‘पेड इन्टरभ्यु’ अर्थात् पैसा तिरेर आफूले मन लागेको कुरा राखेर अन्तर्वार्ता मिडियामा छाप्नु वा प्रसारण गर्नुलाई पत्रकारितामा नैतिकताबाट गम्भीर विचलन भएको मानिन्छ। तर यस्तो काम नेपालमा भइरहेकै हुन्छ, खुल्लमखुल्ला नभए पनि।
तर राष्ट्रिय मिडियाको फ्रन्टपेजमै पैसा तिरेर अन्तर्वार्ताको ठाउँ पाउनु भनेको चाहिँ अलि अनौठो नै जस्तो लाग्थ्यो। अब त्यो पनि नहुने भो। यदि तपाईँसँग पैसा छ भने अब ‘नागरिक’ राष्ट्रिय दैनिकको फ्रन्टपेजमा अन्तर्वार्ता छाप्न पाइने भएछ।
नागरिक दैनिकको २०७८ साउन ५ गते मंगलबारको अङ्कको फ्रन्टपेजमा अनलाइन सपिङ पोर्टल दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिड्गको चार कोलमको अन्तर्वार्ता छापिएको छ।
यसको हाइलाइट, ब्रेकर, प्रश्न र फोटो हेर्दा यो अन्तर्वार्ता नागरिक दैनिककै पत्रकारले लिएको र सम्पादकीय चरण पार गरेर छापेको जस्तो देखिन्छ।
तर वास्तवमा त्यसो होइन। अन्तर्वार्ताको पुछारमा अरुले देख्ला झैँ गरेर बिरालोले के जाति लुकाए जस्तै गरी सानो अक्षरमा advt. लेखिएको छ। सामान्य पाठकलाई त थाहा पनि हुन्न क्या हो त्यो भन्या !
त्यो खासमा advertisement अर्थात् विज्ञापनको संक्षिप्त रुप हो।
अर्थात् पैसा तिरेर पत्रिकाको ठाउँ किनेर आफूले मन लागेको कुरा हालेको हो। विज्ञापनका रुपमा विज्ञापन भएको भए त हुन्थ्यो। तर यसको नियत खराब छ। यसले समाचार सामग्री (अन्तर्वार्ता) का रुपमा झुक्याउन खोजेको छ।
यसरी समाचार हो कि झैँ गरी झुक्याउने गरी विज्ञापन छाप्न पाइन्न। विश्वभर यस्तो अभ्यासलाई अनैतिक मानिन्छ। नेपालमा पनि पत्रकार आचार संहितामा यस्तो गर्न नपाइने भनिएको छ।
पत्रकार आचार संहिता, २०७३ को ‘पत्रकार र सञ्चारमाध्यमको कर्तव्य’ मा भ्रम वा संशय नहुने गरी समाचार र विज्ञापनबीच स्पष्ट अन्तर हुने गरी सम्प्रेषण गर्नु पर्ने उल्लेख छ-
(७) समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नु, गराउनुपर्दछ ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्दछ ।
भन्नलाई त advt लेखेकै छ भनेर तर्क गर्न पाइयो। तर विज्ञापन भनेर स्पष्ट रुपमा नलेखी यसले सामान्य पाठकलाई भ्रम पार्नै खोजेको देखिन्छ।
पछिल्लो समय यसरी समाचारका रुपमा विज्ञापन छाप्ने क्रम बढ्दो छ। यसअघि कोरोना भगाउने यन्त्र भन्दै नयाँ पत्रिका र कान्तिपुरमा यस्तो विज्ञापन छापिएको थियो। त्यसबारे लेखिएको ब्लग यहाँ क्लिक गरी पढ्नुस्। दुई पत्रिकाले त धन्न विज्ञापनसम्म लेखेका छन् तर रातोपाटी अनलाइनमा पुग्दासम्म त त्यो पनि गायब भएको छ। हेर्नुस् रातोपाटीको कोरोना गार्डबारे प्रायोजित भ्रम फैलाउने समाचार।
कोरोनाले हानेपछि आर्थिक अवस्था डामाडोल भएका कारण जस्तो विज्ञापन आयो त्यस्तै छाप्न मिडिया बाध्य भएको हो कि? यदि यस्तो हो भने पनि सम्पादकीय नेतृत्वले त्यसलाई रोक्ने हैसियत राख्नुपर्थ्यो- कुन विज्ञापन हो र कुन समाचार सामग्री स्पष्ट रुपमा पाठकले थाहा पाउने गरी छुट्टिने हुनुपर्छ भन्ने अडान राख्नुपर्थ्यो। पछिल्लो समय समाचार झैँ देखिने गरी विज्ञापन छाप्ने यो ट्रेन्ड अब रोकियोस्।
हर्सत मेहेताको आईडिया चोरेछ ।