिबन्ध लगाउने अधिकार नरहेको स्वीकार गरिएको छ।

तर आइएसपीहरुले अझै नबुझेको कुरा के हो भने, आइएसपीहरुलाई सञ्चार माध्यम मात्र हैन, इन्टरनेटका कुनै पनि कन्टेन्ट प्रतिबन्ध लगाउने अधिकार छैन। नियामक निकाय दूरसञ्चार प्राधिकरणले निर्देशन दिए मात्रै उसले अरु कन्टेन्टहरुमा पनि प्रतिबन्ध लगाउन सक्ने हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme