Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

Posted on July 29, 2021 by Salokya

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा ‘सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको र अमेरिकाको फाइजर एन्ड बायोटेक (वास्तविक नाम फाइजर-बायोएनटेक) कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ’ लेखिएको छ।

के साँच्चै नेपालले फाइजरको खोप किन्ने सम्झौता नै गरिसकेको हो? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

समाचारमा के छ ?

किशोरकिशोरी (१२ देखि १८ वर्ष उमेर समूह) का लागि एक करोड डोज खोप आवश्यक भएकोमा ६० लाख खोप खरिद गर्न फाइजर बायोएनटेक कम्पनीसँग सम्झौता भएको र नपुग ४० लाख डोज भने कोभ्याक्स सुविधा अन्तर्गत ल्याउने तयारी भएको समाचारमा उल्लेख छ।

समाचारको शीर्षकले नै ‘ ‘किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता’ भइसकेको बुझाउँछ भने स्वास्थ्य सचिव लक्ष्मण अर्यालको भनाई (कोट)ले यसको पुष्टि गराइएको छ। अर्याललाई समाचारमा उद्‍धृत गरिएको छ- ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो।’

समाचारको लिडलाइन र त्यसपछिका तीन अनुच्छेद यस्तो छ-

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ ।

किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख भने कोभ्याक्सको समन्वयमा ल्याउने तयारी भएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए । ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो,’ उनले भने, ‘थप ४० लाख डोज भने कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ ।’

खोप आउन ६ देखि ९ महिना लाग्ने देखिएको छ । सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ ।

फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको छ । यसको अधिकार स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । खरिद सम्झौतामा अर्थ मन्त्रालय समेत सहमत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप खरिद गर्न हैन, खोप खरिद गर्नुअघिका सम्झौता भएका हुन् : सचिव

संसदको शिक्षा तथा स्वास्थ्य समितिको साउन ११ गतेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षभन्दा माथिकालाई समेत खोप दिने गरी सरकारले तयारी थालेको विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीलगायत उपस्थित थिए।

फाइजरसँग खोप खरिद गर्ने नै सम्झौता भइसकेको हो भनेर नेपालफ्याक्टचेकले सचिव अर्याललाई सोध्दा उनले खोप खरिद गर्ने सम्झौता नभई खरिद गर्नुअघिका सम्झौता भएको प्रष्ट पारे।

उनका अनुसार ‘खोप खरिद गर्नुभन्दा अगाडि तीन खालका सम्झौता हुनुपर्ने रहेछ।’

एउटा, खोप खरिद गर्ने सम्बन्धमा कन्फिडेन्सियल एग्रिमेन्ट (कतिमा खरिद गरेको आदि जानकारी दिन नपाइने सम्झौता)।

दोस्रो,  खोप खरिद गर्नका लागि फाइनान्सियल  इन्भेस्टमेन्ट (आर्थिक लगानी) गर्ने (जस्तै वर्ल्ड ब्याङ्क, एडिबी) सँग एग्रिमेन्ट

अर्यालले भने, ‘यी दुई वटा सम्झौताको काम हामीले सक्यौँ, खरिद सम्झौताको काम बाँकी छ।’

उनका अनुसार अब फाइजरको उत्पादकसँग बसेर खोप कति दिने, कति मूल्यमा दिने, आयात गर्दाको पूर्वाधार कसरी मिलाउने आदि कुरा टुङ्ग्याउने गरी सहमति हुन बाँकी छ।

कान्तिपुरको समाचारमा भने ‘विश्व बैँकसँग ऋण सम्झौताको तयारी भइरहेको’  तर फाइजरसँग खोप खरिद गर्ने सम्झौता भने भइसकेको उल्लेख छ।

@salokyaa

कान्तिपुरको समाचारको तथ्य जाँच। स्वास्थ्य सचिव लक्ष्मण अर्यालको आवाज। ##NepalFactCheck ##Kantipur

♬ original sound Umesh Shrestha

फाइजर के भन्छ ?

फाइजरसँग नेपाल सरकारले खोप खरिद गर्ने सम्झौता भइसकेको भनी आएको समाचारका सम्बन्धमा फाइजर कम्पनीलाई पनि सोधेका थियौँ। फाइजरको एसिया प्यासेफिक मिडिया रिलेसन्सका सिनियर डाइरेक्टर त्रुप्टी दीपक वाघले नेपालफ्याक्टचेकको इमेलको जवाफ दिँदै ‘नेपाल सरकारसँग हाल छलफल भइरहेको’ मात्र बताइन्। अहिलेको अवस्थामा थप प्रतिक्रिया उपलब्ध गराउन आफूहरु असमर्थ रहेको उनले बताइन्। यसले खोप खरिद गर्न सम्झौता भइसकेको नभई यो छलफल कै चरणमा रहेको स्पष्ट संकेत दिन्छ।

तथ्य जाँच

दावी :  अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न नेपाल सरकारले सम्झौता गरिसकेको छ। ६० लाख खोप खरिद गर्न एग्रिमेन्ट भइसक्यो।

तथ्य : भ्रामक सूचना। फाइजर-बायोएनटेक कम्पनीसँग खोप खरिद गर्ने सम्झौता नेपाल सरकारले गरिसकेको छैन। तर स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार खरिद गर्नुअघिका दुई वटा सम्झौता भइसकेका छन्। उनका अनुसार खोप खरिद गर्ने सम्झौता भने हुन बाँकी छ। समाचार पढ्दा खोप नै खरिद गर्ने सम्झौता भइसकेको जस्तो भ्रम पर्न जान्छ। फाइजर कम्पनीले पनि नेपाल सरकारसँग खोप खरिद बारे ‘छलफल भइरहेको’ मात्र बताएको छ। तसर्थ कान्तिपुरको समाचार शीर्षक र विवरण भ्रामक देखिन्छ।

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज : अथवा माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

2 thoughts on “के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?”

  1. Kp sharma says:
    July 31, 2021 at 11:36 am

    Deepak shahi ko barema ni fact check garnu na sir!

    Reply
    1. Salokya says:
      August 1, 2021 at 1:37 am

      दीपक शाही भन्ने को आयो फेरि नयाँ ? यता होइन माथि दिइएका विभिन्न विकल्पमध्ये एउटामा तपाईँलाई शंका लागेको विषयको लिङ्कसहित पठाउनुस् न।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme