छोरी मान्छेको उमेर नसोध्नू, छोरा मान्छेको तलब नसोध्नू भन्ने उखान नेपालमा छ। उहिलेको कुरा हो यो। अहिले आएर हेर्दा छोराहरु पनि उमेर बताउन मान्दैनन्, अचेल छोरीहरु पनि यो उखान चल्या बेलामा जस्तो घरै बसिरहँदैनन्। बाहिर तलब खाने गरी काम पनि गर्छन्। उनीहरु पनि तलब सार्वजनिक गर्न चाहन्नन्।
तर पब्लिक कम्पनीमा जागिर खाएपछि त उखान भनेर बसेर भएन, तलब सार्वजनिक भइहाल्छ। बैँकका सिइओहरुको तलब कति भन्ने कुरा त उनीहरुको वार्षिक प्रतिवेदनमा प्रष्टै खुलाइएको हुन्छ। अहिले वार्षिक प्रतिवेदन निस्किसकेको छैन। तर नबिल बैँकले अहिले बिक्री भइरहेको नबिल डिबेन्चर २०८५ का लागि विवरण पत्रमा सिइओ अनिल शाहको तलब खुलाएको छ। कति खान्छन् त उनले तलब?
विवरण पत्र अनुसार २०७६/७७ को आर्थिक वर्षमा अनिल शाह लगायत तीन जना उच्च पदाधिकारीको तलब यस्तो छ-
अर्थात् यी तीनै जनाले एक वर्षमा १ करोडभन्दा बढी रकम पारिश्रमिकका रुपमा भुक्तानी पाएका रहेछन्।
सिइओ अनिल केशरी शाहले सबैभन्दा बढी १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ पाएका छन्। वर्षमा १२ महिना हुन्छ। अब त्यसलाई १२ ले भाग गर्यो भने महिनामा कति तलब हुन्छ हिसाब आइहाल्छ। देखियो १३ लाख ५२ हजार ८ सय ५८ रुपैयाँ।
वर्षमा ३६५ दिन हुन्छ। उनले वर्षभरी पाएको तलबलाई ३६५ ले भाग गर्दा निस्कन्छ- ४४ हजार ४ सय ७७ रुपैयाँ। अर्थात् उनको दिनको तलब हुन आउँछ त्यति।
अब त्यो भन्दा अघि गएर दिनमा २४ घण्टाको हिसाबले भाग गर्ने हो भने निस्कन्छ १८ सय ५३ रुपैयाँ।
अर्थात् उनले घण्टामा त्यति कमाउँछन्। २४ घण्टामा उनी सुतेको, आराम गरेको, अफिस बाहेकको अरु काम पनि हुन्छन्। ती सब समेटिने गरी निस्केको हिसाब हो यो। अर्थात् कामै नगरे पनि घण्टामा यति रकम उनको पाक्छ।
यो आर्थिक वर्षको रिपोर्ट पनि छिट्टै सार्वजनिक हुनेछ। त्यसपछि अरु बैँकका सिइओसित तुलना गर्न मिल्नेछ। यो लकडाउनको यस्तो विषम परिस्थितिको वर्षमा पनि उच्च पदाधिकारीको खातामा कति रकम चाहिँ ‘आयो पो त’ भयो, हेर्न पाइने नै छ। किनभने पब्लिक कम्पनीको यी कुरा पब्लिक नै गर्न पर्छ।
सम्बन्धित ब्लग
सामान्यतयाः जसको नाममा तलब भत्ता खर्च लेखिन्छ त्यो उसैले पाउने रकम हो भनेर बुझ्नु ठीकै हो। तर बैंकका CEO लाई तलब भत्ता शिर्शकमा दिईने रकम चाहिं निजले मात्रै पाउने रकम होईन। देशकाल परिस्थिति हेरेर बैंकले खर्च गर्नुपर्ने तर कानूनी रुपमा खर्च लेख्न नमिल्ने रकमहरुलाई पनि CEO र उच्च पदाधिकारीको तलब भत्ता नाममा खर्च लेख्ने चलन बैंक तथा बित्तिय संस्थाहरुमा रहेको छ। ठूला संस्थागत निक्षेपकर्तालाई बैंकमा तान्न त्यहाँका पदाधिकारीलाई बैंकले दिने ब्यक्तिगत लाभ, ऋणी संग ऋण असुल गर्न पुलिस प्रशासन चुल्ठे मुन्द्रे आदिमा गरिने खर्च आदि यस्तो गोप्य खर्च मा पर्छन्।