Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुलमानका नाममा मिडियालाई फेरि रिङ्ग्याइयो, यस पटक प्रम देउवाको सचिवालयले गरेछ

Posted on August 4, 2021August 4, 2021 by Salokya

विद्युत प्राधिकरणको एमडीमा चार वर्षको अवधि सकिएपछि सरकारले फेरि उनैलाई नियुक्त गरेको खबर एक वर्षअघि निकै भाइरल भएको थियो। तपाईँले पनि पक्कै पढ्नु भएको होला। लास्टमा त्यो त फेकन्युज पो रहेछ भन्ने पनि थाहा भयो नै होला तपाईँहरुलाई। किनभने सरकारले कुलमानलाई होइन हितेन्द्रेव शाक्यलाई नियुक्त गर्‍यो।

फेकन्युजहरुको चक्रव्यूहले कसरी फुस्सा बनाइयो भन्ने बारे मैले पोहोरै एउटा ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए पढ्नुस्- कुलमान आयो, कुलमान आयो – ‘फेक न्युज’हरुले झुक्याएर ‘फुस्सा’ बनाउने रणनीति? त्यसमा मैले कसरी ऊर्जा मन्त्रालयमार्फत् आफू अनुकूल समाचार प्रवाह गरी मिडियालाई भ्रममा पारियो भन्ने बारे पनि लेखेको थिएँ। त्यतिबेला यस्तो लेख्यो सालोक्यले भनेर रिसाए पनि पछि त रियलाइज गरे होलान् भन्ने आशा गरौँ। आज फेरि झण्डै त्यस्तै स्रोतको समाचारले मिडियालाई रिङ्ग्याउने काम भएको छ। यस पटक त्यो काम प्रम देउवाको सचिवालयले गरेको रहेछ।

आज प्रम सचिवालय स्रोतले भन्दै एउटा सूचना प्रवाह गरियो- ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाललाई निर्देशन दिनु भएको छ।’

थुप्रै अनलाइन मिडियादेखि सोसल मिडियासम्म र कान्तिपुर टेलिभिजन र इकान्तिपुरसम्म पनि यही समाचार आयो।

शिलापत्रमा त त्योभन्दा एक कदम अघि बढेर यस्तो हेडलाइनको समेत समाचार आयो–

हेडलाइन पढ्दा हितेन्द्रदेवसितै अन्तर्वार्ता गरेको जस्तो लाग्छ। तर समाचार पढ्दा थाहा हुन्छ, त्यो त स्रोतले भनेको रहेछ। समाचारमा लेखिएको छ- ‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, ‘तर उहाँ मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो ।’

रमाइलो के भयो भने बिजमान्डुले भने हितेन्द्रदेवको अन्तर्वार्ता नै लिएको रहेछ आजै। त्यसमा मैले चार वर्षका लागि नियुक्त पाएको हो। म राजीनामा दिन्न भन्नुभयो रे नि भनेर सोध्दा उनले भनेका रहेछन्, ‘भन्या छैन त्यस्तो। त्यो बेकारको फाल्तु गफ हो।’

प्रधानमन्त्रीज्यूले राजीनामा दिन भन्नुभएको हो?

हितेन्द्रदेव शाक्य- होइन। त्यस्तो केही भन्नुभएको छैन।

त्यसो भए मन्त्रीज्यूले राजीनामा दिन भन्नुभएको हो त?

हितेन्द्रदेव शाक्य- मन्त्रीज्यूले पनि त्यसो भन्नुभएको होइन। अरु कामहरु के गर्न सकिन्छ भन्ने कुरा गर्नुभएको हो। मैले सरकारले जे निर्णय गर्छ स्वीकार्य भइहाल्छ भनेको हो। त्यो भन्ने कर्मचारीको कर्तब्य हो।

त्यसो भए तपाइँलाई प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूले राजीनामा गर भन्नुभएको होइन?

हितेन्द्रदेव शाक्य- त्यो भन्नुभएको छैन।

तपाइँलाई भन्नुभएको चाँही के हो त?

हितेन्द्रदेव शाक्य- अब अन्यत्र अरु केही कामहरु गर्न सकिन्छ? के छ? त्यो बारेमा सोध्दाखेरि सरकारले जे काम लगाउँछ, त्यो काम गर्न तयार छु भनेको हो।

त्यसो भए तपाइँलाई अन्त कतै जानुहुन्छ भनेर सोध्या हो?

हितेन्द्रदेव शाक्य- त्यो सोधिएको हो। पठाउने हो भने म रेडि छु। तर अब सरकारले पठाउनुपर्‍यो भनेको हो।

तर तपाइँले मैले चार वर्षका लागि नियुक्त पाएको हो। म राजीनामा दिन्न भन्नुभयो रे नि?

हितेन्द्रदेव शाक्य- भन्या छैन त्यस्तो। त्यो बेकारको फाल्तु गफ हो। विस्तृत पढ्नुस् बिजमान्डुमा।

सचिवालयको चलाखी

मिडियामा आएको समाचार हेर्दा प्रधानमन्त्री देउवाले कुलमानलाई नियुक्त गर्न ऊर्जामन्त्रीलाई निर्देशन दिइसकेको जस्तो लाग्छ। कुलमानको सेलिब्रिटी स्टायटस भएकोले त्यसलाई क्यास गर्न यो फन्दा सचिवालयले फालेको बुझिन्छ।

खासमा विद्युत प्राधिकरणको एमडीको नियुक्ति ऊर्जामन्त्रीले गर्ने नै होइन। त्यसो हो भने त उतिबेला केपी ओलीको सरकारमा वर्षमान पुन नै ऊर्जामन्त्री थिए, उनले गरी हाल्थे नि चाहेको भए कुलमानलाई नियुक्त। ऊर्जामन्त्रीले विभागीय मन्त्रीको हिसाबले प्रस्तावसम्म मन्त्रिपरिषद्‍मा लैजाने हो। नियुक्ति मन्त्रिपरिषद्को बैठकले नै गर्नुपर्छ।

फेरि एक जना एमडी हुँदाहुँदै अर्को एमडी कसरी नियुक्त हुन्छ? पहिला बहालवाला एमडीको ठाउँ खाली गराउनु पर्‍यो। त्यसका लागि राजीनामा हुन्छ कि यसअघि मुकेश काफ्लेलाई जस्तो स्पष्टीकरण सोधेर हुन्छ, हटाउनु पर्‍यो। नत्र कानुनी लफडा भइहाल्छ नि। नियुक्तिको लागि कानुनी प्रक्रिया के छन् भन्ने बारे यो ब्लगमा विस्तृत छ, पढ्न क्लिक गर्नुस्। 

नियुक्त गर्न प्रमले निर्देशन दिए भनेर सचिवालयले फुत्त फन्दा फ्याँकिदियो, मिडियाले त्यसैलाई ट्याप्प टिप्यो।

नत्र त सचिवालयका जसले यो खबर मिडियामा सुनाएका थिए, उसलाई कोट गरौँ भनेर सोध्दा किन नगर्नु भन्थे र? साँचो कुरा हो भने कोट गर्न केको आपत्ति। फेरि यो भ्रष्टाचारको वा केही नहुने काम हो र कोटै गर्न नहुने जसले सूचना दिएको हो उसको नाम। राम्रो कुरा हो नि, कुलमानलाई नियुक्त गर्न देउवाले निर्देशन दिएको भए त्यो राम्रो काम होइन र ? अनि राम्रो कामकै समाचारमा कोट गर्न कोही इच्छुक नहुनुको कारण के ?

बुझ्नेलाई यो कुरो गहिरो छ, नबुझ्नेलाई न्युरोडमै पहिरो छ 🙂

स्पष्टीकरणका थप केही शब्द : हिजो राति यो ब्लग लेखेर सुतियो। आज बिहान फेरि पढ्दा अलि पत्रकारहरुले मात्र बुझ्ने खालको लेखियो कि जस्तो लाग्यो। के यो सरकारले कुलमानलाई नियुक्त नगरी हल्लामात्र फिँजाउन खोजेको हो त भन्ने लाग्ला पत्रकारबाहेकलाई। त्यसैले स्पष्टीकरणका केही शब्द लेख्दिइहालौँ भनेर। कुलमानलाई नियुक्त गर्न ओली सरकारकै पालामा प्रचण्डको दबाब थियो। तर ओली पक्ष त्यसका लागि तयार थिएन भन्ने कुरो त्यतिबेला सूर्य थापाको स्टायटसहरुले पनि प्रष्ट पारेकै थिए। (यहाँ छ त्यसबारे पनि केही कुरा) अब अहिले सत्ता गठबन्धनका प्रमुख व्यक्ति प्रचण्ड भएको बेलामा फेरि कुलमान नियुक्त हुनु भनेको अपेक्षित विषय नै हो। तर अहिले नै नियुक्त भइसके जस्तो गरी, क्रेडिट आफूबाट खोसिएला कि भने जस्तो गरी प्रधानमन्त्रीले नियुक्त गर्न ऊर्जामन्त्रीलाई निर्देशन दिएको भनी जुन फन्दा प्रम सचिवालयले फाल्यो र त्यसलाई मिडियाले जसरी टिप्यो, त्यो विषयमा मात्रै यसमा लेखिएको हो। ओलीको पालामा जस्तो सामाजिक सञ्जालले मात्र नियुक्त गर्ने यसपालि हुन्न होला। तर त्यसका लागि कानुनी र प्राविधिक कुरा मिलाउनु पर्‍यो। ओली सरकारले नियुक्त गरेका हितेन्द्रदेवलाई राजीनामा वा सरुवा गरेर ठाउँ खाली राख्नुपर्‍यो, अनि कानुन अनुसार मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्‍यो। कुरो यत्ति मात्र हो। फेरि पनि बुझ्नेलाई यो कुरो गहिरो छ, नबुझ्नेलाई….. 😛

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme