अन्नपूर्ण पोस्टले साउन १ गतेदेखि आफ्नो लेआउट परिवर्तन गरेको छ। बजारमा आउने अन्य ब्रोडसिट आकारका दैनिकहरुको परम्परागत शैली भन्दा फरक ट्याब्ल्वाइड/म्यागेजिन शैलीको डिजाइन छ। यी दुई दिनका मुख्य समाचार राजनीति बाहेकका छन्। साउन १ गते पुल बनाउँदाको भूल शीर्षकको समाचार छ भने २ गते सगरमाथासँग शेर्पाको साइनोबारे ठूलो फोटोसहितको मुख्य समाचार छ। नयाँ परिवेशमा पुरातन पाराको छापा पत्रकारिताका कारण पाठक गुमाउँदै गएको अवस्थामा अन्नपूर्ण पोस्टको यो प्रयोग कतिको सफल हुने हो, हेर्न बाँकी छ।
फ्रन्टपेजको डिजाइनबाहेक पत्रिकाले अन्य कन्टेन्टमा पनि नयाँ शैली अपनाएको रहेछ। हेर्दै गर्दा पहिलो पेजको एउटा कन्टेन्टमा आँखा ठोक्कियो।
बायाँ छेउको कार्टुनभन्दा माथि अन्नपूर्ण पोस्ट डट कमबाट लेखिएको ठाउँमा पशुपतिनाथ सुनसान शीर्षकमा एक कोलमको छोटो कन्टेन्ट रहेछ। थप पढ्न क्युआर कोड स्क्यान गर्नुहोस् लेखिएको रहेछ।
परम्परागत छापा पत्रकारितालाई प्रविधिसँग जोड्न विदेशमा पनि यस्ता प्रयास भएका छन्।
जस्तै यो न्युजिल्यान्ड हेराल्डले सम्पादकलाई चिट्ठी पठाउन क्युआर कोडको प्रयोग गरेको उदाहरण–
यो अर्को उदाहरण- San Jose Mercury News ले पत्रिकामा छाप्न ठाउँ नपुगेका फोटोहरुका लागि क्युआर कोड राखेर उसको अनलाइनको फोटो ग्यालेरीमा पुग्ने बनाएको रहेछ।
छिमेकी देश भारतको टाइम्स अफ इन्डियाले पनि पत्रिकामा ठाउँ अभावका कारण राख्न नसकेका विवरणहरु सहित अनलाइनमा पुग्ने लिङ्कसहित क्युआर कोड राख्ने गरेको पाइन्छ-
छापा पत्रकारिताको अनेक फाइदा होलान् तर एउटा बेफाइदा सीमित स्थान हो। अनलाइन पत्रकारिताका अनेक फाइदा/बेफाइदा होलान् तर छापा पत्रकारिताको सीमित स्थानको बेफाइदा अनलाइनमा हुँदैन। त्यसैले पत्रिकामा राख्न नसकिएका विस्तृत विवरण, डकुमेन्ट, थप फोटोहरु आदिका लागि क्युआर कोड राख्दा राम्रै हुने हो।
क्युआर कोड राखेपछि इच्छुक पाठकले आफ्नो स्मार्टफोनमा रहेको क्युआर कोड स्क्यानरबाट त्यसलाई स्क्यान गर्नुपर्छ। यो चाहिँ अलि झण्झटिलो प्रक्रिया हो। स्मार्टफोनै चलाए पनि त्यसको स्मार्ट प्रयोग गर्न नजान्नेहरु हामीकहाँ धेरै छन्।
‘दले दाइ’को एउटा चर्चित व्यङ्ग्य यादै होला नि- मान्छेहरुले मलाई आइफोन चलाउन जान्नुहुन्न जान्नुहुन्न भन्थे। किन नजान्नु? रातोले काट्ने, हरियोले उठाउने त रछ नि।
फोन उठाउने, फोन काट्ने अनि फोटो खिच्ने बाहेक स्मार्टफोनको अर्को स्मार्ट प्रयोग गर्न नजान्नेहरु तपाईँहरुले देख्नुभएकै होला।
तर तपाईँहरु जस्तो स्मार्ट फोनको स्मार्ट प्रयोग गर्न जान्नेहरुले साह्रै चासो लागेर माथिको अन्नपूर्ण पोस्टको क्युआर कोडमा क्लिक गरी हेर्नुअघि के आश गर्नुहुन्छ? मैले चाहिँ सोचेको थिएँ- पशुपतिको बारेमा फोटोहरु वा भिडियो केही होला।
त्यही भनेर स्क्यान गरेँ स्मार्टफोनबाट (आइफोन हैन है, मसित आइफोन छैन- एन्ड्रोइडबाट)
क्युआर एन्ड बार कोड रिडर भन्ने एप छ मेरो फोनमा। त्यही खोलेर स्क्यान गरेँ।
यस्तो लिङ्क आयो
के रहेछ भनेर क्लिक गरी हेर्दा त यस्तो पो खुल्यो-
यो त राष्ट्रिय समाचार समिति (रासस) को समाचार रहेछ। समाचारमा एउटा फोटो रहेछ पशुपतिको त्यही पनि पुरानो। राससको समाचार त अरु अनलाइनहरुले पनि हिजै हालिसकेका थिए। म त अन्नपूर्णको अनलाइनमा विशेष रुपमा आएको केही कन्टेन्ट होला भन्ठानिराको। केही नभए पनि सुनसान पशुपतिका केही गजबका फोटो भए पनि स्मार्टफोन निकालेर स्क्यान गरी हेरेको दुःख सफल हुन्थ्यो। यस्ता राससको औपचारिक समाचार पढ्न त किन यति दुःख गरिरहनुपर्यो र।
फेरि फेसबुकमा अन्नपूर्णपोस्टको अनलाइनबारे लेखिएको यो एउटा स्टायटसमा पनि आँखा पुग्यो-
अन्नपूर्णपोस्टको अनलाइन टिमले सामूहिक राजीनामा दिइसकेको रहेछ, सेवासुविधा वापतको रकम भुक्तानी गर्न भने बाँकी रहेछ।
फेरि अनलाइन टिमले नै सामूहिक राजीनामा दिएको भएर अनलाइनमा खास विशेष सामग्री केही नभएकोले क्युआर कोड स्क्यान गर्दा पनि राससको न्युज देखिएको होला भनेर चित्त बुझाएँ।
यसअघि अन्नपूर्ण पोस्टका अरु पत्रकारहरुसित पनि सामूहिक राजीनामा मागिएको खबर आएको थियो। उनीहरुले पनि सामूहिक राजीनामा दिएका थिए। तलब वापतको रकम लिन उनीहरु पनि धाइरहेकै छन्।
माथिको पोस्टमा आएका कमेन्टहरु पनि त्यहाँको अवस्था छर्लङ्ग पार्छ-
यसअघि अन्नपूर्णमा नै विशेष खोज ब्युरो भन्दै दुर्गम जिल्लामा सरुवा काण्ड पनि भएको थियो। त्यतिबेलाको ब्लग छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। लामो समय मेरो गोरुको बाह्रै टकापछि त्यो काण्ड श्रम अदालत नपुगी दुवै पक्षबीच सहमतिमा टुङ्गिसकेको छ। अहिले फेरि त्यस्तै तलब सुविधाकै काण्ड फेरि सामाजिक सञ्जालमा देखिएको छ। मिडिया चलाउनेहरुले सामाजिक सञ्जालमा यस्तो आए पनि पचाउन थालिसकेकै हो त?
अन्त्यमा भन्नुपर्ने एउटा कुरा पनि तलको क्युआर कोडै स्क्यान गरी हेर्नुहोला, त्यसमै लेखेको छु 🙂
अन्नपूर्ण पोस्टले यस्तो समस्या समाधान नगरी लेआउट फेरेर अथवा QR Code को नौटंकी गरेर मात्र के पार लाग्ला र खै, पहिला सोच बदल्ने हो कि !