कान्तिपुर पब्लिकेशन्ससँगै कान्तिपुर टेलिभिजन नेटवर्क पनि ‘प्राइभेट’ बाट ‘पब्लिक’ कम्पनीमा परिणत भएको छ। कान्तिपुर पब्लिकेशन्सले दुई वटा ब्रोडसिट दैनिक नेपालीमा कान्तिपुर र अङ्ग्रेजीमा काठमान्डु पोस्ट र मासिक नारी म्यागेजिन प्रकाशन गर्दै आएको छ। यसले ट्याब्ल्वाइड ‘साप्ताहिक’ र ‘नेपाल’ म्यागेजिनको प्रकाशन गर्थ्यो तर कोरोना कहरपछि ती बन्द छन्। कान्तिपुर टेलिभिजन नेटवर्कले भने इन्फोटेनमेन्ट च्यानल ‘कान्तिपुर टिभी’ एचडी र १९ मार्च २०२१ देखि सिनेमासम्बन्धी ‘कान्तिपुर सिनेप्लेक्स’ एचडी गरी दुई वटा च्यानल सञ्चालन गर्छ।
कान्तिपुर पब्लिकेशन्स र कान्तिपुर टेलिभिजन नेटवर्क दुवै कम्पनीले प्राइभेटबाट पब्लिकमा परिणत हुन असार अन्तिम साता एकै पटक निवेदन दिएका थिए। दुवैले नयाँ दर्ता नम्बर पनि सँगसँगै पाएका छन्।
कान्तिपुर पब्लिकेशन्सको पब्लिक कम्पनीका रुपमा नयाँ दर्ता नम्बर २६४४९० छ भने कान्तिपुर टेलिभिजन नेटवर्कको नम्बर २६४४८९ छ।
प्राइभेटबाट पब्लिक कम्पनी बनाउन के के गर्नुपर्छ ?
कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटमा राखिएको विवरण अनुसार प्राइभेट कम्पनीलाई पब्लिकमा परिणत गर्न यस्ता कागजपत्र आवश्यक हुन्छन्-
- अनुसूची ६ बमोजिमको यस्तो निवेदन-
- साधारण सभाको निर्णयको प्रतिलिपि ।
- कम्पनीमा कम्तीमा २५ प्रतिशत शेयर पव्लिक कम्पनीले खरिद गरेको कागजात ।
- कम्पनीले कुनै पव्लिक कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर खरिद गरेको कागजात ।
- प्रस्तावित ३ महले प्रवन्धपत्र र नियमावलीको १-१ प्रति ।
- संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
यसमा अरु कागजात त औपचारिकताका लागि भइहाले। दुई वटा शर्त महत्त्वपूर्ण छन्- कम्पनीमा कम्तिमा २५ प्रतिशत शेयर पब्लिक कम्पनीले खरिद गरेको कागजात र कम्पनीले कुनै पब्लिक कम्पनीको कम्तिमा २५ प्रतिशत शेयर खरिद गरेको कागजात।
यो चाहिँ कसरी मिलाए होलान् ?
अपडेट : कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटमा यस्तो विवरण राखिए पनि कम्पनी ऐन, २०६३ को २०७४ सालमा भएको पहिलो संशोधनले २५ प्रतिशत सेयरवाला प्रावधान हटाइसकेको रहेछ। हालको व्यवस्था अनुसार प्राइभेटबाट पब्लिकमा परिणत हुन यति भए पुग्छ-
१३. प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने :
(१) कुनै प्राइभेट कम्पनी देहायका अवस्थामा
यस दफा बमोजिम पब्लिक कम्पनीमा परिणत हुनेछ :–(क) प्राइभेट कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने निर्णय गरेमा,
तर पब्लिक कम्पनी हुनको निमित्त यस ऐन बमोजिम आवश्यक शर्तहरु पुरा नगरेमा प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुन सक्ने छैन ।(२) उपदफा (१) को खण्ड (क) को अवस्थामा सो खण्डमा उल्लिखित निर्णयको प्रतिलिपि संलग्न राखी सम्बन्धित प्राइभेट कम्पनीले पब्लिक कम्पनीमा परिणत हुनको लागि त्यसरी निर्णय भएको मितिले तीस दिनभित्र कार्यालय समक्ष तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिम निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कार्यालय समक्ष निवेदन प्राप्त हुनआएमा सम्बन्धित प्राइभेट कम्पनीले यस ऐन बमोजिम पब्लिक कम्पनीको रुपमा कारोबार सञ्चालन गर्नका लागि आवश्यक
शर्तहरु पुरा गरेको भएमा कम्पनी दर्ता किताबमा त्यस्तो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरेको व्यहोरा जनाई साठी दिनभित्र तोकिए बमोजिम कम्पनी परिणत भएको प्रमाणपत्र दिनु
पर्नेछ।(८) यस दफा बमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएमा त्यसरी परिणत भएको मितिदेखि यस ऐन बमोजिम पब्लिक कम्पनीको सम्बन्धमा लागू हुने व्यवस्थाहरु
त्यस्तो कम्पनीलाई स्वतः लागू भएको मानिनेछ।(९) यस दफा बमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएकोमा त्यसरी परिणत भएको प्राइभेट कम्पनीको सबै सम्पत्ति तथा दायित्वहरु पछिल्लो कम्पनीमा सर्नेछ ।
सात संस्थापक शेयर धनी आवश्यक
त्यसैगरी पब्लिक कम्पनी बन्नलाई कम्तिमा ७ जना संस्थापक शेयरधनीहरु हुनु आवश्यक छ। त्यसो त कुनै पव्लिक लिमिटेड कम्पनी संस्थापक भई अर्को पब्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा ७ जना संस्थापकहरुको आवश्यकता नपर्ने व्यवस्था पनि छ। तर एउटा कम्पनीमा त सात जना संस्थापन चाहिने नै भयो।
सन् १९९३ मा कान्तिपुर पब्लिकेशन्स प्राइभेट लिमिटेड कम्पनी श्याम गोयन्काको पहलमा सुरु भएको थियो। उनलाई हेमराज ज्ञवाली परिवारले साथ दिएको थियो।
तर सुरुमा पत्रिका घाटामा गयो। गोयन्का बाहिरिए। कैलाश सिरोहिया लगानीकर्ताका रुपमा भित्रिए। त्यसपछि ज्ञवाली परिवार र सिरोहिया परिवारको कान्तिपुरमा ५०/५० प्रतिशत सेयर थियो।
ज्ञवाली र सिरोहियाबीच मनमुटाव भएपछि कम्पनीको चल अचल सम्पत्ति र ब्राण्ड भ्यालुसहित एक अर्ब ५० करोड रुपैयाँ मूल्यांकन गरी ७५ करोड रुपैयाँको आफ्नो हिस्सा लिएर विनोदराज ज्ञवाली अलग्गिए र नेपाल रिपब्लिक मिडिया (प्रा)लि मार्फत् नागरिक दैनिक र रिपब्लिका दैनिक प्रकाशन गर्न थाले।
त्यसपछि कान्तिपुर पब्लिकेशन्सको २४.५ प्रतिशत सेयर हिस्सा लिएर क्याप्टेन रामेश्वर थापा नयाँ लगानीकर्ताका रुपमा भित्रिएका थिए। उनी कान्तिपुरमा धेरै समय भने टिकेनन्। फेरि दुई साझेदारबीच मतभिन्नता भयो र आफ्नो सेयर हिस्सावापतको रकम लिएर रामेश्वर थापा पनि बाहिरिए। त्यतिबेला यसको भ्यालुएसन साढे दुई अर्ब गर्दै त्यसको २४.५ प्रतिशत रकम थापाले लगेका थिए। थापाले पछि अन्नपूर्ण पोस्ट दैनिक किनेर आफ्नो व्यवस्थापनमा चलाउन थाले। अहिले थापाको स्वामित्वका एपी वान टिभी र रेडियो पनि छ।
रामेश्वर थापा बाहिरिएपछि कान्तिपुर पब्लिकेशन्सका देखिएका एकल साझेदार कैलाश सिरोहिया मात्रै हुन्। तर पब्लिक कम्पनीमा रुपान्तर गर्दा यसमा सात संस्थापक शेयर धनी हुन आवश्यक छ।
कान्तिपुर टेलिभिजन नेटवर्कमा भने सिरोहियाको एकल स्वामित्व होइन। शेयर स्वामित्वको संरचनाबारे सार्वजनिक रुपमा जानकारी नगराइए पनि यसमा उपेन्द्र महतो, जीवा लामिछाने लगायतका समूहको लगानी छ भनिन्छ।
पब्लिक कम्पनी बनाइसकेपछि भने प्राइभेट कम्पनी जस्तो सबै कुरा गोप्य रहन्न। नेपालको कानुनले पब्लिक कम्पनीको प्रबन्धपत्र, नियमावली, विवरणपत्र, वार्षिक हिसाब र लेखापरीक्षण वा सञ्चालकको प्रतिवेदन वा कम्पनीले कार्यालयमा पेश गरेको कुनै लिखतको प्रतिलिपि जो सुकैले पनि माग गर्न सक्ने व्यवस्था गरेको छ। सम्बन्धित कम्पनीबाट त्यस्ता लिखतहरुको प्रतिलिपि उपलब्ध नगराएमा कार्यालयले तोकिएको दस्तुर लिई आफूसँग रहेको अभिलेखबाट त्यस्तो लिखतहरुको प्रतिलिपि उपलब्ध गराउन सक्ने व्यवस्था छ। थप यो ब्लगमा पढ्नुस्-
नेपालको मिडियामा नौलो अभ्यास : ‘कान्तिपुर’ अब ‘प्राइभेट’बाट ‘पब्लिक लिमिटेड’ कम्पनी
औपचारिक घोषणा हुन बाँकी
कान्तिपुरले आन्तरिक रुपमा आफ्ना कर्मचारीहरुलाई र बाह्य रुपमा एड एजेन्सी लगायतका सरोकारवाला निकायहरुलाई पब्लिक लिमिटेड कम्पनी भएको जानकारी गराइसके पनि आज साउन ८ गतेसम्म यसको औपचारिक सार्वजनिक घोषणा हुन बाँकी छ। कान्तिपुरको आजको पत्रिकाको प्रिन्टलाइनमा पनि प्रा. लि नै छापिएको छ।