Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुजिता भण्डारी प्रकरण : युट्युबरको ठहर ‘रेप एन्ड मर्डर’, अनुसन्धानमा देखियो ‘सुसाइड’

Posted on July 24, 2021July 24, 2021 by Salokya

युट्युबसहितको सामाजिक सञ्जालमा एकदमै चर्चाको विषय बनेको थियो सुजिता भण्डारी प्रकरण। हराएपछि किडन्याप भएकोदेखि शव भेटिएपछिसम्म पनि युट्युबरहरुले अनेक कहानी बुने। रेप एन्ड मर्डर भएको ठहर सामाजिक सञ्जालबाटै गरियो। त्यही भन्दै चर्का नाराबाजी गरेर प्रदर्शन गरियो। शव पोस्टमार्टम गर्न लानसमेत अवरोध गरियो। हुँदाहुँदा कर्फ्युसम्म लगाउनु पर्ने स्थिति आयो। तर प्रहरीले आज सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानको प्रगतिबारे पत्रकार सम्मेलनमा बिल्कुलै फरक कुरा आयो। धेरैका लागि स्तब्ध पार्ने विषय थियो यो। सामाजिक सञ्जालमा गरिएको ठहरभन्दा बिल्कुलै फरक- हाडनातामा प्रेम सम्बन्ध, त्यसबाट उत्पन्न तनाव रहेछ यसको मूल।

असार ११ गते बिहान घरबाट निस्किएकी २३ वर्षीया सुजिता अबेरसम्म घर नफर्किएपछि दिदीले प्रहरीलाई खबर गरेकी थिइन्। त्यही दिन सुजिताले आफै फोन गरी आफू किडन्याप भएको भनेकी रहिछिन्।

तर प्रहरीले किडन्याप भएको बारे कुनै क्लु भेट्टाउन सकेन। किडन्याप गर्नेले फिरौती रकम पनि मागेको देखिएन। किडन्याप भएको मानिस आफैले कसरी फोन गरेको भन्ने प्रश्नको जवाफ पनि आएको थिएन।

प्रहरी अलमलमै रहँदै गर्दा असार २० गते सामुदायिक वनमा एउटा शव भेटियो। त्यो सुजिताकै शव भएको खुल्यो।

हाइवे बन्द गर्दै भएको विरोध प्रदर्शन। फोटो : गोपाल विश्वकर्मा/फेसबुक

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइसक्दा पनि मिडियामा भने यो बारे खासै केही खबर आएको थिएन। प्रहरीले वास्ता गरेन भनेर आलोचना भइरहे पनि खासमा प्रहरीले आफ्नो हिसाबले अनुसन्धान गरिरहेकै थियो। घरपरिवार, नातागोता, साथीभाइहरुसँग सुजिताको बानीव्यहोरा, पृष्ठभूमिबारे सोधपूछ गर्ने काम गरिरहेको थियो। टेक्निकल इन्भेस्टिगेसन टिम समेत खटिएको थियो। सिआइबीबाट पनि अनुसन्धानमा सहयोगका लागि विज्ञ टोली आएको थियो।

सुजिताको मोबाइलमा क-कसको सम्पर्क भएको थियो, उनीहरुसँग सोधपूछ गर्ने, भेरिफाइ गर्ने काम गरियो र उनको घर भएको राप्ती नगरपालिका वरपरका सिसिटिभी फुटेज हेर्‍यो, अनुसन्धानको राडारमा परेका एरियाहरुका होटल र लजहरुमा सोधपूछ गरियो। घटनास्थल वरपरका अपराधिक प्रवृत्तिका मान्छेहरुलाई निगरानीमा राखी सोधपूछ गर्ने, भेरिफाइ गर्ने काम गरियो।

सुजिता केही समय काठमाडौँमा डेरा गरी बसेकी थिइन्। त्यो बारे बुझ्न अनुसन्धान टोली काठमाडौँमा पनि परिचालित भयो।

निर्मला प्रकरणको गल्ती दोहोरिएन

तीन वर्षअघिको निर्मला प्रकरणमा भएको गल्ती यसपालि दोहोरिएन। शव भेटिएको दिन राति अबेर भइसकेकोले घेरा लगाएर रातभर घटनास्थलमा सुरक्षा दिइयो। भोलिपल्ट तालिमप्राप्त कुकुर बागमती प्रदेश प्रहरी कार्यालयबाट मगाइयो, साथमा आए विशेषज्ञ डाक्टरसहितको टोली।

त्यतिबेला घटनास्थलमा माउन्टेन ड्युको बोतलमा विषादी जस्तो देखिने तरल पदार्थ भेटिएको थियो। साथमा मोबाइलको ब्याट्री पनि भेटियो तर मोबाइल चाहिँ त्यतिबेला भेटिएको थिएन।

त्यतिबेला लाशै उठाउन नदिने भनी आन्दोलन भए। त्यो चाहिँ नगरेको भए हुने। लाश त्यसरी अलपत्र पार्दा त झन् भएका प्रमाण पनि लोप हुने डर पो हुन्छ त। बरु राम्रोसित पोस्टमार्टम गर्न पो दबाब दिनुपर्ने।

पोस्टमार्टमका लागि शव काठमाडौँ पठाइयो।

घटनास्थलमा अझै सबुत प्रमाण छन् कि भनेर भोलिपल्ट दोस्रो दिन पनि सर्च गरियो। त्यो ज्यादै उपयोगी ठहर भयो। किनभने त्यही बेला सुजिताले प्रयोग गर्ने मोबाइल भेटियो। त्यसमा आठ जीबीको मेमोरी कार्ड पनि थियो।

यो मेमोरी कार्डलाई डिजिटल फरेन्सिक ल्याबमा पठाउँदा सुजिताले खिचेर डिलिट गरिसकेका त्यस्ता फोटो पनि भेटियो, जसले यो घटनाको अनुसन्धानलाई सघायो।

आफन्त अनुसन्धानको दायरामा

सुजिताको मोबाइलको कल डिटेल रेकर्ड र अनुसन्धानबाट देखिएका विभिन्न क्लुहरुले उनको एक जना व्यक्तिसित विशेष सम्बन्ध रहेको संकेत गर्‍यो। उनी थिए सुजिताकै आफन्त। दाइ नाता पर्ने ** भण्डारी। सुजिताको ठूलो बुबाका छोरा।

‘उनीहरुबीचको सम्बन्ध दाजुबहिनीको मात्र नभई शंकास्पद देखिएको भनी पारिवारिक सदस्यहरुले समेत मौखिक रुपमा चेतावनी दिएको अनुसन्धानमा खुल्यो,’ पत्रकार सम्मेलनमा मुख्य अनुसन्धान अधिकृत इन्द्रबहादुर रानाले दावी गरे।

दाइ र सुजिता काठमाडौँमा गई छुट्टै बस्ने योजना बनाएको, दिदीको घरमा जान्छु भनेर केही समय ती दाइसँग सँगै बसेको, सुजिताले उनलाई बिहे गर्न दबाब दिएको, पारिवारिक नाता पर्ने भएकोले दाइ हच्किएको र यसैमा विवाद भएको अनुसन्धानमा देखिएको छ।

उनीहरुले सम्भव भएसम्म विदेश जाने, सम्भव नभएमा अपहरणको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना समेत बनाएको प्रहरीको दावी छ।

सुजिता हराएको असार ११ गते, त्यसको दुई दिन अघि असार ९ गते उनले बिहे गर्ने प्रस्ताव गरेको तर नमाने पछि विवाद भएको रहेछ, रानाले पत्रकार सम्मेलनमा भने, ‘सुजिताले विवाह नगर्ने भए मर्छु भनेको र उसले जे गर्छस् गर भनेको र त्यसपछि दुई जना बीच (मोबाइलमा) सम्पर्क भएको छैन।’

हत्या हैन ‘आत्महत्या’!

अनुसन्धानमा खुलेका यही तथ्यहरुका आधारमा प्रहरीले सुजिताले आत्महत्या गरेको निश्कर्ष निकालेको छ। यद्यपि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको भिसेराको नतिजा आउन बाँकी छ।

शरीरमा अरु चोट नदेखिएको, नजिकै विषादी भेटिएकोले पनि आत्महत्यातर्फ संकेत गर्छ।

प्रहरीले यही निश्कर्ष सुजिताको परिवारलाई सुनाएपछि सुजिताकी आमाले साउन ६ गते आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छिन्।

पहिले भए आत्महत्याको केसमा आत्महत्या गर्ने नै दोषी हुन्थ्यो। अरुलाई मुद्दा चलाउन पाइँदैन थियो। तर अहिले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्न सकिन्छ। अर्थात्  आत्महत्या गर्न बाध्य पार्ने काम अपराध घोषणा गरिएको छ। जसले आत्महत्या गर्न बाध्य पार्‍यो, उविरुद्ध मुद्दा चल्छ। टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पनि केही अघि यस्तै मुद्दा लागेको थियो जसमा उनले सफाई पाए। अर्थात् आत्महत्या गर्न बाध्य पार्‍यो भनेर मर्नेले नै नाम किटेर भने पनि अदालतले उसको कारणले आत्महत्या गर्न बाध्य हुने परिस्थिति सिर्जना भएको हो कि होइन भनी हेर्छ।

यो केसमा सामाजिक, नैतिक कारणले बिहे गर्दिनँ भनेर इन्कार गर्‍यो भनेर आत्महत्या गरेको भनिएको छ। त्यो आत्महत्या दुरुत्साहन ठहर हुन्छ कि हुँदैन, अदालतमा मुद्दा चलेपछि बल्ल थाहा हुन्छ।

दुई बीचको प्रेम सम्बन्ध भने अनैतिक मात्र हैन गैरकानुनी पनि थियो। मुलुकी अपराध संहिताले हाडनातामा विवाह गरे पनि स्वतः बदर गरिदिन्छ। आफ्नो वंशका सात पुस्तासम्मका नातामा विवाह र  करणी (यौन सम्पर्क) दण्डनीय हुन्छ।

यो घटनाले सिकाएका पाँच पाठ

  • अभिभावक सचेत हुनुपर्‍यो। आफ्ना हुर्केका छोराछोरीको व्यवहार नियाल्नु पर्‍यो। अलिकति ध्यान सन्तानलाई दिएको भए यस्ता सम्बन्धहरु प्रति सन्तान आफै सचेत हुने थिए।
  • अनुसन्धानमा अवरोध होइन, सघाउने र साथमा राम्रो अनुसन्धान गर्न दबाब दिने हो भने सुरुमा जटिल देखिएका केस पनि सुल्झिन्छन्। हल्ला र शंका मात्र गरे के हालत हुन्छ भन्ने कुरा तीन वर्षअघिको निर्मला प्रकरण हाम्रा अगाडि छ।
  • युट्युब लगायत सामाजिक सञ्जालले गरेको ठहर र वास्तविकता फरक हुनसक्छ। यही केसमा प्रहरीको अनुसन्धानले फरक अवस्था देखायो। त्यसैले सामाजिक सञ्जालका दावी, आशंकाहरुलाई नोटिसमा लिउँ, अन्ध रुपमा पत्याइहाल्ने काम नगरौँ। यसमा पनि वास्तविक हत्यारालाई बचाएर दाइलाई फसाएको हो, दाइ सोझो हो भन्दै शंकामात्र गरेको भए के हुन्थ्यो?
  • यस पटक युट्युबको नौटंकीको बारेमा पनि चितवनमा नागरिक सचेत देखिए। अलि राम्रोसित रुनुस् भन्दै सुजिताकी आमालाई इन्टरभ्युमै निर्देशन दिएको विरोधमा  एक युट्युबरलाई उनीहरुले सचेत पनि गराएको सुनियो।
  • युट्युबर र फेसबुकमा क्लिक गरेर डलर कमाउने मुख्य ध्येय रहेको वेबसाइट चलाउने साथीहरुले आफ्नो व्यवहारबाट समाजमा कति नकारात्मक असर पर्न सक्छ भन्ने पनि ध्यान दिनु पर्‍यो। के डलर नै सबैथोक हो त? तपाईँका बिक्ने कन्टेन्टले हल्ला, आशंका र नकारात्मक धारणा फैलिने मात्र नभई निर्मला प्रकरणमा जस्तो कसैको ज्यानै समेत जान सक्छ। यो प्रकरणमा धन्न त्यस्तो भएन तर कर्फ्यु लगाउनु पर्ने स्थिति त भयो नि।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme