Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी मिडियालाई तर्साइदिने बालुवाटारको एउटा ट्विट, जुन अहिले डिलिट भइसक्यो

Posted on July 7, 2021July 7, 2021 by Salokya

आज एउटा रमाइलो घटना देखियो नेपाली पत्रकारितामा। यो माथिको ट्विट प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन्। यो ट्विट अहिले उनको टाइमलाइनमा गएर खोज्नुभयो भने देख्नुहुन्न। किनभने त्यो डिलिट भइसकेको छ। तर डिलिट भइसकेको ट्विटले पनि सरकारी मिडियालाई हल्लाइदिएछ।

कुरो के रहेछ भने माओवादी अध्यक्ष प्रचण्ड आज एउटा कार्यक्रमका लागि जनकपुर पुगेका रहेछन्। त्यहाँ पुगेर उनले बोलेको कुरा धेरैवटा मिडियामा आएका छन्। तपाईँहरुले पनि हेर्नुभएकै होला।

त्यही समाचारलाई सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले पनि बनाएको रहेछ। अनि राससको समाचारलाई आँखा चिम्म गरेर सरकारी मिडियाहरुले हालेका रहेछन्। तर अब बालुवाटारका प्रेस सल्लाहकारकै ट्विट आइसकेपछि के असर पर्‍यो त ?

हेर्नुस् गोरखापत्र अनलाइनमा परेको असर-

पहिला हेडलाइन थियो- ‘प्रतिनिधि सभा पुनःस्थापना हुनेमा विश्वस्त छु- अध्यक्ष प्रचण्ड’

ट्विट आएको केही समयपछि त्यो समाचारै डिलिट भयो। त्यसको साटो हेडलाइन बन्यो- ‘नेकपा माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जलि अर्पण’

हेडलाइनमात्र होइन समाचारमा पनि प्रतिनिधि सभा पुनःस्थापनाबारे बोलेका केही कुरा छैनन्। जे कार्यक्रमका लागि गएको हो त्यही कार्यक्रमबारे मात्र छ समाचार। हेर्नुस् यहाँ क्लिक गरी। 

अझ मैले सुनेको त राससले नै यो समाचार रिराइट गरी फेरि पठाएको छ रे। तर राससले ग्राहकहरुका लागि मात्र पठाउने समाचारमा मेरो पहुँच भएन। कसैको छ भने हेर्नुहोला र स्क्रिनसट पठाउनु होला है।

अपडेट : एक जना साथीले पठाउनुभएको स्क्रिनसट अनुसार राससले पुरानो समयको पुरानो समाचार भएको ठाउँमा नै नयाँ शीर्षक र समाचार रिराइट गरेको देखिन्छ। हेर्नुस् स्क्रिनसट-

नेपाल टेलिभिजनको न्युजपोर्टलमा भने यो समाचार यो ब्लग तयार पार्दासम्म हटाइएको छैन। हटाइहाले भने पनि यो लिङ्कमा सेभ गरेको छु है। 

आफ्नै सरकार हुँदा आफूविरोधी समाचार सरकारी मिडियामा आउँदा कति रिस उठ्यो होला सरकारमा बसेकाहरुलाई ? त्यसो त तपाईँ हामीले तिरेको करबाट बन्ने राज्यको ढुकुटीबाट तलब खाएर चल्ने सरकारी मिडियामा जसको सरकार बन्यो उसका कार्यकर्ता भर्ती गर्ने गरेको देखिएकै हो।

राससको कुरा गर्दा मैले एउटा पुरानो ब्लगमा लेखेको थिएँ – नेपालमा पत्रकारिताको आवरणमा पार्टीकारिता कसरी हुन्छ, त्यसको एउटा रोचक नमूना सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले चार दिनको अन्तरमा बनाएका दुई वटा समाचारबाट प्रष्ट देखिएको छ। यो ब्लग पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। 

अब यसपालि प्रचण्डको भनाईबारे समाचार छापिएकै भरमा थप केही कारबाही हुने हो कि होइन, त्यो हेर्न बाँकी छ।

 

1 thought on “सरकारी मिडियालाई तर्साइदिने बालुवाटारको एउटा ट्विट, जुन अहिले डिलिट भइसक्यो”

  1. सत्य प्रकाश says:
    July 8, 2021 at 8:40 pm

    सर्बप्रथम, राससलाई अहिले पनि राजाको पालाको ह्याङओभर छ| दोस्रो, सुर्य थापाका बारेमा थोरै भन्न पर्दा उनी एमाले वा पार्टिका तर्फबाट प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन वा सरकारका तर्फबाट, यो छुट्याईन पर्छ| पार्टी नै सरकारमा भएकोले जो नियुक्ती भए नी पार्टीका हुने नै भयो भन्ने लजिक दिएर उम्कन मिल्दैन| सरकारबाट तलबभत्ता र सुविधा लिनेले सरकार केन्द्रित सुचना र सल्लाह प्रवाह गर्नतिर मद्घत गर्नपर्छ, पार्टी केन्द्रित भएर बिपक्षीलाई डाँटने र जनतालाई ढाँटने तरिकाले होइन| यो त सोझै पदको दुरुपयोग भयो| उनी एमालेको प्रेस सल्लाहकार हुन कि सरकारमा रहेका प्रधानमन्त्रीका? ल मानौ सत्तावाल सरकारका पार्टी र सरकारका लाईन धमिलो होला तर सुर्य थापाले जैले पनि पार्टिका लाईन हेरेका छन| अहिले आएर पार्टी भन्दा पनि पार्टिका गुटका लाईन सम्हालेका छन| सल्लाहकारको काम आवेश, उद्वेग र क्रोध अनि द्वेष पोख्ने होइन, विकट घडीमा सामन्जस्य र समनवय मिलाउने धैर्य्यता र सय्यमताको बाटो लिएर उच्च परिपक्कताको ज्ञान प्रस्तुत गरेर पूर्णत जनहितमा सल्लाह दिने हो| उनका अमर्यादित अन्तर्वाता र अभिब्यक्ती हेर्दा यस्तो लाग्छ, उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार कम र भडकाउ राजनैतीक पेशकार बढी हुन|समस्या त्यही हो जस्तो लाग्छ| हेक्का राख्नपर्ने के भने उनी निर्वाचित प्रतिनिधी होइनन, सरकारी नियुक्ती लिएर ढुकुटीबाट तलब भत्ता सुविधा भोग गरेर ओलीजीले जस्तै बिपक्षीलाई तीखो ब्यँगबाण र गाली प्रहार गर्दै जे पायो त्यही भनी हिंडन मिल्छ त?

    अहिले मुलुकले चरम महामारीको भार खेपीरहेको बेला राजनैतीक संकट पनि थुपारिएको छ| दुइटैको ब्यवस्थापन कसरी गरिन्छ त्यसको दुरगामी प्रभाव पर्नेछ| निष्पक्ष भएर भन्नपर्दा पनि सरकार कोरोना महामारी ब्य्वस्थापनमा एकपछी अर्को हुँदै नराम्रो सँग फेल खाएका छन| निरन्तर भ्रष्टचार र कुशासनले टुप्पीसम्म पुर्याएको छ| राजानीतिका खेलाडीहरुले सिर्जना गरेका राजनैतीक संकटका लागि जो जिम्मेवार छन उनीहरुमा न कुनै पछुतो छ, न आत्मा स्वीकृतिको भावना|

    केही मेडियाले सत्तामा रहेकाहरुको गुणगान गर्न, निर्देशन लिन र नरम भएर प्रस्तुत हुन वाध्य हुनपरने के कारण होला त? नर्मल टाइममा भन्दा संकटको बेला मेडिया कसरी प्रस्तुत हुन्छ त्यो मुल्याङ्कन लायक हुन्छ|

    यो संकटको घडीमा सबै राजनैतीक दलहरु एक भएर महामारी बिरुद्ध लडनेबारे दिनोरात केन्द्रित हुनपर्ने होइन र?
    आखिर सबै पदको शेल्फ लाईफ हुन्छ| भोलीका दिनहरुको पनि ख्याल राखौ है|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme