२०७२ सालतिर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा एउटा इमेल आयो। त्यसको व्यहोरा अलि अनौठो खालको थियो।
कमला (नाम परिवर्तन) लाई तीन वर्षअगाडि फेसबुकमा एउटा अन्जान व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। केटीको नाम रहेछ जेनी गुरुङ। केटी नै होला भनेर उनले एसेप्ट गरिन्। बिस्तारै उनले अपलोड गरेका फोटो र स्टायटसहरु त्यसबाट लाइक र कमेन्ट हुन थाल्यो। पछि मेसेन्जरबाट च्याट पनि हुन थाल्यो।
गफ गर्दागर्दै उनीहरु मिल्ने साथी जस्ता भए। व्यक्तिगत र घरका कुरासमेत गर्न थाले।
एक दिन अचानक त्यसबाट नाङ्गो फोटो आयो।
कमला झस्किइन्।
सोधिन्, ‘किन पठाएको यस्तो?’
‘तिमी पनि केटी, म पनि केटी के फरक पर्छ र?’, जवाफ आयो।
उसले अझ थप्यो, ‘तपाईँको पनि यस्तो फोटो छ भने पठाऊ न।’
‘यस्तो काम राम्रो होइन। नगरौँ।’
तर उसले मानेन। जिद्दी गरिरहेकोले कमलाले भित्री वस्त्रसहितको फोटो पठाइदिइन्।
त्यसको केही दिनपछि त्यो फेसबुक आइडीवालाको दाइले म तिमीलाई मन पराउँछु भनेर फोन गर्न थाल्यो। एक पटक त तिम्रो न्युड भिडियो सेन्ड गर न। तिमी त मेरी बहिनीसँग च्याट पनि गर्छौ, फोटो पनि सेन्ड गर्छौ। मलाई पनि न्युड भिडियो पठाऊ भनेछ।
त्यसपछि दुवै व्यक्ति एउटै हो जस्तो लागेर कमलाले ब्लक गरिदिइन्। आइन्दा मलाई फोन र मेसेज नगर्नु पनि भनिन्।
कुरो यत्तिकैमा टुङ्गिएन।
एक दिन साथीहरुले ओइ तेरो फोटो त पोर्नसाइटमा अपलोड भएको छ भने। हेरी बुझ्दा त त्यही च्याट हुँदा केटीलाई भनेर पठाएको फोटो नै पो पोर्नहबमा अपलोड भएको रहेछ।
छोरा पढ्नलाई भारतमा गएको हुनाले उनी पनि भारतमै थिइन्। यता पोर्नहबमा आफ्नो न्युड फोटो अपलोड भइसक्यो। उनले इमेलबाटै सीआईबीलाई यसबारे बताइन्।
घटना गम्भीर भएकोले प्रहरीले जाहेरी खोज्यो। पीडितका तर्फबाट बहिनीले जाहेरी दरखास्त लेखेर बुझाए- निज अन्यायी व्यक्तिलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ बमोजिम हदैसम्मको कारबाही र सजाय गरी पाऊँ।
नेपाल फर्किएपछि फेरि उजुरी
भारतमा काम सकाएर कमला नेपाल फर्किइन्। पहिलो काम ब्युरोमा गएर फेरि उजुरी।
यसमा उनले अझ डिटेल खुलाएकी थिइन्।
ट्विटरमा @chaulalita पोर्नहबमा lalitachau (अहिले सर्च गर्न हतार नगर्नुस् नि, डिलिट भइसक्यो 🙂 फोन नम्बर र लुरिन नाम गरेको मानिस र उनकी बहिनी भन्ने जेनी गुरुङविरुद्ध उजुरी थियो उनको।
जेनीले आफ्नो घर वसन्तपुर काठमाडौँमा भएको बताएकी रहिछिन्। भूकम्पमा परी घर भत्किएकोले हाल इटहरी बस्छु भनेकी रहिछिन्।
न्युड फोटोहरु मेसेन्जरबाट पठाउँदा दुरुपयोग नहोस् है भनेकी थिइन्। जेनीले पनि हेरेर डिलिट गरिसकेँ भनेकी रहिछिन्।
पछि दाजुसँग कुरा भएछ। दाजुले भिडियो पठाउनु भन्दा नमानेर ब्लक गरेपछि जेनीले किन झगडा गरेको? म तिम्रो फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्काएकी रहिछिन्। पछि ट्विटर, पोर्नहबमा त्यही फोटो अपलोड भएछ।
अनुसन्धान गर्दै जाँदा यो काम राहुल बाल्मिकी नामका एक पुरुषले गरेको र उनकै नममा २०७२ सालमा यस्तै अर्को मुद्दा पनि दायर भएको रहेछ।
तर त्यो मुद्दामा उनले सफाई पाएका रहेछन्।
काठमाडौँ जिल्ला अदालतले म्याद जारी गर्यो तर उनी बेपत्ता।
धन्न त्यही पुरानो मुद्दाको अनुसन्धानको क्रममा मिसिलमा सामेल रहेको बयान कागजको प्रतिलिपिमा बाउको नाम आमाको नाम र घरको ठेगाना खुलेको थियो। मोबाइल नम्बर र इमेल पनि थियो। अदालतले इमेलमा समेत म्याद पठाउन आदेश दियो र ३५ दिने पक्राउ पूर्जी जारी भयो।
त्यसपछि भने उनी पक्राउ परे। अदालतमा उनले इन्कारी बयान दिए। न्युड फोटोबारे थाहा पनि छैन, जेनी गुरुङ र लुरिन गुरुङ चिन्दिनँ भने। मोबाइल पनि सिमसहित हराएको भने। त्यही मोबाइल जसबाट लुरिन नाम भन्नेले कमलालाई फोन गरेका थिए।
तर अदालतले ५० हजार धरौटी मागेरमात्र उनलाई तारिखमा राख्यो।
आइपी बन्यो प्रमाण
अदालतले पोर्नहबमा lalitachau नाम गरेको युजरबाट अपलोड भएको कुरालाई हेर्यो। त्यो युजरको इमेल जिमेलमा थियो। आइएसपी वर्ल्डलिङ्कले त्यो जिमेल चलाउन प्रयोग हुने लगइन आइपी पनि निकालेर दियो। त्यति भएपछि काण्ड पुगिहाल्यो नि।
त्यो आइपी जुन मान्छेको नाममा भएको वर्ल्डलिङ्कका ग्राहकले चलाउँथे, त्यो राहुल बाल्मिकीका बाबुको थियो। अदालतको फैसलामा लेखिएको छ, ‘एकाघरमा भएको Internet प्रयोगको सुविधा यी प्रतिवादीले नै प्रयोग गरेको देखियो। प्रतिवादीले अभियोग कसुर इन्कार गरे तापनि विद्युतीय प्रविधिको प्रयोग गरेको कुरा प्रविधि परिक्षणकै माध्यमबाट पहिचान भई सोही युजर आइ.डी.बाट पीडितको नग्न फोटोहरु सामाजिक सन्जाल Pornhub.com मा अपलोड भएको देखियो।’
यद्यपि, पटके सजायको मागदावी भने पूरा भएन। किनभने अघिल्लो मुद्दामा सफाई पाएको थियो र त्यसलाई उच्च अदालत पाटनले पनि सदर गरेको थियो।
के भयो सजायँ?
राहुल बाल्मिकीले ‘विद्युतीय प्रविधिको प्रयोग गरी पीडितको नग्न फोटोहरु पोर्नहबमा अपलोड गरेको कार्य, कसुरको मात्रा र अभियोग माग दावीसमेतलाई विचार गर्दा यी प्रतिवादीलाई कानूनले तोकेको न्युनतम सजाय गर्दा नै कानूनको मक्सद पूरा हुने देखिन आयो,’ काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले २०७७ फागुन १६ गते गरेको फैसलामा लेखिएको छ, ‘प्रतिवादीबाट पीडितलाई हुन गएको हानी नोक्सानी र प्रतिवादीको आर्थिक अवस्थासमेतलाई विचार गरी प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत भराई दिनु पर्ने देखिन आयो। तसर्थ, प्रतिवादी राहुल वाल्मिकीलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७
(१) बमोजिम रु.२५,०००।- (पच्चिस हजार) जरिवाना हुने र ऐ. दफा ५८(क) वमोजिम रु.२५,०००।- (पच्चिस हजार) प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराउने ठहर्छ।’
यो फैसलाको प्रमाणीकरण अस्ति साउन २० गते भर्खर भएको हो।
सिकौँ पाठ
यो घटनाबाट हामीले अपरिचित व्यक्तिहरुलाई सामाजिक सञ्जालमा फ्रेन्ड बनाउन नहुने पाठ सिक्नुपर्ने हो। अचेल धेरै साथी बनाउन उत्सुक हुन्छौँ हामी फेसबुक लगायतका सामाजिक सञ्जालमा। अपरिचित व्यक्तिलाई बढी विश्वास गरेर निजी र व्यक्तिगत कुराहरु गर्न थाल्दा यस्तोसम्म घटना हुनसक्छ।
अझ अति व्यक्तिगत फोटो र भिडियोहरु त अपरिचित त के विश्वासिलो मानिसलाई समेत इन्टरनेटबाट पठाउन हुन्न। त्यसो गर्दा दुरुपयोग हुने सम्भावना अत्यधिक हुन्छ।
यो केसमा त अपराधीले केही सुराक छाडेको भएर प्रहरीले पत्ता लगाउन सक्यो। नत्र कतिपय केसमा त कसले यस्तो गर्यो नै पत्ता नलाग्न सक्छ। त्यसैले अति व्यक्तिगत कुराहरु नखिचौँ, मोबाइलमा नराखौँ, विश्वासिलालाई समेत नपठाऔँ, अपरिचितलाई त झन् पठाउने कुरै भएन।