Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली राजनीतिमा आइतबारका ६ ‘सरप्राइज’

Posted on July 19, 2021 by Salokya

२०७८ साउन ३ गते आइतबार नेपालको राजनीतिमा केही ‘सरप्राइज’ भए। खासमा यो दिन सर्वोच्चको परमादेशले ब्युँतिएको प्रतिनिधि सभाको पहिलो बैठक बस्ने मात्रै पूर्व निर्धारित कार्यक्रम थियो। तर दिन बित्दै जाँदा एकपछि अर्को सरप्राइज पायौँ हामीले।

सरप्राइज नम्बर १ : विश्वासको मत आजै

विश्वासको मत लिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नियुक्त भएको मितिले ३० दिनको समय थियो। धेरैलाई लागेको थियो, उनले हतार गर्दैनन्। तर उनले प्रतिनिधि सभाको अधिवेशन सुरु भएर पहिलो बैठक बस्ने दिन नै विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता गराए। यो सरप्राइज नै थियो। ओलीका पालामा प्रतिनिधि सभा भंगदेखि अरु धेरै निर्णयहरु भइसकेपछि मात्र थाहा पाइन्थ्यो। देउवाको पालामा त्यस्तै भयो। असाध्यै गोप्य राखिएको यो रणनीति प्रस्ताव दर्ता भइसकेपछि बल्ल मिडियामा आयो।

नेताहरु नै यसबारे जानकार नभएको कुरा त काठमाडौँ बाहिर रहेका सांसद गगन थापा हतार हतार हेलिकप्टर चढेर काठमाडौँ आएको खबरले प्रष्ट हुन्छ।

बिचरा सत्ताबाट बाहिरिएको एमालेले थप रणनीति खेल्नै पाएन। एमाले विभाजनका लागि आजै विश्वासको मत लिन खोजियो भन्ने भनाईसमेत एमाले नेताको मिडियामा आयो। एमाले एकताका लागि लागिरहेकाहरुले के गर्ने भन्ने मेलोमेसो नै पाउन सकेनन्।

सरप्राइज नम्बर २ : भीम रावलको राजीनामा

विश्वासको मत लिने खबरसँगै अरु सरप्राइजहरु आउने क्रम सुरु भयो। एमाले एकताका लागि बनेको कार्यदलमा माधव नेपाल पक्षबाट सदस्य भएका भीम रावलले सांसद पदबाट राजीनामा दिए। उनले पत्रकारहरु सामु राजीनामाको घोषणा गर्दा सुरेन्द्र पाण्डेले रोक्न खोजेको अनि रावलले नमानेको दृश्य पनि सरप्राइज नै थियो।

हल्का रमाइलो!? pic.twitter.com/FBpj12qBNs

— Manoj Satyal (@ManojSatyal) July 18, 2021

संसद र व्यवस्था जोगाउन भन्दै देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकहाँ हस्ताक्षर पुर्‍याउने, सर्वोच्च अदालतमा परमादेश माग्दै रिट दायर गर्नेमा पनि अग्रपंक्तिमा रहेका भीम रावलले अचानक राजीनामा देलान् भनेर कसैले सोचेकै थिएनन्। खैर, यो राजीनामा अहिलेसम्म सभामुखले स्वीकृत गरिसकेका छैनन्। रावलले राजीनामा फिर्ता लिए भने अर्को सरप्राइज हुनेछ।

सरप्राइज नम्बर ३ : महन्थ ठाकुर- राजेन्द्र महतोको पनि देउवालाई भोट

ओलीसँग सहमति गरी सरकारमा सहभागी भएर दुई हप्ताको लागि मन्त्रीसमेत भएको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका केही सांसद उपेन्द्र यादव- बाबुराम भट्टराई समूहमा आइसकेका थिए। मन्त्री भइसकेका समेत अर्को पक्षमा गएपछि पार्टी विभाजनको लागि निर्वाचन आयोगमा धाइरहेको महन्थ-राजेन्द्र समूहले समेत सरप्राइज दियो- देउवाको पक्षमा भोट हाल्ने निर्णय गरेर। प्रस्तावको छलफल हुँदा महन्थले संसदमा बोले पनि। असन्तुष्ट हुँदाहुँदै मत दिन लागेको कुरा उनले खोले।

रोचक चैँ के भयो भने महन्थ ठाकुर र राजेन्द्र महतो संसदमा प्रतिपक्षी बस्ने कुर्सीमा बसेका थिए भने उपेन्द्र यादव र बाबुराम भट्टराई सत्ता पक्ष बस्ने ठाउँमा। पार्टी एउटै ठाउँ फरक।

सरप्राइज नम्बर ४ : ओली छलफलमा सहभागी आएनन् 

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा छलफल हुँदा भर्खरै सत्ताबाट च्युत भएर प्रमुख प्रतिपक्षी नेता बनेका ओलीको उखानटुक्कायुक्त चर्को भाषण सुन्ने चाहना धेरैको थियो होला। तर त्यो पूरा भएन। दोस्रो बैठक सुरु हुनुअघि नै ओली संसद भवनमा पुगेका थिए। तर बैठक हलमा भने आएनन्। उनले शायद् प्रमुख प्रतिपक्षी नेता बस्नका लागि छुट्याइएको हलको कुनै कोठामा बसेरै लाइभ हेरे होलान् नेताहरुका भाषण।

ओली नआएकोमा प्रचण्ड र प्रम देउवाले पनि प्रश्न उठाए। ओली प्रधानमन्त्री हुँदा उनले बोल्दा आफू सधैँ उपस्थित भएको र यो लोकतान्त्रिक संस्कार रहेको उनले बताए। प्रचण्डले ओलीले नै बोल्ने सूचना आफूलाई आएको तर उनी अनुपस्थित भएको बताए। प्रचण्ड र देउवालाई आफू अनुपस्थित भएर सरप्राइज दिए ओलीले। एमालेको तर्फबाट ओलीको ठाउँमा प्रदीप ज्ञवालीले बोले।

संसदमा मतदान हुन लाग्दा बल्ल ओली बैठक कक्षमा प्रवेश गरे र प्रमुख प्रतिपक्षीका लागि छुट्याइएको कुर्सीमा गएर बसे। त्यसअघि प्रम देउवासित हात पनि मिलाए।

सरप्राइज नम्बर ५ : माधव समूहका अनुपस्थित, ओली समूहका सांसदको देउवालाई भोट

मतदान भइसकेपछि त झन् सरप्राइज पाइयो। जसपा सिङ्गैले नै मत दिने भएपछि देउवालाई विश्वासको मत पुग्ने भइसकेको थियो। तर एमालेको मत के हुन्छ भन्ने चासो थियो। माधव समूहका १० जनाले देउवालाई भोट दिएनन् भने ओली समूहका ८ जनाले देउवालाई भोट दिए। माधव समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्ट मतदानमा सहभागी भएनन्। यी मध्ये सात जना सर्वोच्चमा रिट दायर गर्न जानेहरु हुन्।

ओली पक्षका ८ जना हीरा केसी, पार्वती विसुंखे, गोपाल बम, बिनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले र किसान श्रेष्ठले देउवालाई भोट दिए। देउवालाई भोट दिन जाने ओली पक्षका सांसदहरुको नाम झन् सरप्राइज दिने थियो। प्रेम आले- वनमन्त्री भएर अक्सिजनको ट्रोल बन्ने भाषण गर्ने। धनबहादुर बुढा- जसलाई ओलीले पर्यटन राज्यमन्त्री बनाएका थिए। अनि किसान श्रेष्ठ- तनहुँका रामचन्द्र पौडेललाई हराउने सांसद। महेश बस्नेत र पूर्व आइजी सर्वेन्द्र खनालसँग मिलेर जसपाका सांसदलाई उठाउन जाने मध्येका एक।

सरप्राइज नम्बर ६ : गगन थापाको मिडियालाई सरप्राइज

संसदमा मतदान चल्दै गर्दा केही मिडियामा देउवाले १६३ मत पाएको समाचार आयो। जबकि त्यतिबेला सभामुखले मत सच्याउनका लागि समयसमेत दिएका थिएनन्। मतपरिणाम घोषणा हुनै बाँकी थियो केही मिडियाले समाचार लेखेरै र केही पत्रकारहरुले ट्विटरमै मतपरिणाम घोषणा गरिहाले। तर हतारमा गरिएको त्यो ब्रेक गलत साबित भयो।

नेपालखबरमा प्रकाशित देउवाले १६३ मत पाएको समाचार। हेर्नुस् अर्काइभ लिङ्क

खासमा गगन थापाले आफ्नो ट्विटरमा १६३ लेखेर ट्विट गरेका थिए

१६३

— Gagan Thapa (@thapagk) July 18, 2021

तर पछि सभामुखले पक्षमा १६५ भोट पाएको घोषणा गरे। विपक्षमा ८३ भोट मात्रै थियो। जबकि एमालेले १२१ सिट जितेको थियो।

केही मिडियाले १६३ भन्दै समाचार हालेका थिए तर २ बढी १६५ पक्षमा मत आएछ pic.twitter.com/001GY7HfiE

— salokya (@salokya) July 18, 2021

गगन थापालाई विश्वास गर्दा मिडिया र पत्रकारहरुले ‘सरप्राइज’ पाए। पछि गगनले यसलाई प्रष्ट्याए पनि तर त्यतिबेलासम्म गलत खबर राखेर मिडिया गलत साबित भइसकेका थिए।

१६३ + काेभिड संक्रमित हुनुभएको माननीय हरुलाई छुट्टयाइएको स्थानमा २ मत हुदा १६५ भएको छ। https://t.co/EbYeeKj5Zh

— Gagan Thapa (@thapagk) July 18, 2021

2 thoughts on “नेपाली राजनीतिमा आइतबारका ६ ‘सरप्राइज’”

  1. Narayan Manandhar says:
    July 20, 2021 at 9:00 am

    Here are some more surprises:
    1. During the announcement of the voting process, Mr Speaker seems so nervous that he confused himself spelling “daya” and “baya” for MPs to join voting “for” and “against” confidence voting.
    2. Oli faction got 83 votes out of 249 MPs that were present at the time of voting, that is, exactly 33.33% of 249 or 1/3rd. Oli that boasted so much of 2/3rd majority squeezed to 1/3rd.
    3. Mr M. K. Nepal could be seen, after voting, sitting lonely, at the last row of the meeting hall. Probably, this is to avoid meeting Oli.

    Reply
  2. विवेक says:
    July 19, 2021 at 10:31 am

    सबैभन्दा ठुलो सरप्राइज त ओली लगायत उनका आसेपासे खासेहरुलाई भए|ओली समुह केहीदिन भित्रै साबिकको चलखेल गरेर देउवालाई विश्वासको मत हराउला भन्नेमा विश्वस्त थिए| तर संसदको पहिले दिनमै विश्वासको मत लिएर झ्वाम्मै पारीदिए| ओलीले के बुझ्न परने भने उनले बालुवाटार शक्ति केन्द्रमा बसेर सत्ताका पावरको रापमा नेगोसियट गर्थे र जल्लाई जे अपेक्षा छ त्यो मिलाई दिने आश्वासन दिन्थे, आफ्नो स्वार्थमा ब्यक्तीका स्वार्थ देशको खर्चमा पुरा गरिदिन्थे, धेरैले नियुक्ती पाए, ब्यापार ब्यवसाय बढाए, आफ्नो मान्छे र रकम बढाबढ मालामाल चलेकै हो|देशमा बिदेशी ऋणको बोझ अझ बढाए|
    ओलीको अहंकार चरम चुलिमा पुगेको देखियो| ओलीले बेथीती बढाए, प्रणाली र नियम बारम्बार तोडे|उनले केही पछुतो मानेका छैनन| अब आएर ओली त्यस्तै चलखेल र बकबक गर्न थाले सत्ताधारीहरुले उनलाई भित्तामा पुर्याउन कुनै कसर राख्ने छैनन| बालुवाटार निवास लाई एमालेको अड्डा बनाएका थिए ओलीले| बालुवाटारमा करोडौको खाजा के कस्तो खाजा खाएको हो राज्यको ढुकुटीबाट खर्च गरे| महालेखा परीक्षकबाट अनुसन्धान पछी ओलीलाई तिराउन पर्छ र नियम जथाभावी गरेकोमा कार्वाही गर्नपर्छ| हेर्दै जानुस, माओवादी र उपेन्द्र बाबुरामको जसपाले ओलीले सत्ताको उन्मादमा मैमत्त भएर उनीहरु प्रति गरेको अपमान र ज्यादती भुलने छैनन| जसरी गच्छेदार र माधव नेपाललाई विगतको पदमा हुँदाका काममा छानवीन गर्ने डनडा देखाएर तर्साएका बर्षाएका थिए, ओलीले पनि त्यही डनडा भोग्नपरे चकित हुन पर्ने छैन| ओलीका करतुतहरु अनेक छन र ओली पावरमा कमसेकम आगामी चुनाव सम्म नरहने निश्चित जस्तै छ| यस्तो अवस्थामा किसान श्रेष्ट, ओलीका बनमन्त्री र महन्त
    ठाकुर समुहले छाडे जस्तो काम पावरको रापताप पाएर आगामी दिनहरुमा अन्तबाट पनि हुनेछ|
    अनर्थमा ओली जती बकबक गर्छन, उती ओलीकै औषधी, बिपक्षी माथि डनडा चलाऊने, उनी माथि प्रयोग गरिने सम्भावना धेरै देखिन्छ| ओलीको त्यस्तै ताल रह्यो भने एउटा समय आउनेछ जब अरिङ्गलले पनि उनलाई छाडनेछन|
    सरप्राइजै सरप्राईज|
    किन रोईस मंगले, आफ्नै ढंगले|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme