Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस

Posted on August 30, 2021August 30, 2021 by Salokya

विराटनगरमा एउटा अनौठो घटना भएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले आफूलाई मन नपरेको एउटा समाचार पोर्टललाई नै आफ्नो नेटवर्कमा ब्लक गरिदिएको छ।

इन्टरनेट सेवा प्रदायक (आइएसपी) को काम ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र हो। ग्राहकले जस्तोसुकै सामग्री इन्टरनेटमा हेरुन्, त्योसित उसलाई मतलब हुँदैन। नियामक निकाय अर्थात् दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको अवस्थामा भने कुनै निश्चित वेबसाइटलाई उसले ब्लक गर्नुपर्छ। जस्तै अहिले पोर्न साइटहरु नेपालमा ब्यान गरिएको छ। तर आइएसपीले आफ्नो खुशीले कुनै पनि वेबसाइटलाई ब्लक गर्न पाउँदैन। अझ नेपालको संविधानको धारा १९ मा रहेको सञ्चारको हकले कुनै सामग्री प्रकाशन गरेवापत अनलाइन सञ्चार माध्यमलाई बन्द गर्न नपाइने प्रष्ट उल्लेख गरेको छ। यो हिसाबले आइएसपीले गरेको काम गैरसंवैधानिक समेत छ।

भएको के हो ?

सेवाबाट असन्तुष्ट ग्राहकले आइएसपी क्लासिक टेकको विराटनगरको ट्राफिक चोकस्थित शाखा कार्यालयमा शुक्रबार तालाबन्दी गरिदिएका रहेछन्। त्यससम्बन्धी फोटोसहितको समाचार आवरविराटनगर डट नेटले ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’शीर्षकमा प्रकाशन गरेको थियो।

समाचारमा क्लासिक टेकका एक जना अधिकारीको भनाई पनि उद्‍धृत गरिएको छ- ‘नेशनल मेनेजर भुपाल सिंह कार्कीले सेवाग्राहीको निक्कै ठुलो समस्या नरहेको र शनिबार नै समाधान गरिने जानकारी दिनुभयो।’

आवरविराटनगरका सम्पादक नवराज कट्टेलसित मैले फोनमा कुरा गरेँ। उनले दिएको जानकारी अनुसार समाचार लेखिसकेपछि क्लासिकटेकले राति नै राउटर फेरेर इन्टरनेट चल्ने बनाइदिएको रहेछ।

‘त्यसपछि नेसनल मेनेजरले हामीसँग कुरा गर्दै सामान्य कुरा हो, हामीले सेवा सुरु गरिदिएका छौँ, फोटो भिडियो नहाल्दिनुहोला भनेका थिए।’

तर उनीहरुले समाचार हटाएनन्।

उनका अनुसार त्यही राति ११ बजेदेखि क्लासिक टेकको नेटवर्कमा आवरविराटनगर ब्लक गरिदिएको थियो। मैले कुरा गरेको समय सोमबार साँझसम्म पनि आफ्नो वेबसाइट ब्लक नै रहेको उनले बताए।

विरोध-विज्ञप्ति

आफूलाई कुनै समाचार मन लागेन भन्दैमा अधिकार नै नभएको सेन्सर गर्ने काम त गर्न पाइएन नि। समाचार चित्त नबुझे त्यसलाई विधि र प्रक्रिया अनुसार कानुनी उपचार खोज्ने बाटो छँदैछ।

निजी कम्पनीले मिडियालाई नै प्रतिबन्ध लगाएपछि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट पनि विरोध भएको छ। मोरङ शाखाले भदौ १२ गते शनिबार नै विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रता हनन् भएकोले क्लासिक टेकलाई तत्काल क्षमा माग्दै प्रतिबन्ध हटाउन ध्यानाकर्षण गराएको छ।

त्यसैगरी भदौ १३ गते आइतबार पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा कम्पनीले अनलाइन ब्लक नगरेको दावी गरे पनि ४० घण्टादेखि क्लासिक टेकको सेवा क्षेत्रमा उक्त अनलाइन पोर्टल नखुल्नु र अन्य सबै पोर्टल खुलेको उल्लेख छ। ‘…साइट ब्लक गर्ने कार्य प्रेस स्वतन्त्रता विरोधी, गैर कानुनी र साइबर अपराध हो’, विज्ञप्तिमा ठहर गरिएको छ। घटनाको छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

भदौ १३ गते आइतबार नै नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्वले पनि ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा इन्टरनेट सेवा प्रदायक कम्पनीबाटै यसरी अनलाइन सेवालाई ‘ब्लक’ गरी प्रतिबन्ध लगाइनु कानुनविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिसमेत हस्तक्षेप भएको’ ठहर गरेको छ।

महासंघले उक्त कम्पनीलाई कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह पनि गरेको छ।

 

सम्पादक नवराज कट्टेलका अनुसार पत्रकार महासंघको केन्द्रको कानुनी सल्लाहकारको परामर्शमा सूचना विभागमा उजुरी पठाइएको छ। त्यही उजुरी अनुसार सूचना विभागले दूरसञ्चार प्राधिकरणमा पत्र पठाएर आइएसपीको नियामक निकाय दूरसञ्चार प्राधिकरण भएकोले त्यताबाट कारबाही गर्ने प्रक्रिया रहेको उनले बताए।

आइएसपीको बुद्धि !

आइएसपीलाई यस्तो तानाशाही बुद्धि कसले दिएको हो अचम्म लाग्यो। अहिलेको जमानामा एउटा आइएसपीको नेटवर्कमा न्युजपोर्टल बन्द गर्न लगाएर के गर्नु, अरु विभिन्न उपायहरुबाट त्यसलाई हेर्न नसकिने हो र?

यसअघि पनि यदाकदा कसैको अनुरोधको भरमा (दूरसञ्चार प्राधिकरणको होइन) केही आइएसपीले कुनै निश्चित साइट ब्लक गर्ने गरेको सुनिएको थियो। तर यति ठूलो इस्यु नै बन्ने गरी आइएसपीले न्युजपोर्टल बन्द गरेको मैले पहिले सुनेको थिइनँ। यो केसमा क्लासिक टेकलाई हुँदै नभएको अधिकार प्रयोग गरी निजी मिडिया सेन्सर गरेकोमा कारबाही गर्न नसके नराम्रो नजिर बस्न सक्छ। आइएसपीले आफूलाई मन नलागेको कुरा आफ्नो तजबिजमा बन्द गरिदिन सक्छ।

भरे कुनै नेतालाई मन नपर्ने  खबर आयो भने वा कुनै व्यापारीको बारेमा त्यस्तै आयो भने उनीहरुले आइएसपीलाई भनेर त्यो न्युजपोर्टल ब्लक गराइदिने सम्भावना हुन्छ। यसो हुनबाट रोक्न अहिले नै सावधान हुनुपर्छ।

बरु प्राधिकरणले स्पष्टीकरण लिँदासम्म आफूले ब्लक नै नगरेको भनेर चोखो भइटोपल्ने सम्भावना रहेको हुँदा क्लासिक टेकको नेटवर्कमा साइट नखुलेको प्रमाण पनि अहिले नै संकलन गरिराख्दा राम्रो, भिडियो-फोटो आदि खिचेर।

हुँदै नभएको अधिकार प्रयोग गरेर साइट ब्लक गर्ने क्लासिक टेकलाई नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणले कारबाही गर्नै पर्छ।

अझ यो गैर संवैधानिक काम गर्ने क्लासिक टेकका जिम्मेवार पदाधिकारीविरुद्ध मुद्दा समेत हाल्नु पर्ने हो।

1 thought on “क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस”

  1. Pingback: आइएसपीहरुको संगठनले निकालेको हाँसउठ्दो विज्ञप्ति ! – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme