मंगलबार काठमाडौँमा अजिबको दृश्य देखियो- बाँदर देखिए सडकमा। बाँदरको मुकुन्डो लगाएका, पछाडि कागजको पूच्छर पनि झुण्ड्याएका। भर्खरै कुर्सी छाडेका केपी ‘बा’को पक्षमा नारा लाउँदै। सत्ताबाट हट्न बाध्य बनाउने प्रचण्ड र माधव नेपाललाई धारे हात लाउँदै। चार हातखुट्टा टेकेर, पूच्छर देखाएर नाच्दै नाराबाजी गरेका उनीहरुको हाउभाउ क्यामेरामा कैद भयो र देशविदेश सबतिर फैलियो।
खासमा ओली ‘बा’ पक्षीय युवा संघले माधव नेपाल पक्षको बाँदरे प्रवृत्ति देखाउनका लागि यो भयङ्कर रचनात्मक आइडिया निकालेका होलान्। तर जसले आइडिया निकाल्यो, उसलाई पछि अनुहार देखाउनै लाज भयो होला। किनभने अरुलाई व्यङ्ग्य गर्न गरिएको त्यो हर्कत ‘बुमर्याङ’ भएर आफैतिर फर्कियो।
युट्युबमा देखिएको बाँदरे जुलुस।
अस्ट्रेलियाका आदिवासीहरुले शिकार खेल्दा प्रयोग गर्ने एक किसिमको हतियार थियो बुमर्याङ। अचेल खेलौनाका रुपमा चलेको छ बुमर्याङ। खासमा यसलाई तपाईँले हुत्याएर फाल्नुभयो भने एकछिन त त्यो टाढा जान्छ, तर पछि फेरि फर्केर आफैतिर आउँछ।
बाँदरे जुलुस पनि यस्तै भयो। अरुलाई होच्याउन गरिएको जुलुस आफैतिर फर्कियो।
सामाजिक सञ्जालमा बिल्ला उडाइयो बाँदरे जुलुसको। आफ्नै व्यवहार देखाए, ठोरीका रामको वानर सेना… आदि के के हो के के व्यङ्ग्यले सामाजिक सञ्जाल कब्जा भयो। समर्थकहरु आक्रामक हैन रक्षात्मक समेत हुन गाह्रो पर्यो।
अझ कोमल ओलीले राष्ट्रिय सभामा वाचन गरेको बाँदर कविता राखेर पनि बाँदरे जुलसका ती दृश्य फैलिए
कविता ठ्याक्कै मिल्ने प्रस्तुति ?? pic.twitter.com/vZbo46Ufau
— अरबिन्द सिंह (@comradearbind) July 20, 2021
किन बुमर्याङ भयो त बाँदरे जुलुस?
युवा संघले यसअघि पुत्ला जलाउने, शव जस्तो बनाएर जलाउने लगायतका प्रदर्शन गरिसकेको छ। ती बुमर्याङ भएनन्। समर्थकहरुको आक्रोशलाई बढाउने, ठीक गरिस् भन्ने खालको उत्तेजनात्मक प्रदर्शन थिए ती। त्यस्तोमा खास प्रहरीले हस्तक्षेप नगरे हुने हो। पुत्ला जलाउने भए जलाउन् न त। माधव नेपाल वा प्रचण्ड वा प्रधान न्यायाधीशको पुत्ला जलाएर उनीहरुको जिउमा पोल्ने होइन क्यारे। आगो सल्किएर जनधनको क्षति नहुने स्थिति छ भने प्रहरीले हस्तक्षेप गरेर खोस्नेे काम किन गर्नु, किन बेकारमा भिडन्त निम्त्याउनु। जलाउन दिउँ न। जलाउँछन्, नारा लाउँछन्, जान्छन्। टायर जलाएर बाटो छेक्ने, सार्वजनिक तथा निजी गाडी वा घर तोडफोड गर्ने काम पो गर्नुभएन। पुत्ला त जलाउन दिनु नि!
पुत्ला र शव जुलुसमा खासै त्यस्ता प्रतिक्रिया आएनन्। तर बाँदर जुलुस त्यस्तो भएन।
अरुलाई बाँदर देखाउन आफै बाँदर बनेका थिए उनीहरु। तर खासमा यिनीहरुको बाँदरे प्रवृत्तिबाट सबै आजित भइसकेका थिए।
झण्डै दुई तिहाई बहुमतसहित ओली सरकारमा आउँदा उनीप्रति धेरै अपेक्षा थियो। उनले पनि धेरै सपना बाँडेका थिए। सुरुमा धेरैले समर्थनै गरेका हुन्। मिडियाले पनि राम्रै साथ दिएको थियो। तर समय बित्दै जाँदा काम कम गफ बढी देखिन थाल्यो।
अघिल्लो पटक सरकारबाट हट्दा केपी ओलीप्रति एक किसिमको समर्थनै थियो। कामै गर्न दिएनन् भन्ने थियो। अहिले त त्यत्रो स्थिर सरकारको म्यान्डेट दिएर पठाएकै हो जनताले। तर त्यस अनुसार काम गर्नु छैन, आ-आफू भिडेर बसे।
अघिल्लोमा काम गर्न दिएनन् भन्ने थियो, अहिले भने विधि र प्रक्रिया मिचेर के केसम्म गर्ने रहेछन् भन्ने प्रष्ट भइसक्यो। गफैमात्र लडाउने रहेछन्, भाषणै मात्र गर्ने रहेछन् भन्ने परिसक्यो। बालुवाटार टु बालकोट स्कर्टिङदेखि सडकमा पछिल्लो समय गरिएका कुनै पनि प्रदर्शन अन्ध समर्थकलाई बाहेक अरुलाई रुचिकर थिएनन्।
बाँदरे जुलुसमा त्यही प्रतिबिम्बित भएको हो। यस्ता वाहियात प्रदर्शनको साटो सरकारले गर्ने प्रत्येक नराम्रा कामको खबरदारी गर्दै अघि बढे जनसमर्थन बढाउँदै लग्न सकिन्छ।
कांग्रेस नालायक प्रतिपक्षी थियो। अब ‘बा’ वाला एमाले सशक्त प्रतिपक्षी भएर जनताको आवाज मुखरित गर्दै हिँडे पो अर्को चुनावमा राम्रो हुन्छ त। यस्तै बाँदरे आइडिया निकालेर सडकमा उफ्रँदै हिँड्यो भने त….
हिँड्नुस्…. हामीलाई रमाइलै हुन्छ 🙂
(चार हातखुट्टा टेक्दै, पूच्छर देखाउँदै उफ्रँदै प्रदर्शन गरिरहेको कभर फोटो साभार : समर्थ रन्जित)
अरिङ्गल त हुन नै, अब वाँदरे पनि भए| अति उपयुक्त|
ऊखाने तुक्केलाई यो पनि सुनाऔ:
-वाँदरले आफ्नो घर पनि बनाउदैन, अरुलाई पनि बनाउन दिंदैन|
-वाँदरको हातमा नरिवल|
तर लास बोकेको चै फिटिक्कै मिलेन है| संस्कार, संस्क्रिती र सभ्यताको पनि ख्याल गर्नपर्ने थियो|
बुमेर्याङ हुन्छ|
तलब खाने पार्टिका कार्यकर्ता भएपछी यस्तै हरकत गर्ने हुन| बाँदर सेना र साईबार सेना नायकेले घरको वार्दलीमा उभिएर गीत रच्दा हुन–
टालटुली, बाटुली, कति राम्री पुतली, सरकारको ढुकुटी खोतली, खायौं खाजा
करोडौको वालुवाटारमा धाँधली|