Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाथुराम गोड्से प्रकरणले उठेका चार प्रश्न

Posted on June 12, 2021June 12, 2021 by Salokya

७२ वर्षअघि फाँसी दिइएका नाथुराम गोड्से अहिले एकाएक चर्चामा आएका छन्। यिनलाई चर्चामा ल्याउने काम गरेका हुन् नरोत्तम वैद्यले। वैद्य वाग्मती प्रदेश सभाका सांसद हुन्। शुक्रबारको प्रदेश सभाको बैठकमा उनले नाथुराम गोड्से बन्नुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

नाथुराम गोड्से महात्मा गान्धीको हत्या गर्ने व्यक्ति थिए। उनी हत्यारा बन्न उत्प्रेरित गर्दै थिए। त्यो पनि जनप्रतिनिधिहरुको थलोमा। यसअघि निर्वाचनको बेला पशुपति आर्यघाटको वैद्य पदबाट राजीनामा नदिई उम्मेदवार भएको उजुरी निर्वाचन आयोगमा परेपछि उनी विवादमा तानिएका थिए।

http://www.mysansar.com/wp-content/uploads/2021/06/videoplayback.mp4

१) के बोल्ने, के नबोल्ने थाहा छैन ?

नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधि सभामा वा प्रदेश सभामा के बोल्ने, के नबोल्ने, कस्तोसम्म बोल्न हुन्छ, के बोल्न निषेध हुन्छ भन्ने बारे प्रशिक्षण दिने गरेको छैन ? आपत्तिजनक, हिंसालाई बढावा दिने, सडक-चोकमा समेत बोल्न नहुने अमर्यादित विषय बोल्न हुन्न भन्ने स्वयं प्रदेश सांसदलाई थाहा छैन रहेछ ?

२) सभामुख र अरु सांसदहरु साक्षी मात्र बस्ने ?

नाथुराम गोड्से बन्नुपर्छ र कोही बन्न तयार नभए म बन्ने कि भन्दै हिंसा प्रेरित विचार व्यक्त गर्दैगर्दा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ के हेरेर बसेका ? अमर्यादित अभिव्यक्ति नदिन रुलिङ गर्नुपर्दैन ? अनि अरु सांसदहरुको काम के हो? एमालेका सांसदहरुको काम के हो? त्यो प्रदेश सभामा त विवेकशील साझा, नेमकिपा जस्ता दलहरु पनि छन्। उनीहरुले नियमापत्ति गर्नुपर्दैन ? जनप्रतिनिधिहरु सब चुप बस्ने अनि सामाजिक सञ्जालमा विरोध भइसकेपछि बल्ल थाहा पाउने ? कि नाथुराम गोड्से भनेको को हो पनि थाहा नपाएको ?

३) वचनबाट हिंसा भएको होइन र?

हिंसा भनेको कुरा कर्म अर्थात् कामबाट मात्र हुन्छ भन्ने छैन। नाथुराम गोड्सेले गान्धीको छातीमा गोली हानेर कर्मबाटै हिंसा गरेका हुन्। तर त्यसअघि उनको मनमा हिंसा उत्पन्न भएको थियो- गान्धीविरुद्ध नकारात्मक धारणाका कारण। त्यही मनको हिंसाको स्तर बढ्दै बढ्दै गएपछि उनले थाम्न नसकेर कर्मबाटै हिंसा गर्न पुगेका हुन्। अहिले नरोत्तम वैद्यको मनमा के छ, त्यो उनले जानुन्। तर उनले वचनबाट अर्थात् बोलीबाट भने प्रधानमन्त्री ओलीलाई मार्नुपर्छ भन्ने खालको अभिव्यक्ति दिएर वचनबाट हिंसा गरेको भएन र ?

४) गोड्सेलाई गड बनाउन खोज्या?

सन् २०१४ मा भारतीय जनता पार्टी सत्तामा आएदेखि नाथुराम गोड्सेलाई देशभक्त भन्दै उनको इमेज राम्रो बनाउने प्रयास भइरहेका छन्। गोड्सेका मन्दिरहरु हिन्दु महासभाले बनाएका छन्। सन् २०१९ को चुनावमा त भाजपाका एक सांसदले गोड्सेलाई देशभक्त भन्ने सार्वजनिक अभिव्यक्ति नै दिए। त्यसपछि यस विषयमा विवाद भएर उनले माफी समेत माग्न परेको थियो। नेपालमा पनि गोड्सेलाई राम्रो भन्ने इमेज बनाउन खोजेको हो कि के हो ?

प्रतिक्रियाहरु-

नेपाली कांग्रेसको –

नरोत्तम वैद्य स्वयंको शनिबारको प्रदेश सभामा अभिव्यक्ति-

कारबाही हुन्छ त ?
नेपालको संविधानले प्रतिनिधि सभालाई जस्तै प्रदेश सभालाई पनि विशेषाधिकार दिएको छ। धारा १८७ ले दिएको अधिकार अनुसार प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन।

१८७. प्रदेश सभाको विशेषाधिकार :

(१) यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।

(२) यस संविधानको अधीनमा रही प्रदेश सभालाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र प्रदेश सभाको कुनै काम
कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।

(३) प्रदेश सभाको कुनै कारबाही उपर त्यसको असल नियतबारे शंका उठाई कुनै टीका–टिप्पणी गरिने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी–जानी गलत वा भ्रामक अर्थ लगाई कुनै प्रकारको प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

(४) उपधारा (१) र (३) को व्यवस्था प्रदेश सभा सदस्य बाहेक प्रदेश सभाको बैठकमा भाग लिन पाउने अन्य व्यक्तिका हकमा पनि लागू हुनेछ ।

(५) प्रदेश सभाको अधिकार अन्तर्गत कुनै लिखत, प्रतिवेदन, मतदान वा कारबाही प्रकाशित गरेको विषयलाई लिएर कुनै व्यक्ति उपर अदालतमा कारबाही चल्ने छैन ।

स्पष्टीकरण :

यस उपधारा र उपधारा (१), (२), (३) र (४) को प्रयोजनका लागि “प्रदेश सभा” भन्नाले प्रदेश सभाको समितिको बैठक समेतलाई
जनाउँछ ।

(६) प्रदेश सभाको सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन ।
तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।

(७) विशेषाधिकारको हननलाई प्रदेश सभाको अवहेलना मानिनेछ र कुनै विशेषाधिकारको हनन भएको छ वा छैन भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्र हुनेछ ।

(८) कसैले प्रदेश सभाको अवहेलना गरेमा त्यस्तो सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेश सभाको निर्णयबाट त्यस्तो व्यक्तिलाई सचेत गराउन, नसीहत दिन वा तीन महीनामा नबढ्ने गरी कैद गर्न वा दश हजारढघ रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।

तर प्रदेश सभालाई सन्तोष हुने गरी त्यस्तो व्यक्तिले क्षमायाचना गरेमा त्यस्तो सभाले क्षमा प्रदान गर्न वा तोकिसकेको सजायलाई माफी वा
कम गर्न सक्नेछ ।

(९) प्रदेश सभाको विशेषाधिकार सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ ।

3 thoughts on “नाथुराम गोड्से प्रकरणले उठेका चार प्रश्न”

  1. KAMAL NEUPANE says:
    June 16, 2021 at 6:41 pm

    “घाटे वैद्यको कथनमा ओलीको दिनोदिन बढदो चर्तिकला र बेलगाम प्रत्युत्पादक हरकतका चरित्रदेखि आजित भएका र देशलाई माया गर्ने धेरै नेपालीको अन्तर्निहित इच्छा कताकता सांकेतिक रुपमा प्रतिध्वनित हुन्छ भन्दा अत्युक्ती नहोला|”
    Good analysis शेरचन घले तामाङ Ji. Agree.

    Reply
  2. शेरचन घले तामाङ says:
    June 12, 2021 at 11:38 pm

    घाटे वैद्यको कथनमा ओलीको दिनोदिन बढदो चर्तिकला र बेलगाम प्रत्युत्पादक हरकतका चरित्रदेखि आजित भएका र देशलाई माया गर्ने धेरै नेपालीको अन्तर्निहित इच्छा कताकता सांकेतिक रुपमा प्रतिध्वनित हुन्छ भन्दा अत्युक्ती नहोला|
    देश हितमा होइन तर केवल आफ्नो कुर्सी टिकाउनका लागि लगातार संबिधानको मर्म, लोकतान्त्रिक मुल्य मान्यता, नर्म, प्रणाली र थीती तोडमोड गर्न ओली कति पनि हिच्कीचाउदैनन भन्ने कुरो त बारम्बार अदालतले सच्याइदिएको फैसलाले प्रष्ट पारेको छ|
    तर कुनै पनि अवस्थामा, बोलीले होस कि गोलीले वा कुनै नियतले अघाडी पसारेको झोलीले, हिँसा प्रोत्साहन गर्ने युक्ति भने कदापि नेपाली जनतालाई सह्य र पाच्य हुनेछैन, हुनुहुँदैन| यो सुन्दर मुलुकलाई फेरि सुन्दर र शान्त बनाऔ|

    विगत तीन दशकमा जो नेता क्रेता विधाता आए र अहिले छन, उनीहरुले आफु र आफ्न परिवार धनी बनेर नेपाललाई विश्वको गरीबतम मुलुकको समुह सुचीमा पारे|उक्त सुची समुहबाट हटाउने प्रयत्न गरौ| हामी नेता मानेर विगतका जो पुज्छौ र आज पुजिरहेका छौ, यो भन्दा ठुलो मुल्याङ्कनको दरिद्रपनको सुचनाअंक अरु के होला? यो मुलुकमा योजना आयोगको काम के रहेछ त?

    Reply
  3. Shiva says:
    June 12, 2021 at 11:00 pm

    नाथुराम होइन, अमिताभ बच्चन जन्मनु पर्छ यो देशमा। इंकलाब फिल्म मा जस्तो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme