-लक्ष्मी ज्ञवाली-
“एक्सकियुज मी सर” मेरो केही सोधाइ थियो उनीसँग । पुलुक्क मेरो अनुहारतिर हेर्दै “डन्ट टेल मी सर माइ नेम इज मेइर्” उनले भने ।
सर भनेको पटक्कै मन परेनछ क्यारे उनलाई त्यसैले यसरी जवाफ फर्काएको हुनुपर्छ ।
म त सामान्य काम गर्ने सहयोगीको रुपमा त्यहाँ पुगेकी थिएँ । उनी त्यो सहरको मेयर हुन् भन्ने पनि मलाई भिसा आएपछि नेपालमै थाहा भएको थियो ।
ठानेँ एकातिर त्यो समाजको प्रतिष्ठित व्यक्ति अर्कोतिर मेरो आफ्नै इम्पोलयर, सर भनेर सम्बोधन गर्नु त मेरो लागी नेपाली संस्कार नै थियो ।
हामी बीच कुरा हुँदै थियो त्यही समयमा “मेइर तिम्रो गाडी देउ न” उनकी श्रीमतीले भनिन् । रोजगारदाता ( हाकिम ) लाई नामले बोलाउनु, श्रीमतिले श्रीमानलाई पनि नामले बोलाउनु यी दुवै कुरा मेरो लागि सहज भएन ।
मनमा कति संस्कार नभएको समाज रहेछ भन्ने लाग्यो । चुप लाग्दै आफ्नै दैनिकीतिर मोडिएँ । मेरा लागि असजिलो वातावरण सृजना भयो । सर नभन्नु भनेका छन्, नाम बोलाउनै सक्दिनँ ।
करिब ४ महिना जति काम गर्दा बिनासम्बोधन नै मिलाई मिलाई कुरा गरेर नै त्यहाँबाट बिदा भएँ । विदेश बसाइ सकिएको थिएन । फेरि नयाँ जागिर सुरु भयो । नयाँ ठाउमा सबैलाई नामले नै बोलाउने मनमनै अठोट गरेँ । बिस्तारै बानी पर्दै गयो । सायद नामले बोलाउने संस्कार भएर होला कहिल्यै सानो काम गरेजस्तो महसुस भएन । बरु संस्कार सरल र सहज लाग्यो । कामको आधारमा ठुलो र सानो भन्ने आभास नै भएन ।मनोबल सधैँ उच्च रहिरह्यो !
फर्किएर हाम्रो समाजको संस्कार हेर्ने हो भने ठिक विपरीत छ । हाम्रो नेपाली भाषामा मिठासपूर्ण सम्बोधनहरु धेरै छन् तर व्यावहारिक रुपमा तिक्तता पनि त्यतिकै छ ।
नेपाली भाषामा सम्बोधनको रुपमा प्रयोग गरिने प्रचलित सर्वनाम ( तँ, तिमी, तपाईं, हजुर ) कतै चाहिनेभन्दा बढी सम्मान प्रकट गरी प्रयोग गरिन्छ भने कतै मर्यादाको सीमा नै नाघेर होच्याएर पनि प्रयोग गरिन्छ ।
एकातिर आफुभन्दा ठुलालाई मानसम्मान र सानालाई मायाममता गर्नुपर्छ भनी सिकाउन पछि नपर्ने हामी र हाम्रो संस्कार छ भने अर्कोतिर पद र धनलाईलाई सर्वेसर्वा ठानी सम्बोधनकै वर्गीकरण गरी व्यवहारमा लागु भएको तितो यथार्थ पनि कायम छ ।
५० वर्षीय पियनले ३० वर्षीय हाकिमलाई देख्दा होस् वा भेट गर्दा होस् २, ३ सय मिटर टाढाबाटै नमस्कार गरी आफूलाई सानो भनी प्रमाणित गरेको र हाकिमले पनि आफ्नो बुवासरहको पियनबाट आफूले सम्मान पाउनु आफ्नो अधिकार नै भएको गलत भ्रम कायम छ । त्यो हामी दैनिक व्यवहारमा पाइरहेका छौँ ।
अर्कोतिर श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् भन्दै फलाके पनि श्रीमान र श्रीमती बीचमा हुने सम्बोधनमा जीवनसाथी भन्ने आभास नै पाउन सकिँदैन । विवाह एक समझदारीको सम्बन्ध हो । त्यसैले श्रीमान श्रीमती एकअर्काका परिपूरक हुन् । दुवैको जीवन निर्वाहमा बराबर स्थान र मह्त्व छ । तर हामी यो सत्यलाई स्वीकार गर्न अहिलेसम्म खासै उदार बनिसकेका छैनौँ । त्यसैले त श्रीमानको लागि तपाईँ, हजुरदेखि लिएर राजकीय भाषाको सम्बोधन गर्छौ भने श्रीमतीलाई मुस्किलले “तिमी” उच्चारण हुन्छ नभए “तँ” नै अत्यधिक प्रचलित सम्बोधन हो ।
चाहे धनी होस् वा गरिब, हाकिम होस् वा पियन, श्रीमान होस् वा श्रीमती हामी सबै आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो योग्यता र क्षमताअनुसार उभिएका छौँ ।
चाहे घरभित्र होस् वा घरबाहिर नै किन नहोस् सबैले आफ्नो स्थानमा रहेर कर्म गरिरहेका छौँ । कसैलाई अनावश्यक सम्मानित शब्दको पगरी त कसैलाई आत्मालोचना हुने ( तल्लो स्तरको ) सम्बोधनलाई निरन्तरता दिनु भन्दा सबैले सबैलाई (आमाबुबाबाहेक) नामकै सम्बोधन गर्दा सहज वातावरण बन्न गई सबैप्रति बराबर हेराइ र समानताको भावना विकसित हुन्छ भने मनोबल पनि उच्च रहिरह्न्छ ।
पदको र धनको आधारमा सम्बोधनलाई वर्गीकरण गर्ने हाम्रो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ, हामी सबै बराबर हौँ, ठुलो पदमा बस्नेको कामको दायरा अलिक फराकिलो होला भने सानो पदमा बस्नेको अलिक सीमित होला । आखिर सबैले गर्ने काम हो, जुन कुरा जीवनसँग अभिन्न रुपमा जोडिएको हुन्छ ।