Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२८ लाख आम्दानी गर्ने गाईको समाचार पढ्दा यस्ता प्रश्न उठ्यो है ‘गाइच’

Posted on July 6, 2021July 7, 2021 by Salokya

आज बिहान यसो फेसबुक स्क्रोल गर्दै थिएँ, एक जना guy ले गाई सम्बन्धी समाचार सेयर गरेको रहेछ, टक्क आँखा त्यसैमा अडियो।

शीर्षक आकर्षक थियो- ‘एउटै गाईबाट २८ लाख आम्दानी !’ जेपिटी नामका फेसबुक पेज र वेबसाइटले सेयर गरेको भए वास्ता गरिन्नथ्यो। कान्तिपुर मिडिया ग्रुपको इकान्तिपुरमा आएको न्युज रहेछ। के रहेछ भनेर हेर्न मन लागिहाल्यो।

पत्रकारले गर्ने चलाखी अलपत्रकारहरुलाई खासै थाहा हुन्न। त्यो शीर्षकमा यस्तो ‘!’ चिह्न भयो कि शंका गर्नुपर्छ खासमा। उहिले-उहिले ट्याब्ल्वाइड पत्रिकाहरुमा खुब प्रयोग हुन्थ्यो यस्ता चिह्नसहितको शीर्षक : ‘कृष्णप्रसाद भट्टराईको मृत्यु !’ शीर्षक हुन्थ्यो। भरे नेता नभई अर्कै ठाउँका जनता कृष्णप्रसाद भट्टराईको मृत्युको समाचार हुन्थ्यो।

यो समाचारमा पनि ‘!’ देख्दादेख्दै क्लिक गरी त हालेँ के रहेछ भनेर पढ्न। शीर्षक राख्ने मान्छे सफल भयो। किनकि मेरो एक क्लिक पायो उसले।

अब समाचार पढ्न थालौँ है त।

समाचारको पहिलो वाक्य यस्तो छ-

एउटै गाईबाट २८ लाखभन्दा धेरै आम्दानी भएको सुन्दा अपत्यारिलो लाग्ला- हो हजुर अपत्यारिलो नै लाग्यो। त्यही भएर पढ्न बस्या हजुरको समाचार। पत्यारिलो बनाउनुस् त लौ।

२८ लाखको हिसाब यसरी निकालिएको रहेछ- इलामको सूर्योदय नगरपालिकास्थित आठघरेका पुष्प अधिकारीले २४ वर्षदेखि एउटा गाई निरन्तर पालेका छन् । त्यो गाईबाट उनले दूध मात्र २२ लाख रुपैयाँको बिक्री गरेका छन् । अनि बाच्छाबाच्छीबाट ६ लाख रुपैयाँ जति हात परेको उनले जानकारी दिए ।

हिसाब गजब रहेछ। २४ वर्षदेखिको हिसाब रहेछ २८ लाख त।

गाईको औसत आयु १५ देखि २० वर्षको हुन्छ भनिन्छ। यो गाई २४ वर्षदेखि पालेको दावी रहेछ। गाईको जन्मदर्ता वा नागरिकता त हुन्न होला। समाचार लेख्नेले वा छाप्नेले २४ वर्षदेखि नै पालेको कसरी खुट्याए होलान्? एउटा प्रश्न स्वभाविक रुपमा यो उठ्छ।

समाचार हेर्दा त २८ लाख अलि कम हिसाब देखियो। करोड जति पनि निकाल्न सकिने रहेछ। किनभने ती व्यक्तिले बाच्छाबाच्छीबाट ६ लाख रुपैयाँ हात पारेको भनेका रहेछन्। मुनि समाचारमा ७ वटा बाच्छी र ११ वटा बाच्छा पाएको उल्लेख रहेछ। सम्भवतः ती बाच्छाबाच्छी बेचेर त्यति रकम हात पारिएको होला।

ती बाच्छीहरु पनि नबेचेर पालेको भए तिनीहरुले पनि दूध दिन्थे होला। त्यो दूध पनि बेचेको भए एउटा गाईबाट माउको जस्तो २२ लाखको दूध नबेचेर आधाभन्दा कममात्र बेचेको भए पनि एउटाबाट १० लाख गरी ६ वटा गाईबाट ६० लाख त हुन्थ्यो होला केरे। फेरि ती गाईहरु पनि ब्याउँथे, बाच्छी जन्मिएपछि त्यसबाट पनि दूध उत्पादन हुन्थ्यो। अनि भइन्न थियो त करोडपति !

लाखको हैन करोडको आम्दानी भएको समाचार लेख्न रमाइलो पनि हुन्थ्यो होला नि है।

समाचार अलि तल स्क्रोल गरेको त फोटो देखियो। त्यसमा क्याप्सन पनि रहेछ। समाचारमा ‘२४ वर्षदेखि निरन्तर गाई पालेको’ उल्लेख रहेछ, क्याप्सनमा भने ‘२५ वर्षदेखि पालेको गाई’ लेखिएको रहेछ। एक वर्ष अर्थात् ३६५ दिन तलमाथि यहीँबाट पर्‍यो।

पालेको समयको हिसाब नै गडबड भएको रहेछ भने आम्दानीको हिसाब पनि गडबड भएन भन्ने के ग्यारेन्टी?

पख्नुस् पख्नुस्, समाचार अझै हेरौँ

२२ लाख रुपैयाँको दूध बेचेको भनेर किसानले ‘सुरुदेखि दूध बिक्री गरेको हिसाब देखाएको’ रे। २४ वर्षअघिदेखिको हिसाब देखाएछन् त्यसो भए? समाचार लेख्नेले पूरै हिसाब हेरेर, जोडघटाउ गरेको हो? २४ वर्षअघिको दूधको भाउ राखेर पनि? लौ गरेको मानौँ। त्यो हिसाब त कागजमा लेखिएको होला। कागजमा त अरु कोहीले ५० लाखको दूध बेचेको भनेर पनि लेखेर देखाउलान् रे। हो कि हैन भनी कसरी थाहा पाउने होला? आखिर उनले गरेको दावी न हो।

दावी त अनुजा बानियाँले ९१ लाख रुपैयाँ र हिराको हार बसमा भेट्टाएर फर्काएको भनेर पनि गरेकी थिइन्। जसको समाचार पनि बन्यो। तर त्यो गलत ठहरियो।  (१० वर्षअघिको यो कान्ड थाहा नभएको भए यहाँ क्लिक गरी पढ्नुस्) पुरानो कुरा किन गर्ने, अस्ति भर्खरै हेटौडामा एक जनाले स्प्राइटको बोतलमा झोल देखाउँदै कोरोनाको भ्याक्सिन बनाएको दावी गरेको र गोरखापत्र लगायत भएभरका चर्चित मिडियाले समाचार लेखेका हैनन्? भ्याक्सिन बनेको भए यसरी चीन, भारत, युरोप, अमेरिकासित लौ न बाबा भ्याक्सिन दिनुस् भनेर हारगुहार गरिरहन पर्थ्यो र?

समाचारमा दावी नै दावी छ। वर्षौँसम्म गाईले २९ लिटर दूध दियो- अर्को दावी। २९ लिटर नै दिएको त्यो पनि वर्षौँदेखि कसरी पत्याउने ? अर्को दावी पनि रहेछ- २५ वर्ष नाघेको अर्थात् औसत आयु पार गरिसकेको गाई अझै केही बेत ब्याउन सक्छ रे।

समाचारमा अरु कसैसितको पनि कुराकानी छैन। मात्र गाई पाल्ने एक जनासितको कुराकानी छ। उनको दावीलाई कतैबाट भेरिफाइ गरिएको समाचारमा देखिँदैन।

तर आयो पो त। यस्तो विषम परिस्थितिमा पनि एउटै गाईले २८ लाखको आम्दानी गरेको समाचार इकान्तिपुर जस्तो वेबसाइटमा आयो पो त ! पत्याउनले पत्याउनु, नपत्याउनेले यही सेयर गर्नु 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme