Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘फिल्म समीक्षाले चरित्र हत्या हुँदैन’ : प्रनेश गौतमको मुद्दामा दुई तहको अदालतको फैसला

Posted on June 13, 2021June 13, 2021 by Salokya

दुई वर्षअघि एकदमै चर्चामा आएको एउटा विषय याद छ तपाईँलाई ? कमेडियन प्रनेश गौतमले ठट्यौलो पारामा वीर विक्रम २ फिल्मको समीक्षा गरेर युट्युबमा हालेका थिए। निर्देशक मिलन चाम्सले चलनचल्तीको भाषामा साइबर क्राइम (विद्युती कारोबार ऐन) को उजुरी प्रहरीलाई दिए। केही ‘चप’ (चलचित्र पत्रकारहरु) समेत निर्देशकको पक्षमा थिए। प्रहरीले थुन्यो, मुद्दा दायर भयो। देश विदेशमा यसको विरोध भयो। र, उनलाई धरौटीमा छाडियो। तपाईँलाई लागेको होला- किस्सा सकियो।

अहँ, सकिएको छैन। यो मुद्दा अदालतमा पुग्यो। काठमाडौँ जिल्ला अदालतले मुद्दा हराइदियो। सरकार वादी हुने यो मुद्दा प्रमाणित हुन नसक्ने भएर सरकार यत्तिकै बसे हुन्थ्यो। तर उच्च अदालतमा पुनरावेदन गरिदियो। त्यहाँबाट पनि जिल्लाकै फैसला सदर गरियो। उच्च अदालतको फैसलाको प्रमाणीकरण गएको हप्ता मात्रै भयो। त्यो फैसला पढ्न पाएको थिएँ। त्यही पढेर यो ब्लग लेख्दैछु।

सबैभन्दा पहिला अलिकति इतिहासतिर लागौँ-

यो विषयमा मैले लेखेको पहिलो ब्लग थियो- हेर न त्यो केटालाई..कस्तो कालो, कस्तो घिनलाग्दो : टिकटकमा भाइरल आवाजवाला केटा किन प्रहरी हिरासतमा?

अर्को ब्लग थियो- कमेडियनलाई पत्रकारिताको पाठ पढाउने ‘चप’ संघसहित १० संस्थाको विज्ञप्ति छुटाउनु भो कि? आधा जिन्दगी खेर जाला!

‘चप’ संघ अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिँदा छाता महासंघले गर्ला त कारबाही?

प्रहरीले बुद्धि नपुर्‍याउँदा निम्तिएको बदनामी : हाजिर जमानीमा प्रनेश छाडिए

अब मुद्दातर्फ लागौँ-

मिलन चाम्सले उजुरीमा लेखेका थिए- म जाहेरवालासँग प्रनेश गौतमको चिनजान नाता सम्वन्ध केही छैन । मैले निर्माण निर्देशन गरेको चलचित्र विरविक्रम २ प्रदर्शनको क्रममा निजले चलचित्र प्रचारप्रसार गरी दिन्छु । मेरो मेमे नामक युट्युब च्यानल छ भनी म्यासेन्जरमा कुरा भएकोमा कति रुपैंया दिनुपर्छ नि भनी आसमान सुवेदीले सोध्दा १४।१५ हजार लाग्छ भनी भनेकाले हामीले दिन नमानेपछि निज प्रनेश गौतमले उक्त युट्युब मार्फत मेरो मान ईज्जत प्रतिष्ठामा खलल पुयाउने र उक्त चलचित्रको व्यापार व्यवसायमा घाटा नोक्सान पुयाउने नियतले विद्युतिय कारोवार ऐन २०६३ विपरीत सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको कार्य गरेको, ऐ.को दफा ४९ बमोजिम झुठ्ठा व्यहोराको सुचना दिने मेरो उक्त चलचित्र उत्कृष्ट रही हाउसफुल भई चली रहेको हुँदा उक्त चलचित्र डुबाउने, घाटा लगाउने गरी देश विदेशमा प्रदर्शन हुनबाट रोक्ने गरी अनर्गल झुठ्ठा प्रचार गर्ने गरी भिडियो तयार गरी मिम नेपाल च्यानल मार्फत गाली गजौज गर्ने, कलाकारको मान ईज्जत प्रतिष्ठामा आँच पुयाउने गरी छुरी देखाई जवरजस्ती राम्रो छ भन्न लगाई मेरो तथा मैले निर्माण गरेको चलचित्रको बदनाम गरेको हुँदा निज तथा मतियारहरु भए निजबाट खुलाई विद्युतिय कारोबार ऐन २०६३ अनुसारको कसूरमा कारवाही गरी म जाहेरवालालाई पर्न गएको रु.१,००,००,०००। (एक करोड) भन्दा बढी क्षतिपूर्ति समेत दिलाई भराई पाउँ।

प्रनेशले बयान दिए-
म पेशाले ईन्जिनियर भए पनि कलाकारिता समेत गर्दै आएको छु । यसै क्रममा मलाई मिम नेपाल नामको यट्यव च्यानलले मलाई बोलाएर जाहेरवालाले निर्माण गरेको चलचित्र विरविक्रम २ को समिक्षा गरिदिनु भनी मेरो अन्तरवार्ता दिएकोले मैले उक्त चलचित्र एक दिन पहिले मात्र कमलपोखरीको कुमारी हलमा गई चलचित्र हेरेको हुँदा उक्त चलचित्रको समिक्षा मात्र गरेको हुँ।

मैले उक्त चलचित्रको समिक्षाको क्रममा मलाई लागेको राम्रो नराम्रो पक्षको बारेमा समिक्षा गरेको हुँ । समिक्षा गर्दा मैले यो चलचित्रको कथा हिन्दी चलचित्र सोलेकै जस्तो छ। यो चलचित्रमा अभिनय गर्ने पल शाहको अभिनय मलाई मन परेन । नाजिर हुसेनको अभिनय मन पर्यो। बुद्धि तामाङको अभिनय असाध्यै मन परेको।

कथामा नयाँ कुरा आश गर्ने मानिसले हेर्न नजाँदा हुन्छ तर रमाईलोको लागि हेर्न जाने हो भने यो चलचित्र धेरै नै रमाईलो छ। टिकटको पैसा असुल हुन्छ। हलबाट निस्कने बेलामा कसैलाई गाली गर्नु पर्दैन किनकी रमाईलो हुन्छ। भन्ने लगायतको वाक्यांशहरु प्रयोग गरी चलचित्रको समिक्षा गरेको छु ।

मैले उक्त चलचित्रको समीक्षा कोही कसैको चरित्र हत्या हुने, बदनाम गराउने, मान ईज्जत प्रतिष्ठामा खलल पुर्याउने, उक्त चलचित्रको व्यापार व्यवसायमा घाटा नोक्सान पुर्याउने नियतले उक्त चलचित्रको समिक्षा गरेको होईन र उक्त कार्य गरेको छैन । मैले हास्यव्यंग्य तरिकाले प्रस्तुत गरेको हो। हास्यव्यंग्यको रुपमा मैले एक जना कलाकार साथीलाई नक्कली छुरी देखाएर यो राम्रो छ भन भनेर व्यंग्य मात्र गरेको हुँ।

जाहेरी दरखास्त साथ पेश हुन आएका भिडियो सि.डी थान १ र भिडियोको स्कृनसर्ट तथा म्यासेज प्रिन्ट पानाहरु मलाई देखाउदा देखी पाएँ। उक्त भिडियो मैले अन्तरवार्ता दिएको भिडियो हो र जाहेरी साथ संलग्न म्यासेजहरुको प्रिन्ट पानाहरु मैले पठाएको म्यासेज होईन । हेरी चिन्ही सनाखत गरि दिएँ ।

चलचित्रको व्यापारमा घाटा पुर्याउने र कलाकारहरुको चरित्र हत्या हुने गरी र कलाकारहरुलाई गालीगलौज गरी मैले अभिव्यक्ति दिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रनेश गौतम अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

अदालतमा उनले बयान दिए-

प्रतिष्ठामा खलल पुर्‍याउने, उक्त चलचित्रको व्यापार व्यवसायमा घाटा नोक्सान पुर्याउने नियतले उक्त चलचित्रको समिक्षा गरेको होईन, उक्त कार्य गरेको छैन र उदेश्य पनि होइन । मैले गर्ने हास्यव्यंग्य तरीकाले प्रस्तुत गरेको हो । हास्यव्यंग्यको रुपमा मैले एक जना कलाकार साथीलाई नक्कली छुरी देखाएर यो राम्रो छ भन भनेर व्यंग्यसम्म गरेको हुँ।

जाहेरी दरखास्त साथ पेश हुन आएका मैले अन्तरवार्ता दिएको भिडियो हो । साथै जाहेरीसाथ संलग्न म्यासेजहरुको प्रिन्ट पानाहरु मैले पठाएको म्यासेज होईन । जाहेरवालाको चलचित्रको व्यापारमा घाटा पुर्याउने र कलाकारहरुको चरित्र हत्या हुने गरी र कलाकारहरुलाई गालीगलौज गरी मैले अभिव्यक्ति दिएको छैन । जाहेरवालाको बीर बिक्रम चलचित्र हेरेपछि मैले आफूलाई लागेको कुरा ब्यक्त गरेको हुँ । मैले हालसम्म नेपाली र हिन्दी फिल्म गरी ५ बटा यस्तो भिडियो बनाई अपलोड गरेको छु ।

जाहेरवालासँग यस सम्वन्धमा कुनै कुराकानी भएको होइन । तर उहाँहरुले नै हामीलाई फिल्म हेर्न बोलाउनु भएको हो र उहाँहरुसँग भिडियो बनाउने कुरामा मिम नेपालको मौखिक कुराकानी भई उहाँहरुले हुन्छ भन्नु भएको थियो भन्ने समेत व्यहोराको प्रतिबादी प्रनेश गौतमले अदालतमा गरेको बयान।

जिल्ला अदालतको फैसला : समीक्षा गर्ने कार्यले चरित्र हत्या हुँदैन

प्रतिवादीको समिक्षाको प्रस्तुतीको विषय जाहेरवालाद्वारा निर्मित चलचित्रको विषयमा आफूले चलचित्र हेरी सो को आधारमा समीक्षा गरी चलचित्रको यो यो पक्ष राम्रो रहेको र यो यो पक्ष नराम्रो रहेको भनी गरिएको समिक्षा देखिंदा सो कार्यले पक्ष नराम्रो रहेको भनी गरिएको समिक्षा देखिंदा त्यस्तो समीक्षा गर्ने कार्यले जाहेरवाला लगायत कसैको चरित्र हत्या गरेको भन्न मिल्ने हुँदैन।

जाहेरी तथा अभियोगमा चलचित्रको व्यापार व्यवसायमा नोक्सानी पार्ने नियतले समिक्षा गरेको भनी वादी पक्षले प्रतिवादीलाई आरोपित गरेको भए पनि प्रतिवादीले जाहेरवालाको इज्जत प्रतिष्ठा, चरित्र हत्या हुने गरी इन्टरनेटको माध्यमबाट कुनै सामाग्री प्रकाशित गरेको देखिंदैन र व्यापारिक घाटा भन्ने कुरा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) को कसूरको विषय हुन सक्ने समेत देखिंदैन ।

त्यसैले प्रतिवादीले अभियोगमा दावी वमोजिमको कसूर अपराध गरेको भन्न मिलेन ।

तसर्थ, मिसिल संलग्न प्रमाण कागजहरुको विवेचित आधार र कारणबाट यी प्रतिवादी प्रनेश गौतम जाहेरवालाले निर्माण गरेको बीर बिक्रम-२ को विषयमा हास्यब्यङग्य शैलीमा समीक्षा गरेको विषयले अभियोग दावी बमोजिमको कसूर अपराध गरेको भन्न नमिल्ने भएबाट वादी नेपाल सरकारको अभियोग दावी पुग्न नसक्ने भई दावीको कसूरबाट सफाई पाउने ठहर्छ भन्ने शुरु अदालतको फैसला।

तर सरकारको चित्त बुझेन

तर सरकारले फेरि पुनरावेदन गर्‍यो। पुनरावेदन गर्दा लिइएको जिकिर थियो-

जाहेरी दरखास्त र सो साथ संलग्न सिडी चक्का बुझिएका मानिसहरुको कागज समेतको आधार प्रमाणहरुबाट प्रतिवादी प्रनेश गौतमले जाहेरवालाले निर्माण गरेको बिरबिक्रम २ नामक चलचित्रको प्रचार प्रसार गरिदिन्छु भनी रकम माग गरेको र निजले माग गरे बमोजिमको रकम नदिएपछि युटुव मार्फत उक्त चलचित्रमा काम गर्ने जाहेरवाला लगायतका निर्माता/निर्देशक र कलाकारहरुको इज्जत प्रतिष्ठामा असर गर्ने गरी अश्लिल तथा हेपाहा प्रवृत्तिको शब्द प्रयोग गरी अभिव्यक्ति दिने, ठूलो लगानीबाट निर्माण भएको चलचित्रको व्यापार व्यवसायमा नोक्सानी पुयाउने नियतले गलत विश्लेषण गरी तथा कुनै खास पेशा वर्ग समुदायको मानिसप्रति इङ्गित गरी घृणा द्वेष फैलाई विद्युतिय माध्यमबाट झुट्ठा प्रचार गरेको तथ्य प्रमाणित भईरहेको अवस्थामा मिसिल संलग्न कागजातहरुलाई प्रमाण ऐन, २०३१ बमोजिम प्रमाण मल्याङ्कन नभई प्रतिवादी प्रनेश गौतमलाई अभियोग दावीबाट सफाई हुने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी छ।

प्रतिवादीले समिक्षाकै क्रममा भएपनि जाहेरवालाले निर्माण गरेको चलचित्रका पात्रहरुका बारेमा विद्युतिय माध्यमबाट चरित्र हत्या गर्न किसिमको कार्य प्रकाशन गरेको हुँदा सो विषयवस्तु विद्युतिय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफान ४७ (१) ले निषेधित कसूर अन्तर्गत नै पर्ने भएकोमा प्रतिवादी प्रनेश गौतमलाई अभियोग दावीबाट सफाई हुने गरी भएको फैसला कानूनी व्याख्याको रोहमा त्रुटिपूर्ण रही बदरभागी छ।

अतः काठमाडौं जिल्ला अदालतले गरेको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग मागदावी बमोजिम गरी पाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर।

व्यापारिक घाटा विद्युतीय कारोबार ऐनको विषय हुन सक्दैन

पुनरावेदक बादी नेपाल सरकारले अभियोग दावी लिएको विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७(१) हेर्दा, “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनको प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध सामाग्री वा कसैप्रति घृणा वा द्वेस फैलाउने वा विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुबै हुनेछ। ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।

उल्लिखित कानूनी व्यवस्थालाई प्रस्तुत मुद्दाको रोहमा हेर्दा, पुनरावेदकबाट प्रतिवादी उपर लगाएको अभियोग हेर्दा प्रत्यर्थी प्रतिवादीले जाहेरवालालाई यो यो शब्द प्रयोग गरी, यो यो कानूनले प्रकाशन गर्न प्रतिबन्ध लगाएको सामाग्री प्रतिवादीले जानी जानी प्रशारण गरेको भनी स्पष्टसँग दावी लिन सकेको देखिंदैन।

मिसिल संलग्न कागज प्रमाणहरु हेर्दा यी प्रतिवादीले हास्य व्यंग्यात्मक शैलीमा जाहेरवालाले निर्माण गरेको चलचित्रको समिक्षा सम्म गरेको देखिन्छ ।

यसरी कुनै चलचित्रको समिक्षा गर्ने क्रममा चलचित्रका कतिपय पात्रहरुको अभिनय राम्रो छ र कसैको अभिनय राम्रो छैन भनी समिक्षा गरी चलचित्र मै प्रस्तुत भएका कलाकारका भनाईहरुलाई अभिनय मार्फत समिक्षा गरेको विषयले सार्वजनिक नैतिकतामा खलल पुयाउने, कसैप्रति घणा, द्वेष फैलाउन कार्य गरेको भन्ने देखिंदैन।

हाम्रो समाजमा हाँस्यकलाकार द्वारा कुनै राजनीतिक व्यक्तित्वलाई आफ्नो प्रस्तुतीको पात्रको रुपमा प्रस्तुत गरी हाँस्य चित्रण गर्ने आम प्रचलन समेत रहेको देखिन्छ। त्यस्ता प्रस्तुतीको उद्देश्य केवल मनोरञ्जन दिने मात्र रही कसै प्रति घृणा द्वेष फैलाउने भनी देखिन आएको पाइदैन।

प्रस्तुत मुद्दामा समेत प्रत्यर्थी प्रतिवादीको समिक्षाको प्रस्तुतीको विषय जाहेरवालाद्वारा निर्मित चलचित्रको विषयमा आफूले चलचित्र हेरी सो को आधारमा समीक्षा गरी चलचित्रको यो यो पक्ष राम्रो रहेको र यो यो पक्ष नराम्रो रहेको भनी गरिएको समिक्षाले जाहेरवाला लगायत कसैको चरित्र हत्या गरेको भन्न मिल्ने देखिदैन ।

साथै जाहेरी तथा अभियोगमा चलचित्रको व्यापार व्यवसायमा नोक्सानी पार्ने नियतले समिक्षा गरेको भनी वादी पक्षले प्रतिवादीलाई आरोपित गरेको भए पनि प्रतिवादीले जाहेरवालाको इज्जत प्रतिष्ठा, चरित्र हत्या हुने गरी इन्टरनेटको माध्यमबाट कुनै सामाग्री प्रकाशित गरेको पनि देखिंदैन र व्यापारिक घाटा भन्ने करा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) को कसूरको विषय हुन सक्ने समेत देखिदैन।

अनि फेरि सरकार मुद्दामा हार्‍यो

प्रमाण ऐन, २०३१ को दफा २५ “फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुने छ।” भन्ने कानूनी व्यवस्था भएकोमा प्रस्तुत मुद्दामा वादी नेपाल सरकारले आफ्नो अभियोग माग दावी पुष्टि गर्ने प्रमाण प्रस्तुत हुन सक्ने अन्य ठोस र बस्तुनिष्ठ सबुत प्रमाण समेत पेश गर्न सकेको देखिदैन ।

यसरी पुनरावेदक वादीले आफ्नो अभियोग माग दावी पुष्टी गर्न नसकेको अवस्थामा निज प्रत्यर्थी प्रतिवादीलाई अभियोग दावी बमोजिमको कसूरबाट सफाई दिने ठहन्याई शुरु अदालतबाट भएको फैसला मिलेको देखिदा अन्यथा मान्न पर्ने अवस्था देखिएन ।

यस अवस्थामा शुरु फैसला बदर गरी प्रत्यर्थी प्रतिवादी प्रनेश गौतमलाई अभियोग माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने पुनरावदेक वादी नेपाल सरकारको पुनरावेदन जिकिर एवम् सो पुष्टिको प्रयोजनार्थ बहस गर्नु हुने विद्वान उप-न्यायाधिवक्ताको बहसमा समेत सहमत हुन सकिएन।

अतः माथि उल्लेखित आधार, कारण र प्रमाणबाट शुरु काठमाण्डौं जिल्ला अदालतबाट मिति २०७६।०४।०९ मा भएको फैसला मिलेको देखिंदा परिवर्तन गरी रहनु परेन।

1 thought on “‘फिल्म समीक्षाले चरित्र हत्या हुँदैन’ : प्रनेश गौतमको मुद्दामा दुई तहको अदालतको फैसला”

  1. डिल्लि says:
    June 14, 2021 at 4:27 am

    निर्देशक साहेब कस्तो चलचित्र बनाउने वा निर्देशन गर्ने वहाँकै कुरा भयो । राम्रो बने दर्शकले मन पराउँछन् धन कमाइ हुन्छ नत्र लगानी डुबाउँछन् भन्ने सामन्य ज्ञान पनि साहेब साहेबले बिर्सेछन्छ । बल छ, प्रहरीका केहीको तागत छ मौका यही हो चौका हान्ने भनेर डुबेको उठाउने भनेर चाम्स साहेबले चौका हानेर चान्स लिन खोजेछन् छक्का दाउ लागेछ । सिनेमा साहेबको आपराधिक सिने शैली देखेर उदेक पो लाग्यो त ! चाम्स साहेब अब फेरि अर्को चान्स किन सर्वोच्च नै पो पुग्ने कि ! लगाउनी उठाउने मुर्गा भेटिएला आशावादी त बन्न पाइयो । अलिगति बाँकी बसेको कपाल खुइलिने गरी सोच्नुस् है इमानको निर्देशन गर्ने कि बैमानको !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme