Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मला प्रकरण : अब दोषी पक्रन किन ढिलाइ? ‘ड्याडी, मारेँ’ भन्दै फोन गरेको सुन्ने, रुम नम्बर नै थाहा पाउने प्रत्यक्षदर्शीहरु रहेछन्

Posted on July 25, 2021July 27, 2021 by Salokya

आज साउन १० गते। कञ्चनपुरकी बालिका निर्मला पन्तलाई सम्झने दिन। मिडियामा ‍‍औपचारिक समाचारहरु प्रशस्त आएका छन्। यो विषयमा पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala शृङ्खलामा मा ३० वटा र पहिलोपोस्ट छाडेपछि माइसंसारमा अनेक ब्लगहरु लेखियो। अझ विस्तृत पुस्तकमा लेख्ने तयारीमा छु। त्यसैले आजको दिन यो विषयमा खासै केही लेख्ने जाँगर चलेको थिएन। तर समाचार र सोसल मिडिया हेर्दा यो एउटा कुरा भने लेख्‍नबाट रोक्न सकिनँ।

#WhoKilledNirmala का शृङ्खलाहरु पढ्नुभएको छ भने तपाईँहरुलाई थाहा हुनुपर्ने हो यो केस रेको भरमा चलेका हल्ला र आशंकाले कति बिगार्‍यो। त्यस्तै एउटा हल्ला थियो- तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोराबारे।

यो एउटा भिडियो हेर्नुस्। धेरै अगाडिको होइन, २०७७ माघ ३ गते धनगढीमा आयोजित कार्यक्रम हो यो। यसमा बोल्ने व्यक्ति नेपाली कांग्रेसका नेता हुन्। कैलालीका जिल्ला उपसभापति प्रकाश बम।

उनले भिडियोमा भनेका छन्- तपाईँहरु सबले के भन्नुभो निर्मला हत्याकाण्ड पत्ता लगाउन सकेन यो सरकारले। म त के भन्छु भने नेपालमा अपराध पत्ता लगाएको सबभन्दा पहिलो केस त्यही हो। अपराध भएको पाँच मिनेटमा फोन भएको छ काठमाडौँमा गृहमन्त्रालयमा गृहमन्त्री ज्युलाई- ‘ड्याडी, म कञ्चनपुर घुम्न आएको थिएँ, मनोरञ्जनका क्रममा यस्तो घटना घट्यो। मैले एउटा बलात…बालिकालाई मार्नुपर्ने अवस्था आयो। तुरुन्तै वहाँबाट खबर आउँछ, मैले १७ हजार मानिस मारेको मान्छे, गृहमन्त्रीको सिटमा आसिन छु। एउटा मान्छे मारेर तँ डराउँछस्? अर्को फोन जान्छ, एसपी साबलाई कञ्चनपुर….’

तीन वर्षदेखि ठोस प्रमाण नपाएर रुमल्लिरहेको प्रहरीलाई यो त ठूलो अकाट्य प्रमाण होइन र भन्या। उतिबेला त सत्ताको पावर थियो बादल र बादलका छोराको। अहिले त बादलमात्र किन बादल प्रवेश गरेको एमाले पार्टी नै सत्ताच्युत भइसकेको छ। यो भाषण गर्ने कै पार्टीका सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन्। कांग्रेसकै बालकृष्ण खाँण गृहमन्त्रीको पदमा आसिन छन्। अब तत्कालीन गृहमन्त्रीको छोरालाई पक्रेर अनुसन्धान गर्न केले छेकेको छ? केले रोकेको छ?

के बादलका छोराले त्यतिबेला ह्यान्डस फ्रीमा राखेर फोन गरेका थिए आफ्ना बाबुलाई? नत्र ड्याडी, मैले बालिकालाई मारेँ भनेको र बादलले मैले १७ हजार मान्छे मारेर त गृहमन्त्री भएँ , तँ एउटा मान्छे मारेर डराउँछस् भनेको कसरी सुने होला त।

यो कसरी भन्ने तिर नजाउँ, उनले सुनेकै होलान् र त त्यसरी सार्वजनिक रुपमा भाषण गरे। त्यतिबेला नेकपा र पछि एमालेको सरकार भएकोले यो विषयमा छानबिन गर्न नसकिएको भए अब त सरकार परिवर्तन भइसक्यो। अब त उनले गरेको भाषणका आधारमा उनीसँग भएका प्रमाण खोतलेर यो प्रकरणलाई टुङ्गोमा पुर्‍याएर निर्मलाको परिवारलाई न्याय दिने बेला भएन र?

प्रमाण बिना हल्लाको भरमा त्यसरी सार्वजनिक भाषण त गरेनन् होला, कि कसो? खै कुनै पत्रकारले वा युट्युबरले उनलाई यो बारे सोधेको देखिएन। प्रहरीले पनि खाली प्रमाण खोज्दैछौँ खोज्दैछौँ भनिरह्यो। यत्रो खुलासा सार्वजनिक रुपमा गर्नेसित के आधारमा यस्तो भाषण गरे, प्रमाण के रहेछ भनेर कहिल्यै सोधपूछ गरेको देखिएन। राजनीतिक फाइदाका लागि बोलेको भए अब त सरकारमा गइसक्यो पार्टी, अब के भन्ने त ?

‘रुम नम्बर नै थाहा छ’

यी महिलाको नाम हो शारदा चन्द। नेपालपुकार नामको युट्युब च्यानलमा छ महिनाअघि अपलोड भएको यो भिडियोमा उनले ‘हामीसँग प्रमाण छ’ भन्दै घटना यसरी यसरी भएको भनेर नालिबेली लगाएकी छिन्। उनी नेपाली कांग्रेसकै हुन्। आफूलाई अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाही कञ्चनपुर पुगेको बेला खिचिएको भिडियोमा उनले ओपेरा होटलको रुम नम्बर ३३६ मा शक्तिशाली व्यक्तिका छोराहरुबाट रेप भएको किटानी गरेकी छिन्।

प्रमाण छ भनेर यसरी सार्वजनिक रुपमा बताएको यत्तिकै त होइन होला। त्यतिबेला त्यही शक्तिशालीहरुकै सरकार भएको कारण नभएको होला राम्रोसित छानबिन। अब त उनकै पार्टीको सरकार बनेको छ। अब त आफूसित भएको प्रमाण प्रहरीलाई दिएर, अनुसन्धानमा सघाएर यो केस टुङ्गोमा पुर्‍याउन पर्‍यो नि। तत्कालीन प्रधानमन्त्री हटिसके, तत्कालीन गृहमन्त्री हटिसके। अब त केही रोकटोक हुनु नपर्ने।

ओपेरामा रुम नम्बर ३३६ छ कि छैन भनेर मैले खोज्दा ३०१ देखि ३१७ नम्बरसम्म मात्र रहेछ।

टिकटकमा यो भिडियो हेर्न यहाँ क्लिक गर्नुस्–

@salokyaaनिर्मला प्रकरणमा अझै पनि हल्ला फैलाइँदै। ओपेरा होटलमा ३३६ रुम नम्बर नै छैन

♬ original sound Umesh Shrestha

सम्बन्धित सामग्रीहरु

निर्मला प्रकरण : कहाँ चुक्यौँ हामी ?

माइसंसारमा निर्मला प्रकरणबारे ब्लगहरु

7 thoughts on “निर्मला प्रकरण : अब दोषी पक्रन किन ढिलाइ? ‘ड्याडी, मारेँ’ भन्दै फोन गरेको सुन्ने, रुम नम्बर नै थाहा पाउने प्रत्यक्षदर्शीहरु रहेछन्”

  1. Pingback: सन् २०२१ मा सबैभन्दा बढी पढिएका १० ब्लग, तपाईँले कुनै छुटाउनु त भएन? – MySansar
  2. Manoj Khanal says:
    August 3, 2021 at 3:53 am

    I have shame for poor boys, you guys are looking for justice in Nepal ? I have to say sorry ! first and please take a look in museum since long time. Ethics, Honesty, Accountability also are there.

    Reply
  3. सन्तोष says:
    July 25, 2021 at 8:36 pm

    त्यही त समस्या भयो नि। युट्युबेहरु खेम भण्डारीकै शैलीमा कहानी तोडमोड गर्न सक्रिय छन् । यहाँ प्रस्तुत २ बिषय पनि मिथ्या हुन् भन्ने कुरा तपाईंले लेखमानै ईङ्गित गरिसक्नुभयो । तर हेडलाईन भने साँच्चैको प्रमाण भेटिएको जस्तो लेख्नुभयो ।
    उक्त घटनामा गृहमन्त्री, मेयर जोडिएको पनि खेम भण्डारीकै भनाईको आधारमा थियो भनेर पनि #WhoKilledNirmala नै पढेजस्तो लाग्छ । अनि आफैंले त्यति मेहनत गरी उजागर गरेको कुरा यहाँ उल्लेख गर्नसमेत उपयुक्त देख्नुभएन र ति ‘काँग्रेस नेता’ को भाषणअनुसारकै हेडलाईन बनाउनुभयो ।

    Reply
    1. Salokya says:
      July 25, 2021 at 8:55 pm

      लेखेका सबै कुरालाई लिङ्क गरेकै छु। पटक पटक लेखेकै हो। अब ती सब कुरा होइन भन्ने लाग्छ भने तत्कालीन गृहमन्त्रीकै छोरालाई पक्रेर अनुसन्धान गरे हुन्छ नि भन्ने कुरो हो मेरो।

      Reply
  4. सन्तोष says:
    July 25, 2021 at 4:07 pm

    दु:ख लाग्छ आजकल उमेश जी ले पनि यस्तो द्विअर्थी हेडलाईन राखेर ब्लग लेखेको देख्दा । अब ब्लग छाडेर युट्युबमै ब्यापार गरे हुन्छ आखिर ट्रेन्डिङ युट्युबेहरु र उमेश जी मा के अन्तर रह्यो र !
    हेडलाईन एकाथरी गुदी अर्कै ।
    अझ विश्मयको कुरो त उहाँ आफैंले स्थलगत रिपोर्टिङ गरेर त्यस्तो मेहनत गरेर हामीलाई वास्तबिकता सु-सुचित गराएको आज आएर ति सबै ब्यर्थ साबित हुनेगरी आफैंले यो लेखिरहनुभएको छ ।

    Reply
    1. Salokya says:
      July 25, 2021 at 7:18 pm

      कसरी द्विअर्थी भो ? सीधा एउटा अर्थ लाग्ने हेडलाइन छ। ड्याडी भनेर गृहमन्त्रीको छोराले गृहमन्त्रीलाई फोन गरेको नै सुने जस्तो गरी तत्कालीन प्रतिपक्षी कांग्रेसका नेताले सार्वजनिक भाषण गरेको भिडियो नै राखेको छु। त्यसरी फोन गरेको नै सुनेको भए त प्रमाण उपलब्ध गराएर प्रहरीलाई छानबिन सहयोग गरे भो नि। अनि रुम नम्बर नै तोकेर फलानो रुममा बलात्कार गरेको हो भनेर युट्युबमा भनेका छन्। यस्ता प्रत्यक्षदर्शीहरु भएपछि र त्यतिबेलाको प्रतिपक्षी सरकारमा आएपछि यो केस छिट्टै समाधान हुन्छ भनेर सीधा अर्थमा राखेको हेडलाइन हो।

      Reply
    2. nepal says:
      July 28, 2021 at 12:47 pm

      bujhera bujh pachayeko ki nabujhejhai gareko pattai payena

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme