Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले फैलायो विजय शाहीको मृत्युको ‘फेक न्युज’ ?

Posted on July 28, 2021July 28, 2021 by Salokya

मंगलबार एकाएक सामाजिक सञ्जालमा एउटा विषय निकै चर्चामा आयो – विजय शाहीको मृत्यु। उनको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भयो। सबैभन्दा पहिला युट्युबर भाग्य न्यौपानेले अद्‍भूत स्मरण शक्ति रहेको दावी गरेर चर्चामा ल्याएका उनी पछि राष्ट्रिय टेलिभिजनमा ऋषि धमलाको शोमा सम्म छाए। कर्णाली सरकारले पुरस्कारको घोषणा गर्‍यो। उनका दावीहरुको परीक्षणसम्म पनि नगरी उनलाई वाहवाह गरियो। केही समयअघिदेखि भने उनी हाँसोका पात्र बनाइएका थिए। उनका दावीहरु कसरी गलत छन् भनेर अमेरिकी नागरिक नेल्सन डेलिसले बनाएको भिडियो युट्युबमा आएपछि उनका अनेक मिमहरु बनेका थिए। यही क्रममा अचानक उनको मृत्यु भएको भन्दै फोटोसहितका पोस्ट सोसल मिडियामा भाइरल बनाइयो।


विजय शाहीको निधन भएको भन्दै हार्दिक श्रद्धाञ्जलिसमेत लेखिएको पोस्ट उनका शिक्षक दीपकबहादुर शाहीले पहिलो पटक फेसबुकमा राखेका थिए। फोटोमा विजय शाही जस्तो देखिने व्यक्ति नाकमा कपास कोचेको अवस्थामा देखिन्थ्यो।

दीपक उनै व्यक्ति हुन् जो विजयका अङ्ग्रेजी शिक्षक भन्दै युट्युबमा चर्चित कार्यक्रम इन्द्रेणीमा बोलेका थिए। उनले विजयको अङ्ग्रेजी राम्रो थियो भनेको भिडियो पनि यतिबेला भाइरल बनाइएको छ। दीपकले राखेको पोस्टपछि नै धेरैले त्यही फोटोसहित मृत्युको बारेमा सामाजिक सञ्जालमा लेखेका थिए।

भाइरल भइसकेको यो पोस्ट तर दीपकले केही समयपछि हटाए। किन हटाए भनेर पनि उनले लेखेका छैनन्। उनकै पछि पछि लाग्दै विभिन्न फेसबुक पेजहरुले उनको मृत्यु भएको ‘कन्फर्म’ लेख्दै हाले-

एनईबी रिजल्ट नामको फेसबुक पेजमा देखिएको पोस्ट।

कर्णाली न्युज टिभी नामको फेसबुक पेजमा राखिएको पोस्ट।

फेसबुक पेजहरुमात्र होइन,  आफूलाई फेसबुकमा पत्रकारका रुपमा चिनाएका अभिनन्दन बस्नेतले पनि ‘हार्दिक श्रद्धाञ्जलि मित्र’ भन्दै विजय शाहीका फोटोहरु राख्दै उनको मृत्यु भएको बारेमा लेखे।

तर पछि उनले पनि यो पोस्ट डिलिट गरेका छन्। र, अर्को पोस्टमा ‘गलत जस्तो लाग्यो’ लेख्दै गलत प्रचार गर्नेलाई कारबाहीको माग गरेका छन्। उनले पनि दीपकबहादुर शाहीलाई दोष पन्छाएका छन्।

सामाजिक सञ्जालमा दीपकबहादुर शाहीले नै फेसबुक मेसेन्जरमा पठाएको जस्तो देखिने एउटा च्याट स्क्रिनसट पनि भेटिएको छ जसमा उनले विजयको मृत्यु भएको भन्दै  विभिन्न कोणका चार वटा फोटो राखेको देखिएको छ।

 

त्यसैगरी फेसबुकमा विमला विकिरण नाममा लेखिएको कुरा त झन् अजिबकै छ। विजय शाहीको मृत्यु होइन, आत्मा चैँ टाढा गएको रे, शरीर सकुशल रहेको रे, भोलि बिहान दोस्रो जन्म हुने रे, अनि प्रहरीले मुचुल्का गरिरहेको दावीसहितको पोस्ट गरिएको थियो। पछि त्यो पोस्टलाई एडिट गरी ‘उसैले जे जे भन्यो त्यही लेखेको हो। यो बनाएर लेखिएको होइन’ लेखिएको थियो।

तर केही समयपछि यो पोस्ट पनि डिलिट गर्दै अर्कै स्टाटस लेखेकी छिन्-

सुरुमा उसैले जे जे भन्यो त्यही लेखेको लेख्ने विमलाले पछि भने विजय शाहीले मृत्युको नाटक गरेर गम्भीर अपराध गरेको पो दावी गरे त।

विजय शाही घरमै

सामाजिक सञ्जालमा उनको मृत्युको खबर फैलिएको केही समयपछि  नै अनलाइन मिडियाले यसबारे प्रहरीलाई उद‍्‍धृत गर्दै समाचार दिएका छन्। अनलाइनखबरले कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहलाई उद्‍धृत गर्दै विजय शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको उल्लेख गरेको छ। शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको अनलाइनखबर लेख्छ।

मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए शीर्षकमा नेपालप्रेसमा प्रकाशित समाचारमा पनि डिएसपी शाहलाई उद्‍धृत गर्दै मृत्युको हल्ला झुटो भएको उल्लेख छ। सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेकाे जानकारी दिँदै शाहले भनेका छन्, ‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्युको हल्ला झूटो रहेछ।’

त्यसैगरी रातोपाटीमा पनि डिएसपी शाहलाई उद्‍धृत गर्दै विजय शाहीले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताएको उल्लेख गरेको समाचार प्रकाशित गरेको छ।

प्रमुख अनलाइन मिडियाहरुमा आएको कालिकोटका प्रहरी प्रमुख डिएसपी शाहको भनाई र सुरुमा यो खबर फेसबुकमा राख्नेहरुले नै पछि हटाएका कारण उनको मृत्युको खबर मिथ्या रहेको देखिन्छ। विजय शाहीका निकटका मान्छेहरुले नै यो मिथ्या कुरा फैलाएको र मृत्यु भएको जस्तो गरी नाकमा कपास कोचेर उनको फोटो राखिएकोले उनको पनि यसमा मिलेमतोको शंका गर्न सकिन्छ। उक्त फोटो कुन प्रयोजनले कहिले खिचेको भन्ने कुरा पनि प्रष्ट भएको छैन। ‘डिभाइन पावर’ को गफ नेल्सनलाई दिए जस्तै र विमलाले लेखे जस्तै आत्माको दोस्रो जन्मको फन्दा गर्न त कतै यो कुरा फैलाइएको होइन?

यो बारेमा नेपाल फ्याक्ट चेकको तथ्य जाँच पढ्न यहाँ क्लिक गर्नुस्।

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज : अथवा माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme